'न चौरहार्यं न च राजहार्यं न च भ्रातृभाज्यं न च भारकारी। व्यये कृते वर्धत एवं नित्यं विद्याधनं सर्वधनप्रधानम्।'
हेराउने कोठाबाट धुलौटे पाटीमा खरीले कोर्दै बाले उच्चारण गरेका श्लोकहरु मामाघरको चौतर्फी गुन्जिन्थे। बाले नखाई खाना खान नबस्ने आमालाई मंगलबार, बिहीबार र शनिबार भने बालाई हेराउने कोठाबाट भान्छासम्म ल्याइपुर्याउन नै धौ-धौ पर्थ्यो।
हेराउनेको घुइँचो जो लागेको हुन्थ्यो। खुसी पोतिएकादेखि लिएर दुखले छोपिएका अनुहार आँगनमा आफ्नो पालो कुरेर बसिरहेका हुन्थे। कोही बिसौँ पटक अस्पताल धाउँदा पनि निको नभएर रोगमा तड्पिएको नाबालक च्यापेर आँगनको एक छेउमा भने नयाँ जीवनको सुरुआत गर्ने शुभ मुहूर्त पहिल्याउन आएका अर्को छेउमा।
साँच्चीकै हिजोसम्म भिन्न पृष्ठभूमि अनि अतुलनात्मक जीवनशैली भएका पात्रहरुलाई अदृश्य आशाको धागोले बानेर आज त्यो आँगनमा सँगै खडा गरिदिएको थियो। कस्तो बिडम्बना जीवनको सुखले भिन्दा भिन्दै सतहमा उड्ने मानव जातिलाई दुखले भने त्यही एउटै भुइँमा ल्याएर पछारिदिन्छ।
शिरमा लगाएको ढाकाटोपी र प्रिय स्टकोटलाई बिसाएर खाना खान बस्दा खाना पस्किएको चरेसको थालको दाहिने तिरबाट पानी घुमाउँदै बा 'पाक्य दोषो नदियते' अर्थात् पकाउनेले आफ्नो समय दिएर, मेहनत गरेर पकाएको खाने कुरालाई कुनै दोष नदिई खानुपर्छ भन्नु हुन्थ्यो।
अनि थोरै खाना थालको दायाँपट्टि चडाउँदै सबै देवी देवतालाई सम्झिएर केही मन्त्रोच्चारण गर्नु हुन्थ्यो। उच्चारण गरेका हरेक वाक्यमा बाले उत्पादन गर्ने जमिन र उत्पादनकर्ताप्रति कृतज्ञता व्यक्त गर्नुहुन्थ्यो।
८० वर्ष कटिसक्दा पनि कुनै लठ्ठीको सहायताबिना दौरा-सुरुवाल अनि स्टकोटमा शिर ठाडो बनाएर कुनै युवाभन्दा कम फूर्तिलो नदेखिने बाको शरीर अन्नको सम्मान गरे बापतको उपहार झैँ लाग्थ्यो।
हेराउने कोठामा अलि अलि छरिएका चामलका गेडा निश्चलतापूर्वक बाले टिप्दै गरेको देखेर हुर्कँदै गर्दा सोच्थेँ, हात र मुख जोड्ने संघर्षको जितपश्चात न मानिस अरु सपना देख्ने चेष्टा गर्न सक्छ। नत्र भोको पेटले खलबलाएको निद्रामा सपना अटाउने कुनो भेट्टाउन त्यति सजिलो हुन्थ्यो होला र?
शिशु कक्षा पढ्दादेखि मामाघरमै बाको छत्रछायाँमा हुर्किएकी मलाई हेराउने कोठाबाट घन्किएका भजन अनि स्लोकहरु आफ्नै कोठामा बसेर बाकै लयमा स्वर मिलाउँदै गाउन निकै रमाइलो लाग्थ्यो। त्यस्तै रमाइलो हेराउनेले ल्याएका स-साना चामलका पोका खोतल्दा भेटिएका १, २ का सिक्का पैसा पाउँदा।
दिनभरिको हेराउनी कोराउनी काम गर्दै बस्दा अरट्ठिएका खुट्टा तन्काउन पाटन तिर हिँड्डुल गर्न जाने बालाई खोज्न जाने अधिकांश जिम्मा मेरो थियो। वास्तवमा जिम्माभन्दा पनि बालाई भेटेपछि मिठाई खान पाइन्छ भन्ने रहर।
सधैँ खल्तीमा मिठाई बोकेर हिँड्ने बा चिनेजानेका सबैको मुख मिठो बनाउन मिठाई बाँड्दै हिँड्नु हुन्थ्यो। बालाई खोज्ने मेरा लागि कुनै चुनौतीको काम थिएन। बालाई अधिकांश भेटिने जम्मा जम्मी ३-४ ठाउँ थिए।
पहिलो, घरको गेटबाट ५० मिटर बाँया हिँडिसकेपश्चात मूलबाटो नपुग्दै दाँयापट्टि देखिने किराना पसलको पहेँलो बेन्च। अनि बेन्चमाथि बाको गफमा दन्तेलहर देखाउँदै हाँसिरहेका व्यापारी दाइ भने उमेरले कि खै कफी मिठाईले थुप्रै स्थानबाट बिदाइ लिई दाँतले निर्वस्त्र पारिदिएका दन्तसा देखाउँदै हाँसिरहनु भएका बा।
दोस्रो, घरबाट मूल बाटो पुगेपछि करिब १० मिटर बाँया रहेको चौतारो। बाका आफ्ना अनुभवका गाथाहरु अनि बुढ्यौलीको थकाइ बिसाउने चौतारो। त्यही चौतारो जहाँ कहिल्यै कसैको जुठो मुखमा नपार्नु भएका बाको मुखमा उहाँ मुख खोलेर निदाएको मौका पारेर २ वर्षकी मैले आफ्नो मुखको भिक्स मिठाई झिकेर बाको मुखमा हालिदिएकी थिएँ।
निद्रामा नै मुख मिठाउनु भएका बाले ब्युँझिएपछि थाहा पाउँदाको प्रतिकृया कस्तो थियो होला भन्ने कल्पना गर्दा आज पनि मलाई हाँसो छुटेर आउँछ।
तेस्रो, बालाई भेटिने ठौउँ भनेको घरबाट लगभग २०० मिटर पर मूलबाटोको पारीको चिया पसल। दूध चियाको सौखिन बाले दिनभरि खाने चियाको हिसाब गर्दा लाग्थ्यो बाको शरीरमा पानीको अभाव पनि चियाले नै पूरा गर्छ।
अनि अन्तिम भने त्यही चिया पसलको दाँयापट्टि केही घर माथि कपाल काट्ने हजाम कहाँ। बालाई भेट्टाएर 'बा, घरमा हेराउने मान्छे आएका छन्' भनेर बासँगै मिठाई खाँदै घर फर्कँदाको खुसी घर पुगेपछि कहिले काहीँ हेराउनी मान्छेले दिएको पाँच रुपैँयाको नोटले दोब्बर गरिदिन्थ्यो।
त्यो पाँच रुपैँया जसले मैले ५० र १०० का नक्कली नोट पर्ने मकैफूलाको पोको किन्ने रहर पूरा गर्थेँ। अनि त्यही नक्कली १०० को नोटले भाँडाकुटीमा संसार किन्थेँ।
लिएर हैन सधैँ दिएर बाँच्न परोस् भन्ने बाले खुट्टा खोच्च्याउँदै हरेक दिन साढे १ र २ को बीचमा घर अगाडिको बाटो 'दुनट आयो दुनट' भन्दै टन्टलापुर घाममा दुनट बेच्न आउने दाइलाई पसलमा लगेर चिया बिस्कुट खुवाउनु हुन्थ्यो। र, हाम्रा लागि भने त्यही दाइसँगबाट दुनट किन्दिएको देख्दा लाग्थ्यो खुसी बाँड्न गाह्रो छैन, मात्र तरिका जान्नु पर्छ।
गोप्यदानमा विश्वास राख्ने बाले जुत्ता सिलाउने दाइलाई होस् वा घरमा सिरक बनाउन आएका दाइलाई, गफमा हसाउँदै मिठाई दिएको देख्दा सोच्थेँ म पनि सधैँ यसरी खुसी बाँढ्न सकूँ। ठूला मठ-मन्दिर बनाउनका लागि बाले दान दिएको मलाई खासै सम्झना छैन। सम्झना छ त ती सूक्ष्म क्षणहरु जसमा मैले बाका कारण थुप्रै मानिसहरुका ओठमा हाँसो देखेँ।
बा भिन्न हुनुहुन्थ्यो। कसैको आशे बन्नु हुँदैन भन्ने बाले जसरी हुन्छ आफ्ना छोराछोरी अरुलाई उछिनेर सजिलै माथि पुगुन् भन्ने स्वार्थी सोच राख्नु भएन। उहाँ छोराछोरीको उन्नती त देख्न चाहानु हुन्थ्यो तर मेहनतले निम्त्याएको उन्नती।
कसैसँग हात फैलाएर भनसुन गरेर पाएको प्रगती हैन। क्षमताको मूल्यांकन ढिलो चाँडो अवश्य हुन्छ भन्ने कुरामा उहाँ विश्वास राख्नु हुन्थ्यो।
'विद्या ठूलो सम्पत्ति!' बाले सदैव थुप्रै संस्कृतका स्लोकहरु सुनाउँदै र तिनलाई अर्थ्याउँदै मलाई विद्याको महत्व बुझाउनु हुन्थ्यो। हरेक स्लोकको व्याख्यासँगै त्यही लयमा हावामा नाचिरहेका बाका हात हेर्दै म विचारमग्न हुन्थेँ।
बाका आफूले विद्या आर्जन गर्दाका संघर्षहरुका कथाले मलाई परिश्रमको कुनै विकल्प छैन भन्ने कुरा सिकाए। मकैका खोइला ओछ्याएर सुतेका अनुभव त कहिले ऊ बेलाका कडा अनुशासनका उदाहरण, बासँगका हरेक छलफलले मलाई हार नमान्ने हौसला दिए।
वास्तवमा आजसम्म आइपुग्दा मैले ग्रहण गरेका हरेक सम्मान पत्रमा र बैठक कोठामा सजिएका ती पहेँला पदकमा म बाको मार्गदर्शन देख्छु।
बाकै सिकाइलाई अँगालेर बालबालिकाको शिक्षाका लागि केही गर्छु भनेर बाको आशिर्वाद लिएर २ वर्षका लागि लम्जुङ पसेकी मलाई २ वर्षको अन्तिममा बा बिरामी भएको खबरले नराम्ररी हल्लाइदियो।
पोखरा फर्कँदा पिसाबको खराबी देखाएको डाक्टरले झुन्ड्याइदिएको पिसाबको थैली साथ त्यही चन्द्रजस्तै खुलेको बाको अनुहार देख्दा ढुक्क भएको मन त्यही आँगनमा अदृश्य आशाको धागोले बेरिएर बाको लागि कामना गर्दै थियो।
पिसाबको थैली एक हातमा लिँदै अर्को हातले ह्यांगरमा झुन्ड्याइएको त्यही प्यारो इस्टकोटको खल्तिबाट ४०० रुपैँया झिकेर दिँदै गर्दा भक्कानिएको मनले स्कुल जान अगाडि हेराउनी कोठाबाट चिहाउँदै गर्दा खाजा खान बाले दिएको ५ रुपैँया सम्झियो।
बितेका दिनसँगै लट्पटिँदै गएको बाको बोली र भेट्न आउने मान्छेको भिडले मलाई जीवन र मृत्युको यथार्थको ऐना अगाडि खडा गर्दिएको थियो। बाको कोठाबाट भित्र छिर्दा टोलाएका आँखाले खाटबाट म तिर हेर्दै दुई हात जोडेको देख्दा त्यो कोठाबाट फर्किएर अर्को कोठामा गई भक्कानिएर रुन बाहेक मैले केही गर्न सकिनँ।
एक मनले सोच्यो, सधैँ सत्यको बाटोमा हिँड्न बा मलाई अन्तिम बिन्ती गर्दै हुनुहुन्थ्यो। औँलाले केही गने जस्तो गर्दै थाहा छैन बा के गन्दै हुनुहुन्थ्यो। जिन्दगी भरका खुसीका क्षण कि दुखका! बिरामी भएर पल्टिएका दिन कि सन्चो भएर उठ्ने दिन!
हातबाट फुकालेर राखिसकेको घडीलाई हातमै छ भन्ने भानका साथ बाले हात हल्लाएर घडी मिलाएको देख्दा सोचेँ समय बित्न कत्ति पनि समय नलाग्दो रहेछ। बाकै खाट छेउ बसेर कपाल कोर्दै गरेकी आमालाई यसै राम्री छेऊ भनेर बाले लट्पटिँदै आएको वाक्यमा भन्दा खुसी र दुखको मिश्रित भावले आमाको मनलाई ढपक्क ढाक्यो होला।
लम्जुङ हुँदा सुबु खै, आइ कि आइछैन भनेर सोधिरहने बाले अगाडि पुग्दा मलाई चिन्यौ भनेर सोध्दा म अचेत जस्तै भएँ। साँच्चीकै, आफ्नो घरमा कोही गुमाउनु पर्ने दुख कहिल्यै आउँदैन भन्ने झुटो कल्पनामा बाँचेकी मलाई यथार्थले कडा चुनौती दिँदै थियो।
२०७६ साल, चैत्र २३ गते। राति साढे १० बजे बहिनीको फोन आयो। दिदी बा बित्नुभयो। म अतालिएँ। खान लागेको खाना छोडेर म भक्कनिएँ। एक्लो त्यो घरमा यता उति भागेँ। त्यो घर जस्लाई बाले देख्न पाउनु भएन।
कति खुसी हुनुहुन्थ्यो होला, साइँली छोरीले आफ्नो मेहनतले बनाएको घर देख्दा। गुमेको होससँगै म दाइलाई बोलाएर मामाघर पुगेँ। घर पुग्दा आँगनमा तुलसीको मठ अगाडि बालाई देखेँ। त्यही तुलसीको मठ जुन कुलोमाथि बनेको थियो।
त्यो कुलो जुन बनाउँदा सानी म लड्छु भनेर पाइप हाल्ने सर्तमा मात्र बाले बनाउन दिन्छु भन्नु भएको थियो। बन्द आँखा अनि त्यो चिसो शरीर। थोरै खुलेका ओठ अनि त्यही निश्चल अनुहार।
लाग्दैथ्यो बा हेराउनी मान्छे आएका छन् भन्यो भने बा हाँस्दै उठेर फेरी हेराउनी कोठातर्फ लाग्नुहुन्छ। पहिलो पटक त्यो आँगनमा आशाको धागो चुँडिएका मान्छेहरुको भिड थियो।
आखिर ८८ वर्षको उमेरमा बाले मलाई सबैभन्दा ठूलो यथार्थ सिकाएर जानुभयो। मृत्युको यथार्थ। अनि ८८ वर्षसम्म आत्मनिर्भर बाले अन्तिम श्वाससम्म आफ्नै कमाइमा बाँचेर जानुभयो। सिकाएर जानुभयो आत्मनिर्भरताको पाठ।
आज पनि मामा बेलुका दोकानबाट थाकेर आउँदा झुकिएर बा खै भन्नुहुन्छ। ३६५ बितिसक्दा पनि आज बाको मृत्युको यथार्थ अँगाल्न यथार्थसँग नै चुनौती खेल्नुपर्ने जस्तो भएको छ।
तर बा अझै पनि यतै कतै हुनुहुन्छ भन्ने भानले पनि हामीलाई बाले सिकाएको अनुशासनमा बाँधेर राख्ने छ पक्कै। बाटो बिराउन लागे पनि झस्काउने छ अनि सधैँ सत्यको बाटोमा डोहोर्याउने छ।
आज कसैले मलाई कस्तो मान्छे बन्न मन छ भनेर सोध्छ भने म गर्वका साथ भन्छु मलाई 'बा'जस्तै बन्नु छ। ज्योतिष पूर्णचन्द्र बराल जस्तै।