वातावरणमा आएको परिवर्तन जस्तो छ, त्यस्तै परिवर्तन हामी सबै मानवको मन मस्तिष्कमा आइसकेको छ। हामी शब्द पढ्छौँ तर शब्द भित्रको अर्थ हामीमा खेलिरहेको हुन्छ।
विनाश गर्नु हुन्न, विनाशले कुनै निकास दिँदैन, निकास बिना विकास हुन्न भन्छौँ। जसरी हामी प्रकृतिको विनाश गर्दै छौँ, त्यसैगरी नै प्रकृतिले हामीलाई दिने सुविधा कटौति गर्न थालेको छ।
हामी हुर्किँदै गर्दा देख्थ्यौँ कति हराभरा, कति रमाइलो। वारि-पारि वातवरण कस्तो स्वच्छ थियो! म सानो हुँदा विचार गर्थेँ, निलो आकशलाई हेर्दै आकशमा त कुनै रूख विरूवा पनि देख्दिनँ।
कुनै पहाड, झरना पनि देख्दिनँ तर किन यति सुन्दर छ? मलाई अल्छी लागेको दिन आकश तिर हेर्थेँ कि त जंगलमा गएर बस्थेँ। छुटै आन्नद दिन्थ्यो त्यस कुराले मलाई।
आनन्द दिने त्यसबेला धेरै कुरा थिए, जे देख्दा नि अचम्म लाग्थ्यो। त्यस कुरालाई जान्ने इच्छा जाग्थ्यो। मेरो सामिप्यता धेरै त प्रकृतिसँग नै हुन्थ्यो, उकाली-अेरालीमा दौडने, ढुंगामा बस्ने त्यही निदाउने।
रूखमा चढ्ने अनि त्यही खेल्ने। धुलो उढाउँदै हिड्ने, बालुवाको घर बनाउने, त्यही बालुवालाई ओछ्यान मानेर सुत्ने। खेतबारीमा गाई-बाख्रा चराउन जाने, गोठालो हुँदा वनमा भएका चराहरूलाई जिस्काउने।
चराले गाउने भाका नक्कल गर्ने, उसैलाई सुनाउने। ऐसेलु घारीमा खाँदा खाँदै हराइदिने। यसरी नै बितेका थिए दिन, प्रकृतिको काखमा। म गाँउ फर्किएपछि फेरि त्यहि सम्मोहित हुन्छु।
हाम्रो आफ्नो आफ्नै घर हुन्छ, हामी त्यहि बस्छौँ। हामी बस्ने घरलाई हामी कति सफा राख्छौँ। घर राम्रो देखियोस् भनेर घर वरिपरि फूल पनि रोप्छौँ नि होइन? तर हामी सफा गर्दा निस्किएका फोहोर हाम्रो ठुलो घर अथवा वातवरणमा जताततै मिल्काइदिन्छौँ।
हामीलाई यो हेक्का हुँदैन कि हामी कहाँ फोहोर गरिरहेका छौँ, यहाँ हाम्रो पुस्ता मात्र बस्ने ठाँउ होइन। अब आउने सयौँ पुस्ताहरू छन्। उनीहरूलाई हामी यही सिकाउने? मैले यो भन्न खोजेको होइन कि घरदेखि निस्किएका फोहोरले हाम्रो वातावरण फोहोर भयो भनेर।
म यो भन्दै छु, हामीले दैनिक प्रयोग गर्ने विभिन्न कुराहरू जस्तै सवारी-साधन, जसबाट उच्च रूपमा धुवाँ-धुलो निस्किन्छ। जसले हाम्रो वातावरणलाई प्रतिकूल असर गर्छ। ध्वनि प्रदुषण लगायत वायु प्रदुषण अत्याधिक छ।
उद्योगबाट निस्कने कार्बनडाइअक्साइड त्यस्तै। हामी हाम्रो सम्पत्तिलाई दिनदिनै पैसासँग साट्दै छौँ। एकदिन हामीसँग कागजका पैसै पैसा होलान्। त्योबेला हामीसँग हरियो वन नहोला। हो, म यही देख्दै छु।
हामी सबैलाई घुम्न मन पर्छ। डुल्न मन पर्छ। प्रकृतिको सौन्दर्यमा रमाउँदै, सम्झनाको लागि तस्बिर लिन्छौँ। हामीलाई आन्नद दिने काख भन्नु नै आमाको काख र धर्तीको काख हो। अझ हेरौँ त, दुई/चार दिन आकाशबाट वर्षा नहुँदा हाम्रो धर्ती तुवालोले पुरै घेरेर घरबाट बाहिर निस्किन पनि कति सकस परेको छ!
विद्यालय बन्द गर्नु पर्ने अवस्थामा आइपुग्यौँ। घरभित्रै आँखा पोल्छ। हामी आँखालाई शितल राख्नु पर्छ भन्छौँ नि होइन, तर आज घरभित्र बस्दा नि पोल्छ, बाहिर निस्किँदा त कुरै नगरौँ।
हामीले हाम्रो वातावरणलाई नबचाए कस्ले बचाउँछ? भोलि आउने पुस्तालाई हामी यस्तै छाड्ने? के भयो त चलिरहेको छँदै छ भन्ने? सोच्नुस् त, धैरै कुराको तुवालोबाट बाहिर निस्किएर एक पटक, कस्तो देख्नु हुन्छ?
एक बच्चा हुर्किन राम्रो स्याहर सुसार चाहिए झैँ, हामी बढ्न, हुर्किन, खेल्न, रमाउन, जीवन सार्थक बनाउन स्वच्छ प्रकृति चाहिन्छ।