वक्तृत्वकला प्रतियोगितामा प्रथम भई मेरो तेह्र वर्षको भाइ खुसी हुँदै प्रमाणपत्र बोकेर घर आयो।
मैले उसलाई बधाई दिएँ अनि हौसलास्वरूप फर्स्ट हुने तरिका के रहेछ भनेर सोधें।
उसको जवाफ थियो–
‘दिदी तयारी त मैले जस्तै अरू साथीले पनि गरेका थिए, तर मैले चाहिँ एउटा जुक्ति अपनाएँ। स्टेजमा जानुभन्दा ठिक अगाडि मैले आफ्नो पावरवाला चस्मा सट्ट निकालेर गोजीमा हालें। अडियन्सहरू कसैको अनुहार नचिनेपछि मलाई डर नै लागेन। खररररर भनेर आएँ अनि म फर्स्ट भएँ।’
म सुनेको सुन्यै भएँ। उसका कुरा रमाइला थिए तर त्यसभित्र पावरवाला चस्मा लगाउने हरेक व्यक्तिले आफ्नो दिनानुदिनमा भोग्नु परेका पीडा लुकिरहेको थियो।
निन्द्राबाट ब्युँझने बित्तिकै अर्धचेत अवस्थामै मस्तिष्कले सर्वप्रथम चस्मा खोज्दछ अनि छामछुम गरेर चस्मा भेटिएपछि चैनको सास फेर्दै बल्ल सुरू हुन्छ म र मजस्ता चस्मावाला अनि चस्मावालीको दिनचर्या।
सानैमा दृष्टि कमजोर भएका कारण डाक्टरले चस्मा दिए। आँखा जाँच गर्दा ए बी सी डी सोध्ने रहेछन् भन्ने थाहा भयो।
चार कक्षामा पढ्नेलाई पनि ए बी सी डी भन्न आएन भने बेइज्जत होला भन्ठानेर आफ्नो पालो आउनु अगावै नजिकै गएर ए बी सी डी लेखेको पढें। तर डाक्टरले र्यान्डम्ली सोधेपछि मेरो भुत्ते चतुर्र्याईंको केही सीप लागेन। म साक्षरता परीक्षामा फेल भएँ।
अन्ततः मलाई माइनस २.५ पावरको चस्मा दिइयो।
चस्मा लाउनु अगाडि लाग्दथ्यो संसार पूरै धमिलो छ। मैले जसरी मधुरो संसार देख्थें, लाग्थ्यो अरूले पनि त्यसरी नै देखिरहेका होलान्।
पहिलोपटक चस्मा लगाउँदा, सबैले आफूलाई नै हेरिरहेको जस्तो अनुभूति भयो। कुहिरो लागेको बादललाई चिरेर छ्याङ्ग भएको आकाशजस्तै। लाजले भुतुक्कै भएँ। दश वर्षको उमेरमा आफूलाई सत्तरी वर्षको अनूभव गर्न थालें। स्कुलमा साथीहरूको बुलिङको सिकार भइएला कि भन्ने उता अर्कै तनाव।
वनको बाघले खाओस्, नखाओस् मलाई मनको बाघले काच्चै चपाइरहेको थियो। आत्मविश्वास कमजोर हुन थाल्यो। आफैंप्रति हीनताबोध हुन थाल्यो। चस्मा लगाएर आफूले ठूलै अपराध गरेझैं लाग्न थाल्यो।
एक्लोपनमा रमाउन थालें। सबैले मलाई एकलकाँटे भनेर संज्ञा दिए। अहिलेको समय थियो भने बाल मनोविज्ञानका कुरा गरेर सम्झाइन्थ्यो होला। तर त्यतिबेला मैले ठूली भएकी, पढन्दास्, घमण्डीजस्ता उपनाम कमाएँ।
त्यसपछि, चस्माबिना जति पनि कष्ट भोग्न तयार भएँ म। कयौंपटक ठेस लागेर लड्दा पनि चस्मा लगाउने हिम्मत गरिनँ।
आफूलाई आउने पाठका प्रश्नहरू ब्ल्याकबोर्डमा लेखेका अक्षर धमिलो भएर ठम्याउनै गाह्रो हुन्थ्यो। छेउमा बस्ने साथीले जे लेख्यो त्यही सार्ने बानीले मैले आफ्नो आत्मविश्वास गुमाउँदै गइरहेको महसुस गर्न थालें। मलाई अरूमा आश्रित हुने बानी लाग्न थाल्यो।
धेरै साथीभाइले मेरो यो मजबुरीको फाइदा पनि उठाउँथे। उनीहरूले लेख्दा म पनि सँगै लेख्थें। उनीहरूले लेख्न बन्द गरे, म अलमल्ल पर्थें। उनीहरू कहिलेकाहीँ गलत प्रश्न लेखिदिन्थे अनि मैले सारिसकेपछि सच्याउँथे।
मलाई तड्पिएको देख्दा उनीहरूलाई रमाइलो लाग्थ्यो। सबै कुरा थाहा पाएर पनि म वैसाखी नभएको लाचार र बेसहारा जस्तो महसुस गर्थें आफूलाई।
आखाँ चिम्र्याउँदै ब्ल्याकबोर्डमा लेखेका अक्षर प्रष्ट नदेख्दा बल्लतल्ल सार्थें।
समयमा कक्षाकार्य नबुझाएकोले सरहरूबाट खानु परेको लाठी र साथीभाइको अगाडि भोग्नु परेको बेइज्जतीले त्यसबेलाको मेरो कलिलो बाल मस्तिष्कमा अमिट छाप बनायो।
भिजन क्लियर नहुँदा कयौंपटक अपरिचित व्यक्तिलाई परिचितजस्तो लागेर दिएको मुस्कान खेर गएको छ।
कहिले उताबाट केही प्रतिक्रिया आउँदैनथ्यो भने त कहिले परिचित अनुहारले गरेका इशारामा प्रतिक्रिया नजनाउँदा उनीहरूको कुरा काट्ने खुराक बन्ने गर्थें।
वास्तविकता थाहा पाउँदा कयौंपटक आत्मग्लानी महसुस गरिरहें।
हाटबजार जाँदा एक वृद्घको धोतीको फेरलाई ममीको धोतीको फेर ठानी कन्फिडेन्ट्ली समातेर हिँडिरहेको बेला त्यस अवस्थामा मलाई देख्नेहरूका निम्ति म सरकसको जोकर जस्तो बनेकी थिएँ। यसमा दोष थियो त केवल मेरो कमजोर दृष्टिको।
यसरी अर्काले के सोच्ला, अर्काले मे भन्ला भन्ने भय अनि मनगणन्ते कुराहरूले आफ्नो बालापन त्यसै खेर फालेकोमा, यो गीतको मर्म बुझ्न थालेकी छु अचेल।
“फेरि कहाँ आउँछ र घुमेर, त्यो बालापनको उमेर.....”
खैर कमजोर दृष्टिका कारण भनौं या सही मार्गनिर्देशनका अभावमा मैले जे जस्ता अप्ठ्याराको सामना गरें, ती फगत म आफैंले निम्त्याएको दुःखको परिणती थियो, जो गोजीमा चस्मा बोकेर समस्यालाई स्वागत गर्दै हिँड्थें।
समयक्रममा म चस्मासँग अभ्यस्त भएँ। अब त चस्मा मेरो पहिचान बनेको छ। रासनको पैसा तिर्न जाँदा पसलको खातामा मेरो नाम चस्मे दिदी लेखिएको रहेछ। अचेल यस्ता कुरालाई सहर्ष स्वीकार्ने आदत बसिसक्यो मेरो।
मैले सधैं आफ्नो वास्तविकतालाई ढाक्न खोजें। मैले आफूजस्तो बन्न नसक्दा या भनौं अरूजस्तो बन्न खोज्दा नियतिले हानेको झापड खान बाध्य हुनुपरेको थियो।
परिस्थिति जस्तो भए पनि मनस्थिति ठिक भए मेरो भाइको जस्तो समस्यामा पनि समाधान भेटिने रहेछ।
समयसँगै चस्माप्रतिको मेरो नकारात्मक मानसिकताले भरिएका भ्रमहरूलाई चिर्न त्यही चस्माका रिभाइज्ड फर्महरू ट्रेन्ड तथा स्टाटस सिम्बोलको रूपमा स्थापित हुँदै आइरहेका छन्। खुसी लाग्छ अहिले। हिजो जे देखेर म भाग्थें आज दुनियाँमा फेसनको अवतार लिएर आएको त्यही चस्माको पछि संसारभरका मानिसहरू दौडिरहेका छन्।
चस्मा कसैको लागि बाध्यता हो भने धेरैको लागि फेसन र सोखको विषय बनेको छ आजभोलि।
आँखा वरिपरिको चाउरिपन लुकाउन होस् या बोल्ड लुक्समा देखिन, धुँवा धुलो या प्रदूषणबाट बच्न होस् या मन भित्रका पीडा लुक्न नसकेर आँखामार्फत् झरेका आँसु लुकाउनः चस्मा उम्रेदेखि खुम्रेसम्म सबैको प्रिय वस्तु बनेको देख्दा विगतमा मैले चस्माप्रति गरेको वितृष्णा सम्झेर कहिलेकाहीँ मेरा आँखा रसाउँछन्।
अहिले चस्मा र मेरो नाता नङ र मासु जत्तिकै घनिष्ठ छ।
एकछिन पनि उसँग छुट्टिनु पर्दा मलाई ठिक त्यस्तै छट्पटाहट हुन्छजस्तो छट्पटी एउटा माछालाई पानीबाट निकाल्दा हुने गर्दछ।
ऊ मसँग हुँदा पूर्णता पाएको महसुस हुन्छ मलाई। ऊसँग मेरो अफेयर चलेको पनि दुई दशक नाघिसकेछ।
उसले मलाई जीवनभर सधैं तिमीसँगै रहन्छु भनेर कसम खाएको छ। उसले आफ्नो बाचा इमान्दारितापूर्वक निर्वाह गरी नै रहेको छ।
मेरो जीवनभर साथ दिने मेरो जीवन साथी चस्माप्रति हार्दिक नमन।
तिमी छौ र त संसार सुन्दर छ।