ट्याक्सी र राइड सेयर पठाओबीचको विवाद उत्कर्षमा चलिरहेको बेला गत हप्ता मैले अचानक ट्याक्सी प्रयोग गर्नुपर्ने भयो।
काठमाडौं पसेको विगत पन्ध्र वर्षयता लगभग सयौं पटक ट्याक्सी चढेर एक ठाउँबाट अर्को ठाउँ गइयो होला।
यी सयौं पटकमा केही पटकबाहेक मिटर अनुसार पर्ने भाडादरमा ट्याक्सी पाइएको विरलै होला अर्थात् राम्ररी सम्झियो भने औंलामा गन्न सकिने पटक मात्रै उचित भाडा दरमा ट्याक्सी पाइएको होला।
यी सयौं पटकहरूमध्ये कयौंपटक त राति कलंकीबाट कीर्तिपुरसम्म आएको एक हजार पाँच सयदेखि दुई हजारसम्म तिरेका उदाहरणहरू पनि छन्।
यस्ता सयौं पटकहरूको अनुभव नलिएका र काठमाडौंमा बस्ने कमै मानिसहरू होलान्।
गत हप्ता बेलुकीपख छोरीलाई एक्कासि ज्वरो आयो। भमिट पनि गर्न थाली। ज्वरो अलिअलिमात्रै भएको कारण फोनबाटै डाक्टरको सल्लाह लिइयो। सल्लाह अनुसार औषधि खुवाइयो। औषधि खाएपछि ज्वरो ठिक भयो।
अर्को दिन बेलुकीसम्म ठिकै थियो। बुलुकी ८:३० बजेतिर फेरि ज्वरो आयो। दुई तीनचोटि भमिट भयो।
एकछिनमै ज्वरो चेक गर्दा १०४ डिग्री पुगेको रहेछ। घडीमा हेर्दा रातिको ९ बजिसकेको थियो। अचानक ज्वरो बढेपछि र भमिट गर्न थालेपछि अस्पताल लैजानुपर्ने भयो।
नजिकको अस्पताल कीर्तिपुर अस्पतालन लैजाने कुरा भयो।
घर र अस्पतालको दूरी १.५ किमीभन्दा कम भए पनि रातिको समय हिँडेर जान नसकिने भएपछि एम्बुलेन्स बोलाउने निर्णय भयो। तर एम्बुलेन्सबाहिर गएकाले ढिला हुने र बिरामीको अवस्था पनि नराम्रो हुँदै गएपछि ट्याक्सीमा जाने निर्णय गरियो। पाँगा दोबाटोमा पाँच/छ वटा ट्याक्सी लहरै उभिएका थिए।
हतार-हतार छेउको ट्याक्सी चालकलाई ‘दाइ कीर्तिपुर अस्पताल जानुहुन्छ ?’ सोधें।
‘दाइ’ भनेकोसम्म सुने पनि ‘कीर्तिपुर अस्पताल’ भनेको सुन्ने बित्तिकै उनले सुनेको नसुनेझैं गरे।
बाहिर निकालेको टाउको पनि भित्र तानेर सीसा लगाइदिए।
मैले फेरि पनि नजिकै गएर ‘जानुहुन्छ दाइ ?’ भनेपछि अलिकति सीसा खोलेर आफू ‘क्यू’मा भएको र अर्कोलाई भन्नु भने। म अलिकति अगाडि बढें। नजिकैको अर्को ट्याक्सी चालकलाई भन्न खोजेको मात्रै के थिएँ उनले नबोलेर हाउभाउबाट नजाने संकेत दिए।
उनले पहिलो ट्याक्सी चालकसँगको संवाद सुनिसकेका थिए।
‘कता जानुपर्ने हो सर ?’ भर्खरै बाहिरबाट मान्छे ल्याएर आइपुगेको ट्याक्सी चालक आफैंले सोध्यो।
मान्छे झरिसकेपछि ऊ मेरो नजिकै आयो। सायद उसले म ट्याक्सीको खोजीमा रहेको र अगाडिका ट्याक्सीहरूले जान नमानेको अड्कल काटिसकेको थियो। ‘जानू, जानू उहाँलाई कीर्तिपुर हस्पिटल लगिदिनू’ सुरूमा सोधेको ट्याक्सी चालकले परैबाट हात हल्लाउँदै भन्यो।
‘कीर्तिपुर हस्पिटल जानुपर्ने जानुहुन्छ ?,’ मैले सोधें।
‘कीर्तिपुर हस्पिटल यिनीहरू कोही जाँदैनन् पाँच सय दिने भए म लगिदिन्छु’ । उसले ट्याक्सीको ढोका बन्द गर्दै भन्यो।
‘पाँच सय’ सुन्ने बित्तिकै अस्पतालसम्मको दूरी सम्झिएँ।
मलाई लाग्यो लगभग डेढ किलोमिटरको पाँच सय त धेरै हो। उता बिरामीको अवस्था सम्झेर पाँच सय दिएर भए पनि जाऊँजस्तो लाग्यो।
‘पाँच सय त धेरै भयो दाइ अलि मिलाउनु न यति नजिकको पाँच सय त काँ भन्न मिल्छ र ?’
‘पाँच सय नदिने भए त कोही जाँदैन सर कोही जान्छ भने सोधेर हेर्नुस् न।’ मलाई झनक्क रिस उठ्यो।
‘तपाईंले मिटरमा जानुपर्ने होइन र ? तै पनि इमर्जेन्सी छ भनेर मिलाएर दिन्छु भन्दैछु। सिधै पाँच सय पो भन्नुहुन्छ त ?’ मेरो कुरा सुनेपछि उसले नजाने निश्चित नै गर्यो।
‘तपाईं मिटरका कुरा गर्नुहुन्छ भने त हिँडेरै जानुस् नजिकै छ’ उताबाट आउने मान्छे पाउँदैन मिटरमा त जान्नँ।’
ऊ ट्याक्सी चलाएर अगाडि हुइँकियो।
मलाई झन् आपत पर्यो। पाँच सयमै भए पनि एउटा जान तयार भएको थियो त्यही पनि हिँडेपछि के गर्ने ?
अघिसम्मका सबै कुरा सुनिरहेको नजिकैको ट्याक्सी चालक ट्याक्सीको सीसा अलिक तल झारेर भर्खरै आएको एउटा ट्याक्सीलाई देखाउँदै बोल्यो ‘यी सबै ट्याक्सीहरू ‘क्यू’ मा हुन् भाइ कोही जाँदैनन्, ऊ त्यो जान्छ होला सोध्नु त।’
अब त पाँच सयमै जाने भेटिए पनि जान्थें भन्नेमा म पुगिसकेको थिएँ।
‘कीर्तिपुर अस्पतालसम्म जाम है दाइ’
‘पाँच सय लाग्छ बस्नुस्’ ढोका खोल्दै मलाई भित्र बस्न भन्यो।
पाँच होइन तीन सय दिन्छु। अलिक घट्छ कि मैले प्रयास गरिहेरें ।
‘चार दिन भए बस्नुस् नत्र जान्नँ म’ उसले प्रतिउत्तर दियो।
म केही नबोली चुपचाप ट्याक्सीभित्र बसें।
यस घटनाले मलाई बजारमा चलिरहेको ट्याक्सी र प्रविधिमैत्री यातायात प्रणाली राइड सेयर (विशेषगरी पठाओ, टुटल)को विवादबारे सोच्न बाध्य बनायो।
मैले ट्याक्सी र आधुनिक प्रविधिमा आधारित यातायात प्रणाली दुइटैको सेवा लिइसकेकोले दुइटैको सेवा प्रणालीबारे तुलना गर्न पनि बाध्य बनायो।
हुन त सबैका आ-आफ्नै राम्रा र नराम्रा गुण छन्।
आफैंले सुधार गर्नुपर्ने कुराहरू पनि नभएका होइनन्।
केही नीतिगत र प्रक्रियागत समस्या पनि छन्। त्यसभन्दा पनि बढी सरकारी संयन्त्रकाको लाचारीपन र निगरानीको अभावको कारणले हामी नागरिकहरूले समस्या भोग्नुपरेको कुरा पनि सर्वविदितै छ।
राजधानीभित्रको सार्वजनिक यातायत व्यवस्थित गर्न सर्वप्रथम दिनदहाडै छाडा रूपमा नागरिक लुट्न उद्दत ट्याक्सी व्यवसायीहरूलाई नियमन गर्न आवश्यक छ भने अर्कोतिर राइडर सेयरको नाममा नीति र नियम विपरीत कार्य भएका छन् भने त्यो पनि राज्यको दायराभित्र ल्याउनु आवश्यक देखिन्छ। पुरानो र नयाँ बसपार्कमा सर्वसाधारणलाई जाने ठाउँ नै नसोधि लुगै च्यातिनेगरी तान्ने गाडी स्टाफहरू आजभोलि अलि कम भए पनि झगडा नगरी उपयुक्त भाडा तिर्ने पाउने वातावरण भने अझै सिर्जना हुन सकेको छैन।
यो बाहेकका सिटभन्दा बढी मान्छे कोच्ने र यात्रुलाई सम्मानजनक व्यवहार नगर्नुलाई त सर्वसाधारणहरूले सहजै पचाइरहेका छन्।
अहिलेको विश्वव्यापीकरण, इन्टरनेटजन्य प्रविधियुक्त समयमा पनि परम्परागत शैलीमा, देशको राजधानीभित्रै पाइला पाइलामा ठगिन बाध्य हामी नागरिकहरूले छनोटको सेवा प्रयोग गर्न नपाउनु दुर्भाग्यको विषय हो।
धेरै पढेलेखेका मानिसहरू बस्ने भनिएको देशको राजधानीको अवस्था त यस्तो छ भने देशको दूरदराजको हालत के होला ?
कल्याणकारी लोकतन्त्र र नागरिक सन्तुष्टिसहितको शासन व्यवस्थाको कल्पना गरेको देशमा नागरिकले चाहेकोबेला सर्वसुलभ रूपमा किफायत मूल्यमा सेवा पाउनु नागरिकको अधिकार हो भने समयानुकूल नीति नियमको दायराभित्र ल्याएर नागरिक र कानूनी शासनको प्रत्याभूति दिलाउनु राज्यको दायित्व हो।