लगभग डेढ दशक अगाडि हेटौंडामा पत्रकारिता पढाइ हुने कलेजको संख्या आधा दर्जनभन्दा धेरै भैसकेका थिए। विद्यार्थीको संख्या पनि कुनैमा एउटा कक्षानै पुरै भरिने थिए भने कुनैमा विद्यार्थी संख्या नभएर कोर्स संचालननै गर्न नसकिको अवस्था थियो।
अनि पत्रकारिता पढाउने शिक्षक भने कि काठमाडौँमा कि पुराना पत्रकारमा भर पर्नुपर्ने बाध्यता थियो। दोस्रो जनआन्दोलनपछि त संचार माध्यम खुल्ने क्रम यसरी बढ्यो कि हरेक पत्रकारसँग आ-आफ्नो संचार माध्यम थिए।
अधिकांश पत्रकारहरु राजधानीका ठुला मिडिया हाउससँगै लोकल मिडियामा समेत आवद्ध हुन्थे। तर लोकल मिडियामा भने पत्रकारिता पढेकाहरुको बाक्लो उपस्थिति हुने क्रम बढ्दै थियो।
तर पत्रकारिता पढेका अधिकांशले पत्रकारिता पेशालाई निरन्तरता दिन सकेनन्। कतिले तत्कालै पत्रकारिता छोडेर पढाइलाई निरन्तरता दिए भने कतिले पढाइसँगै पत्रकारितालाई सँगसँगै लगे।
पत्रकारिताको पढाइसँगै पत्रकारितालाई निरन्तरता दिने मध्ये म पनि एक थिएँ। हाल नेपाल प्रहरीको प्रहरी निरीक्षकका रुपमा कार्यरत छु। पत्रकारितामा डिग्री गर्ने उद्देश्यले हेटौंडा छोडेको थिएँ। अन्तमा पत्रकारिता नै छोडेर नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकमा भर्ती भएँ।
विसं २०६० सालदेखि पत्रकारितामा आबद्ध म, २०६६ सम्म संचार क्षेत्रमै जोडिए पनि २०६७ देखि भने पत्रकारिता नै छोड्ने निर्णय गरेँ। पत्रकारितामा रुची नै नभएर त हैन, मेरो बुबा पनि प्रहरी भएकाले घर परिवार सबैको चाहाना प्रहरीको अधिकृत बनोस् भन्ने नै थियो।
तर त्यतिबेलाको भर्ना प्रकृयामा भएको ढिलाइले गर्दा आफ्नो रुची प्रहरीमा भन्दा पत्रकारितामै बढ्न थालेको थियो। २०६४ सालमा असईमा फर्म भरेको थिएँ तर फाइनल रिजल्ट निकाल्नै ३ वर्ष लगाइदिएपछि के गर्ने गर्ने भन्ने द्विविधा पनि भयो।
योभन्दा अगाडि एक पटक प्रयास गरेर असफल भएपछि द्रोस्रो पटकमा पाएको सफलताले खुसी त भइयो नै। विसं २०६६ सालमा प्रसनि पदको फाइनल रिजल्ट आउँदा म मिडिया हाउसले संचालन गरेको टेलिभिजन कार्यक्रममा आवद्ध थिएँ।
त्यतिबेलासम्म मैले मोफसल र राजधानीको पत्रकारिताको फरक मात्रै हैन, पत्रकारितामा स्नातकोत्तर गर्ने उद्देश्यलाई समेत निरन्तरता दिइरहेको थिएँ। त्यतिबेला मसँगै आरआर कलेजमा पत्रकारिता पढ्ने साथीहरु अहिले नेपालको प्रमुख संचार माध्यमहरुमा आवद्ध छन्।
अझै हेटौंडादेखि राजधानी पुगेका धेरै साथीहरु अहिले विभिन्न संचार माध्यममा आबद्ध भएको देख्दा म पनि कतै यही हुन्थेँ कि भन्ने त बेलाबेलामा लाग्छ। तर यता पनि ठिकै छ, मैले मिडिया छोडेपनि मिडियाले मलाई छोडेको छैन।
आखिर त्यस्तै भइरहेको छ। १२ महिना प्रसनि आधारभूत तालिम सकेपछि मेरो पहिलो पोस्टिङ भयो ट्राफिक महाशाखा, रामशाह पथ। म हाजिर हुनु अगाडि नै ट्राफिक एफएम संचालन गर्ने बारेमा पहल भइरहेको रहेछ।
त्यति बेलाका ट्राफिक महाशाखा प्रमुख डिआइजी विज्ञानराज शर्माले गरेको पहलले ट्राफिक एफएम संचालनको अनुमति पायो। रेडियो कार्यक्रम संचालन तथा उत्पादन सम्बन्धी कर्मचारी छनौट गर्ने र छनौट भएका प्रहरी कर्मचारीहरुलाई तालिम दिने कार्यको जिम्मेवारी पाएँ अनि तयार पारेँ ३५ जना रेडियोमा बोल्ने प्रहरी कर्मचारी।
विसं २०६९ साउन ८ गतेबाट प्रसारण सुरू भयो- मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्ज। त्यसपछि मैले छोडेको मिडियाले मलाई फेरि पछ्यायो। लगभग चार वर्ष रेडियोमा बिताइयो।
कहिले काहीँ त दिनको ७ घण्टासम्म पनि रेडियोमा बोलियो। प्रहरीका गतिविधि, ट्राफिक अपडेट, सचेतनामूलक सामाग्री निर्माण गर्ने, मनोञ्जनात्मक कार्यक्रमका साथै रेडियो फर्म्याटका सबै कार्यक्रम उत्पादन, संचालन गर्ने अवसर पाइयो।
स्वतन्त्र लेखनसँग सम्बद्ध संचार क्षेत्रबाट सरकारी त्यसमाथि प्रहरीको रेडियोमा काम गर्दाको अनुभव कस्तो हुँदो रहेछ? धेरैलाई जिज्ञासा हुन सक्छ।
आखिर कन्टेन्ट एउटै हुने तर प्रस्तुत गर्ने शैली मात्रै फरक हो जस्तो लाग्छ। प्रहरीले रेडियो संचालन गरेको मात्रै पहिलो पटक हो तर रेडियो, टिभी कार्यक्रम त पहिल्यैदेखि संचालित छन्।
अरु माध्यममा विषय छनौटमा धेरै विकल्प हुन्छन् तर हामीसँग त्यो विकल्प नहुने, थोरै सामाग्रीलाई समेटेर कार्यक्रम तयार गर्नुपर्ने हुन्छ। स्थापनाको क्रममा चलेका कार्यक्रम परिमार्जन गर्दै जाने क्रममा नेपालका सेलिब्रेटीसँग ट्राफिक व्यवस्थापनको बारेमा कुराकानी गर्ने कार्यक्रम समेत हामीले संचालन गर्यौँ।
यो कार्यक्रम मार्फत मलाई नेपालका सयजनाभन्दा बढी सेलिब्रेटिसँग कुराकानी गर्ने, चिनजान गर्ने अवसर पनि दिलायो। कति कलाकारसँग त मेरो नजिकको सम्बन्ध समेत बन्यो। ट्राफिक व्यवस्थापनका विषयलाई समाजमा विभिन्न कारणले ख्याति कमाएका व्यक्तिहरुले कसरी लिंदा रहेछन् भन्ने जानकारी लिने पनि अवसर पाएँ।
ट्राफिक एफएमबाट आफै सरुवा मागेर फेरि मिडियासँगको सम्बन्ध छोड्ने निर्णय गरेको ६ वर्षको अवधिमा विभिन्न प्रहरी युनिटमा मात्रै खटिइएन, प्रहरी नायब निरीक्षकमा बढुवा भएँ।
२०७४ सालमा लोकसेवा पास गरेर प्रहरी निरीक्षक समेत भएँ। तर जुन युनिटमा पुगेँ, त्यो युनिटको मिडिया समन्वय गर्ने, प्रेस विज्ञप्ती सम्प्रेषण गर्ने जस्ता जिम्मेवारीले भने निरन्तर पाइरहेँ।
म कुनै न कुनै रुपमा मिडिया, संचारकर्मीहरुसँग जोडिइरहनु पर्ने हुन्थ्यो, सबैले मेरो ब्याकग्राउन्डकै कारण त्यस्तो जिम्मेवारी दिन्थेँ। अर्को कुरा सबै संचार माध्यममा मेरो साथीहरु हुने हुँदा मलाई सजिलो पनि हुन्थ्यो।
अझ प्रहरी निरीक्षक भएपछि प्रहरीका विभिन्न कार्यक्रमहरु संचालन गर्ने, प्रहरीको गतिविधि मिडियालाई जानकारी गराउने कार्यको अभिभारा ममाथि नै आइहाल्ने।
प्रहरीको मिडियासँग सम्बन्धित जिम्मेवारी निर्वाहमा मात्रै हैन, आफू प्रहरीको अन्य जिम्मेवारीका साथै अपराध अनुसन्धानमा पनि अगाडि बढिरहेँ।
प्रहरी निरीक्षक भएर पहिलो पोष्टिङको रुपमा २०७५ साल असारदेखि असोज महिनासम्म चार महिना प्रदेश प्रहरी कार्यालय हेटौंडामा खटिँदा नारायणगढबाट साँढे २ किलो सुन र साँढे चार किलो चाँदी सहित एक जना भारतीयलाई पक्राउ गरेको थिएँ।
सोही अवधिमा ११४ किलो लागु औषध गाँजा सहित ट्रक र चालक पक्राउ गरेँ, फरार अपराधी मात्रै १७ जनालाई पक्राउ गरेँ, चोरीका मोटर साइकल र चार पांग्रे सवारी साधन समेत पक्राउ गरी पुरस्कृत भएँ।
त्यो चार महिना मेरो लागि महत्वपूर्ण भयो। प्रदेशको इन्टेलिजेन्स शाखाको जिम्मेवारी पाइयो। थोरै समय थियो मसँग किनभने ४ महिनापछि म प्रहरी निरीक्षकको तालिममा जानु पर्ने थियो। त्यतिबेला सूचना संकलन र कार्यान्वयनमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी दिवसको अवसरमा पुरस्कृत हुने समेत मौका पाएँ।
२०७५ असोजदेखि २०७६ मंसिरसम्मको प्रहरी निरीक्षकको आधारभूत तालिम सकेर पुन: बागमती प्रदेश प्रहरी कार्यालयमा फर्केपछि मललाई फेरि मिडियाकै कामले समात्यो।
बागमती प्रदेश प्रहरी कार्यालयले टेलिभिजन कार्यक्रम संचालन गर्न सुरुआत गर्ने निर्णय गरेपछि प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्तकुमार लामाले टेलिभिजन कार्यक्रम संचालन गर्ने जिम्मेवारी प्रदान गरे।
रेडियोपछि फेरि प्रहरीको टेलिभिजन कार्यक्रम प्रहरी दर्पण संचालन गरिरहेको छु। यहाँ पनि कार्यक्रममा काम गर्ने प्रहरी कर्मचारीको छनौट गरेर कार्यक्रम उत्पादन एव संचालन सम्बन्धी कार्यको संयोजन गरिरहेको छु।
यो कार्यक्रम रेडियो फर्म्याटमा समेत तयार गरेर प्रदेशभरिका २२ वटाभन्दा बढी रेडियोबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाएको छु।
रहरले पढेको पत्रकारितालाई निरन्तरता दिन सकिएन। सायद त्यही भएर पनि मिडियाले नछोडेको होकि जस्तो लाग्छ। अर्को कुरा भनेको सूचना सम्प्रेषणको कार्य सबै क्षेत्रमा आवश्यक छ तर त्यस्तो निकायमा मिडियाको जानकारी भएका कमै व्यक्ति हुने हुँदा जसले जानेको छ, उसले गर्नु त स्वभाविक नै हो।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका काम कारबाहीलाई योजनाबद्ध र व्यवस्थित बनाउने समेतको जिम्मेवारी पाएँ। प्रदेश प्रहरी कार्यालयको योजना अन्वेषण शाखाको जिम्मेवारी पाएको छु। बागमती प्रदेश प्रहरीले जारी गरेका अधिकांश योजना, कार्यविधि र मापदण्डको लेखन तथा कार्यान्वयनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेको छु।
२०१६ सालदेखि नै नेपाल प्रहरीले विभिन्न जर्नल निकाल्ने, रेडियो, टेलिभिजन कार्यक्रम संचालन गर्ने कार्य गरिरहेकै छ। पछिल्लो समयमा त प्रहरीले प्रकाशन एवम् प्रदान गर्ने सूचना प्रणालीमा केही सुधार भएको देखिन्छ।
नेपाल प्रहरीको विभिन्न प्रदेश समेतमा गरी संचार र सूचना सम्प्रेषणमा काम गर्ने जनशक्ति एक सयभन्दा बढी रहेका छन्।