हामीले हामी को हौँ भनेर चिन्नु आवश्यक छ। हामी सामाजिक प्राणी हौँ। यदि हामीसँग समाजको उपस्थिति हुन्छ भने हामीलाई कहिले पनि एक्लो अनुभूति हुँदैन।
मानिसको समाजसँग नङ र मासुको सम्बन्ध जस्तै हुन्छ। एकअर्काको बिना सफलताको शिखर चुम्न सकिँदैन। त्यसअर्थ हामीलाई समाजको आवश्यकता हुन्छ र समाजलाई हाम्रो।
हाम्रो मूल्य मान्यता, सभ्यता तथा संस्कृति जस्ता कुराहरु सबै समाजसँग जोडिएको हुन्छ। समाजमा रहेका हरेक व्यक्तित्वहरु एकअर्काका प्रेरणाका स्रोतहरु हुन्। त्यसैले समाजमा हुने हरेक गतिबिधिले हामीलाई प्रभाव पारिरहेका हुन्छन्।
यसरी यी समाजमा भएका तत्वहरुमा शिक्षा र शैक्षिक वातावरण एउटा प्रमुख तत्वको रुपमा मानिन्छ। किनभने शिक्षाले नै सामाजिक संस्कार र मूल्य मान्यतालाई अगाडि पुर्याउने कार्य गर्दछ। अर्थात्, शिक्षित समाजले नै समाजको पहिचान गराउँदछ।
यसरी समाजमा हुने एकअर्काको समन्वय, पारस्परिक सहयोग, मेलमिलाप जस्ता कुराहरु समाजका गहनाहरु हुन्। हामी गुरुकुल शिक्षादेखि अहिलेको आधुनिक शिक्षालाई हेर्न सक्छौँ, शिक्षा र शिक्षित व्यक्तिहरुमा भएको आदर्श हराउन थालेका छन्।
यसलाई जोगाइराख्नु हाम्रो कर्तव्य हो। अहिलेको वर्तमान समाजले के खोजेको छ, बुझ्नु जरुरी छ। साथै अहिलेको शिक्षाले समाज र शिक्षितहरुको माझ द्वन्द ल्याउन थालेका छन्। शिक्षित युवाहरुमा विदेशको क्रेज बढेको छ भने सरकारी सेवामा काम गर्ने कर्मचारी बाहेकलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ।
मेरो अनुभवमा सरकारी सेवामा भएको कर्मचारी एकदमै न्यून संख्यामा इमान्दार तथा राष्ट्रप्रेमले आफूलाई ओतप्रोत साबित गरेका छन्। सरकारी सेवामा प्रवेश गर्नु भनेको आफू पनि बाच्ने र अरुलाई नि बचाउने हो तर यहाँ त्यस्तो देखिदैन।
राजनीतिले जकाडेको यो सरकारी संजाल न कर्मचारीलाई भो न त राजनीतिज्ञलाई। यी दुइटाको सुरक्षित सम्बन्ध रहन सकेन किनकि दुवैले एकअर्कालाई हस्तक्षेप गर्न छोडेनन्। अहिलेको शिक्षाले समाजमा थप दबाब सिर्जना गर्यो।
यसकारण कि भएकै जनशक्ति थपियो। जतिसुकै मेहनत र प्रयास गरेपनि दाइजो र बाल विवाहलाई अन्त्य गर्न सकिएन। शिक्षाको वास्तविक अर्थ न त समाजले बुझ्न सक्यो न त सामिजिक व्यक्तित्वले।
शिक्षालाई सामाजिक रुपान्तरणसँग जोड्दा राम्रो होला। शिक्षाले सामाजिक मूल्य मान्यता, सभ्यता तथा संस्कृतिलाई जोगाउने र नयाँ मूल्य मान्यतालाई स्थापित गर्ने कार्यमा सघाउ पुर्याउने कार्य गर्दछ।
शिक्षाको उदेश्य मात्र जागिर खाने नभई व्यक्तिको व्यवहारिक परिवर्तन पनि हो। केही मानिसको भ्रमको कारण, सरकारी सेवाले मात्रै जीवन चल्छ भन्ने बुझाइको कारण दाइजो प्रथा तथा बाल विवाहको अन्त्य हुन सकेको छैन।
सरकारी सेवाले मात्र सामाजिक परिचालन हुनै सक्दैन। छोरी र छोराको शिक्षामा बराबरको लगानी हुनु आवश्यक देखिन्छ अनि मात्र शिक्षामा भएको छोरा र छोरी बीचको विभेदलाई अन्त्य गर्न सकिन्छ।
अहिलेको समाजले फरक खालको जनशक्ति खोजेको छ। समाजलाई समृद्धिको दिशामा रुपान्तरण गर्नु जरुरी देखिन्छ। व्यवहारिक र प्रविधिक शिक्षामा जोड दिनु अहिलेको आवश्यकता हो।
युवालाई विदेश जान रोक्न र समृद्धिको बाटोमा ल्याउनुको साथै समग्र राष्ट्रको विकासलाई सुनिश्चित गर्न युवा उद्यमशीलताको क्षेत्रलाई समेट्नु पर्दछ। शिक्षित युवाहरुलाई उद्यमी हुन सकेसम्म प्रेरित गर्नु पर्दछ।
हाम्रो समाजमा थुप्रै सफल उद्यमीहरुको उदाहरण खोज्न सकिन्छ जुन उदाहरणले ती युवा उद्यमीहरुलाई एउटा लक्ष्यमा पुग्न थप पुनर्बलको काम गर्नेछ।