नेपाल टेलिकमको प्रिपेड नम्बर लिएर आफ्नै सेट हुँदा मेरो जेब गह्रौँ भएपनि मन हलुंगो थियो। अपरिचित नम्बरबाट धेरै मिसकल आएपछि कसको होला भनी धेरैपल्ट फोन गर्दा पनि नउठाएपछि एउटा पुरूषले म्यासेज गर्यो।
उस्को म्यासेजमा 'तिमी र म म्यासेज गरिरहौँ, तिमी पनि कसैलाई नभन म पनि कसैलाई भन्दिनँ कान्छी, मायालु' हुन्थ्यो। यी शब्दको प्रयोगकर्ता नेपाली सेनामा काम गर्ने दुई सन्तानको बाबु, मेरो हल्का परिचित मान्छे थिए।
घरमा आफ्नी बाघजस्ती स्वास्नी देखेपछि पाइन्टमा छुलछुली चुहाउनेको यस्तो हिम्मत भनी आफ्नो श्रीमानलाई देखाएँ। तर उल्टो शंकाको घेरामा म आफै परेँ।
त्यही व्यक्तिबाट 'कृपया एकपल्ट फोन उठाउनुहोस्' भनी म्यासेज आयो। शंकाले लंका जलाउँछ भन्ने लागेर श्रीमानकै अगाडि फोन गरेर न्वारनदेखिकै बल निकालेर गाली गरेँ। त्यसपछि त्यसको हिम्मत भएन होला कि कुनै महिलालाई फोन गर्ने।
बाल्यकालमा विवाह गरेर गएकी उनले शारीरिक रूपमा कमजोर भएका कारणले आफ्ना जेठाजुलाई स्याहार सुसार गरी मायालु वातावरण बनाउँदा अन्धकार रातमा लोग्ने नभएको मौका छोपी बलात्कारको प्रयास गर्न पुग्छ ऊ। आफ्नो जीवनभरी पाउने स्याहार सुसार कसरी एक रातमा आफैं बिगार्दै बलात्कारीको सूचीमा आफ्नो नाम खोज्दै छ ऊ!
आफ्ना नजिकका दिदी बहिनीलाई कुदृष्टिले हेर्ने र उनका संवेदनशील अंग हेर्न मात्रै हैन, उस्तै मौका पर्दा हातसम्म लगाउने त्यो व्यक्ति सबैका अगाडि कुनै दिदी बहिनीले थुक्क थुक्क भनिरहँदा पनि किन मुन्टो उठाएर प्रतिवाद गर्न सक्दैन? एक्लो महिला अगाडि बाघ र समाजका अगाडि रूजेको बिरालो हुँदा उसको पुरूषत्व कहाँ गुम्यो?
विद्यालयमा सँगै पढ्ने केटा साथी वा भनूँ भने आफ्नै विद्यार्थी भित्रको व्यक्ति नोटकपी लिने निहुँमा किताब राखेका दराज पुग्दा थाहा नपाए झैँ गरी भर्खरै मुना पलाउन लागेका संवेदनशील अंगमा छुन पुग्दछ। विवाह गरेर दुई/तीन छोराछोरी च्यापेर माइती घर जाँदा देख्ने त्यो पुरुषदेखि किन घिनाउँछे ऊ?
गाउँबाटै चल्ने सार्वजनिक बसमा टाँसिन पुरै, जीउ छोडिदिने, नजिक गएर संवेदनशील अंगमा छुन आइपुग्ने त्यो अर्धबैँसे पुरुषलाई देखेर किन क्याम्पस पोशाकमा सजिएकी छोरी बसको ढोकामा उसलाई देखेर क्याम्पस नगइकन घर फर्कन बाध्य छे?
दिदी सुत्केरी भएर स्याहार गर्न गएकी बहिनी भिनाजुको गर्भ बोक्न किन बाध्य छे? ऊ कसरी आफ्नी छोरी सरह कि सालीमाथि कुदृष्टि राख्छ र कुन मौका छोपी शरीरसम्म भोग गर्न पुग्छ।
आफूभन्दा आधा उमेर मात्रै होइन, आधा तौल कम भएकी उसलाई स्वास्नीको आँखा छलेर भोग गर्छ। स्वास्नी सुत्केरी हुँदा दुई/चार महिना थामिन नसक्ने उसलाई कुन षुरुषको दर्जामा राख्नू!
आफ्नो सन्तान बिरामी हुँदा अस्पतालमा पुर्याउन पैसाको सापटी लागि पल्लो कोठाको मानिससँग गुहार माग्दा पैसासँग अस्पताल पनि मोटरसाइकलमा लगिदिने भनेपछि कति सम्मान आयो होला उनलाई। तर यो सम्मानको मान धेरै समय लिन नसक्ने त्यो पुरुष अस्पतालमा छोराको भित्र उपचार भइरहेका अवस्थामा आफ्नी स्वास्नी रोगी हुनाले गोप्य पार्टनरको बनिदिन अनुरोध गर्दा कुन आमा चण्डिका रुपमा ननाच्ली?
मुखभरि थुकका छिटा लिएर अस्पतालको गेटबाट भाग्दा सरकारी जागिरेको त्यो पुरुष छिमेकी सद्दे भएनन् भन्दै लाजले मुन्टो नउठाई अन्तै कोठा खोज्दै छ।
आफ्नो छोरोभन्दा सानी केटीलाई कुनै शिक्षकले टिउसन पढाउने निहुँमा ढोका थुनेर आफ्नो गन्हाउने ओठ कसरी बालिकाको ओठसम्म पुर्याउँदा कुनै सामाजिक पर्दाले उसलाई छेकेन, बालिका नभागेकी भए त्यो बलात्कारीका नाउँमा जेलमा सजाय भोक्दै हुन्थ्यो।
राम्री पढैया भाउजूकी बहिनी देख्ने बित्तिकै र्याल चुहाएर 'बिहे गर्छु, मागी दिनोस् न' भन्दा भाउजूले वास्ता नगरेपछि भाउजूको माइतीसम्म कसरी ढोका ढकढकाउन पुग्छ!
भाउजूकी बहिनी र बुबा दुवैले एउटा नातामा अर्को नाता नलगाउने भनेपछि रिसले खुट्टा बर्जादै भाउजूलाई 'त्यसको विवाह नगरी म पनि बिहे गर्दिनँ, हेरौँला कहाँ दिँदा रहेछन्' भनी सुनाउँदै तीन हातमाथि उफ्रेर हिँड्ने पुरुष भाउजूकी बहिनीको बिहे भएको एक वर्षसम्म पनि केटी खोज्दै छ।
फेसबुकमा धेरै साथी बन्न अनुरोध आएपनि नर्कादै आएकी उसलाई चिनेकै मानिस हो भनि भाइले साथी बनाइदिँदा फेसबुको भित्तामा ठूलो अक्षरमा धन्यवाद मेरो अनुरोध स्वीकारेकोमा भनि लेख्ने धृष्टता गर्छ ऊ।
विद्यालय क्याम्पसका घुम्ने मेचमाथि बस्ने त्यो मान्छे किन आफ्नो विद्यालयकी लेखाशाखामा काम गर्ने महिलामाथि कुदृष्टि लगाउँछ। चार बजे छुट्टी भइसक्दा पनि अन्धकार हुन्जेल किन झ्याल बन्द गरी भित्रै बस भन्छ? किन उसलाई अन्धकार मन पर्छ?
आफ्ना घरका लोग्नेलाई सुर्धान औषधि लिन कुनै वैद्यकोमा पुगेकी महिलालाई मोहनी मायाजाल फुक्छ ऊ। उसलाई घर जग्गा दिउँ दिउँ मात्रै होइन, किन किन उसँग जाउँ जाउँ लाग्छ?
दोश्रो सन्तान छोरो जन्माउने चाहनाले डाक्टरका ढोकाभित्र पुगेको कुनै दम्पतिलाई पुरुषको विर्य काम नलाग्ने भएकाले कुनै विशिष्ट मानिसको विर्य राखेर मात्र सन्तान जन्माउन सकिने, यो काम मैले नै कति जनालाई गराएको छु भन्दा कुन स्वास्नीमान्छेले लोग्नेको सामुन्ने परपुरुषको अंगालोमा बाधिएर सन्तान जन्माउन सक्छे!
प्रतिउत्तरमा लोग्नेले केही नलागे त्यसै गर्नुपर्ला, छोरा त चाहिन्छ चाहिन्छ भन्दा उसको पुरुषत्व कता हरायो?
आँगनका बीचमा राखेको ठुलो धानको थुप्रो चोर्न आएका पुरुषहरुलाई एसएलसीको तयारी गरी बसेकी छोरीले चोर चोर भनी चिच्याउँदा छोरीले नै नाठा बोलाएर धान चोर्न लगाएकी होली भनेर हल्ला फिजाउँदा त्यसको आत्मसम्मानमा पुगेको चोट कुन पुरुषले बुझ्न सक्छ?
रजस्वला भएर मझेरीको ताडमा सुतेकी छोरीको वास्ता नगरीकन बास माग्न आएको पुरूषलाई पल्लो ताडमा सुताएर आफू निर्धक्क माथि सुत्न सक्ने घरपरिवारले किन सोचेनन् कि छोरी आफ्नै ओडारमा असुरक्षित बनाउँदै छौँ? अन्धकारमा छोरीले ओछ्यानमा परपुरूषलाई देखेपछि प्रतिकार गरी आमाको ओछ्यानमा लुक्न पुगेकी ऊ सधै मझेरीको ताड देखेर डराउँछे।
नेपाल सरकारले तोकेको १८ घन्टा लोडसेडिङ हुँदा जनसंख्या बढ्ने भयो भनी महिलाको पेट देखाएर व्यंग्य गर्ने, लकडाउनमा महिलाको कचकचले घर बस्न नसकिने भइयो भनेर व्यंग्य हान्नु, स्वास्नीको कचकच त पचाइयो यो थपेका लकडाउन किन नपचाउनु भनी व्यंग्य गर्नु पुरूष महान् बन्ने मात्र नभएर आफ्नो दायित्वबोधबाट पन्छिनु पनि होइन र?
सडकका पेटी-पेटीमा भित्री लुगा बेच्न बसेका पुरूषले महिला ग्राहकलाई तपाईलाई यो सुहाउँछ, यो ठीक छ भनी महिलाको संवेदनशील अंगमा आँखा लगाउँदै आफ्ना व्यापार गरिरहने पुरूषका आँखा नजुधाइकन सामान किनेर फटाफट बाटो लागिहाल्न बाध्य छे।
पहिलोपल्ट रजस्वला बारेर विद्यालय गएकी युवतीसँग कक्षाका सहपाठीले छाउपडी छाउपडी भनी जिस्काउँदा ऊ कसरी खुल्न सक्छे? केटीहरू बसेका डेस्क-बेन्चमा झिंगा लाग्छ, नबस्ने भनी घेचपेच गर्न पछि हट्दैँनन्। त्यसबेला कुन केटी पुरुष सहपाठीका आँखामा आँखा जुधाउन सक्छे?
झिसमिसेमा खेतमा कुलाको पानी लगाउन गएकी महिला सँधियार पुरूषलाई देखेर आड मान्दा त्यही पुरूषबाट अनेक कुराहरू गरी कसरी हिंसामा पर्छे!
घरबाट विद्यालय जाने छोरी बाटोमा केही कुना काप्चा, जंगलमा एकान्तदेखि डराएर मुटुको ढुकढुकी बढाएर कसरी छिटो छिटो पाइला चाल्छे? कुनै बाघ भालुसँग हैन कि केवल समाजका पुरूष पात्र जसले उसलाई त्यही हिंस्रक आँखाले गिद्धे नजर लगाएर शरीर गिजालेको थियो।
कार्यालयबाट फर्किएपछि युट्युबका अश्लील दृश्यहरू हेर्दै आफूलाई व्यस्त छु, अफिसका काम यहीं गर्दै छु भनी रमाउने पुरूषले भान्छामा काम गरिरहेको स्वास्नीलाई सके फकाएर, लतारेर, धम्क्याएर जस्तो पनि बल देखाएर कसरी दिउँसै ओछ्यान तताउन पुग्छ र महिला कसरी मानसिक रूपमा विक्षप्त भई शारीरिक रूपमा तयार हुन पुग्छे?
विद्यालय कलेजमा पढ्न र पढाउन गएको कुनै पुरूष बारम्बार विपरीत लिंगप्रति आकर्षित हुने, राति सुत्दा पनि त्यसैको चिन्तन गर्ने, अविवेकी यौन क्रियाकलापमा संलग्न हुने जस्ता कार्यले पुरूष आफ्नो स्मृति नाश गर्दछ।
आफ्नी स्वास्नीलाई यौन सन्तुष्टि दिन नसक्ने पुरूष त्यही स्वास्नीलाई अर्को विवाहको धम्की देखाउँछ, ५ वटा सन्तान जन्माउन स्वास्नीलाई बाध्य बनाइसक्दा पनि अझै परिवार नियोजन गर्न डराएर स्वास्नीलाई गर्भ बोकाउँदै छ ऊ।
एउटी स्वास्नी छोरो जन्माउने आशले आठौँ सन्तान छोरी जन्माउन नसकेर लालाबाला छोरीहरूलाई छोडेर मृ्त्युवरण गर्न पुग्दा पनि पुरूष बाबु हाँसी हाँसी छोरीभन्दा कान्छी श्रीमती ल्याएर भोग मात्र गरेन, चार-चार वटा सन्तान जन्माउन समेत पछि परेन।
आफू लौरो टेकेर आर्यघाटसम्म जाने बेलासम्म तरूनी स्वास्नी च्याप्न नछोड्ने झुलभित्रका लामखुट्टेहरू हाम्रा समाजमा प्रशस्त पाइन्छन्।
यी सबै पात्र तपाईं हाम्रै बाबु, दाजु, भाइ काका, मामा, छोरा, ज्वाइँ, भतिजो र सब छाडी हजुरुबुवाहरू पनि हुन्। यी हाम्रै समाजमा भलाद्मीको बोक्रो ओढेका पत्रकार, प्राध्यापक, डाक्टर, शिक्षक, नेता, लेखक, पाठक, व्यापारी, विद्यार्थी र बाह्रमासे आदि हुन्।
यी बकुल्ला ध्यानी हुन् जसले ध्यान गरेजस्तो गरी आफ्ना वरपरका किरा फट्यांग्रालाई चुस्छन् र झुलभित्र छिरेर मस्त निन्द्रामा सुतिरहेकी महिलाको तातो रगत चुस्छन्।