कक्षा ११ र स्नातक तहको पहिलो वर्षमा अध्ययन गर्न आउने विद्यार्थीलाई परिचय गर्ने बेलामा म सोध्ने गर्छु- तिमीले किन यो विषय रोजेको? किन कलेज पढ्न आएको?
तर पढ्न आउने धेरैलाई आफूले किन यो विषय रोज्दैछु भन्ने नै थाहा हुँदैन। अलिदिन घुलमिल हुँदै गएपछि विद्यार्थीहरु आफ्नो भित्री कुरो खोल्न थाल्छन्। यहाँ बसेर, पढेर के गर्नु? आफ्नो रोजाई अनुसारको जागिर पाइदैन, राम्रो काम पाइदैन बरु विदेश गएर पैसा कमाउने हो।
उनीहरु आफ्नो घरपरिवार र टोल छिमेकबाट वैदेशिक रोजगारीमा गएर प्रगति गर्नेको उदाहरण दिन थाल्छन् र आफूपनि त्यसबाट प्रभावित भएको सुनाउन थाल्छन्।
विदेशबाट फर्किएका युवाहरुले ठूला सुटकेस बोकेर आएको, राम्रा लुगा लगाएको, हातमा महंगो मोबाइल वा ल्यापटप चलाएको देख्दा अरु युवा समेत वैदेशिक रोजगारीप्रति आकर्षित हुनु स्वभाविक हो।
विदेशमा जस्तोसुकै कठिन काम गरेर पनि छुट्टीको दिन समुन्द्रको किनारा, चिल्ला सडक वा अग्ला भवनका छेउमा बसेर खिचेको फोटो सामाजिक सञ्जालमा राखिदिएपछि नेपालमा बस्ने उसका आफन्त र साथीमाझ यसले ठूलो चर्चा पाउने गर्छ।
यसमा पनि उपहार र कोसेली सहितको ठुलै सुटकेश बोकेर गाउँ फर्किँदा र विदेशमा कमाएको पैसाले घरजग्गा, गाडी मोटरसाइकल किनेको देख्दा नेपालमा बस्ने उसमा साथीहरु आफूले केही गर्न नसके गुनासो गर्न थालिहाल्छन्।
जसका कारण हाम्रो गाउँ समाजमा शिक्षालाई भन्दा पनि वैदेशिक रोजगारीलाई महत्व दिने मानिसहरुको संख्या बढिरहेको देख्न सकिन्छ।
नेपालमा कक्षा १० सम्म अनिवार्यरुपमा पढ्नै पर्ने बाध्यता छ। त्यसपछि सहरबजारतिर कक्षा १२ सम्म पढ्ने रहर गर्ने पनि हुन्छन्। त्यसपछि स्कुल/कलेज पढ्दै गरेका विद्यार्थीहरुको नागरिकता र पासपोर्ट बनाउने उमेर पुग्छ अनि वैदेशिक रोजगारीकै सपनाले पछ्याउन थालिहाल्छ।
अझ कतिपय विद्यार्थीले त परीक्षा आवेदन फाराम र प्रवेशपत्रमा समेत मेसिन रिडेवल पासपोर्ट बनाउँदा खिचेको अनुहार प्रष्ट देखिने फोटो नै टाँसेका हुन्छन्।
उच्च शिक्षा लिन चाहनेभन्दा पनि वैदेशिक रोजगारीका लागि अवसर कुरेर बस्ने विद्यार्थीका कारण हाम्रा स्कुल कलेजहरु त राजमार्गका छेउमा बनाइएका यात्रु प्रतिक्षालयजस्तै भएका छन्। जहाँ यात्रुहरु बस नआउन्जेलसम्मका लागि पर्खेर बस्छन् अनि कुनैपनि बेला गाडी चढेर जान्छन्।
युवाहरु वैदेशिक रोजगारीमा जान थालेपछि हाम्रा गाउँबस्तीहरु खाली हुँदै गएका छन्। विदेशमा कमाएको पैसा गाउँघरमा भन्दा पनि सहरबजारमै खर्च हुन थालेको छ। सहरहरुमा कंक्रिटका संरचनाहरु बढ्दै गएका छन्।
खेतीयोग्य जमिनहरु सिमेन्ट र बालुवा थुपारेर प्लटिङ गरिएका छन्। दुःख गर्न नचाहने प्रवृत्तिका कारण हाम्रा खेतीयोग्य जमिनहरु बाँझै भएका छन्। सीमा नजिकका गाउँबस्तीमा मात्र होइन राजधानी काठमाडौँमा समेत छिमेकी देश भारतमा उत्पादित फलफूल र तरकारीकै खपत बढी हुने गरेको छ।
आफ्नै खेतबारीको भन्दा पनि सीमापारिको उत्पादनले माग धानिरहरेको छ। हामी कृषिप्रधान देशका नागरिक भएपनि छिमेकी राष्ट्रबाट आएको फलफूल, तरकारी र दैनिक उपभोग्य वस्तुबाट गुजारा चलाइरहेका छौं। त्यस्तै फलफूल, तरकारी र उपभोग्य सामग्री आफ्नै देशमा उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्छ भनेर लागिपर्ने मानिसहरुको संख्यामा कमी हुँदै गएको छ।
हामी सुविधामुखी बन्दै गइरहेका छौं। पहिले हाम्रो घरमा प्रचलनमा रहेका चारखुट्टे खाटहरु विस्थापित भइसकेका छन्। त्यसको ठाउँ हजारौं रुपैयाँ पर्ने आकर्षक डिजाइनका बक्स पलङले लिइसकेको छ। घरका परम्परागत शैलीका कुर्सी, टेबुल, दराज, सोफा लगायतका फर्निचरहरुका सट्टामा विभिन्न डिजाइनका फर्निचरहरु सजिन थालेका छन्।
पहिलेका ढुंगामाटो, काठबाँसबाट बनेका घरहरुको ठाउँमा सिमेन्टका सुबिधासम्पन्न घरहरु बनेका छन्। अरुलाई देखाउनकै लागि भए पनि घरका भान्सादेखि बाथरुमसम्म आकर्षक डिजाइनका सामग्रीहरुको प्रयोग गरिरहेका छौं।
तर, घर बनाउनेदेखि टायलमार्बल लगाउनेसम्मका कामका लागि हामी भारतीय कामदारहरुकै भरपर्दै आएका छौं। अरुलाई देखाउनकै लागि भएपनि लुगाकपडा, गरगहना, फर्निचरलगायत धेरै कुरामा आकर्षक डिजाइन खोज्ने हामी यस सम्बन्धी सीप सिकेर आफैं दक्ष बन्ने कुरामा भने त्यति चासो नै दिदैँनौ।
फलस्वरुप यसैका लागि हामीले लाखौं रुपैयाँ विदेश पठाइरहेका छौं र भन्छौं नेपालमा केही गर्न सम्भावना नै छैन, यहाँको सरकारले हामीलाई रोजगारीको ग्यारेन्टी गर्न सक्दैन अनि विदेश नगएर के पो गर्नु?
हामी विदेशी टिभी च्यानल र सिनेमाहरु हेरेर त्यसमा देखाइएका संस्कृति वा चालचलनको सिको गर्छौं। लुगाकपडा, गरगहना, फर्निचरदेखि घरभित्र र बाहिरका हरेक चिजबस्तुहरु देखाइएजस्तै खोज्ने गर्दछौं।
यसकै लागि हाम्रो बजारमा बाहिरी देशबाट यस्तै सामानहरु आइपुग्छन्। तर ती सामानहरु हामी आफैले तयार पार्नेतिर हाम्रो ध्यान गएको पाइदैन। बरु यस्तै सामान तयार गरिदिन विदेशीहरुले नै हाम्रो देशमा आएर राम्रो व्यवसाय विस्तार गरिरहेका छन्।
हामी नेपालमा रोजगारीको संभावना नै छैन भन्छौं तर हाम्रै देशमा भारतीय र चिनियाँ नागरिकहरुले विभिन्न काम गरेर अरबौ रुपैयाँ आफ्नो देश भित्र्याइरहेका छौं। भारतीय र चिनियाँ उत्पादनले बजारको माग धानिरहेको हाम्रो देशमा प्रशस्तै सम्भावना भएर पनि हामी नेपाली विदेशी भूमिमा बिनामूल्य श्रम बेचिरहेका छौं।
दुबई, कतार, मलेसिया, साउदी अरब, कोरिया, जापान जहाँ पुगेपनि नेपालीले सम्मानीत ढंगको रोजगारी पाउन सकेको देखिदैन। पैसाका लागि मात्र आफ्ना सबै इच्छा चाहानालाई सीमित पारेर विदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य भएका छौं।
हाम्रा शिक्षक र अभिभावकहरु हामीलाई धेरै पढ्नु पर्छ मात्र भनिरहन्छन्। अहिलेको पढाइ अधिकांश किताबी ज्ञानमै आधारित छ। उनीहरु कडा शारीरिक श्रम गर्ने मानिसहरु तर्फ देखाउँदै भन्छन्, तिमीहरुले राम्रोसँग पढ्यौ भने पसिना बगाएर यस्तो दुःख गरिरहनु पर्दैन।
कडा शारीरिक श्रम गर्नु पर्दैन बरु योग्यता अनुसारकै जागिर खान पाइन्छ। घुम्ने कुर्सीको अगाडि ठूलो टेबुल राखेर काम गर्न पाइन्छ भन्ने हामीलाई बुझाइएको छ। धेरैले यही बुझेका छन्। त्यसैले हामीमाझ पढेलेखेको मानिसले शारीरिक श्रम र कडा परिश्रम नै गर्नु हुँदैन भन्ने भ्रम बढ्दै गएको पाइन्छ।
सबैले पसिना बगाएर कमाइ गर्नुपर्छ अनि त्यही कमाइकै आधारमा आफ्नो जीवनशैली चल्नुपर्छ भन्ने सोचाइको विकास हुन नसक्दा मानिसहरु एकैपटक धेरै पैसा कमाउने उच्च महत्वकांक्षा पाल्न थाल्छन्। जसले गर्दा पैसा र सम्पत्तिकै लागि पनि मानिसहरु विभिन्न गलत काम गर्न बाध्य भइरहेका छन्।
किताबी ज्ञानलाई नै विशेष महत्व दिइएको कारण पनि हामी बेरोजगार बन्दै गएका छौं। घरपरिवारदेखि शैक्षिक संस्थाहरुले विद्यार्थीलाई पढ्न र धेरै अंकका साथ उत्कृष्ट नतिजा ल्याउन प्रेरित गरिरहेका हुन्छन्।
जसरी भएपनि पढाइमा टप हुनुपर्ने मानसिकता र तीव्र प्रतिस्पर्धाका कारण विद्यार्थीले सबै काम छोडेर किताब मात्र पढ्ने धुनमा दैनिक जीवनका लागि अपरिहार्य मानिएका विभिन्न जीवनउपयोगी सीपहरु सिक्ने अवसर नै पाउँदैनन्।
यसले उनीहरु आत्मनिर्भर हुनुको सट्टा परनिर्भर बन्दै गएका छन्। सामाजिक जीवनका विभिन्न क्रियाकलापहरुमा सहभागी हुँदै घरपरिवारमा आमाबुबाले निर्वाह गर्दै आएका जिम्मेवारी र कर्तव्यका बारेमा जानकारी लिने विषयमा अहिलेका पुस्ताले त्यति चासो दिएको पाइदैन।
उनीहरुले विभिन्न सामाजिक क्रियाकलापमा सहभागी भएर आफ्नो गाउँ समाजभित्र घुलमिल हुने अवसर पाएको देखिदैन।
त्यसो त कतिपय मानिसहरु नेपालको शिक्षा प्रणालीमै दोष देखाउन पनि पछि पर्दैनन्। हाम्रो देशमा राम्रो शिक्षा दिने ठाउँ नभएको भन्दै वर्षेनी हजारौंको संख्यामा विद्यार्थीहरु भारत, अमेरिका, जापान, अष्ट्रेलिया लगायतका विकसित देशहरुमा जाने गरेका छन्।
उनीहरु मध्ये धेरैको उद्देश्य उच्च शिक्षा लिने भन्दापनि पछि उतै स्थायी बसोबास गर्ने वा कुनै पेशा र व्यवसाय गरेर पैसा कमाउने भन्ने नै हुन्छ। तर गुनासो गरेजस्तो नेपालका शैक्षिक संस्थाहरुले गुणस्तरीय शिक्षा दिन नसकेको भन्ने आधार पनि छैन।
देशका विकट गाउँलाई छोडेर सुगम क्षेत्र र सहरबजारका शैक्षिक संस्थाहरुले स्तरीय शिक्षा प्रदान गर्दै आएका छन्। यसलाई रोजगारी र आयस्रोतसँग जोडेर हेर्दा मात्र त्यस्तो देखिएको हुनसक्छ। त्यसो त नेपालका शैक्षिक संस्थाबाटै अध्ययन गरेका मानिसहरु पनि अन्तर्राष्ट्रियस्तरमा अब्बल बन्न सफल भएका उदाहरणहरु प्रशस्तै छन्।
नेपालबाट उच्च शिक्षा लिन अन्य देश गएका विद्यार्थीहरुले त्यहाँ गएर पनि आफ्नो क्षमता देखाउन सफल भएका उदाहरणहरु छन्। यसले पनि नेपालको शिक्षा प्रणालीमा दोष देखाइहाल्नु पर्ने अवस्था छैन।
नेपालमा सञ्चालनमा रहेका धेरैजसो उद्योगहरुमा भारतीय लगानीकर्ताहरुकै प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेको पाइन्छ। नेपालका चिया, धातु सम्बन्धी, रङरोगन, खाद्यवस्तु, सिमेन्ट, साबुन लगायतका सामग्री उत्पादन गर्ने विभिन्न उद्योगका उच्च ओहोदामा भारतीय नागरिकहरुकै बाहुल्यता रहेको देख्न सकिन्छ।
प्रविधि र दक्ष जनशक्तिका लागि भारतमै निर्भर हुँदै आएका यस्ता उद्योगहरुले केही सानातिना पदहरुमा नेपाली नागरिकलाई काम गर्ने अवसर दिएपछि वार्षिक लाखौं/करोडौं रुपैयाँ आफ्नो देश पठाइरहेका छन्।
यस्ता उद्योगका महत्वपूर्ण पदमा बसेर काम गर्नका लागि हामी नेपालीमा पनि के-कस्ता सीप र दक्षता चाहिने हो, त्यसको खोजी गरेर अगाडि बढ्नुभन्दा पनि विदेश जानु नै हाम्रो लागि सजिलो विकल्प भएको छ।
यसका साथै निर्माण क्षेत्र, विभिन्न प्राविधिक सेवा दिने क्षेत्र, गाडी वा मोटरसाइकल मर्मत, होटल रेष्टुरेन्ट, कपडा सिलाइ/बुनाइ, फलफूल वा तरकारी बिक्री लगायतका यस्ता दर्जनौ क्षेत्रमा व्यवसाय सञ्चालन गर्नकै लागि धेरै भारतीय नागरिकहरु नेपालमा आउने गरेका छन्।
उनीहरुले यहीँबाट वर्षेनी लाखौं रुपैयाँ कमाइ गरिरहेका छन्। तर नेपाली युवाहरु भने यस्तै काम गर्नका लागि पासपोर्ट, भिषा बनाएर हवाइजहाजको महंगो भाडा तिरेर विदेश गइरहेका छन्। घरपरिवार र आफन्तबाट वर्षौसम्म टाढिएर पैसाबाहेक अरु सबै विषयलाई पन्छाउँदै चालिस कटेपछि रमाउने आशामा आफ्नो बहुमूल्य उमेर र जवानी विदेशीको पैसामा साटिरहेका छन्।
हाम्रो समाजमा उमेर छँदै युवा अवस्थामा एकपटक विदेश घुम्नुपर्छ भन्ने धारणा राख्नेहरु प्रशस्तै छन्। यसबाहेक एकपटक विदेश गएर त्यहाँको वस्तुस्थिति अवलोकन गरेर फर्केपछि त्यतिको काम आफ्नै देशमा गर्छु भन्ने वाचाका साथ स्वदेश फर्किका कतिपय नेपालीले यहीँ राम्रो व्यवसाय गरेर पनि देखाइदिएका छन्।
कतिपय नेपालीले विदेशी भूमिमा पनि आफ्नो सीप, दक्षता र परिश्रमका आधारमा राम्रो कमाइ गर्न समेत सफल भएका छन्। तर कतिपय मानिसहरु विदेश गएपछि त पैसा त्यतिकै कमाइन्छ भन्ने सोचाइ राख्छन्।
अरुको देखेकै भरमा कुनै सीप र दक्षता बिना नै हतारमा विदेश गएर अनेक दुःख पनि पाइरहेका छन्। यसरी जान खोज्नेले पनि विदेश जानका लागि आफ्नो तयारी पूरा भए नभएको विषयमा एकपटक राम्ररी विचार गर्नुपर्दछ।