कोरोना संक्रमणले सन् २०२० अन्योलमै बित्यो। चैत ११ गतेदेखि लगातार चार महिना लकडाउन नै भयो।
यो बेला सबैमा कोरोनाको त्रास अधिकतम् थियो। मानिसहरू घरमै बस्ने गरेका थिए, पटक पटक हात धुने, अत्यावश्यक नपरी घरबाहिर ननिस्कने, बजारबाट ल्याएका प्रत्येक सामान २४ देखि ४८ घण्टा घर बाहिर राखेर भित्र ल्याउँदा पनि सेनीटाइजरले सफा गरि भित्र ल्याउने गरेको सम्झना सबैमा ताजा छ।
यही समयमा मान्छेदेखि मान्छे भागेका घटनाहरू सुनिए, देखिए। लकडाउन हट्ने समयसम्ममा कोरोना त्रास पनि बिस्तारै कमी हुँदै गयो। शायद नेपालमा अरू राष्ट्रको तुलनामा कोरोना संक्रमितको संख्या कमी हुनु, आफ्ना साथीभाइ, आफन्तजनबाट टाँढिएर वाक्क हुनु र आफ्नो व्यवसाय पनि सुस्ताएर बिलाउने अवस्था आएपछि बाध्य भएर दसैंताका धेरैजसो मानिसहरू घर बाहिर निस्कन थाले। यही समयमा विशेषतः काठमाडौंसहित मुलुकका प्रमुख सहरहरूमा कोरोनाका बिरामी बढ्न थाले।
आफू काम गर्ने टिचिङ अस्पतालको बालरोग विभागमा भने लकडाउन र त्यस पश्चात पनि खासै बच्चामा कोरोनाको संक्रमण देखिएन। कोरोनाको विश्वब्यापी आँकडामा पनि बालबालिकामा यो रोग कमै लाग्ने र लागिहाले पनि गम्भीर प्रकृति कम हुने देखिएको छ।
कोरोनाको यस अवस्थामा बालबालिकामा अन्य संक्रमण पनि कमै भएको देखियो। त्यो पनि राम्रै कुरा हो। तर यो बेला अन्य किसिमका समस्याहरू भएका बालबालिकामा केही समस्या देखा पर्यो।
काठमाडौंसहित अधिकांश सहरमा कोरोना संक्रमण बढेसँगै धेरै बालबालिकामा स्वास्थ्य समस्या भएर पनि समयमै चिकित्सकलाई देखाउन नसक्दा सामान्य उपचारबाट निको हुने रोग पनि जटिल बन्यो।
कतिपय पुराना र मृगौला तथा नशासम्बन्धी समस्याका बालबालिकाहरू नियमित फलोअपमा आउन नसकि बिचमै उपचार रोक्दा कतिपयको ज्यानसमेत गएको छ।
बिस्तारै मंसिर, पुसदेखि कोरोना संक्रमितको संख्या घट्न थाले। यो सँगै अस्पतालमा पनि भिड बढ्न थाल्यो।
अस्पताल आउनेमध्ये अधिकांश अटिजम भएका भाइ बहिनी थिए। के कोरोनाका कारण अटिजम बढेको हो त?
खासगरि एकै पटक धेरै संख्यामा यस्ता बिरामी आउनुको प्रमुख कारण आमाबुवालाई आफ्ना बच्चामा अटिजमका समस्या भएको शंका हुँदाहुँदै पनि लकडाउन र कोरोना त्रासले समयमै जचाउन जान नसक्नु नै हो।
कतिपय बच्चामा अटिजम पत्ता लागिसके पनि उपचार शुरू गर्न नसकिएको देखियो। अटिजमको उपचार बच्चा ३ वर्षको उमेर नाघ्नु अघिनै शुरु गर्न सकेमा यसको नतिजा बढी राम्रो हुन्छ। कोरोनाका कारण यी बालबालिकाले आफ्ना जीवनका अमूल्य १ वर्ष केहि उपचारनै नगरी व्यर्थ गएको देख्दा निकै चित्त दुःखेको छ। तर गइसकेको समयलाई अब केहि गर्न सकिदैन। बरू आउँदा दिनमा के गर्न सकिन्छ भनि त्यसबारे योजना बनाउनु महत्वपूर्ण हुन्छ।
अहिले विभिन्न राष्ट्रमा देखिएको दोस्रो, तेस्रो लहर नेपालमा पनि भित्रन सक्ने विज्ञको भनाइ छ। फेरि पनि लकडाउन हुनसक्छ। अब फेरि पहिला जस्तै बच्चाहरूले उपचारका लागि १ वर्षसम्म कुर्न नपरोस्। यसका लागि निम्न बुँदामा केही सुझाव राख्छु।
१. आफ्ना बच्चाको विकास कुन तरिकाले भइराखेको छ भनि ख्याल राख्नुहोला। उमेर अनुसार हुनुपर्ने विकासको बारेमा आफूलाई सचेत राख्नु होला। साधारणतया १ वर्षको बच्चाले समाएर उभिनुपर्छ। यो उमेरमा अर्थसहितका कम्तिमा ‘आमा, बाबा, पापा’ जस्ता शब्दहरू बोल्न जानेको हुनुपर्छ। यो उमेरको बच्चाले कुनै पनि हाउभाउ नदेखाइकन गरेका आदेश जस्तै- यता आऊ, बस, सामान ठाउँमा राख, भन्ने कुरा बुझेर पालना गर्नुपर्छ।
अर्को निकै महत्त्वपूर्ण सचेतक चाहीँ कुनै थाहा भएको सामान कता छ भनि सोध्दा चोरी औला देखाएर इंकित गर्छ कि, गर्दैन ध्यान दिनुहोला। यी माथि बताइएका ब्यवहारमा शंका भएमा डाक्टरको सल्लाह लिनुपर्छ।
जब बच्चाले नाम बोलाउँदा नसुनेको जस्तो गर्छ, तर आफूलाई मनपर्ने गीत बज्यो भने तुरून्त त्यतातिर ध्यान दिने, एकै किसिमको खेल वा काम गर्न रमाउने, एक्लै बस्न रूचाउने र अरूको वास्ता नगर्ने, बोल्दा नबुझिने तरिका वा प्रसङ्ग नमिलाइ बोल्नेगर्छन् वा बेलाबेला अनौठो किसिमको ब्यवहार गर्छन् भने छिटोभन्दा छिटो परामर्श गर्नुपर्छ।
२. जब पहिलो लकडाउन भयो, सबै जना अन्योलमा थिए। एक किसिमको त्रास थियो अनि बिल्कुल नै सन्नाटा छाएको थियो। अस्पतालमा पनि इमरजेन्सीबाहेक अरू सेवा ठप्प थिए।
हुन त अस्पतालले हटलाइनमार्फत विभिन्न किसिमका सेवा प्रदान गर्दै आए पनि बाल विकासका सबैजसो सेवा बन्द जस्तै थिए। पहिलो २-३ महिना त बालविकासमा समर्पित सबैजसो संघ-संस्था पनि बन्द नै थिए। तर समय बित्दै जाँदा बिस्तारै यस्ता किसिमका सेवा पनि शुरू हुन थाले।
यस अवस्थामा सेवाहरू भौतिक नभएर भर्चुअल थियो। भौतिक जाँच, परामर्श र उपचार जसरी फलदायी हुने गर्थ्यो, सोही किसिमको परिणाम भर्चुअलमा पाउन सकिँदैन थियो। तर केही नहुनुभन्दा केहि भएको राम्रो नै हो।
यद्यपी यस्ता सेवाको बारेमा धेरै जनालाई ज्ञान नहुँदा यसको फाइदा उठाउन नसकेको हुनसक्छ। अर्को कारण यस्ता प्रविधिबारे पूर्ण ज्ञान नहुँदा पनि सेवा प्रदायक संथानलाई एक किसिमको ठूलो चुनौति नै हुनपुग्यो। तर यी चुनौतिबीच अटिजम केयर नेपाल सोसाइटीले धेरै नै ट्रेनिङ, परामर्श तथा ब्यवहारिक उपचारका पद्दति धेरै आमा बुवा तथा बच्चालाई प्रदान गर्न सक्नु सह्राननीय छ।
३. यदि अब फेरि लकडाउन भएमा कसरी अगाडि बढ्ने भन्ने विचार गर्नुपर्छ। यसअघिको लकडाउनमा अटिजम र अरू जटिल अपाङ्गता भएका बच्चाका परिवारलाई निकै कठिन परेको थियो। कतिपयको उपचारको क्रम नै रोकियो। अझ अटिजम भएका बाल बालिकाको हकमा उनीहरूको सबै किसिमको दैनिकीमा धेरै असर पर्न गयो। कुनै किसिमको अचानकको परिवर्तन यसै पनि अटिजमका बालबालिकाका लागि एक किसिमको चुनौती नै हुनेगर्छ।
त्यसमाथि लकडाउन हुँदा दैनिकीमा आउने परिवर्तन जस्तै, स्कूल वा बाहिर कतै जान नपाउनु, घरको माहोल, खानपान, सुत्ने उठ्ने समयका साथै सबैजसो काममा आउने परिवर्तन बुझ्न र बुझाउन अटिजमका बच्चा र अभिभावकलाई हम्मे-हम्मे हुन्छ। यस्तो परिवर्तनले अटिजम भएका बच्चामा निकै कडा किसिमका ब्यबहार जस्तै रिसाउने, झगडा गर्ने अनि कहिलेकाही आफू अनि अरूलाईसमेत हानि गर्ने किसिमका ब्यबहारहरू पनि देखाउन सक्छन्। कतिपय अवस्थामा परिवारका सदस्यले पूर्णरूपमा सहयोग नदिए पनि यदाकदा सुन्न पनि नआएको हैन। धेरैजसो अवस्थामा केवल आमा र बुवाले बढी बच्चाको हेरचाहमा संलग्न हुँदा परिवारका अरू सदस्यलाई कसरी बच्चासँग ब्यवहार गर्ने भनि थाहा नहुँदा घर परिवारमा अलि असमाजश्य र खटपट पनि हुनेगर्छ।
तसर्थ यस्तो अवस्था पैदा हुनु अगावै परिवारका सबै सदस्यसँग सर सल्लाह गर्नु एकदम महत्वपूर्ण हुन्छ। त्यस्तै बच्चाको हकमा पनि लकडाउनको समयमा दैनिकीमा एकरूपता ल्याउनु उत्तिकै महत्वपूर्ण रहन्छ।
प्रत्येक नयाँ कार्य अगाडि सामाजिक कथाको मद्दतबाट भने केही हदसम्म सहजता पक्कै हुन्छ।
४. लकडाउनको समयमा भर्चुअल माध्यमहरू एक किसिमले वरदान नै साबित हुनपुग्यो। तसर्थ अब भने यस्ता किसिमका प्रविधिका बारेमा आफूलाई चनाखो राख्नु होला। कसरि जुम भिडियोमा कुरा गर्ने, भिडियो कल गर्दा कस्ता किसिमका अनुशासन अपनाउने भन्ने बारेमा यसका जानकारसँग सिक्नुहोला। यो एकदम सजिलो प्रविधि भएको हुँदा यसको भरपूर फाइदा उठाउनुहोला।
फेसबुकजस्ता सामाजिक सञ्जालमा विभिन्न संघ संस्थाले बेलाबेलामा ट्रेनिङ तथा जानकारी दिईरहने हुँदा त्यस्ता संस्थानको फेसबुक पेजलाई फलो गर्नुपर्छ।
अटिजमकेयर नेपाल सोसाइटीले लकडाउनको समय यस्ता धेरै कार्यक्रमहरू चलाएको थियो। तसर्थ यस्ता किसिमका कार्यक्रमका बारेमा समय अगाडि नै आफूलाई तयारी राख्दा आफू र आफ्ना बच्चाका लागि सजिलो हुन जान्छ।
सेवा प्रदायक संस्थानले पनि यस्तो आउन सक्ने अवस्थालाई ध्यानमा राखी कसरि सजिलो र सुलभ तरिकाले बढीभन्दा बढीलाई सेवा पुर्याउन सकिन्छ, त्यसको लागि गृहकार्य गरि तयार रहनुपर्छ।
यी माथिका बुँदा मात्र पर्याप्त होइनन्। तर केही हदसम्म सहयोगी हुनसक्छन्। यस लेखको मुख्य उद्देश्य कोही पनि बालबालिकाको अटिजमको पहिचानमा ढिलाई नहुन् र पहिचान भइसकेकाको पनि समयमै उपचार शुरू होस् भन्ने हो। यस्तै उपचाररतलाई अरू विभिन्न किसिमका थप समस्याहरु नदेखियोस् र देखिएको खण्डमा कोरोनाको डरले लुकेर बस्नु नपरोस् भन्न चाहन्छु।
कोरोना अझै व्याप्त छ, सुरक्षित रहनुहोला।