कोरोना महामारीले विश्वभरिको अवस्था उथलपुथल पारिरहँदा लकडाउन, सेनिटाइजिङ, सामाजिक दूरी, मास्कको प्रयोगजस्ता क्रियाकलापहरु हामीले पालना गर्नु पर्ने नियम भएर बसेका छन्।
अहिलेसम्मको अवस्था हेर्ने हो भने महामारीले प्रायः बृद्धबृद्धा, दीर्घरोगी, प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरुमा हानी पुर्याउँदै मृत्युदर धेरै भएको पाइएको थियो जुन अहिलेको तुलनामा फरक मान्न सकिन्छ। किनकि विश्वभरि नै कोरोना भाइरसको नयाँ प्रजाति उत्पन्न भएको र असरहरु पनि भिन्न-भिन्न प्रकारका पाइएको छ जसले दोस्रो लहर आएको संकेत ल्याएको छ।
अहिलेसम्मको महामारी हेर्ने हो भने इन्फ्लून्जा महामारी १९१८, १९५७, १९६८ र २००९ साथै स्पेनिश फ्लू १९१८ जुन दुई वर्षसम्म महामारीको विभिन्न लहरको रुपमा देखिएको थियो।
यस्ता खालका महामारीका लहरहरु विश्वभरिका देशहरुमा फैलिरहेको अवस्थामा अहिले आएर हाम्रो छिमेकी मुलुक भारतमा पनि एउटा आगोको मुस्लोको रुपमा देखा परेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो देश नेपालमा पनि असर गर्न सक्दछ, जुन पहिलो महामारीमा हामीले भोगी आएका थियौं।
विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिंदै आएको छ कि, कोरोना भाइरसका घटनाहरु निकै चिन्ताजनक रुपमा बढ्दै छन् र गम्भिर अवस्था देखा पर्न सक्दछ।
साथै हामी मानिसको व्यवहार र आचरणमा भविष्यको प्रकोप निर्भर रहन्छ। जुन हामीले पहिलेको कोरोना महामारीबाट धेरै पाठ सिकिसकेका छौं र विभिन्न आपतकालीन नीति नियम लागु गर्दै कोरोनासँग सामना गरी आएका छौँ जुन अब दीर्घकालीन रुपमा लागु गर्न कठिनाई नहुन सक्दछ।
तर देशभरिको पछिल्लो पिसिआर परिक्षण तथ्यांकले दोस्रो लहरको संकत देखाएको छ। जुन प्रकोपलाई थेग्न गाह्रो र जटिल चुनौती बन्न सक्छ। तसर्थ दोस्रो लहरको महामारीसँग जुध्न पूर्व तयारी गर्न जरुरी देखिन्छ।
दोस्रो लहरको तयारी
सरकारले पर्याप्त मात्रामा जनशक्ति, महामारीको लागि स्वास्थ्य सामग्री, स्वास्थ्यका उचित नीतिनियम आदि जुटाउन जरुरी छ। जसले गर्दा महामारीसँग लड्न केही हदसम्म सजिलो हुने छ। जस्तै, अपनाउनु पर्ने केही उपायहरुः
१) कार्यपछि रिपोर्टिङ गर्ने- के राम्रो र नराम्रो बारे।
२) नीति र जोखिम मूल्यांकनको समीक्षा र अपडेट गर्ने
३) समन्वयन प्रदर्शन सुधारको निरन्तर समीक्षा र मूल्यांकन साथै सुधारको आँकलन गर्ने।
४) आवश्यक आपूर्ति प्रदान गर्ने र संक्रमण नियन्त्रणका अभ्यासहरु लागु गर्ने।
५) स्थानान्तरण र प्रवेशका लागि नीति पुनः भ्रमण र अपडेट गर्ने।
६) पछिल्ला दिशा निर्देशहरुसँग नजिक रहने।
७) भेन्टिलेटेड र आइसियु बिरामीको पुनः भ्रमण गरी नीति नियममा परिवर्तन वा अपडेट गर्ने।
८) नयाँ फरक रणनीति जस्तैः टेलि-स्वास्थ्य पहलहरु, भर्चुअल-क्लिनिकहरु कार्यान्वयन र समीक्षा गर्ने।
९) प्राथमिकता परीक्षण, स्वास्थ्यकर्मीको अभाव, पिपिई स्तर, मार्गनिर्देशन, मनोसामाजिक समर्थन र सुधारिएको अनुपालनको साथ स्वास्थ्य सेवा प्रबन्ध गर्ने।
१०) स्थानीय स्वास्थ्य अधिकारीसँग अपडेट रहने।
११) प्रारम्भिक खोप अभियानलाई अगाडि बढाउने र खोपको अपडेट गराउन।
१२) स्वास्थ्य सेवा प्रणाली र क्षमताको आंकलन सुधार गर्ने।
१३) २/३ हप्तालाई पुग्ने खाद्यपदार्थ, औषधी र अन्य आवश्यक सर-सामान जुटाउने।
१४) डाक्टर, क्लिनिक र अस्पतालहरुले उपकरण र चाहिने सर सामानहरु भण्डारण गर्ने।
१५) सभा, जुलु्स, यात्रा, पार्टी, भोज, भतेर जस्ता अत्यधिक मानिस जमघट हुने क्रियाकलापहरुमा प्रतिबन्ध लगाउने।
१६) आवागमन र यात्राहरुमा प्रतिबन्ध लगाउने।
१७) सरकारले थालेको सम्पूर्ण स्वास्थ्यका नीति नियमहरुलाई समर्थन र पालना गर्ने।
निष्कर्ष
कोभिड–१९ को महामारीको दोस्रो लहरले हाम्रो देशमा पनि ठूलो भयावह अवस्था ल्याउँदैन भन्न सकिन्न। विशेषतः तीन उपाय- सामाजिक दूरी, सेनिटाइजर, मास्कको उचित प्रयोग नै यो दोस्रो लहर संक्रमणको साङ्लो तोड्ने विधिहरु हुन्। जुन हाम्रो नेपाली जनमासमा कम प्रयोग र प्रयोग गरेता पनि उचित ढंगले नगरेको पाइन्छ।
यदि दोस्रो लहरको संक्रणस्तर बृद्धि भइरहेको अवस्था आयो भने सो बेला लकडाउन नै उचित उपाय भएर आउने छ किनकि लकडाउनको प्रयोगले बेलायत र युरोपियन देशहरुमा दोस्रो लहरमा करिब ३.१ मिलियनको मृत्युलाई रोक्न साथै ८० देखि ८२ प्रतिशत संक्रमण दर घटाउन सहयोग गरेको पाइन्छ।
विश्वभरिको अध्ययनले करिब ५३० मिलियन जनमानसलाई कोभिड-१९ संक्रमणबाट बचाएको पनि छ। अर्थात् यदि सबै प्रकारका रणनीतिहरु परिचालन गर्न ढिला भयो भने दोस्रो लहरको जोखिम धेरै वास्तविकतामा परिवर्तन हुन सक्छ र हामी कसैले पनि त्यसको परिणामको पूर्वानुमान गर्न सकिदैन।
परिणाम धेरै हदसम्म हामी पहिलेको महामारीबाट सिकेका पाठहरु कसरी लागु गर्न सक्दछौं, त्यसमा निर्भर रहन्छ।
हामीले सबैभन्दा खराब अवस्थासँग जुध्नको लागि योजना सुरु गर्नु पर्दछ र हाम्रो आपतकालीन तयारी तथा प्रशिक्षणहरुको मूल्यांकन गर्दै निर्णय निर्माताहरु र सरोकारहरुले मृत्युदरको प्रभाव र जोखिम कम गर्न स्वास्थ्य सेवा प्रणालीमा प्रर्याप्त स्वास्थ्यकर्मी, स्रोत र क्षमताहरु छन् भन्ने कुरा सुनिश्चित गर्दै तुरुन्त कदम चाल्नु पर्दछ।
(लेखक माइक्रोबायोलोजिस्ट हुन्।)