केही समय अघि म एउटा पार्टीमा गएको थिएँ। हामी खाना खाँदै गर्दा, चल्दै खेल्दै दुईजना बच्चाहरु हाम्रो नजिक आइपुगे। मेरो छेवैमा बस्नुभएकी काकीले एउटालाई बोलाउनु भयो। ऊ हाम्रो झन् नजिकै आयो।
‘अनि पार्टी खै त कान्छु?’ काकीले उसलाई जिस्काउँदै सोध्नु भयो। फुच्चे लजाएर हाँस्यो तर केही बोलेन।
हाम्रो ग्रुपका हामी सबै ‘काकीले फुच्चेसँग चकलेट माग्नुको कारण के थियो?’ अल्मलमा पर्यौँ। काकीले सबैतिर फर्केर नाकको पोरा फुलाउँदै भन्नुभयो ‘मेरो बहिनीको छोरा हो, यसपालि क्लाँस फोरमा स्कुल टप गरेछ।’
अब झन् के थ्यो र, सबै काकीकै तालमा त्यही बाबु तिर स्याबासीको वर्षा गराउँदै गए, मानौँ कि ऊ त्यस्तो बहुमूल्य चिज हो जसको अमूल्य समिप्यताको परिपूर्ति उसको साथीबाट बिल्कुलै असम्भव छ।
उसको साथी अलिक परबाट हामीतर्फ एकोहोरो हेरिरहेको थियो। उसलाई एक्लोपनाको भान नहोस् भन्ने हेतुले, म नजिकै बस्नु भएको दाजुले उसलाई बोलाएर उसको बारेमा सोध्नुभयो। पछि थाहा भयो कि उनीहरु सहपाठी रहेछन्।
‘अनि तिमी चाँहि के भयौ नि बाबु?’ दाजुले त्यो फुच्चेलाई सोध्ने बित्तिकै उसले तुरुन्तै फर्कायो ‘पास।’ सँगै उसले हौसिएर ङिच्च दाँत पनि देखायो। फर्स्ट हुनेलाई सबैले सुम्सुम्याइरहेका थिए तर पास हुनेको कसैलाई वास्ता थिएन।
मैले निकैबेर त्यो माहोल नियालेँ तर केही परिवर्तन पाइनँ। म फकर्ने बेलामा पास हुनेवालालाई भेटेँ। उसले राम्रो चित्र कोर्दो रहेछ। मैले ‘तिम्रो चित्र हेर्न म तिम्रो घर आउँछु नि है?’ भन्दा ऊ निकै खुसी भएको थियो। (नोटः यो सत्य घटना हो।)
लेख्दा के लेखेजस्तो, भन्दा के भनेजस्तो, सुन्दा के सुनेजस्तो र के सुनाएजस्तो सामान्य लाग्ने यो फर्स्ट प्रथा हाम्रो समाजमा कसरी जकडिएको छ, थाहा छ तपार्इँलाई?
माथिको घटना त समाजले हरेक बच्चाहरुप्रति हेर्ने प्रतिस्पर्धात्मक दृष्टिकोण र देखाउने व्यवहारको सूक्ष्म नमुना मात्र हो। ‘फर्स्ट’ वाक्य अचेल हामी स-साना बाबु-नानीका अभिभावकबाट आफ्नैका लागि बढी उच्चारित भएको पाउँछौँ।
छिमेकको एउटा बच्चा स्कुलमा फर्स्ट भइदिन्छ अनि गाली र घोचपेच खानेमा टोलभरिका सबै पर्छन्। हुनेले नहुनेलाई घोच्छन् अनि नहुनेले आफ्नैलाई। मलाई यो मानेमा दुख लाग्दैन कि त्यो बच्चो किन फर्स्ट भइदियो? दुख यसकारण लाग्छ कि ती अरु निर्दोष बच्चाहरु किन अपहेलित भए जो चाहँदा चाहँदै पनि फर्स्ट हुन सकेनन्।
सबैलाई सबैभन्दा राम्रो बन्नु छ र त्यो धेरै मानेमा सही नै होला तर आफ्ना सन्तानलाई छिमेकीसँग प्रतिस्पर्धा गराउँदै तौलिएर घोचपेच र गालीगलौज गर्नु कुन सन्दर्भमा उचित होला?
अरु फर्स्ट हुँदा आफ्नाले गाली खानैपर्ने हो? अरुको सफलतालाई लिएर आफ्नालाई गरिने घोचपेच, साँच्चै उत्प्रेरणा हो कि उद्दण्ड महोदय? सोच्नुभएको छ कहिल्यै? वर्षेनी कति बच्चाहरु पास हुँदाको बाबजुद पनि आत्महत्याका शिकार बनिरहेका हुन्छन् नि है?
फलानोको सफलतालाई आगो बनाएर कसैलाई त्यसको ज्वालाले नरापिने भए साँच्चै कति आमाका कोख रित्तो नहुँदा हुन्। हाम्रो यस्तै सोचाइले, न कतै हामीले भविष्यका प्रधानमन्त्री पो गुमाइरहेका छौँ कि?
मैले कैयौँ पटक सुनेको छु कि 'फलानोको छोरो यस्तो भयो, अनि तँ?'
'म? म?'
पात्र र परिस्थिति जो जसै भएपनि मलाई म सम्झेर मनमनै खुब हाँसो लागेर आउँछ। मैले मलाई राम्रोसँग चिन्न पाइसकेको हुन्न तर परिवार र समाज मलाई अरुसँग अस्वस्थ प्रतिस्पर्धा गराउँदै छ। आँखिर केका लागि?
फेरि स्कुलबाट सुरु भएको यो फर्स्ट प्रथा स्कुलमा मात्रै कहाँ सीमित हुन्छ र? शारीरिक र मानसिक बृद्धिसँगै प्रथा पनि बढ्दै जाने रैछ नि, म त बल्ल पो बुझ्दै छु।
मुख्य कुरा त हामी फलानालाई फलानोसँग तुलना गछौँ। फलानोको छोराछोरी त यस्तो भयो रे अनि फलानो चैँ?, फलानाले यस्तो गरेछ तर फलानोले त केही गर्नै सकेन।
के प्रभु के? कस्तो चिन्ता छ है हजुरलाई? अनि सुन्नुहोस् न, हजुरको कसैप्रतिको यस्तै चिन्ताले सम्बन्धित पक्षलाई पनि चिन्तामै लैजान्छ नि प्रभु! अनि चिन्ताले चिता... कुन्नी! खै के के भन्छन् नि है? यसो सोच्ने पो हो कि।
मलाई थाहा छ कि अब तपाईँहरु मलाई मनमनै गाली गर्दै भन्नुहुन्छ 'डाँडे, अरुको राम्रो देख्न नसक्ने, आफू केही गर्न नसक्ने अनि अरुको प्रगतीमा जल्ने... इत्यादि।' ठिक छ मनको बह पोख्दै गर्नुस् तर ए हजुर? पढ्न अझै बाँकी छ है।
बच्पन जे-जसै भएपनि अलि बुझ्ने उमेर भएदेखि मलाई पनि यो फर्स्ट प्रथाले नराम्रोसँग जेलेको थियो। जहाँबाट म हालसम्म पनि उम्कन सकेको छैन। बुझाइ र ज्ञानमा जस्तो प्रभाव परोस् तर मलाई फर्स्ट हुनु नै छ। मात्र फर्स्ट।
माथिको घटना झैँ मलाई आफ्नै समयको त्यो घटना अझै टड्कारै याद छ। कुनै परीक्षाको रिजल्ट आउँदा सँगै हिँड्ने साथीभन्दा म बढी सम्मानित र आकर्षणको केन्द्र बनेको थिएँ। साथीलाई अझै याद होला, नहोला तर त्यो बेलामा सबैले मतर्फ हेर्दा म साथीतर्फ हेर्थेँ, यो मानेमा कि मैले पाएको प्रशंसाले उसलाई अपहेलित नबनाओस्।
म आफ्नो कमजोरी भन्दापनि अरुको कमजोरीलाई नियाल्न थालेँ, जसले गर्दा अरुको कमजोरीको फाइदा स्वरुप म फर्स्ट हुन सकूँ। म आफू कस्तो छु र कसरी आफूलाई सबल र अब्बल बनाउन सक्छु भन्नेमा कहिल्यै लागिनँ। लागेँ त केवल फर्स्ट हुन।
परिवारमा मलाई यो कहिल्यै सिकाइएन कि ‘बाबु तिमी फर्स्ट हैन, आफैमा बेष्ट बन्नु पर्छ, तिमीले अरुसँग हैन कि आफैसँग प्रतिस्पर्धा गनुपर्छ।’
छोराले क, ख, ग, घ सबै जान्दा हामीभन्दा अब्बल भइसकेछ भनेर खुसी हुने परिवारप्रति त मलाई यस्ता सन्देश र उर्जा नदिइएकोमा बिल्कुलै कुनै गुनासो छैन तर आज निकै बुझेका भनिनेहरुबाट आफ्ना सन्तानलाई यस्ता अस्वस्थ प्रतिस्पर्धाको लागि किन हौसाउँदै छन् होला है?
मलाई फर्स्ट प्रथादेखि त्यतिबेला घृणा जागेर आयो जब मैले देखेँ कि फर्स्ट हुनेहरु भन्दा आफैँमा बेस्ट हुनेहरु नै जीन्दगीमा सफल भइरहेका छन्। जो अरुसँग हैन आफैँसँग तुलना गर्न सिक्छ उही नै हो सफलताको सुत्र। स्कुलमा धेरैजस्तो घोटेर पिलाइने बुकिस् नलेजमात्र त केही रहेनछ जीन्दगीमा। जुन कुरा म स्वयंले नै भोगिरहेको छु।
अब तपाईंहरु सोच्नुहोला प्रतिस्पर्धा गर्नु, फर्स्ट हुनु कुनै गलत त हैन तर यो के भन्दैछ? हो मित्र प्रतिस्पर्धा गर्नु, अघि बढ्नु एकदमै राम्रो हो। तर त्यसले व्यक्तिहरुमाझ भित्राएको धारणा त गतल नै छ नि हैन र?
एउटा फर्स्ट हुँदा बाँकी क्लास भरिकाले गाली खानुपर्छ यहाँ। समाजमा एउटा माथि उक्सँदा अर्कोले घोचपेच सहनुपर्छ यहाँ। जित्नेको त छाती प्रशंसाले फुक्ला तर हार्नेको मन त्यो घोचपेचले नदुख्ला र?
एउटा अभिभावकले आफ्नो साना सन्तान स्कुलमा फर्स्ट हुन नसक्दा पनि गालीको साटो हौसला दिने हो भने, त्यही बच्चा ठूलो हुँदा उसलाई अरुसँग तुलना नगर्ने हो भने, अनि एउटा परिवारले थालेको यस्तो कदमलाई पुरै समाजले पनि सहजै स्वीकारिदिए, सुनमा सुगन्ध नहोला र?
आफ्ना कोही फर्स्ट हुँदैमा ऊ राष्ट्रपति या प्रधानमन्त्री नै बन्छ भन्ने पनि छैन र कोही अरु फेल हुँदैमा वा पास मात्र हुँदैमा उसको जिन्दगी नै सक्कियो भन्ने पनि हैन।
यो कुरा समाजका हरेक अभिभावकहरुले मनन गर्नुभए कैसैलाई यही कुराले न ठूलै राहत पो मिल्थ्यो कि? अब कसैलाई फलानोसँग तुलना गर्न बन्द गरौँ न ल? मेरो कुरा र बहकाइमा लागेर हैन कि आफ्नो मनलाई सुन्नुहोस्।
मनबाट व्यवहार गर्नुहोस्, हाम्रो समाज सभ्य छ। अझ सुदृढ हुनेछ जस्को श्रेयकर्ता तपाईँ आफै बन्नु हुनेछ।