साथीहरूसँग चाँडै घुलमिल हुने योग्यता क्रममा म अगाडि नै पर्छु जस्तो लाग्छ।
जति साथीहरू भए वा छन् उनीहरूसँग भेट हुँदा ओठ थाहै नपाई एक अर्काको साथ छाडिहाल्छन्।
कक्षा एकदेखि स्नातकोत्तर सक्नै लाग्दासम्म पनि कुनै साथीहरूको सम्बन्धलाई भित्री हृदयले भुल्न सकेको छैन।
कलेज पढ्ने क्रममा भेटिएका साथीहरूमध्ये एउटी साथी। जो मैले चिनेताकादेखि नै ‘म त सरकारी जागिर खाने हो, अब स्नातक सकेपछि केही वर्ष म डिग्री जोइन गर्दिनँ जब सरकारी जागिर खान्छु तबमात्रै डिग्री जोइन गर्ने हो’ भनिरहन्थी।
त्यतिबेलासम्म मलाई भने सरकारी जागिरको कुनै मेलोमेसो थिएन।
उसले स्नातक नसक्दै निजामती सेवाको नायब सुब्बा र खरिदारको फर्म भरेर तयारी गर्न थालिसकेकी थिई।
उसको मेहनत,लगाव,उक्त सेवाप्रतिको झुकावले दोस्रो प्रयासमै नायब सुब्बा पदको लिखित परीक्षामा ऊ उत्तीर्ण भई।
लिखित परीक्षामा खुला र महिला दुवैमा नाम निस्किएको थियो तर अन्तर्वार्तामा महिलातर्फ नायब सुब्बा पदमा सिफारिस भई।
सिफारिसपछि बधाई तथा शुभकामना दिन उत्सुक हुँदै उसलाई फोन गरेर सफल कार्यकालको शुभकामना दिएँ।
उसको जागिरको सिफारिस घरपायक नै भएकोले ऊ धेरै खुसी थिई।
समय-समयमा कहिलेकाहीँ कुराहरू भइरहन्थो। लामो समय गफ गर्नेगरी भेट हुने मौका जुरेको थिएन।
म स्नातकोत्तर अन्तिम वर्षको परीक्षा दिने तयारी गरेर बसेकी थिएँ, एकदिन साँझ फेसबुक खोल्ने बित्तिकै उसकी दिदीले लोकसेवाद्वारा लिइएको शाखा अधिकृत पदको लिखित परीक्षा पास गर्न सफल भएकोमा हार्दिक बधाई तथा आगामी चरणको लागि शुभकामना नानु भनेर फेसबुकमा पोष्ट गरेको स्टाटस देखें।
हत्त न पत्त फोन गरें। फोन व्यस्त रहेछ। एकछिनपछि फेरि फोन गरे। बधाई ! आगामी चरणको लागि झन् धेरै शुभकानमा है भनेर एकछिन कुरा गरेर फोन राखें।
अन्तर्वार्तापश्चात् समय उसको पक्षमा टुप्लुक्क अगाडि आयो। ऊ शाखा अधिकृत भई।
फोन गरेर बधाई सँगसँगै ‘पार्टी पनि चाहिन्छ नि मलाई त, बासी खानेकुराले फेरि पेट गडबढ होला’ भनेर जिस्काए।
‘ल तलाई म फुर्सद भएपछि फोन गरौंला अनि भेटौंला’ भनेर फोन राखी।
मलाई भने पार्टीभन्दा पनि ऊबाट केही उत्प्रेरणा लिने मन थियो। त्यसको २ दिनपछि हामी भेट्यौं।
सामान्य सन्चो बिसन्चोको कुरा गरेपछि मैले जागिरको कुरा निकालें।
‘तँ कति छिटो शाखा अधिकृत भइस् है ? मलाई पनि केही मोटिभेसन दिनुपर्यो। तेरा नोट पनि मलाई दे है।’ उसलाई बोल्ने मौका नै नदिई एक्लै बोलिरहें।
उसले भनी, ‘हामी जे सोच्दछौं, उही नै बन्दछौं, हजारौं युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा आफूलाई नै चिन्नुरहेछ।’
‘मैले त केही कुरा नै बुझिनँ’, मैले भनें।
अनि ऊ भन्न लागि ‘म नायब सुब्बाको सिफारिस लिएर कार्यालय जाँदा थाहा भयो कि त्यो कार्यालयमा अर्को एक जना साथी पनि नयाँ सिफारिस भएर आउनु भएको रहेछ। नियुक्ति लिने दिन एकैदिन परेको थियो। त्यहाँ हाजिर हुनका लागि सँगै निवेदन लेखेर दियौं। म जागिर भन्दा पहिले खासै सरकारी कार्यालय नगएकी हुँदा ती साथीको साथले केही अन्योलता कम भएको महसुस गरें।’
‘तँलाई सजिलो भएछ अनि त्यही दिनदेखि हाजिर भइस्र?,’ प्रश्नको तीर उतिर तेर्साएँ।
उसले भन्न थाली,’नियुक्ति पत्र लिएँ।सपथ खाएँ। भोलिपल्टदेखि कार्यालय जान थालें। नयाँ अनुभव, नयाँ कार्य अलि असहज त हुने नै भयो। रिक्त रहेको पदमा शाखा छान्न चाहिँ हाकिम सरले ठट्याउलो तरिकाले महिला प्रथम गरौं है भनेर मलाई नै शाखा रोज्न लगाउनु भयो। उक्त साथीले पनि कुनै विमति जनाउनुभएन। हँसिलो मुहारले हुन्छ भन्ने प्रतिक्रिया जनाउनुभयो। ऊ भन्दै गई। म चाख लिएर सुनिरहें।
‘ईलाका कार्यालय भएकोले त्यो कार्यालयमा कार्यालय प्रमुख, नायब सुब्बा तीन जना, खरिदार एक जना र कार्यालय सहयोगी २ जना गरी जम्मा ७ जना भयौं। हामी दुई नयाँ समेत गरेर। कार्यालय जाने आदि बाटोदेखि हाम्रो बाटो एउटै पर्दथ्यो। कहिले कार्यालय नजिकै पुगेपछि भेट हुन्थ्यो त कहिले कार्यालय पुगेपछि मात्र।
एकदिन कार्यालय जाने क्रममा हामी दुबैको भेट बाटोमा भयो र कार्यालयको नयाँ अनुभव एक आपसमा साट्दै कार्यालय पुग्यौं। ढोकाबाट छिर्न लाग्दा त्यति नै बेला खरिदार सरले मसँगैको सरलाई ‘सर नमस्कार’ भन्नुभयो, तर मलाई भने नदेखेझैं गर्नुभयो। पुरूष कर्मचारीलाई सदैव नमस्कार भनि हात जोड्ने खरिदार सर एकैदिन नियुक्ति लिएर सँगै हाजिर भएकी महिला कर्मचारी मलाई कहिल्यै पनि नमस्कार गर्नुभएन। सुरू सुरूमा त अलि कस्तो कस्तो महसुस गरें। राम्रो नराम्रो व्यवहारत: मानवताको परिचय न हो, मैले असल व्यवहार गर्दै सधैं कर्तव्यको पालना गर्दै गएँ। आखिर मलाई के नै फरक पर्छ र’, उसले भनी।
ऊ मसँग भक्कानिएझैं लाग्यो।
‘चिया सेलायो तेरो’, उसलाई सम्झाएँ।
‘तेंलै खाइसकिस्’, उसले सोधी।
‘मेलै त खाइसकें तेरो चिया सेलाएर चिसो पानीमा चिनी लगाएभन्दा कुनै फरक रहेन।’
‘ए ! मेरो चिया त सेलाइसकेछ कस्तो नभनिदिएकी तेंलै। तेरा आँखा मेलै मेरो गोजीमा राखेकी थिए र ?’ एकछिन भए पनि उसलाई हँसाउन खोजें। ‘चुप लाग।’ ऊ लगातर भन्दै गई।
‘मेलै जति आफ्नो मनलाई सम्झाउन खोज्यो उति मेरो मनले केही गरेर देखाउने अठोट गरिरहेको थियो। सोचहरूको बाढी चलिरहेकै बेला म अब शाखा अधिकृत तयारी गर्नुपर्यो भन्ने विचार गरें। ती सरले महिलालाई केही गर्न सक्दैनन्। उनीहरू शारीरिक रूपले कमजोर हुन्छन् भन्ने ठानेर या अरू के कारणले त्यस्तो व्यवहार दर्शाउनु भयो। धेरैबेर उक्त प्रश्नको जवाफ खोज्ने सिलसिलामा मनमनै रुमल्लिरहें। तर अहँ ! चित्तबुझ्दो उत्तर मनको कुनै कुनाबाट बाहिर म सामुन्ने आएन। मनले चाहेको कुरा कुनै न कुनै समयमा पूरा हुन्छ भन्ने विश्वास ममा पूर्ण थियो। वर्षायाममा खोलामा आइरहेको बाढीलाई रोक्न सक्ने हिम्मत कस्को र ? बाढीजस्तै बगिरहेको मनमा उब्जिएका हजारौं विचारहरू। समस्या पनि मनले नै उब्जाउने रहेछ र समाधानका उपाय खोज्ने जिम्मा पनि मनकै हुने रहेछ।’
‘हो नि’ मेलै जवाफ दिएँ।
ऊ भन्दै गई, ‘म शाखा अधिकृत भएर कुनै न कुनै कार्यालयमा ती सरलाई भेट्ने चाहना मनमा गढेर बसेको थियो। फेरि मेलै शाखा अधिकृतमा जाँच दिने बित्तिकै टुप्लुक्क मेरो नाम निस्कने पनि त होइन नि मनमा विचारको बाढी चलिरह्यो। त्यो स्थानमा दरबन्दी रिक्त रहेनछ भने म कसरी उक्त कार्यालयमा जान पाउनु र ! मेरो आफ्नो मन मेलै नै नियन्त्रण गर्न धौधौ पर्यो।’
‘अनि के गरिस् त?’ त्यो बेला मैले सोधें।
‘उत्तम पुस्तक ईश्वरको राज्यसम्म पुग्ने सुगम विमान हो’ इमर्सनको भनाइ तँलाई थाहा छैन ?’ उल्टै मलाई नै प्रश्न गरी।
‘के थाहा र मलाई,’ यो भनाई सुनेकै आजै उत्तर दिएँ।
‘भनेको अर्थ त्यो कुरा मनमा नआइराखोस् भनेर मनपर्ने पुस्तक पढें क्या।‘
यस्तैयस्तै मनमा सल्बलाइरहने कुराले मलाई राति अबेरसम्म निन्द्रा लागेन।’
कुरा अनुसार अनुहारको भाव झल्काउँदै उसले मलाई सबै कुरा बताउँदै गई।
‘कार्यालय समयबाहेक मैले साँझ बिहान निरन्तर धेरै नै मेहनत गर्दै गएँ। आखिर सफलता भनेको मेहनत नै त रहेछ नि ! व्यक्ति जन्मजात त उस्तै त हो नि। मेरो मेहनत, लक्ष्यप्रतिको दृढता,धैर्यता र भाग्यले म सफल भएँ।’
‘अहो! यस्तो पो है कस्ता कस्ता विचार भएका व्यक्तिहरू पनि हुने है आखिर दुवै जनालाई नमस्कारभन्दा पनि चार वटा अक्षर त बढी खर्च हुन्थ्यो होला नि है’, मेलै उसलाई भनें।
‘तर जे हुन्छ, राम्रोको लागि हुन्छ भनेको चाहिँ साँचो रहेछ। यदि मलाई ती सरले सँगैको सरलाई झैं व्यवहार गर्नु भएको भए ममा यस्तो जाँगर कहाँबाट आउथ्यो होला र ?’ उसले भनी।
उसको यो कुरा सुनेर मनै प्रफुल्लित भयो। मलाई पनि केही गरेर देखाउने उत्साह जागृत भयो।
बिदा हुनुअघि भनें, ‘सपथ लिएका शब्दहरू चाहिँ नबिर्सिनु है तेंलै। तेरो मनकामना पूरा होस्। अरबौं शुभकामना तँलाई।’