मोबाइल-फोन अहिलेको जमानामा अत्यावश्यक वस्तु भइसकेको छ। घरको आर्थिक अवस्था जे-जस्तो भएपनि आफ्नो हैसियत अनुसारको मोबाइल सबैको हात-हातमा हुन्छ।
अपरिचित मान्छेसँग जोडी मिलाउनेदेखि लिएर शंकाको बादल उत्पन्न गरी बलियो सम्बन्ध टुटाउनेसम्म, एउटै छतमुनि बसेका परिवारकाबीच दूरी बढाउनेदेखि लिएर टाढा-टाढा भएका मित्रजनबीच दूरी घटाउनेसम्म लगायतको काम गर्छ मोबाइल फोनले।
पढाइको मुख्य सामाग्रीका रुपमा मेरो जीवनको एक महत्वपूर्ण हिस्सा मोबाइल भएपनि मैले पटक-पटक फोन हराउने गर्छु। सायद सानो भएकोले कहिलेकाहीँ हतारमा त्यसको सम्झना नै नहुने होला।
कहिले बसको सिटमा, कहिले क्याम्पसमै, कहिले घुम्न हिँडेको ठाउँमा त कहिले रेष्टुरेन्टमा, मैले आफ्नो लापर्बाहीको पराकाष्ठा प्रर्दशन गर्दै आएको छु।
फोनको मामिलामा भने अहिलेसम्मलाई म निकै भाग्यमानी नै साबित हुँदै आएको छु। अहिलेसम्म जता छुटेको भएपनि मेरो फोन आफ्नो मालिक खोज्दै मेरो सामु आइपुगेको छ।
हुन त यस कुरामा मेरो भाग्यको साथसाथै भेट्टाउने मानिसहरुको इमान्दारिताको पनि उल्लेखनिय भूमिका रहेको कुरालाई भने नर्कान सकिन्न।
फोन हराउने प्रसंग नै जोडिसकेपछि मलाई मानसिक रुपमै तनाव दिएको एउटा घटनाको उल्लेख नगर्ने त कुरै भएन।
एकपटक पहिलो परीक्षा सकिएपछि रिफ्रेस हुने भनेर हामी ५ जना केटीहरु गोदावरी घुम्न जाने सल्लाह गर्यौं। तर मलाई के थाहा माइन्ड फ्रेस गर्न गएको मलाई उल्टै मेरो नियतिले एक झोला तनावको कोसेली ठिक्क पारेर सुम्पिन राखेको छ भनेर।
जाँदाजाँदै मैले बसमै मेरो फोन बिर्सेर गएछु। भर्खर किनेको मेरो मोबाइलमा फोटो राम्रो क्वालिटीको आउँछ भनेर मेरा साथीहरुले अगाडि नै मेरो टन्नै फोटो चाहिन्छ है भनेर बुकिङ गरिराखेका थिए।
बसबाट ओर्लिएर अलि पर पुगेपछि हिँड्दा हिँड्दै भ्लग बनाउँ न त भनेर साथीहरुले भनेपछि मैले ठ्याक्क मोबाइल झिक्न ब्याग खोलेँ। तर कता छोडेर आइसकेको कुरा खोजेर कहाँ पाउनु मैले।
त्यसपछि मैलै मेरो मोबाइलसँगको अन्तिम पल सम्झिन थाले। बससम्म त मोबाइल थियो भन्ने मलाई प्रष्टै याद थियो किनभने परीक्षा कस्तो रह्यो भन्ने जानकारी लिन ठ्याक्क बहिनीले फोन गरेकी थिइन्।
त्यसपछिको त मलाई केही सम्झना नै थिएन। अघिपछि सधैँ म बसबाट ओर्लिनु अघि एकपटक सिटमा फर्केर हेर्ने गर्थेँ तर त्यस दिन मेरो सुद्धि कहाँ गएको थियो कुन्नी! सायद हराउनै लेखेपछि त्यस्तै हुने होला।
हुन त मैले मोबाइल पहिलो पटक हराएको थिइनँ, तैपनि सायद नयाँ मोबाइल भएर पो होकि अलि बढी मन दुखेको थियो। तर सायद मेरो पुरानै मोबाइल हराएको भएपनि मलाई उत्तिकै दुख लाग्थ्यो होला किनभने आफ्नो जीवनकै अभिन्न हिस्सा स्वरुप भइसकेको वस्तु गुम्दा नराम्रो त अवश्य लाग्छ नै।
जे गर्दा नि चाहिहाल्ने भएर त्यसको अभाव त उत्तिखेरैदेखि खट्किन थालिहाल्थ्यो।
गोदावरी तर्फ लम्किएको हाम्रो यात्रा पुनः आएकै बाटोतिर मोडियो। बाटोमा हिँड्दा हिँड्दै मैले काजलको मोबाइलबाट मेरोमा फोन लगाउन ट्राई गर्दै थिएँ। त्यति बेलासम्म त जसले भेटेको भएपनि मख्ख परी स्विच अफ गरी निजीकरण गर्न भ्याइसकेको होला भन्ने शंका मनमा उब्जिरहेको थियो।
तर मेरो शंकाको ठिक विपरित घन्टी जाँदा एकछिन त मनले ढुक्कको सास फेरेको थियो। फोन नउठी घन्टी गइराखेको हुनाले अहिलेसम्म त फोन कसैको हातमा परिसकेको छैन होला जस्तो लाग्यो।
हामी छिटोछिटो पाइला चाल्दै बस पार्किङ स्थल तर्फ लाग्यौँ। घन्टी गइराखेको हुनाले मोबाइल बसमै छ भन्ने निर्धक्क भएर अब फेरि फोन गरिराख्दा उल्टै कसैले थाहा पाएर टिपिदेला भनेर मैले फोन गर्न छोडिदिएँ।
हामी हतार हतार बसमा चढ्यौ र सिटको दाँयाँबाँयाँ हेर्न थाल्यौ तर त्यहाँ केही नि थिएन। अलि पर स्मोकिङ गरिरहेको ड्राइभर दाइ आएर- 'के भयो बहिनीहरु, ऊ त्यो अर्को बसको पालो हो अहिले त, यो त पछि जान्छ' भने।
मैले फोन छुटेको बारे बताएँ। आफूलाई थाहा नभएको बताउँदै ती ड्राइभर दाइ साथीहरुसँग गए। बसमा नभेटिसकेपछि मोबाइल भेटिएला भन्ने झिनो आश नि मरिसकेको थियो। अघिसम्म त घन्टी जादैँ थियो तर अहिले त स्वीच अफ भइसक्यो होला भन्ने सोचेर डराईडराई फेरि फोन लगाएँ।
यसपटक पनि घन्टी त गयो तर ४-५ घन्टी जाँदा पनि नउठेपछि भने कसैले भेटिसकेपनि स्वीच अफ गर्न बिर्सेर राख्यो होला भन्ने सोचेँ। ठ्याक्क छैठौँ घन्टीमा अकस्मात् फोन उठ्यो र उताबाट एउटा अधबैँसे केटामान्छेको आवाज आयो- 'हेल्लो'।
फोन उठ्ला भनेर पनि आश मारिसकेको मैले हतारहतार फोन फिर्ता गर्न भनेँ। उताबाट त्यो दाइले अहिले आफू आफन्तकोमा भएको र उतै बस्ने भएकाले समय मिलाएर फिर्ता गर्दिने बताए।
फोन नै स्वीच अफ गरेर राख्देको भए त केही गर्न सकिन्न थियो, फ्री भएपछि दिन्छु भन्दा त चित्त बुझाएर बस्नु बाहेक के नै विकल्प थियो र मसँग?
मोबाइलकै कारणले घुम्न जाने प्लान पनि क्यान्सिल भयो। मेरो सानो भुलको कारण सबैको योजना चकनाचुर भएकोले मलाई निकै खल्लो महशुस भइरहेको थियो।
कोठामा पुगिसकेपछि फेरि एकचोटि फोन गरौँजस्तो लाग्यो र काजलको नम्बरबाट कल गरेँ। पूरै घन्टी गइसक्दा पनि फोन उठेन। आफन्तको घरमा भनेको हुनाले सायद व्यस्त भएर पो हो कि भनेर चित्त बुझाएपनि हृदयको कुनै कुनामा भने शंकाले डेरा जमाइसकेको थियो।
जे काम गर्न लागे पनि त्यही मोबाइलकै तर्कना आइरहन्थ्यो। म खासै मोबाइल चलाएर बस्ने मान्छे त थिइँन, त्यही पनि नहुँदा कत्ति अभाव महशुस हुने जे कुराको पनि।
दुई घन्टा बितिसकेपछि फेरि मनलाई थाम्नै सकिनँ र फेरि फोन लगाए। फोनको घन्टीको सट्टा 'माफ गर्नुहोला' भन्ने आवाज सुनेपछि मेरो मन झसंग भयो। त्यो मान्छेको नियतलाई दोष दिनुबाहेक अरु के नै गर्न सक्थेँ र!
काजलले पनि थपेकी थिई- 'बरु बिहानै फोन उठाउँदा दिन्न भन्नुपर्छ नि त्यस्ता मनमा पाप भएको मान्छेले। यत्तिकै बेकारमा किन अरुलाई झुटो आश देखाएको होला!'
एकछिनपछि आफैले आफैलाई सम्हालेँ। खासमा गल्ती त मेरै त थियो, बेलैमा सम्हालेर राखेको भए त्यस्तो परिस्थितको सामना त गर्नु पर्दैन थियो।
साँझ फेरि एकपटक फोन गरौँ कि जस्तो जस्तो लागेर काजलसँग मोबाइल मागेँ। 'माफ गर्नुहोला' भन्ने टेलिकमको आवाजलाई प्रतिक्षा गरेर बसिरहेको म अचानक फोनको घन्टी सुन्दा एकछिन त अचम्मै परेको थिएँ।
दुई घन्टी जान नपाउँदै फोन उठिहाल्यो। मैले हेल्लो पनि भन्न नपाउँदै उताबाटै आवाज आयो- 'ओ माइ गड, ह्वाट अ कोइन्सिडेन्स! मैले ठ्याक्क स्विच अफ खोलेको थाहा पाएरै गर्नुभए जस्तो पो भयो त! हेर्नुस् न, राख्दा थिचिएर होला कुन बेला स्वीच अफ पो भएको रहेछ फोन।
स्वीच अफ खुलेपछि मोबाइलको पासवर्ड थाहा छैन कसरी तपाईलाई कन्टयाक्ट गर्ने होला भनेर सोच्दै थिए, ठ्याक्क तपाईले आफैँ फोन गर्नुभयो, सजिलो भयो। बरु तपाईसँग कन्टयाक्ट गर्न मिल्ने नम्बर दिराख्नुस न, यताबाट तपाईलाई केही जानकारी दिनुपरेको खण्डमा काम लाग्छ।'
यति भनिसकेपछि एकछिन त म अकमक्कै परेको थिएँ। त्यसपछि त्यो व्यक्तिलाई मैले काजलको नम्बर टिपाएँ। कुरा अगाडि बढ्दै गर्दा उसले मेरो बारेमा सोध्न थाल्यो। मेरो नाम, ठेगाना, पेशादेखि लिएर सारा वृतान्त उसले सोधेर भ्यायो।
एउटा अपरिचितलाई आफ्नो परिचय तथा सम्पूर्ण विवरण दिन सङ्कोच लागेपनि आफ्नो मोबाइल नै त्यही व्यक्तिसँग भएको हुँदा मैले संयमित भएर सारा प्रश्नको जवाफ दिनुपर्ने थियो। मैले परीक्षा भएको बाहाना पारी बल्लतल्ल कुरालाई मुख्य मुद्दातर्फ धकेल्न खोजेँ।
उसले आफू सातदोबाटो बस्ने भएकोले म बस्ने ठाउँसम्मै ल्याइदिन्छु नि त भन्ने प्रस्ताव राख्यो। त्यो कुरा सुन्नेबित्तिकै एकछिन त म झसंग भएँ। एक अपरिचित व्यक्तिलाई आफू बस्ने ठाँउ देखाउने भुल त म कदापी गर्नेवाला थिइनँ। त्यसैले मैले उसको प्रस्तावलाई सिधैँ अस्वीकार गरेँ।
त्यसपछि उसले अफिस छुट्टिएपछि भेटम् न त भन्यो। अफिस छुट्टी भइसक्दा त ढिलै हुने भएकोले साँझ अरुलाई भेट्न पनि खासै ठिक लागेन। त्यसैले आउने शनिबार बिदाको दिन पारेर नजिकै बल्खुको एउटा क्याफेमा भेट्ने सहमति सहित मैले फोन राखिदिएँ।
शनिबार म र काजल त्यो क्याफेमा गयौँ। क्याफे लगभग खाली नै भएकोले त्यो मान्छेलाई चिन्न हामीलाई खासै गाह्रो भएन। त्यो मान्छेले हामीलाई मुस्कानले स्वागत गर्यो र जवाफमा हामीले पनि मुस्कान नै फर्काइदियौँ।
मान्छेको दिमाखमा पनि कत्ति कुरा खेल्न भ्याउने रहेछ। हुन त क्याफे भन्दैमा मान्छेको उपस्थिति हुनै पर्छ भन्ने पनि त थिएन, त्यही पनि शनिबारको दिन पनि यो क्याफे खाली हुनुमा केही षड्यन्त्र त छैन भन्ने कुरा मेरो मनले सोच्न भ्याइसकेको थियो।
त्यस व्यक्तिसँग हतार छ भनेर निस्किहालौला भन्ने सोचेको थिएँ तर यतासम्म आइयो, कफी खाएर जानुन भनेर कर गर्न थाल्यो। हुन त आफ्नो मोबाइल सकुशल त्यहाँसम्म ल्याइदिएकोले त्यो कुरालाई काट्नै सकिनँ। काजल र म एकछिन मुखामुख गर्यौ र बस्यौँ।
कफी आउन्जेल उसले आफ्नो सम्पूर्ण विवरण सुनाएर भ्याइसकेको थियो। उसको घरमा को-को सदस्य हुनुहुन्छदेखि लिएर ऊ कुन बैँकमा कार्यरत छ, मैले सबै थाहा पाइसकेको थिएँ। उक्त मेरो मोबाइल हराएको दिन भने ऊ आफ्नो मामाघर जान लागेको र बाइक सर्भिसिङमा दिएको भएर संयोगवश गाडीमा हिँडेको कुरा उसले सुनायो।
मलाई त्यँहाबाट कतिखेर भागौँ भएर पो हो कि त्यो उसले भनिरहेको कुरा 'संयोगवश' थियो वा दुर्भाग्यवश छुट्याउनै मुस्किल परिरहेको थियो। धन्न मैले त्यसदिन काजललाई नलगेको भए त एक्लै कति असहज महशुस गर्थे होला भन्ने कुराको म कल्पना मात्र गर्न सक्थेँ।
उसले कफीको बिल तिर्छु भनेर जिद्धि गरेपनि मोबाइल ल्याइदिनु भएबापत त्यति त गर्न दिनु भन्दै बिल तिरेर हतार छ भन्दै हामी त्यहाँबाट निस्किहाल्यौँ।
हुन त सामान्य परिचय गर्न खोज्नु गलत त अवश्य थिएन तर यस्तो कुरामा चनाखो रहनै पर्ने हुन्छ। फेरि सबै मान्छेको नियत र चरित्र एकैनाश हुन्छ भन्ने पनि त हुँदैन। उसैपनि अगाडि एकपटक साथीमात्र बन्ने इच्छा राख्ने एक जनाको असली रुप देखिसकेको कारण म सितिमिति कसैलाई भरोसा गर्न पनि डराउने भएको थिएँ।
मैले फोन फिर्ता लिइसकेपछि सबै कुरालाई सामान्य रुपमा लिएँ। अरुभन्दा नि आफ्नो नयाँ फोन फिर्ता आएकोमा म एकदम खुसी थिएँ। त्यो मान्छेलाई मनमनै धेरै पटक धन्यवाद दिएँ। मेरो हराएको फोन भेट्टिएको त्यो चौथो पटक थियो।
मैले जो-जोलाई मोबाइल हराएर भेटिएको किस्सा सुनाउन भ्याएको थिएँ, सबैसँग त्यो मान्छेको इमान्दारिता तारिफ गरेकै हुन्थेँ। तर मेरो तारिफ धेरै दिन टिक्न सकेन।
मेरो मोबाइलमा त्यस व्यक्तिको फोन बारम्बार आउन थाल्यो। खाना खायौ? के गर्दै छौ? जस्ता सामान्य प्रश्न भए पनि त्यो प्रश्न पछाडिको नियत भने मलाई असामान्य लाग्थ्यो। मोबाइल फिर्ता गर्ने व्यक्तिसँग किन नराम्रो व्यवहार देखाउनु भनेर म सकेसम्म त कल इग्नोर गर्न खोज्थेँ। अति भएपछि उठाएर थर्काइदिउँ जस्तो लाग्थ्यो तर त्यस्तो गर्न पनि सकिनँ।
फोन नउठेपछि उसको इमोसनल ब्ल्याकमेल सुरु हुन्थ्यो- 'मान्छेहरु कति स्वार्थी हुने रहेछन् है, आफ्नो काम सकिएपछि त फोन पनि उठाउन नहुने जस्तो।'
मलाई एकछिन त म साँच्चीकै स्वार्थी भइराको पो छु कि जस्तो पनि लाग्थ्यो। तर गहिरिएर सोच्दा स्वार्थ उसको मित्रताको प्रस्तावमा पाउँथेँ। मैले उसको नम्बर ब्लक गरेपनि अर्को नम्बरबाट कल गरिहाल्थ्यो।
अचम्म त त्यसबेलामा लागेको थियो जब उसले ९/१० वटा सिमबाट फोन गरेर भ्याइसकेको थियो। एउटा सामान्य मान्छेले त्यत्ति धेरै सिम किन आफूसँग राख्थ्यो! मैले त्यसबेला नचिनेको नम्बरबाट आएको फोन त उठाउनै छोडेको थिएँ। हुँदा हुँदा मलाई आफ्नै फोनको घन्टीसँग समेत इरिटेशन भएर १/२ दिन त फोन नै स्वीच अफ गर्देको थिएँ।
मेरो दिमाखमा खाली कसरी त्यो व्यक्तिसँग छुटकारा पाउन सकिन्छ भन्ने मात्र चलिरहन्थ्यो। कहिलेकाहीँ त फोन उठाएर थर्काइदिउँ जस्तो लागेपनि शान्त रहनु नै उत्तम विकल्प हो भन्दै आफूले आफैलाई सम्झाउँथें।
अब त थाक्ला त्यो मान्छे भनेर कुर्दाकुर्दै धैर्यले सीमा नाघेपछि भने एकदिन मैले गहिरिएर विचार गरेँ। के उसले सामान्य रुपमा नै गर्न खोजेको मित्रतालाई म आफैँले पो ओभर रियाक्ट गरिाखेको हो कि? के म साच्चिँकै उसले भनेकोजस्तो स्वार्थीपना पो प्रर्दशन गर्दै छु कि?
निकैबेरसम्मको आफ्नो मनसँगको अन्तरद्वन्दपछि भने म एउटा निष्कर्षमा पुगेँ। अहिलेको जमानामा यसै पनि कसैको आँखा चिम्लेर विश्वास गरिहाल्नु ठिक पनि त छैन। हुनसक्थ्यो त्यो मान्छेको नियत राम्रै थियो होला तर सबैको राम्रो हुन्छ भन्ने पनि त छैन।
म कृतज्ञ अवश्य थिएँ उसले लगाएको गुनको तर उसका सबै फोनकलका जवाफ दिई मलाई कृतज्ञता प्रकट गर्नु पनि त थिएन। आखिर अर्काको छुटेको वस्तुलाई सही-सलामत त्यही व्यक्तिलाई फिर्ता दिनु एक हिसाबले मानवको नैतिकता अन्तर्गत नै पर्ने कुरो न थियो।
बरु उक्त व्यक्तिले इनामबापतको रकम वा वस्तु मागेको हुँदो हो त म प्रसन्न मनले सहजै दिइदिन्थेँ होला। तर त्यस व्यक्तिले मागेको थियो मेरो अमूल्य समय जुन म किमार्थ दिन मन्जुर थिइनँ।
यो सबै विचारलाई तौलिसकेपछि यो सिलसिलालाई यहीँ अनत्य गर्नु नै बुद्धिमानी विकल्प हो जस्तो लाग्यो। काजलले नि सहमति जनाइसकेपछि जे होला होला एकचोटी भनीहेर्छु भन्ने निश्चय गरेर बसेँ।
साझँतिर पुनः एउटा अननोन नम्बरबाट फोन आयो। कस्को होला भनेर सोचिराख्नु नि पर्दैन थियो। फोन उठाएर उताबाट पूरा हेल्लोको आवाज नि नसकिँदै म बोल्न थालेँ- 'इनफ इज इनफ! राम्रो मुखले भनेको बुझ्नु भएन है तपाईले?
तपाईको गुनको मैले कदर गर्छुको मतलब यो होइन कि तपाईले मेरो निजी जीवनमै दख्खल पुग्ने अधिकार पाउनु हुनेछ। प्लिज, अबबाट मलाई नम्बर चेन्ज गरी गरी दुख नदिनु होला। आई जस्ट डन्ट लाइक इट! मेरो निजि स्वतत्रताको बली दिई–दिई सक्दिनँ म तपाईको गुनको बदला तिर्न।'
यति भनिसकेर मैले उताको केही कुरा नै नसुनी फोन काटिदिएँ। यति भनिसकेपछि किन पो हो मलाई निकै हलुका महशुस भइरहेको थियो, मनबाट एउटा बोझ नै हटेको जस्तै।
खोइ त्यसदिन मैले दिएको डाइलगले काम गर्यो कि मेरो रिस मिसिएको बोलीले, त्याहाँ उप्रान्त त्यस व्यक्तिले कहिले पनि मलाई फोन गर्ने दुस्साहस गर्न सकेन र बल्ल धेरैदिनपछिको तनावबाट मुक्त भएँ।
खुसीको कुरा, त्यस घटनापछि भने मैले आजका दिनसम्म मेरो मोबाइल हराएको पनि छैन।