प्रिय मुटु,
म तिमीलाई भित्रैदेखि कल्पिएर लेखिरहेको छु। म तिमीलाई मेरो यथार्थ भावना भगवानलाई साक्षी राखी लेखिरहेको छु र तिमीलाई स्पष्ट पार्न चाहन्छु, यी शब्दबाट तिमीलाई सम्झिरहेको छु।
आज पनि अतीतको इतिहास पल्टाउँदा एउटा सानो प्रसंग जुन मेरो हृदयमा छाप अनि मष्तिष्कमा डायरी बनेर बसेको छ। थाहा छ मलाई विगत जति नै सुखमय किन नहोस्, चेष्टा नगरौँ अतीत पल्टाउने। वर्तमानमा जे छौँ, त्यसैमा सन्तोष गरौँ। तर पनि के गर्नू, अतीतको सम्झना यो हृदयमा छाप बनेर बसिरहेछ।
जब म सानै थिएँ, करिब नौ वर्षको। म मेरो बाल्यकाल बिताउन मामाघर लगायत बाबासँग उहाँका अफिसका साथीहरुकहाँ जाने र उहीँ रमाउने, हराउने गर्दथेँ। बुबाको अफिसका थुप्रै साथीहरु हुन्थे, जो मलाई साह्रै माया पनि गर्थे। म पनि पछ्याउँथेँ उहाँहरुको मायालाई।
यस्तै बाल्यकालको यात्रा गर्ने क्रममा म थुप्रै नवीन ठाउँहरु पुगिसकेको थिएँ। यसै क्रममा बुबाको अफिस तानसेन पाल्पामा सरुवा भयो र म पनि सँगै त्यहीँ पुगेँ। म जहाँ जान्थेँ, त्यहीँ नजिकको स्कुल पढ्ने गर्थेँ र मेरो पढाइ पनि राम्रै थियो।
एक दिन हामीले घुम्न जाने भनि नजिकैको ग्रामीण क्षेत्रमा जाने योगना बनायौँ र त्यहाँबाट केही यात्रा गाडीमा त त्यसपछि पैदल गरी गयौँ। ती पाल्पाका रमाइला, सुन्दर दृश्यहरुतर्फ जस्ले हामीलाई दिनभर त्यसै भुलाए, अनि घुमाइरहे।
मलाई ती ठाउँको सम्झना अझैँ स्पष्ट छ। घुम्दै जाँदा एकान्त ठाउँमा पुगेलगत्तै कालो बादलले एकछिन अगाडिको स्वच्छ गगनलाई दिउँसै साँझ परेजस्तो अँध्यारो बनाइदियो। बादलसँगै गड्याङ्गुडुङ् र असिनापानीसहितको वायुसमेत चल्ने संकेत स्पष्ट थियो हामीलाई।
हामी आफ्नो यात्रा बीचमै रोक्दै फर्कियौँ सडकै सडक पैदल। सडकमा पनि गाडीहरु कमै गुडेका थिए। बाटोमा भेटिएका केही गाडीहरु पनि रोकिएनन्। म रुँदै डराउन अनि कराउन थालेँ, चिच्याएँ पनि।
सडकमा हिँड्दै गर्दा साँझ परिसकेको थियो। म भने चाँडो जाउँ भनेर रुँदै कराउँदै थिएँ बाबासँग। वरिपरि घरहरु थिएनन्। मृत्युले कालो आँधी पठाएजस्तै जति समय बित्दै गयो, उति अँध्यारोले छोप्यो हामीलाई जीवन र मृत्युको त्यो कहालीलाग्दो धरातलमा।
यसै क्रममा परबाट निकै उज्यालो बत्ती आएजस्तो लाग्यो हामीतिर। नभन्दै त्यो बत्ती गाडीको रहेछ। हामी निश्चित भयौँ, जसरी पनि गाडी रोक्ने विचारले बाबा लाग्नुभयो सडक बीचतिर। म रोइरहेँ किनारामा।
मेरो बेजोडको रोदन सुनेर वा हाम्रो दुःखदायी अवस्था त्यो सडकमा देखेर हुनसक्छ, पर पुगेको गाडी पनि उस्तै गतिमा पछाडि फर्कियो हामीतिरै। तीव्र गतिमा आइरहेको गाडीले हाम्रो सामिप्यमा आउनासाथ अपरिचित व्यक्तिले बाबा र मलाई भित्रबाट ताने।
मृत्युको मुखमा सडकमा रहेका हामी एक्कासी त्यो भ्यानभित्रको नौलो संसारमा पुग्यौँ। हाम्रो सामुन्नेमा दुई जना अपरिचित व्यक्ति, उनीहरुलाई हेर्दाहेर्दै त्यो भ्यान एउटा सुन्दर बगैँचासहितको घरभित्र प्रवेश गर्यो।
उनीहरु ओर्लिएर हामीलाई पनि लिई त्यहि घरको माथिल्लो तलातिर लागे। मेरो रुवाई अझैँ थियो, बाबाको अंगालोको साथमा। बाबाले आफ्नो परिचय दिनुभयो भने अपरिचितले पनि राम्रो व्यवहार देखाउनु भयो। हामीहरु यो अवस्थामा आउनुका बारे सोध्दै थिए बाबासँग उनीहरु।
यतिकैमा एक जनाले मलाई बाबाको काखबाट छुट्याएर अर्को कोठातिर लगे। म रोइरहेको थिएँ, अनि डराइरहेको। अर्को कोठामा लगेपछि थकाइले म निदाएछु।
हामीलाई सहयोग र उद्धार गर्नेहरुलाई भगवान् भनि सम्बोधन गरेँ। जसले बाबासँग के कुराकानी गरे, मलाई थाहा भएन। आफ्नो र अफिसको बारेमा बताएपछि जो पनि बाबालाई राम्रो मान्छन्।
खाना नखाई सुतेकोले भोकले हुनसक्छ, म बिहान चाँडै बिउँझिएर झसंग भएँ। त्यो बिरानो ठाउँमा डराएँ पनि। अचम्म परेँ अनि हेरेको हेरै भई टोलाइरहेँ। सपना हो वा विपना दंग परेँ निकै बेर।
कहिल्यै नसोचेको सपनामा पनि नदेखेको झण्डै मेरै उमेरकी एउटा सुन्दर केटी पो सुतेकी रहिछन् मसँग। उनी त अझैँ मस्त निन्द्रामा थिइन्। म आफैमा प्रश्न गर्न थालेँ- म कहाँ छु? यो केटी को हो? घर हो कि स्वर्ग? म सुतेको त्यो कोठा खेलौनाहरुले भरिएको, फूल र चित्रहरुले सजिएको थियो, जसको वर्णन गरेर कहिल्यै नसकिने।
मलाई त्यो केटीको बारेमा थुप्रै उत्तरहीन प्रश्नहरुले सताइरह्यो। म सधैँ बाबासँग मात्र सुत्थेँ। राति बाबानि कोट्याएर बोलाएको पनि थिएँ। उहाँलाई अंगालेर सुतेको थिएँ तर भर्खरै ब्युँझिँदा त अचम्म, मसँग बाबा होइन बरु सपनाकी राजकुमारी जस्तै सुन्दर केटी पो सुतेकी रहिछन्।
मलाई लाज लागेर आयो उनलाई देखेर। रातभर उनलाई अँगालेर सुतेको कल्पना गर्न सक्दिनँ। एक्कासी ढोका खोलेको आवाजले म झस्किएँ, हिजो हामीलाई बचाएर ल्याउने उही व्यक्ति रहेछन्।
उहाँले मलाई बाबा भएको अर्को कोठामा लैजान खोजे र उनी गुडिया जस्ती बालिकातिर देखाउँदै भन्दै थिए, 'उनी मेरी छोरी समिधा। समिधाले हिजो तिमीलाई कति बोलाई तर तिमी उठेनौ। त्यसैले समिधा तिमीसँगै सुतेकी हो।'
अनि उहाँले मलाई अर्को कोठामा लग्नुभयो र खानेकुरा खुवाउनु भयो। त्यसै बेला समिधा पनि त्यहाँ आइपुगिन्। हामी दुवै अपरिचित थियौँ, दुवै एकअर्कामा हेराहेर गयौँ निकैबेर। एकछिनपछि उनले मेरो नाम सोधिन् र एक अर्कामा परिचिय गर्यौं।
हामी एकैछिनमा परिचित भयौँ। मिठा-मिठा मिठाइ र परिकार खाँदै खुवाउँदै रमाउँदा मैले बाबालाई पनि बिर्सिएँ। समिधा र म दिनभर खुब खेल्यौँ ती बरण्डाका खेलौनाहरुसँग।
उनले सधैँ त्यहीँ बस्ने प्रस्ताव गरिन् मलाई। कति पटक त उनले कर गरेर मलाई मनाउन खोजिन्। कसम खान कर लगाइन्। बाल्यवस्थामै भएपनि हामीसँगै रहँदै र खेल्दै रमाउँदै एकअर्कामा हराउन थाल्यौँ। हो, माया गर्न थालिसक्यौँ केबल त्यो एक दिनमा। उनी अब नछुट्ने है भनि अनेक नयाँ-नयाँ कुरा र खेलका प्रसंगले मलाई बाँध्ने प्रयासमा हुन्थिन्।
तर पापी समय सदा-सदा एउटाको हातमा नहुने रहेछ। पापी समय जस्ले हामीलाई त्यो विपत्तिमा पारेर जोगायो अनि समिधासँग भेट गरायो। फेरि हाम्रो मायाको रिसले छुटाउन खोज्यो। हामीले मानेनौँ, रोयोँ, करायौँ, बाबाले फर्किने कुरा गर्नुभयो।
जसरी पनि अन्ततः फर्किनु त पर्थ्यो नै। आखिर गुलाबको फूललाई ती पहरा र ती सँगी छोडेर, अलग भएर गमलामा फुल्न रहर त कहाँ हुन्छ र? तर बाध्याता। हामीपनि छुट्टिनु पर्थ्यो नै। मसँग छुट्नुपर्ने भएपछि समिधाले मेरो फोटो खिच्ने चाहना व्यक्त गरिन्।
उनको प्रस्तावले हामी सबै खुसी भई निकै फोटो खिच्यौँ। उनी र मसँगै बसि पनि फोटो खिच्यौँ। नचाहँदा नचाहँदै पनि ठुलो चिच्याहटका साथ हामी बिछोडिन बाध्य भयौँ। केहीबेरको क्षणिक मिलन र त्यो खुसिले अकस्मात् आँसुको नदी बग्न पुग्यो हाम्रो गालामा।
आज म गुल्मी अनि पाल्पा होइन, काठमाडौँमा छु। करिब पन्ध्र वर्ष अघिको पाल्पाको तानसेन सम्झँदै छु। किनकि अहिले मैले थाहा पाएको छु कि ती मेरी बाल्यवस्थाकी साथी समिधा मसँगै विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा मास्टर्स लेभल वातावरण विज्ञान पढ्दै छिन्।
म उनलाई सिधा गएर यो भन्न सकिरहेको छैन। यस बीचमा हामीले एक-अर्कालाई चिन्न नसक्ने परिवर्तन आइसकेको छ। म उनको सुन्दर अनुहार सम्झिरहन्छु। उनी अझैँ राम्री भएकी छिन्।
हिजोआज म क्याम्पसमा समिधालाई टोलाएर हेर्ने गर्छु। कति गलत सोच्छिन् होला समिधा मलाई। मलाई निश्चित छ, म समिधाकै हुँ र उनीमात्र मेरी। यसको प्रमाण छुट्टिने बेला सँगै खिचेका फोटा छन्।
तर ती फोटा देखाएर नजिक हुनु कति ठिक होला! म समिधालाई कसरी सम्झाउँ हामी यस्ता बाल्यकालका साथी हौँ भनेर। कि अतीत बिर्सेर उनीसँग नयाँ सम्बन्ध सुरु गरुँ? म के गरुँ? अहिले म यसको सहज उपाय खोज्ने दौरानमा छु। आशा छ यहाँहरुसँग यसको सहज उपाय हुनेछ।