बिस्तारामा पल्टिना साथ निन्द्रा देवीको शरणमा पुग्ने मान्छे देख्यो कि मलाई इर्ष्या हुन्छ। म हर रात जोडतोडले निदाउने प्रयत्न गर्छु। मेरो दैनिक कसरत हो निदाउने प्रयत्न गर्नु।
कैंयौं वर्षदेखि म मजाले निदाएको छैंन्। त्यसको प्रयत्नमा मनमा अनेकन कुरा खेल्छन्। कैँयन तर्कहरु उर्लन्छन्, शान्त हुन्नन् बरु झन्-झन् गहिरो गरी ऐंठन गर्छन्। मन र मस्तिष्कको घम्साघम्सीमा म सधैं पराजित, अनिदो छु।
प्रविधिको बन्धिंश हाते मोबाइल र सामाजिक संजालको जंजालले कहिलेकाहीं रात छर्लङ्ग हुन्छ। यस्तो प्रायः हुन्छ, भनौं यो एकप्रकारले मेरो नियमित आकस्मिकता हो। गजबको मगज छ मान्छेसँग। उसले गर्ने आविष्कारहरु देखेर म जिल पर्छु।
सामाजिक संजालले भौगोलिक दूरीलाई अति नै खुम्चाइदिएको छ। कुनै बेला म विदेशमा छु भन्ने भान पनि हुँदैन। इष्टमित्र र आफन्तहरुसँग नियमित रुपमा कुराकानी हुन्छ। गफिनु मेरो सौंख हो, त्यो यता आएर पातलिएको छ, तर नि बेला मौंका मैले बातमा बहतिनै पर्छ।
मेरो एउटा साथी छ, लगौटीया यार। सानोमा एउटा हातले जांगे र अर्को हातले सिँगान तान्दै हिँड्दादेखिको मित्रता हो हाम्रो। ऊ केही समय पहिले विद्यार्थी राजनीतिमा सक्रिय थियो। अचेल नेपालको एक नामी राजनीतिक पार्टीको युवा नेता भएको छ। हामी अक्सर कुरा गरिरहन्छौं, र अक्सर हामी राजनीतिक हुन्छौं।
हिजो पनि राति कुरैकुराको सिलसिलामा उसले देश विकास नहुनुको मुख्य कारण नेपाली विदेशीनु हो भन्ने तर्क राखेको थियो जसमा मैले बिमति राखेँ। उसँगको तर्कले विवादको सिर्जना गयो। र विवादले क्रोधको।
ऊ क्रोधित हुँदै भन्यो, 'तँ जस्तो देशद्रोही यो देशलाई चाहिएको पनि छैन' र अचानक अफलाइन भयो। पहिले म उसको साथी थिएँ, अलि पछि पलायनवादी भएँ, अहिले आएर म देशद्रोही भएँ। अरे वाह! अहिले म आफ्नो कम्प्युटर अघि बसेर उसलाई प्रतिक्रिया लेख्दै छु-
'मेरो मस्तिष्कमा हिजोदेखि तैले लगाएको आरोप दह्रोसँग गडेको छ। आरोपहरु, के यति सजिलै लगाउन सकिन्छ, कोही किन न्यायमूर्ति बनेर अर्कोको नाममा आरोपहरु तयार गर्छन् अनि पास गर्छन्। आरोप पनि हैन होला हगि यो, तर म राष्ट्रियता प्रमाणित गर्नु पर्ने अमिठो घडी तिर आइपुगेको छु। ठिक छ, थोरै अतीतबाट सुन्।
नयाँ नेपाल निर्माणको निम्ति मेरो कान्छा बुवा आफ्नो श्रीमती र बालक छोरालाई छोडेर क्रान्ति गर्न घरबाट निस्किएका थिए। कान्छा बुवाको निर्णयप्रति मेरो बुवाको फिट्टो सहमति थिएन। घर छोड्नु अघि उनले भनेका थिए, 'दाइ, यो लडाइँ म आफ्नो लागि हैन, हाम्रो सन्तानको निम्ति लड्न जान लागेको हुँ। मलाई नरोक्नुस्। नत्र भोलि हाम्रो सन्तानलाई के भनी जवाफ दिने?'
बुवा बोल्नु भएन। काका लाल यात्रामा जाँदा हुनुभयो तर फर्किएर कहिले आउनु भएन। उहाँको पार्टीले देश जित्यो, सत्तामा पनि पुग्यो। देश र जनताले के-कति पायो, त्यो भलै अर्को कुरा हो। नेताहरु बने, तिनको मनग्गे भयो।
तीन वर्ष अघि खाडीमा गएको कान्छो बुवाको छोरो बाकसमा नेपाल फर्कियो। मेरो कान्छो बुवाको त्याग, भाइको गुमेको जीवन र कान्छी आमाको बेदनामा तेरो राष्ट्रियता आज पनि ठालूहरुको एष्ट्रेबाट सुरू भएर एष्ट्रेमै अस्ताउँछ। हाय राष्ट्रियता!
थोरै मेरो वर्तमान पनि सुनाउँ हैं। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हामी नेपाली यहाँ बसेका छौँ। हामी विभिन्न जातजाति र भेषभुषाका पक्कै होलाउँ तर हामीमा कुनै विभेद छैन।
एक विद्यार्थी भाइ छ। दिन-रात मेहनत गरेर उच्च शिक्षा हासिल गर्दै छ। तँ आबद्ध विद्यार्थी संगठनले विद्यालयहरुमा ताला लाउँदै शिक्षा क्षेत्र ठप्प पारेकोले आजित भएर उच्च शिक्षा हासिल गर्न यहाँ आएको हो।
एक जना राष्ट्रकै प्रतिष्ठित कलाकार छन्। जमघटमा आफ्नो कला पस्किन्छन्। उनले आफ्नो कला मर्न दिएको छैनन्। दिदी हुनुहुन्छ पूर्व तिरको। काखे छोरी छोडेर आउनु भएको ४-५ वर्ष जति भयो।
के छोरीको उज्ज्वल भविष्यको निम्ति आफ्नो खुसी त्याग गर्ने त्यो कर्मठ ममतामयी आमाको मातृत्वमा देशद्रोहीको क्लेश देख्छस् तँ? एक आत्मीय भाइ छ। भर्खर जुँगाको रेखी लाग्दै गरेको। ऊ तलको बाटो लाखौँ तिरेर महिनौँ लगाई ज्यानको बाजी लगाएर आएको।
उसले भर्खर संचालन गरेको व्यापार तेरो पार्टीको कार्यकर्ताले तोडफोड गरेछ। दिनहुँको चन्दाको धम्किको त के कुरा गरुँ! यहाँ अमेरिकामा नेपालीहरुको हक हितमा काम गर्ने विभिन्न संघ संस्था छ।
नेपालमा कोही बिरामी परे यहाँ चन्दा संकलन हुन्छ। प्राकृतिक प्रकोपको निम्ति कोष खडा गरेर राहत पुर्याउन तम्तयार हुन्छन्। यही जन्मेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा सिकाउँछन्। ती स-साना बालबालिकाहरु कलिला हात जोडेर नमस्ते गर्दा राष्ट्रियताको सगरमाथा अग्लियो कि झैं मान्या थिएँ।
थोरै बृद्धबृद्धाहरु ढाका टोपी, दौरा र सारीमा सजिएर बाटो तिर हिँडेको देख्दा नेपाल यतैकतै सँगै छ झैं हुन्छ। अझ हरेक आइतबार यहाँ अवस्थित नेपाली मन्दिरमा भगवानको पूजा आराधना गर्न नेपालीहरु घुइँचो लाग्छन्। साथी, भूगोल जहाँसुकै होस्, हामीले आफ्नो देश भुलेको छैनौं, संस्कृति छोडेका छैनौँ।
तलाई स्मरण होला, हामीले नेपाली पाठ्यक्रममा महाकविको 'के नेपाल सानो छ?' शिर्षकको निबन्ध पढेको। उतिबेला उक्त निबन्ध हामीलाई हाम्रो बौद्धिक स्तरभन्दा माथिको माथापच्ची लाग्थ्यो। अहिले म त्यो निबन्धको मर्म बुझ्दैछु, बुझ्ने चेष्टा गरिरहेछु।
तलाई थाहा छ साथी, न्यूयोर्क सहरको मुटुमा अवस्थित अति व्यस्त टाइम्स् स्क्वायरको कोलाहलमा म आफूलाई आज पनि शून्यमा पाउँछु। मैले आफ्नो पाल्पा भुलेको छैन, नायग्रा फल्सको पानीको प्रवाहले त मलाई पिल्सन्छ कि जस्तो हुन्छ।
डेविस फल्सको पानीको सम्झनाले म सम्मोहित हुन्छु। पिज्जा र पास्ताको स्वाद न जिब्रोले थाहा पाउँछ न पेट अघाउँछ। मैले ढेडो र मकैको स्वाद भुलेको छैन। ढुङ्ग्रीको मोही र ढुंगे धाराको पानीको तिर्खा बिर्सेको छैन। काठमाडौँको टुकटुके के म यो जुनीमा बिर्सन सकूँला?
मसँग देश विकास र निर्माण गर्ने ठुला ठुला योजना र परियोजना नहोलान् तर आफ्नो काम गर्ने निष्ठता छ। मलाई बस् मेरो काम आउँछ। एक यस्तो काम जसले अरुको जीवनमा नराम्रो असर गर्दैन।
तेरो देशद्रोही पलायनवादको परिभाषा भित्र मुलुक बाहिरका सबै नेपाली पर्छन् भने भोलि चोकको चिया पसलमा चियाको चुस्की र चुरोटको सर्को तान्दै गर्दा याद गर्नू, हाम्रो पसिना विदेशमा बग्छ र तँहरुलाई पुरै देश धानेको भ्रम छ।
म भित्रको राष्ट्रियता हेर्न तैले कम से कम एकदिन नेपाल नबिगारे पुग्छ, बन्द नगरे पुग्छ। स्कुले बच्चा बोकेको बस आगजनी नगरे पुग्छ। सुन् साथी, जुन दिन म हरियो राहदानी बोकेर देश छोडेको थिएँ त्यही दिन आफूसँगै नेपालको एक अंश पनि बोकेर हिँडेको थिएँ।
मलाई सधैं मेरो देशले बोलाउँछ, त्यो देश सायद तैले भोगिरहेको देशभन्दा अर्कैं होला। तर मेरो लागि त्यो देश त्यही हो जसको सूर्य पशुपतिको घन्टीको आवाजसँगै उदाउँछ, जसको चन्द्र पशुपतिकै आरतीसँगै रोशनी गर्छ।
के मलाई मेरो देशबाट तैले विभक्त गर्न सक्छस्? के मलाई नेपाली भइरहन तैले रोकिरहन सक्लास्? नेपाली बन्नु नेपाली हुनुको आहलादले नै हो म निदाउन सकेको।
हो, मैले राष्टवादी हुन कुनै पार्टीको झोला बोकिनँ, बन्द हड्ताल गरेर ढुंगा हानिनँ। नेपाल किन बनेन भनेर चिया प्याला रित्ताइनँ, तर मेरो राष्ट्रियता तेरोभन्दा एक औँलो नि कम छैनन्, अहँ! छँदै छैन।