झिकेर मुटुको टुक्रा आँखा भित्र अटाउँछिन्,
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्।
जिन्दगी बन्दछ आमाले खाएको गाँस गाँसमा,
श्रृजना मूल हुन् आमा सृष्टिको इतिहासमा।
आमाको बारेमा स्कुलमा पढेका यी हरफहरु मेरो मानसपटलमा अटल छाप भएर रहेका छन्। आमाका बारेमा कतिले कविता लेखे। कतिले गीत बनाए। कति लेख/उपन्यासहरु पनि लेखिए।
सय वर्षभन्दा अगाडि लेखिएको मेक्सिम गोर्कीको आमा उपन्यास अहिले पनि चर्चित छ। आखिर किन यति मरिहत्ते गर्छन् मानिसहरु आमालाई?आमा त आफ्नै हुन् नि। आफ्नै आमालाई माया गर्छु भनिराख्नु पर्ला र? आमाले आफ्ना सन्तानलाई माया गर्नु कुनै आश्चार्य मान्नु पर्ने कुरा हो र? यस्तै यस्ता सोचाई दिमागमा मडारिरहेका थिए।
यस विषयलाई लिएर मलाई सकस जस्तो हुन थाल्यो। मन भित्रको ऐठनलाई शान्त पार्न म पनि आज आमालाई सम्झेर केही त लेख्नु पर्यो भनेर लेख्न बस्छु तर पटक्कै फुर्दै नफुर्ने।
सबैले भनिसकेका कुरा के लेख्नू! सबैलाई थाहा भएकै कुरा त हो- आमा महान् छिन्, आमाको लीला अपरम्पार छ। आमा... यस्तै यस्तै धेरै। दिमाग शून्य भयो। ल्यापटप बन्द गरें।
झ्यालबाट बाहिर हेरें। कौसीमा काग र परेवाको कुस्ती चलिरहेको थियो। म बाहिर निस्किएपछि काग उडेर भाग्यो, तर परेवा भने छेउमा बसिरह्यो। परेवाको गुँडबाट कोरल्ने बेला भएको अण्डा कागले टिपेर भागेको अनुमान गरें। कौसीमा ल्याइपुर्याउँदा पोथी परेवासँगको इन्काउन्टरमा अण्डा झरेर फुटेको हुँदो हो।
मेरो नजर कुनामा बसेको परेवाको आँखामा पर्यो। उसका आँखाले आफ्नो सन्तान गुमाउँदाको पीडा दर्साइरहेका थिए।
मैले अण्डा छुन लाग्दा उसले आफ्नो न्वारनदेखिको बल प्रयोग गरेर गर्दन फुलाएर घुर्न थाल्यो मलाई, अनि ममाथि जाइ लाग्न खोज्यो।
'ओहो! कस्तो मातृत्व हो यो पशुपंक्षीमा पनि' म छक्क परिरहें।
म सानै छँदा रुप्पीको बच्चालाई चलाएको मेरो भाइलाई रुप्पीको बथानले नै हप्तौंसम्म आक्रमण गरेको सम्झन्छु। चराहरुको आफ्नो सन्तानप्रतिको त्यस्तो प्रेम देखेपछि मातृत्वलाई अझ बढी गहिरिएर सोच्न र बुझ्न मन लाग्यो मलाई।
घर पछाडि छतको चेपमा बनाएको परेवाको गुँड नियाल्न मन लाग्यो। त्यहाँ म देख्दै थिएँ कसरी ऊ संघर्ष गरिरहेको थियो आफ्नो परिवारको सुरक्षाको खातिर सुकेका घाँस पराल ओसार्दै आफ्नो घर/गुँड बसाउन।
म देख्दै थिएँ घरमा सुकाएका बिस्कुन बडो चतुर्याँइपूर्वक टिपी ऊ आफ्नो गुँडतिर कुलेलम ठोक्दै थियो। बचेराहरु माउ आउने बित्तिकै खाना पाइन्छ कि भनेर मुख बाउन थाले। उसले बचेराहरु अघाएपछि मात्र आफूले चारो निलेको दृष्य पनि त्यहाँ मैले देखें।
घरको दलिनमा गुड लगाएको गौथलीको संघर्ष हामी धेरैले देखेका छौ। अहो! सन्तानको मायाले कत्ति धेरै पोलेको तिनलाई। ती बचेराहरु जसका खातिर रातदिन ज्यान दिएर खाइ नखाइ जो संघर्ष गरिरहेका छन्, भोलि पखेटा लागेपछि उनीहरुलाई छोडेर जानेछन् भन्ने कुरा ती माउलाई थाहा नभएको होला त! तर पनि हेर्नुहोस् न कस्तो निस्वार्थ माया तिनको।
के ती बचेराहरुले आफ्ना मातापिताले गरेको त्याग र संघर्ष बुझ्लान् र? आफ्नो गाँस काटेर भएपनि आफ्ना बचेराहरुलाई जोगाउनुपर्छ। आफू रुझेर पनि बचेराहरुलाई आफ्नो पखेटाभित्र राखेर न्यानो पार्नु पर्छ। बाफरे! अभिभावकत्वको हेक्का पंक्षीमा पनि कति धेरै।
यो दृष्यले मलाई आफ्नो बाल्यकालमा फर्कायो। कसैले मिठोमसिनो खाना दिए भने सुरुमा आफूले लगाएको सारीको छेउमा पोको पारेर आफ्ना छोराछोरीलाई भनेर छुट्याएर मात्र खानुहुन्थ्यो मेरी आमा। उहाँ कतै गएर आउनु भयो भने अनुहार उज्यालो हुन्थ्यो हाम्रो, पक्कै केही मिठो खान पाइन्छ भन्ने आशा।
ठ्याक्कै तिनै बचेराहरु खुसी भएजस्तै खुसी हुन्थ्यौं हामी। अनि हाम्रो खुसी देखेर उहाँ त्यसै खुसी। कस्तो मातृत्व हो त्यो जसको मायामा कुनै सर्त छैन।
एकदिन मेरी छोरीले यो घर छोडेर अर्काको घर जानुपर्छ भन्ने कुरा मेरी आमालाई पनि पक्कै थाहा थियो होला। तर पनि ती बचेराका माउलाई जस्तै मेरी माउलाई पनि यी सब कुराहरुले उहाँको मातृत्वमा कहिल्यै पनि कुनै कमी हुन दिएन। हरे! कति निस्वार्थ माया हो यो।
मेरो परीक्षाको बेला मैले पढिसकेर ननिदाएसम्म उहाँहरु जाग्राम बस्नुहुन्थ्यो। हामीले खाएर अघाएपछि मात्र ढुक्क हुँदै बाँकी रहेको खानुहुन्थ्यो। देउतालाई मिठो-मिठो पकवान भोग लगाएर सधैँ आफ्ना छोराछोरीको सुख, शान्ति, समृद्धि तथा सुन्दर भविष्यको लागि फकाइरहनु हुन्छ। आहो! कस्तो बुझ्नै नसकिने मायाजाल हो यो मातृत्वको।
कति मायावी शक्ति छ यो आमा शब्दमा। कतै ठेस लाग्दा निस्किने पहिलो शब्द-आमा। घरको गेटबाट छिर्ने बित्तिकै आँखाले खोज्ने पहिलो व्यक्ति-आमा। छक्क पर्दा उच्चारण गर्ने शब्द-आमा। दुःखमा पुकार्ने शब्द पनि-आमा। वाचा-कसम खाँदा प्रयोग गरिने शब्द-आमा। बोली फुट्दा पहिलो उच्चारण हुने शब्द- आमा। पहिलो गुरु- आमा। उफ!
अचानक हातमा चिसो अनुभव भयो। ओहो! सोच्दा सोच्दै कति बेला आँखाबाट आँसु खसिसकेछन् पत्तै भएन। अघिसम्म आमाको बारेमा लेख्न बस्दा शून्य भएको मेरो दिमाग एकाएक चलायमान भयो। मकैका फूल झैं भटटटटटटटटटटटटटट....
मलाई मात्र होइन, मातृत्वलाई अनूभव गरेका हरेक व्यक्तिलाई यस्तै अनूभुति भएको हुनुपदर्छ। अझ आमा गुमाएका सन्तानलाई थाहा हुन्छ आमाको महत्व यो संसारमा कति धेरै छ।
माइत जान पाउँदा खुसीले नाच्ने चेलीहरुका लागि आमा गुमाएपछि माइत जानु भनेको रहरभन्दा बाध्यताको विषय बन्ने गर्दछ। न कुनै उत्साह न त कुनै उमंग नै। आमा बिना आफूलाई टुहुरा भएको महशुस गर्दछन् अनि भावुक बन्दै भन्ने गर्छन्, आमा बिनाको माइती के माइती?
आमाले पकाएको खाना मिस नगर्ने को होला र? पकाउने सामाग्री उही हो तरिका पनि त उही नै हो, तर आमाले बनाएको खानामा सायद मायाको फ्लेबर भएर होला, त्यो स्वाद ठुला ठुला तारे होटलमा पनि कहाँ खान पाइन्छ होला र? यो अवसर त आमा हुने भाग्यमानीहरुले मात्र अक्सर पाउने गर्दछन्।
तर के आमा हुनेहरु सबै भाग्यमानी हुन्? म त भन्छु आमा भएर पनि आमाको महत्व नबुझ्नेहरु यो संसारमा सबैभन्दा अभागी हुन्।
मलाई पनि आमाले माया गर्नु प्राकृतिक विषय हो जस्तो लाग्थ्यो। आमाले गाली गरे पनि, रिसाए पनि एकछिनमा जस्ताको त्यस्तै। परालको आगो जस्तै। कस्तो अचम्म! उहाँको माया मिसिएको गालीले न कुनै इगो हर्ट हुने, न कुनै बदलाको भावना नै जाग्ने।
तर यी सबै कुरा बुझ्न म आफैं आमा बन्नु पर्यो।
कुनै समय थियो दिसा/पिसाब सम्झँदा पनि घिन लाग्ने गर्थ्यो। तर आज छोरीको पेट किन बिग्रेछ भनेर दिसालाई ओल्टाइपल्टाइ गरेर खोतल्दा पनि घिन लाग्दैन, कस्तो अचम्मको नाता हो यो! उसले आका गरेको थाहा पाएपछि खाँदै गरेको गाँस छोडेर सफा गर्ने बेला सम्झना आयो आमा हजुरको।
उसले बान्ता गर्न लाग्दा आफ्नो हात थाप्दा पनि मलाई रत्तीभर घिन लागेन बरु माया लाग्यो उसको धेरै। छोरीले खाना नखाँदा आफ्नो पनि भोक हराउने रहेछ भन्ने थाहा पाएँ। त्यतिबेला धेरै सम्झना आयो आमा हजुरको।
उसलाई ज्वरो आएको बेला पानीपट्टी लगाउँदा हजुरलाई झलझली सम्झिएँ आमा। ऊ बिरामी भएर अस्पतालमा छट्पटाएर आफू लाचार भएको बेला आफै रुँदै बसें, त्यतिबेला पनि हजुरको धेरै याद आयो।
उसले पहिलो पटक कोल्टे फेर्दा, उसले पहिलो शब्द उच्चारण गर्दा, उसले पहिलो पल्ट मेरो औंला समाएर हिँड्दा म धेरै खुसी थिएँ आमा। त्यतिबेला पनि मैले हजुरलाई धेरै मिस गरें।
उसले मलाई अंगालो हाल्दा मेरो घाँटी वरीपरीका उसका हातहरुका स्पर्श मलाई हिराको हारभन्दा पनि मूल्यवान लाग्यो। मेरी आमालाई पनि त्यस्तै लाग्थ्यो होला मेरो स्पर्श भन्दै सम्झना आयो।
उसले तोते बोलीमा- 'मम्मा यो केहो? मम्मा त्यो के हो? मम्मा यो किन त्यस्तो? त्यो कसरी भयो?' भनेर बारबार एउटै प्रश्न दोहोर्याउँदा मलाई कत्ति पनि झर्को लागेन। उनको तोते बोली मलाई ईश्वरको वाणी झैं लाग्यो, अलौकिक। सोचें, हजुरलाई पनि त्यस्तै अनुभव भएको हुनु पर्दछ।
छोरीले विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कार लिएर आउँदा म जति खुसी हुन्छु पक्कै हजुर पनि मेरो जितमा त्यसरी नै खुसी हुनुभयो होला।
यस्ता क्षणहरु त कति छन् कति जो शब्दमा बयान गर्नै सकिन्न। जसलाई महशुस मात्र गरिन्छ।
मलाई जस्तै तपाईंहरुलाई पनि आफ्ना छोराछोरीको धेरै माया लाग्छ होला हैन?
तपाईंहरुका आमाबाबालाई पनि त्यस्तै लाग्थ्यो होला।
पालो सबैको आउँछ, कुमालेको चक्र जस्तो घुमीफिरी। हिजोका केटाकेटी आमाबाबु बनिसके भोलि नातिनातिनाका हजुरबुबा हजुरआमा बन्नेछन्। त्यसैले, धेरैले माया व्यक्त गर्न जान्दैनन्।
मानिसको स्वभाव हो। तर यसको अर्थ यो होइन कि उनीहरु माया गर्दै गर्दैनन्। कहिलेकाहीं अगाडि गुलियो वचन बोल्नेहरु पछाडि षड्यन्त्रको जालो पनि बुनिरहेको हुन्छन्। अनि रुखो बोली भएकाहरुको मन नौनी जस्तो पनि हुन्छ।
आमालाई माया गर्नु भनेको उनलाई मातातीर्थ औंसीमा सारी किनिदिएर, रसबरी खुवाएको फोटो फेसबुकमा हाल्नु मात्र होइन। सुन्दा नमज्जा लाग्ला तर यथार्थ यही नै हो।
धेरैका आमाहरु फेसबुक चलाउनु हुन्न। के यसको अर्थ फेसबुकमा आमाको फोटो नहाल्नेले आमालाई मायालाई गर्दैनन् भन्ने लाग्छ र?
बुढी भए पनि, झुत्रो लुगा लगाए पनि, कुप्री भएपनि, नेप्टी, थेप्ची, मोटी, पातली, गोरी, काली जस्ती भए पनि आखिर आमा त आमा नै हुन्छिन्। संसारकै सबैभन्दा सुन्दर व्यक्ति जसको कृपाले यो संसार अस्तित्वमा छ।
त्यसैले, आमाले आफ्नो जीउ दुखेर करकर् खायो भनेको सुन्दा हामीलाई आमाले मिचीमिची तेल लगाइदिएको सम्झिदिऊँ, हिजो सानो हुँदा खाना नजान्दा सबै लुगा फोहर पार्दा पनि गालामा म्वाइँ खाने आमालाई आज बुढ्यौलीमा हात काम्यो भनेर झर्को नमानिदिऊँ,
हिजो बारबार तपाईंले गरेका एउटै प्रश्नको जवाफ दिन झर्को नमान्ने आमालाई आज कान सुनिनन् भनेर झर्को नमानिदिऊँ, आफ्ना छोराछोरीले बुढेसकालमा आफूलाई माया गरुन् भन्ने अपेक्षा राख्नु गलत हो र?
उनको लागि भनेर कमसेकम वर्षमा मात्र एक दिन प्रविधिको दासत्वबाट छुट्कारा पाएर दिनभरि आमासँग बिताइदिउँ न। आफ्ना बाल्यकालका कुरा, उहाँहरुका भोगाइ उहाँहरुकै मुखबाट भन्न पाउँदा आमाको मुहारमा जुन खुसी देख्नुहुन्छ, त्यो खुसीको मूल्य तपाईंले लगाइदिएको सारीभन्दा धेरै मूल्यवान छ अनि तपाईंले खुवाएको रसबरीभन्दा स्वादिलो अविस्मरणीय क्षण हुनेछ।
उमेरले डाँडो काटेका बाबाआमालाई तपाईंहरुले उपहार दिएका भौतिक वस्तुले भन्दा पनि तपाईंहरुले उहाँहरुलाई दिएको समयले धेरै महत्व राख्दछ।
एकपटक सबैले आँखा चिम्लिएर आफ्नी आमाको स्मरण गरौं त। यो स्वार्थले भरिएको संसारमा तपाईंले निस्वार्थ मायाको परिभाषा पाउनु हुनेछ।
अन्त्यमा सबैमा अनुरोध छ, आमाको मायालाई चिन्न सकौं किनकि आमा सबैको भाग्यमा कहाँ हुन्छ र?