चार वर्षे इन्जिनियरिङ सकेर दिक्षान्त समारोह समापन भएको थियो। भाग्यवश दिक्षित हुनु अगावै आफूले अध्ययन गरेकै कलेजमा जागिर जुरेको थियो।
दिक्षान्त समारोह लगत्तै मेरो कामका लागि झापा जानु पर्ने थियो। सायद काभ्रे-काठमाडौँ जिनतिन चार घन्टाको भन्दा बेसी गाडीमा नहिँडेकाले होला सात दिन लामो भ्रमण कस्तो होला भन्ने मनमा थियो।
मन केही उमंग थियो त केही डरको झिनो लहराहरू। यस्तै लहराहरू मनमा बोकी म र मेरा दुई साथीहरू झापा तिर लाग्यौँ। काम विशेषले गएको भएपनि हामी सबैमा नयाँ ठाउँ अवलोकन गर्ने इच्छा थियो।
झापा पुगिसकेपछि हाम्रो टिममा अरु दुई जना पनि थपिएर, हामी पाँच जना भएका थियौँ। कामको सिलसिला चार दिन कहिले झापा त कहिले इलामको त्यो डाँडा तल-माथि गरी रह्यौँ। काम सक्कियो र पाँचौँ दिनमा हामी दार्जिलिङ जाने सल्लाह गरी, बिहान सबेरै पशुपतिनगर हुँदै त्यता प्रस्थान गर्यौं।
सल्लाका ठूला ठूला रूख, त्यो जोरपोखरी ताल सबै हेर्दै र अवलोकन गर्दै अगाडि बढियो। साँच्चीकै कल्पनाको दार्जिलिङ र यथार्थको दार्जिलिङ उस्तै रहेछ। हरियो डाँडा ढपक्क कुहिरोले ढाकेको, चिसो हावा सरर बगेको र झन् मनमोहक त कुहिरोले ढाकेको त्यो डाँडाबाट धुवाँ फाल्दै, छुकछुक गर्दै हिँडेको त्यो रेल।
मलाई निकै नै रमाइलो लागिरहेको थियो। यात्रा अघि बढी रहेको थियो, हामी चौरहस्ता भन्ने ठाउँमा पुगेका थियौँ, त्यहाँको दृष्य अवलोकन गर्दै गर्दा मलाई घरको सम्झना आयो। बुढी हजुरआमाका र सधैँ मरै खुसीमा आफ्नो खुसी खोज्ने आमाको याद आयो।
हामी खुसी हुन र खुसी बनाउन, अनेक थरी उपाय अप्नाइरहेका हुन्छौँ। कोही, आफ्नो हुँदै नभएको मान्छेलाई खुसी पार्न मरिहत्ते गरिरहेका हुन्छौँ। जो भोलि आफ्नो हुन्छ कि पराइको पत्तो छैन। सधैँभरिका आफ्ना मान्छेहरूलाई भुलिरहेका हुन्छौँ। खुसी हुन र बनाउन ठूलो कुरा गर्ने पर्दैन, मन ठूलो भए पुग्छ।
म त यहाँ घुमिरहेको छु। एक चोटि पनि यो ठाउँ नटेकेको अझ भन्नु पर्दा नाम पनि मुस्किलले सुनेको मेरा आमाहरूलाई मैले केही चिनो लानु पर्छ भन्ने मनमा आयो।
मैले एक जना साथीसित हजार रुपैयाँ भारतीय पैसा सापटी मागेँ, उसले तुरून्त हजार रुपैयाँ मेरो हातमा हालिदियो। मेरो परिवर्तित व्यवहार देखेर आर्को साथी भन्दै थियो- 'गर्लफ्रेन्डलाई गिफ्ट किन्न लाग्यौ कि के हो?'
मेरो मुखबाट केही आवाज निस्किएन तर उसलाई मैले मन्द हाँसो मात्र जवाफ दिएँ। मनले भनिरहेको थियो, म आज आफै स्वेच्छाले आफ्नो आमाहरूलाई पछ्यौरी किनिदिँदै छु।
खासै लुगा छान्न त आउने थिएन तरपनि आमाको लागि रातो र हजुर आमाको लागि कलेजी रंगको पछ्यौरी किनिदिएँ। मेरो यस्तो परिवर्तित व्यवहार देखेर साथी अचम्मित थियो। घरी घरी भनिरहेको थियो- अब गलफ्रेन्डले मलाई कहिले छाड्दिन रे!
मनले उसलाई जवाफ दिएको थियो तर ओठले मुस्कानमात्र। मैले उसलाई केही जवाफ दिनुनै उचित ठानिनँ किनकि यो मेरो आमाहरुको लागि पहिलो सरप्राइज उपहार थियो।
भ्रमण सकियो र म सरासर घर गएँ। सधाझैँ, छोरो घर आएको भनी छुट्टै खुसी थियो। आमा र हजुरआमा मभन्दा नि बेसी न्यास्रिनु भएको रहेछ। मैले ढोकाको ठेलाभित्र खुट्टा पनि नराखी, झोला खोलेँ र पछ्यौरी निकालेर आमाहरूलाई ओढाइ दिएँ।
अनि भनेँ, 'आमा, यो जिन्दगीमा मेरो कारणले लाजले यही पछ्यौरीले हजुरहरूले मुख छोप्न पर्ने काम कदाचित गर्ने छैन।'
आमाले भन्नुभयो- 'धन्य छ छोरा। छोरा ठूलो भएछ, लुगा नि किन्न जानेछ। बुहारीले सुख पाउने भई।'
अनि मैले भनेँ- 'म ठूलो भएको हैन, हजुरहरूको जस्तै मेरो पनि मन ठूलो भएको हो।'