विपत्ति बाजा बजाएर आउँदैन। तर त्यस्ता विपत्तिको शारीरिक र मनोवैज्ञानिक रुपले सामना गर्न सक्नु नै मानवीय क्षमता हो। नेपालमात्र नभई विश्व समुदाय कोरोना भाइरसको महामारीले ग्रसित छ।
यस्तो विपत्तिजन्य वा संकटपूर्ण अवस्थामा व्यक्तिको मन र शरीरलाई नकारात्मक प्रभाव पार्न थालेको छ। विपत्तिजन्य अवस्थामा पार्ने प्रभावलाई आघात भनिन्छ। यसले व्यक्तिको मनमा सहनै नसक्ने मनोवैज्ञानिक पीडा दिन्छ। व्यक्ति जसले आफै अनुभव गरेको छ, अरुलाई भएको देखेको छ र कसैबाट सुनेको छ भने पनि हुन सक्छ।
प्रायः आघात प्राकृतिक प्रकोपहरुका कारणले हुने गर्दछ। जस्तै भूकम्प, बाढी-पहिरो, चट्याङ, रोगव्याधी, हिंसाजन्य कार्यहरुले व्यक्तिको मन र शरीरलाई प्रत्यक्ष असर गर्छ।
त्यस्तैगरी हत्या-हिंसा, बलात्कार, बेचबिखन, द्वन्द्वका कारणले पनि व्यक्तिलाई मनोसामाजिक असरहरु गर्ने पर्छ। त्यसको अतिरिक्त व्यक्तिले निमार्ण गरेका सामानहरु दुर्घटना हुँदा जस्तैः बस/जहाज दुर्घटना, विद्युतीय झड्काहरु लाग्दा, अकस्मात आफन्त गुमाउनु पर्दा व्यक्तिलाई आघातको पीडा हुने गर्दछ।
सन् २०१९ देखि कोरोनाभाइरसले लाखौँ व्यक्तिहरुको मृत्यु भएको छ। हजारौँ व्यक्तिहरु अझै एकान्तबासमा छन्। यसले गर्दा हरेक समुदायका व्यक्तिहरुमा चिन्ता, डर, र अन्योल थपेको छ।
व्यक्तिहरुमा नकारात्मक तनाव बढीरहेको छ। छटपटी भइरहेको छ। यस असरको न्यूनिकरण कहिले होला, त्यसको अनुमान गर्न कठिन छ। उपचारको लागि विभिन्न देशहरु, सरकार, दातृनिकाय र संघसंस्थाहरु लागि परेका छन्।
औषधि तयार भएपनि प्रभावकारी हुन सकिरहेको छैन। कोरोनाको अन्योलता र अनिश्चितता कायमै छ। यस्तो अवस्थामा बालबालिका तथा व्यक्तिहरुमा परेको मनको पीडालाई कसरी कम गर्ने र तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोच्नु र व्यवहारमा लागु गर्नु उत्तिकै महत्वपूर्ण छ।
कोरोना भाइरस जस्तै महामारी वा विपत्तिजन्य अवस्थाले अल्पकालीन र दीर्घकालीन असर गर्छ। डर लाग्ने, राति निदाउन नसक्ने, खानामा अरुची हुने, कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या बढीरहेको समाचार हुँदा मन र शरीर सर्तक हुने, मुटुका धड्न छिटो छिटो बढने, ध्यान केन्द्रीतगर्न नसक्ने जस्ता लक्षणहरु व्यक्तिमा आउन सक्छ।
त्यस्ता लक्षणहरुलाई अल्पकालीन लक्षणका रुपमा लिइन्छ। यस्ता समस्याहरु प्रभावित समुदायका धेरैभन्दा धेरै व्यक्तिहरुले महशुस गरेका हुन्छन्। यस्ता लक्षणहरु देखाउनु भनेको सामान्य हो।
जसलाई असमान्य घटनापछिको स्वभाविक प्रतिकृयाको रुपमा लिइन्छ। यस्तो प्रतिकृयाहरु आउनु भनेको हाम्रो मन र शरीर कम्जोर भएर होइन। संकटको बेला मनमा यस्ता प्रतिकृयाहरु आउँछन् भनेर स्वीकार गर्यौं भने मन शान्त हुन सहयोग गर्छ।
तर महिनौँ बितिसक्दा निदाउन नसक्नु, कोरोना सर्छ कि भनेर धरै डराउनु, जीवनमा केही गर्न सकिँदैन कि भन्ने सोचाइ राख्नु, कसैले समस्यालाई निराकरण गर्न सक्दैनन् भन्ने सोचाइहरु व्यक्तिमा आइरहन्छन्। त्यस्ता समस्याले व्यक्तिको मन, शरीर, व्यवहार र सम्बन्धमा असर पुगेछ भने तुरुन्त स्वास्थ्यकर्मीहरु, मनोविमर्शकर्ता, मनोविदहरुको सल्लाह र सहयोग लिनु पर्छ।
भावनात्मक समस्या अप्ठ्यारो अवस्थामा व्यक्तिको मनले देखाउने प्रतिकृया हुन्। शारीरिक समस्या जस्तै मनका समस्याहरुलाई पनि व्यवस्थापन गर्न सकिन्छ। त्यसका लागि मनोसामाजिक, मनोवैज्ञानिक र मनोचिकित्सा क्षेत्रमा दक्षताप्राप्त गरेको व्यक्तिको सहयोग लिन पछि पर्नु हुँदैन।
विपत्तिजन्य अवस्थामा आउनसक्ने कठिनाइलाई सामना गर्न व्यक्ति आफैको ठूलो भूमिका रहन्छ। समस्यासँगै व्यक्तिमा समाधानका उपायहरु हुन्छन्। परिवारका सदस्यहरुसँगै रहने वा सम्पर्कमा रहिरहने। एकले अर्कोको भावनाहरु सुन्ने र बुझ्ने गर्दा मन हल्का हुन्छ।
संकटको बेला व्यक्तिहरुले धेरै सल्लाहर सुझाब दिने गरेका हुन्छन्। यस्तो समयमा व्यक्तिका मनका भावनाहरु भन्ने वातावरणको विकास गर्दा मन हल्का हुन्छ।
संकटजन्य अवस्थामा दिनचर्या फरक हुने भएकाले आफूलाई व्यस्त राख्ने योजना बनाई लागु गर्दा मन आत्तिदैन। केही काम छैनन् भने मनलाई खुसी बनाउने र शारीरिलाई स्वस्थ्य राख्न घर भित्रै गर्न सकिने क्रियाकलापहरुमा ध्यान दिन सकिन्छ।
उदाहरणका लागि समयमा खाना खाने, सुत्ने, व्यायामहरु गर्ने, योग गर्ने, ध्यान गर्ने, मनलाई बहलाउने क्रियाकलापहरु गरेको खण्डमा मन आत्तिदैन। किनभने यो बेला हामी बाहिर जान सक्दैनौँ। अरु व्यक्तिहरुसँग रमाउन सक्दैनौँ। घर भित्र बसेर जे-जे क्रियाकलापहरु गर्न सम्भव छ, त्यसलाई निरन्तरता दिइरहनु पर्छ।
घरभित्र रहँदा सामाजिक संजालको प्रयोग पक्कै बढी नै हुन्छ। त्यस्ता संजालहरु सबै सत्य सूचनाहरु दिन्छन् भन्ने छैन। गलत सूचनाले मनलाई आतंकित बनाउन छ। सूचना लिँदा आतंकित बनाउनेभन्दा सर्तक बनाउने कुराहरुमा बढी ध्यान दिनु पर्छ।
कोरोना भाइरस हाम्रो नियन्त्रणमा छैन। तर शारीरिक दूरी, सरसफाई, तनाव व्यवस्थापनलाई ध्यान दिन सकियो भने हामी शारीरिक र मनोवैज्ञानिकरुपमा सुरक्षित रहन सक्छौं। यो समस्या हामीलाई मात्र होइन, अरुले पनि यस्तै समस्या भोगेका छन् भनी सामान्यीकरण गर्न तर्फ लाग्दा व्यक्तिलाई सामान्य अवस्थामा फर्कन सहज हुन्छ।
समुदायमा यस्तै समस्यामा रहेका व्यक्तिहरुको भावनाहरु पनि सुन्ने, उनीहरुले कसरी समस्यालाई सामना गरिरहेका छन् जानकारी लिने गर्दा व्यक्तिलाई मनमा सजिलो महशुस हुन्छ।
समस्याग्रस्त बेलामा पानी, खाना-निन्द्रा, आराम महत्वपूर्ण मानिन्छन् तर व्यक्तिले ध्यान दिन सकिरहेको हुँदैनन्। कतिपयले तनावलाई सामना गर्न कठिन भई लागु औषध तथा दुर्व्यसनीमा लागेको पाइन्छ।
नकरात्मक सामना गर्ने शैलीले शरीर र व्यक्तिको मनलाई अझै तनाव थप्छ। चिन्ता, तनावलाई कम गर्न कतिपयले लागु पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ। लागु पदार्थले छणिक रुपमा मन शान्त भएपनि दीर्घकालीन रुपमा असर गर्छ।
पछि डर, चिन्ता लाग्ने वित्तिकै रक्सी खान मन लाग्ने हुनसक्छ। रक्सी वा लागु पदार्थमा आश्रित हुने सम्भावना बढ्छ। त्यसैले शारीरिक दूरी, सरसफाई, र मनोवैज्ञानिक पक्षलाई ध्यान सके विस्तारै हामी यो महामारीसँग जुध्न सक्छौं।
त्यसैले स-साना कार्यहरुमा व्यस्त गराइरहने, धेरै व्यक्तिसँग इन्टरनेटमार्फत घुलमिल भइरहनाले एक्लोपनको महशुस हुँदैन। शारीरिक र मनोवैज्ञानिक असर परे पनि विस्तारै कम हुँदै आउँछ र व्यक्ति सामान्य अवस्थामा फर्कन सहयोग गर्छ।
आफ्नो मूल्य र मायन्ताअनुरुप पूजाआजा, व्रत, ध्यान गरौं। यदि गर्दागर्दै समस्याहरु भएमा सहयोग लिन पछि नपरौँ।
बालबालिका,भिन्न क्षमता भएका व्यक्ति, तथा अन्य जोखिममा रहेका व्यक्तिहरुको मनमा बढी नै आत्तिने हुन सक्छन्। उनीहरुको पहिलो प्राथमिकता खाना, बास र सुरक्षा हो। त्यसको अलावा मनमा परेको पीडा बुझ्नु उत्तिकै महत्वपूर्ण मानिन्छ।
जोखिमका वर्ग मात्र नभई हरेक व्यक्तिले शारीरिक, मनोवैज्ञानिकरुपमा स्वस्थ्य रहन, सामाजिक, आध्यात्मिकहरुले स्वाथ्य रहनु हो। त्यसैले बालबालिकाहरुमा डराउने, रातमा बरबराइरहने, पढाइमा ध्यान दिन नसक्ने, नयाँ व्यक्ति वा स्थानमा जान नमान्ने, आफन्तसँग टाँसिइरहने भएको छ भने बुझ्नुपर्छ उनमा केही समस्या छ।
अप्ठ्यारो अवस्थामा बालबालिकालाई ध्यान दिन परिवारका ठूला सदस्यहरुले सकिरहेका हुँदैनन्। उनीहरुको मनमा नकारात्मक असर पर्न सक्छ।
नकरात्मक असरलाई कम गर्न उनीहरुसँग बस्ने। माया गर्ने। सकारात्मक व्यवहारले बालबालिका तथा जोखिममा रहेका व्यक्तिहरुलाई सान्त्वना मिल्छ। मनोवैज्ञानिक समस्या हुनबाट बच्न सक्छन्।