उमेरले हैन, सायद ज्ञानले मात्र मानिसले केही कुराको खोज गर्न सक्छ होला। त्यस्तै पढ्ने, सिक्ने र ज्ञान आर्जन गर्ने पनि फरक-फरक कुराहरू हुन्। ७० वसन्त पार गरिसक्दा के हो, जिन्दगीले मलाई सताउन थालेको छ।
कुनै पनि प्राणीको जन्म हुन्छ, उसको नियति रहेसम्म जे जतासुकै सल्बलाउँछ र अन्ततोगत्वा यही प्रकृतिमा विलीन हुन्छ। मलाई लाग्छ, सिधा अर्थमा यही हो जिन्दगी। तर किन हो चित्त पटक्कै बुझ्दैन।
मैले देखें, कुनै व्यक्तिले सानो उमेरदेखि बडो लगनशील भएर लागेको पेशामा मरिमरी जिएर आफ्नो अभिभावक, बालबच्चासहितको पूरा जिम्मेवारी सम्पन्न गर्छन्। उनले बुबा-आमाको हेरचाहमा कुनै कसर बांकी राख्दैनन्।
छोरा र छोरीहरू तीनै जनाका परिवार अमेरिका, बेलायत र अस्ट्रेलियामा जमेका हुन्छन्। विस्तारै भागभोग छोटिँदै जान्छ, कुप्रिन्छन्, रोगले ग्रस्त हुन्छन्। छोराछोरीहरू आ-आफ्ना कार्यरत जिम्मेवारी र बालबच्चाको हेरचाहमा सात समुद्रपारमै बेफुर्सदी रहन्छन्।
बाबुआमा बिरामी हुँदा हेर्न आउन समेत सक्दैनन्। एक दिन उनी मृत्यु शय्यामा लीन हुन पुग्छन्। कोरोनाको कहरले गर्दा तीन जना छोराछोरी १३ दिने संस्कारमा समेत आउन सक्दैनन्। के उनको जिन्दगी यतिकै लागि थियो त?
एक पटक एउटा साथी अर्कोसँग कुरा गर्दै थियो। साथी तिमी त प्रवेशिका परीक्षा दिनासाथ नोकरीमा लाग्यौ। कम्तीमा घरको आर्थिक अवस्थामा टेवा गर्दै विस्तारै पढ्दै पनि गरेर अघि बढ्यौ। तिमीले जिन्दगीमा राम्रो काम गर्यौ।
मैल त स्नातकोत्तरसम्म बुबाको टेकोमा पढेँ र तदोपरान्तमात्र नोकरीमा लागेँ। यद्यपि, तिमीले जति घरपरिवारलाई सघाउन सक्यौ, मैले सकिनँ। मेरो जिन्दगी त के जिन्दगी।
यी दुवै साथीको वार्तालापको साक्षी म थिएँ। दोश्रोको आफ्नो बलबुताको कठिनाइको जीवन भोगाइ भिन्दै थियो। पहिलोको जीवनले मलाई पनि लोभ्याउँथ्यो। मलाई लाग्थ्यो, पहिलोको जीन्दगी पो जिन्दगी! तर के ऊ पनि खुसी रहेछ त?
हाम्रै साथी समूहका केही सरकारी नोकरी, निगम, सेना वा प्रहरीमा रहे। ठूल्ठूला ओहदामा पुगे। केहीले त राम्रै अर्थोपार्जन पनि गरे। ऐसआरामको जीवन बिताए।
यस्ता साथीहरूसँग पनि भेटघाटमा कुराकानी हुँदा ‘लुटको धन’ गर्ने बाहेक अन्य सबैजसोले एकले अर्कोको जिन्दगी तुलनात्मकरुपमा राम्रो रहेको र आफ्नो भने सामान्य मात्र भएको भन्ने टिप्पणी गरेका पाइयो।
नेपाली सामान्यतः खुसी हुन्छन्, त्यो त आफ्नै ठाउँमा छ। यद्यपि, ठूला ओहदामा पुगेका कतिपय साथीहरूले समेत 'आहा! मेरो जिन्दगी' भनेको मैले किन सुन्न पाइनँ?
मेरा एक अग्रज विशिष्ठ श्रेणीमा पदाशीन भएर दीर्घसेवा सम्पन्न गरी सेवानिवृत्त भए। सेवा अवधिमा रहँदा काम, काम र काममा दौडँदा अन्य सोच्ने फुर्सदै भएन छ। जब घोडा दौडबाट उन्मुक्ति मिल्यो, तब जिन्दगी के हो भनेर सोच्ने समय मिल्यो रे।
समाज सेवा जिन्दगीको एउटा पाटो हो भन्ने लाग्यो रे। 'तबसम्म ढिलो भइसकेकोले मेले समाजमा सेवा गर्न सकिनँ, कारण ममा अब जाँगर, जोश, उमंग र शारीरिक फुर्ती नै छैन,' उनले भने। मैले अत्यन्त सफल र सबल मानेको व्यक्तिले किन यसो भने होलान्?
पूर्विय दर्शन अनुरुप हामी आफूलाई भन्दा आफ्ना बालकालिकालाई धेरै महत्व दिँदा रहेछौँ। कुनै प्रसंगमा अतीतमा कसैले कसैलाई भनेको अरे- १६ पुस्तासम्मलाई पुग्ने सम्पत्तिको त व्यवस्था भयो, सत्रौं पुस्ताको लागि खै त?
सायद यही नियतीमा बाँच्ने हाम्रो संस्कार रहेकोले होकि मैले देखे भोगेका तीन पुस्ता (बुबाको, मेरो र छोराको)मा हामी आफूलाई भन्दा आफ्ना सन्तानकै लागि बढी ध्यान दिइरहेका छौं।
अर्थात् यो ‘मैले देखे भोगेका तीन पुस्ता’ भनेको पूर्विय भू-भागमा बसोबास गर्ने हामी आम-परिवारकै कथा व्यथा पनि हो। यद्यपि, मानिस एक नितान्त एउटा व्यक्ति हो। उसको आफ्नै जीवन हुनुपर्दछ। उसले ऊ आफू भएर बाच्न पाउने कि नपाउने?
एकदिनको कुरा हो, मेरा एक भाइसँग बिहानको डुलाइमा पशुपतिनाथ मन्दिर छेउछाउमै भेट भयो। भलाकुसारी चल्यो, बालबच्चाका कुराकानीहरू भए। मलाई थाहा थियो उनका दुवै छोराहरूले राम्रो पढाइ गरेर अमेरिका गई त्यहाँ पनि राम्रो पेशा समातेर दिनानुदिन उन्नती गरिरहेका छन्।
तब मलाई लाग्यो- उनी त अत्यन्त सुखी र खुसी जिन्दगी जिइरहेका होलान्। जब मैले उनका छोराहरूका उन्नतीको कुरा उठान गरेँ, उनी त भावुक भए।
उनले भने, 'सुरु सुरुमा आफूमा बल र ताकत हुँदासम्म त ठिकै लागेको थियो। एकाध पटक गएर पनि आइयो। श्रीमती पनि आफ्नो समाजमा फुर्ति लगाएर छोराहरूका परिवारको र अमेरिकाको कुरा गर्थिन्।
तर अब आएर जहाँ मानिस जन्म्यो, त्यो उसको मातृभूमि हो रहेछ, उसले त त्यही भूमिको भार तिर्नु पर्ने रहेछ। हाम्रा छोराछोरीलाई अर्कै देशको लागि तयार गरिदिएर हामीले त मातृभूमि माथि अत्याचार गरेछौं भन्ने लाग्न थाल्यो।
हामीले त आफ्नै खुट्टामा बञ्चरोले पनि हानेछौं। हाम्रो पूर्विय दर्शन अनुसार हामीले आफ्ना सन्ततीको उन्नतीको बारेमा सघाउने र उनीहरुले पनि हाम्रो बुढ्यौलीमा हाम्रो सेवा गर्ने परम्परामै कुठाराघात गरेछौं भनेर थकथकी पो लाग्न थाल्यो।'
उनी खुसी हुन्छन् भनेर उठान गरेको मेरो वार्तालाई म कसरी न्याय गरौं?
अर्का एक भाइ अमेरिकाको कुनै विश्वविद्यालमा विगत धेरै वर्षदेखि प्राध्यापन गरिरहेका छन्। उनी पाहुना प्राध्यापकको रुपमा घरी भारत, घरी चीन वा विश्वका अन्य देशहरूमा समेत आतेजाते गरिरहन्छन्।
अर्थात् उनी विश्वव्यापी भएका छन्। अमेरिकामा काम विशेषले पुग्दा, उनको निम्तोमा केही दिन उनीकहाँ बसेको बखत मैले सेवानिवृत्त भएपछि नेपाल फर्किने हो नि भनेर सोधेँ।
उनले उत्तर फर्काउँदै भने- 'मैले यहाँ बिरुवा रोपेर, हुर्काएर हलक्क बनाएको छु। सोको आनन्दको फल खान छोडेर म नेपाल किन जान्छु?'
उनले अमेरिकाको सामजिक सुरक्षा व्यवस्थालाई व्याख्या गर्दै भने- 'यहाँ त बुढ्यौलीमा बिरामी परिएमा सामजिक सुरक्षा प्रणालीअनुसार पाँच तारे होटलको जस्तो सुविधा सम्पन्न अस्पतालमा निशुल्क उपचारको व्यवस्था हुन्छ। झन् त्यस बखत म नेपाल जानु त?'
सो भनाइको बारेमा मैले उनीसँग के प्रतिप्रश्न गर्ने?
यदाकदा सुनिने तेल पर्यटन, बच्चाको स्याहार सुसार पर्यटनको कथा त बेग्लै छ। युवा-युवती जोडी बनेर विदेश हानिन्छन्। कुनैपनि देशमा सुरुमा जम्न त त्यति सजिलो हुँदैन, जीवन कष्टकर हुन्छ नै। यसै बखत जब पहिलो बच्चा जन्मिने तरखर हुन्छ तब विविधकारणले अभिभावकको नितान्त खाँचो महशुस हुन्छ।
त्यो स्वाभाविक पनि हो। अनि भएसम्म माइतीका बुबाआमा, नभए घरका बुबा-आमालाई सुत्केरी र बालकलाई तेल लगाउन समेतको कामको लागि गरिने निमन्त्रणा र यात्रालाई तेल पर्यटन या स्याहार सुसार पर्यटनको छद्म नाम दिइने रहेछ। यस्ता काममा मात्र जानपरेका अभिभावकको कथालाई मैले के भन्ने?
माथिका दुई/चार प्रतिनिधिमूलक घटनाले त मलाई झन् उल्झन गराइदियो। मेरो सोचाइको विपरीत विकसित देशको बसाइमा गएका र राम्रो उन्नती गरेका परिवारका सदस्यको जिन्दगीलाई पनि वाह! तिनका पो जिन्दगी भन्न पाइएन।
खास उनीहरूलाई जन्म दिने, हुर्काउने, बढाउने आमाबाबु नै खुसी हुन सकेका छैनन्। हाम्रा पूर्विय अवधारणाअनुसार संयुक्त परिवार पद्धतिमै कुठाराघात भइरहेको छ।
मातृभूमिलाई विकास वा आयश्रोत न्यून हुने भनेर हेला गर्न थालिएको छ। 'मै खाउँ, मै लाउँ' मा मात्र मानिसको जीवन दगुर्न थालेको छ। हाम्रा परम्परा, रीतिथीतिमा ह्रास आइरहेको छ। मन न हो सोचिरहन्छ। यो होकि जिन्दगी भन्छ, फेरि हैन रहेछ भनिठान्छ। अर्कै खालको जिन्दगी होला भन्ने ठान्दछ।
अन्तमा, मेरा प्रश्न छ- के हो जिन्दगी?