आदरणीय हजुरबुवा, नमस्कार!
विश्व अहिले कोरोना महामारीको दोस्रो लहरको चपेटाबाट गुज्रिरहेको छ। विश्वका लाखौं मानिस कोरोनासँग बाँच्ने संघर्ष गरिरहेका छन्।
कैयौं मानिसले छट्पटिँदै मृत्युवरण गरेका समाचार र तस्बिरहरू सार्वजनिक भइरहेका छन्। यो समय म आफैं पनि कोरोनाको सिकार भएर एउटा बन्द कोठाभित्र सीमित भएकी छु।
प्रत्येक दिन रोगसँग लडिरहेकी छु। बाँच्ने संघर्षमा छु। आशा राख्छु- आफ्नो दृढ विश्वास र सकारात्मक सोचले यसमाथि छिट्टै विजय हासिल गर्नेछु।
बुवा, तपाईंको याद त सधैं आउँछ। जीवनसँग संघर्ष गरिरहेको यो समय झन् धेरै भएर आउँदो रहेछ। तपाईंलाई झन धेरै सम्झिरहेकी छु। मन भारी भएर आयो।
अनि हजुरलाई केही कुरा लेख्न मन लाग्यो। हुन त यी सबै कुरा हजुरलाई फोन गरेर बताउँन पनि सक्थे तर, खै किन यस पटक मनभरीको सम्झना अक्षरमा उतार्न मन लाग्यो।
यी शब्दहरू लेख्दै खुब धेरै सम्झिरहेकी छु सानोमा तपाईंको हात समाउँदै स्कुल गएको दृश्य। स्मृतिभरि नाँचिरहेछन् तपाईंले पहिलोपटक लेख्न सिकाएका अक्षर।
मेरो जिन्दगीको पहिलो गुरु तपाईं नै हो बुबा। तर, समयले हामी हजुरबुवा-नातिनीलाई सधैं सँगै हुन दिएन।
उमेर र जिम्मेवारीको फेरो समातेर घरबाट टाढा निस्कनु पर्यो। उच्च शिक्षा हासिल गर्न घर छोड्दै गर्दा लागेको थियो, ‘पढिसकेर घर फर्कन्छु र उसैगरी हराउनेछु बुवाको ममताको छहारीमा।’
तर, सपनाहरू जति बढ्दै गयो त्यति नै धेरै पखेटा फिँजाएर उड्ने रहेछन बुवा। पढाइपछि जागिर सुरू भयो। जागिरे जीवनसँगै अझै धेरै थपिए जिम्मेवारीका पर्खालहरू जुन पर्खाल नाघेर घरको बाटो कोर्न सकिनँ।
यही जिम्मेवारीले गर्दा सानो परिवार भए तापनि हामीले परिवारका एकअर्का सदस्यसँग टाढा भएर छरिएर बस्नु पर्यो। बुवा, म हरेक दिन सम्झन्छु, ‘सानोमा तपाईंले टिका लगाइदिँदै दिएको आशीर्वाद। भन्नु हुन्थ्यो धेरै पढ्नु, राम्रो जागिर खानू।’
तपाईंको त्यही आशीर्वादले गर्दा निकै व्यस्त दिनचर्या चलिरहेको छ। यहाँ हरेक कुरामा प्रतिस्पर्धा छ। यहाँका मानिसहरू हरेक निमेष पैसाको पछाडि दौडिरहेका हुन्छन् अनि हराइरहेछन् आफ्नैहरूको बीचमा।
म पनि त्यही दौडमा दौडिरहेकी नै हुन्थे। तर, अहिले सबैभन्दा बढी म मेरो सबै परिवारलाई सम्झिरहेकी छु। लाग्छ यो समय हजुर, अंकल, आन्टी र सबै भाइबहिनी सबै एकै ठाउँमा हुन पाएको भए।
यस्तै तर्कना आइरहन्छ मनमा। तर, यो समय त टाढै बसेर आफन्तलाई सम्झना र माया गर्ने समय रहेछ। म टाढै बसेर तपाईंको सम्झना गरिरहेछु।
हासी-खुसी जीवन बाँचिरहेकै बेला हामीले आमा गुमायौं। आमासँगै हाम्रो भरोसाको खम्बा ढलेको थियो। यो समय तपाईंले आफूलाई बलियो बनाएर हामीलाई दिएको भर हाम्रो जिन्दगीको सबैभन्दा ठूलो उपलब्धी हो बुवा।
तपाईंले आफूलाई दरिलो बनाएर नउभ्याउनु भएको भए, आमाबिनाको हाम्रो जीवन कहाँ यति सजिलै मौलाउँथ्यो होला र। आमाबिनाको जीवन तपाईंलाई पनि त दुख्थ्यो होला नि हगी, बुवा? तर, आमाको मृत्युपछि हाम्रो जीवनको र हाम्रो घरको अर्को बलियो खम्बा भनेको हजुर नै हो।
म सानै हुँदा सुन्थे, ‘गोरु बुढो भए भीर खोज्छ, मान्छे बुढो भए निउ खोज्छ’ भन्ने उखान। यो उखान कसले किन सुरू गरे होलान है बुबा? यो त उनीहरूले नबुझेर पो भनेका रहेछन्। मैले आफूले अलिअलि पैसा कमाउन थालेपछि बल्ल बुझेकी छु, आफूले मेहनत गरी कमाएको पैसा र आफूले बनाएको संरचनाको कतिसम्म माया लाग्दो रहेछ भनेर।
झन् तपाईंलाई कति माया लाग्दो हो त्यो घरको, त्यो मैरी, आँगन, गोठ, कड्कुरो, बारी, ढिकी र जाँतोको। जसलाई जोड्ने तपाईंले आफ्नो जीवनको ऊर्जाशील समय सक्काउनु भयो। ती सबै हजुरकै सृष्टि त हुन् नि, बुवा।
समय, उमेर र जिम्मेवारीले हामीलाई घरभन्दा पर पुर्यायो। लाग्न त सबै सन्तानलाई आफ्ना अभिभावकसँगै भइदिउन् भन्ने लाग्छ नि। मलाई पनि त्यस्तै लाग्छ बुवा। तर, हामीले हाम्रो स्वार्थका लागि तपाईंले सिर्जना गर्नु भएका ती सबै संरचनालाई माया मारिदिए हुन्थ्यो भनेर कसरी सोच्नु र बुवा?
यदि त्यसो सोच्यौं भने त्यो हाम्रो भूल हुने छ। तर, बुवा आफ्नो स्वास्थ्य अवस्थालाई हेरी बुझी मेरा छोरा-बुहारी, नाति-नातिनाले पनि मेरै राम्रोको लागि केही भनेका होलान् भन्ने चाहिँ हजुरले बुझिदिनुपर्छ है।
बुवा जे छ सबै राम्रो छ र जे हुन्छ त्यो पनि राम्रो कै लागि हुनेछ। यो संसारमा सन्तोष लिन सके नपुग्दो केही छैन। हजुरको आत्मसन्तुष्टि नै हामी सबैको चाहना हो। आफ्नो ख्याल राख्नुहोला। माहोल सामान्य भएपछि भेट अवश्य हुने छ। बाँकी कुरा फोन र भेटमै होला। हजुरको सुस्वास्थ दीर्घायुको कामना हामी सबैले प्रत्येक समयमा गरिरहेका छौँ।