जन्म र मृत्युको रहस्य आजसम्म कसैले थाहा पाएको छैन। जन्मिएपछि मर्नुपर्छ यो पृथ्वीको प्राकृतिक नियम हो। त्यसैले आजसम्म जन्म र मृत्युले निरन्तरता पाइरहेको छ।
कति सजिलै भनिन्छ, जन्म लिएकै मृत्युवरणको लागि हो। यी दुवै प्राकृतिक संस्कारमा कति धेरै अन्तर छ। जन्ममा जस्तो खुसी, सन्तोष, प्रफुल्लता मृत्युमा कहाँ पाइदो रहेछ? कहाँ भेटिदो रहेछ? हो, मृत्यु सत्य हो।
यसो भन्दै गर्दा मृत्युले उमेर हेर्दैन रहेछ, मृत्युले कसैको जीवन बाँच्दा उसको परिवारले साँचेको, बाँचेको खुसी हेर्दैन रहेछ। कसैको मृत्युलाई जो कसैले सहज रुपमा लिन सक्दैन। झन् अल्पायुको मृत्यु यो जस्तो पीडादायी मृत्यु अरु हुनैँ सक्दैन।
शनिबार बिहान फोन बज्यो, फोन उठाँए। उताबाट खबर आयो 'दिनेशको खबर त राम्रो छैन जस्तो छ नि।' म अक्क न बक्क भएँ। ‘हो र?’ बाहेक बाल्ने शब्द फुटेन, मुटु चिसो भएको महसुश भयो। खुट्टा लुला भए।
हतार-हतार अस्पतालमा हुनु भएको सविना दिदीलाई फोन गरेँ र भनेँ, ‘दाइलाई कस्तो छ?’
लामो श्वास फेर्दै उताबाट दिदीले भन्नुभयो ‘अनुहार हेर्ने भए छिटो आउनू।’ उत्तर पूरा नसकिँदै फोन राखिदिएँ। शरीरमा एकाएक कम्पन बढ्न थाल्यो। दाइ अब रहनुभएन भन्ने कुरा बुझिसकेको थिएँ।
बत्तिएर अस्पताल पुगेँ। वैशाख १० गते अस्पतालमा भर्ना गर्ने बेलामा म पनि सँगै पुगेको थिएँ। जुन ढोकाबाट दाइको स्वास्थ्य उपचार र छिट्टै निको हुने अभिलाषाका साथ प्रवेश गराइएको थियो। त्यहीँ ढोकाबाट दाइको कहिल्यै नबोल्ने, कहिल्यै नसुन्ने, कहिल्यै नहेर्ने र कहिल्यै श्वास नलिने शरीर देख्नुपर्दा मन सम्हालिन सकेन।
म स्तब्ध भएँ। यो के भएको हो, मन बेचैन भयो। आँसु थामिएनन्। विगतमा दिनेश दाइसँग बिताएका हरेक पल स्मरण हुन थाले। मनमनै प्रार्थना गर्न थालें, ‘यो सबै गलत होस्, दाइलाई ठिकठाक देख्न पाउँ।’ तर, समयले त्यसो गरेन। अन्ततः दाइले हामीलाई साँच्चै याद मात्र छोडेर सदाका लागि बिदा लिनुभयो।
आँखै अगाडि यी सबै कुराहरु देख्दा देख्दै पनि मनले मानेन। बोल्नु हुन्छ, उठ्नु हुन्छ, हिँड्नु हुन्छ, हाँस्नु हुन्छ भन्ने लाग्दा लाग्दै पनि दाइ बोल्नु भएन, उठ्नु भएन, हिँड्नु भएन, हाँस्नु भएन। सदाको लागि संसार छोडेर यस लोकबाट पलायन हुनुभयो।
काभ्रेपलाञ्चोक मेथिनकोटमा जन्मनुभएको दिनेश दाहाल नाम केन्द्रीय पत्रकारितामा चिरपरिचित नाम हो। दुई दशकदेखि पत्रकारितामा सशक्त कलम चलाउँदै आउनु भएको दाइको उमेर, परिवार, आफन्त, इष्टमित्र, पेशा सबै छोडेर जीवनको बाँच्ने साहसमा पूर्णविराम लाग्यो।
दाइले कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै जीवन त्याग्न बाध्य हुनुभयो। दिनेश दाइ अब कहिल्यै नर्फकिने गरी शनिबारको दिन ललितपुरको सुमेरु अस्पताल परिसरबाट सधैंको विलीन हुनुभयो।
आजसम्म जति पनि मान्छे जन्मिएर धर्तीमा आए, आफ्नो आयु समाप्त भएपछि बिलाए। कोही एउटा मान्छे पनि सधैँका लागि धर्तीमा बस्न पाएन। शरीर ल्याएको थियो, शरीर छाड्यो।
शरीरलाई कुनै नाम दिइएको थियो, त्यो नाम छाड्यो। पेशाले दिएको परिचय छाड्यो। बाँचुन्जेल बडो होसियारीपूर्वक सम्हालेर राखेको धन छाड्यो। सबै छाड्यो। केही लिएर आएको थिएन, केही लिएर गएन। केही समय कुनै भूमिका निर्वाह गर्यो गयो।
बितेको एक दशकका बीचमा दाइसँग मेरा अनेकौ औपचारिक र अनौपचारिक स्मरण छन्। कमाण्डर पोष्ट राष्ट्रिय दैनिकमा रिपोर्टर र न्युज चिफबाट गाँसिएको सम्बन्ध पछि दाजुभाइ हुदैँ पारिवारिक बन्न पुग्यो।
दाइले मेरो पत्रकारिता जीवनमा थप्नु भएको उर्जामा उत्तिकै छ, रहिरहने छ। कार्यालयको डेस्कमा बसेको बेला कुर्सी पछाडिबाट धाप मार्दै 'गज्जब!' भनेको सधैं गुञ्जिरहेने छ। यस्ता धेरै यादहरु मानसपटमा झल्झल्ती छन्। रहिरहने छन्।
समय बलवान छ, जीवनमा मृत्यु एक मात्र सत्य हो। यसमा भन्नु केही पनि छैन। तर, दिनेश दाइको जीवनमा मृत्यु छिटो आयो। कोरोना भाइरस शत्रु बन्यो। यो नै हाम्रो लागि ठूलो पीडाको विषय हो।
भौतिक शरीर नभए पनि दाइको देशप्रतिको माया, परिवारप्रतिको जिम्मेवारी, सहकर्मी र भाइहरुप्रतिको स्नेह र मोह सधैं स्मरणीय रहनेछ। भाउजू, छोरी र दूधेबालक र सम्पूर्ण परिवार आफन्त साथीभाइले तपाईंको बाँकी इच्छा चाहना पूरा गर्नु हुनेछ।
व्यक्तिगत रुपमा तपाईले गरेको सहयोग र सम्मानप्रति सदैव ऋणी छु। आभारी छु, जीवनभरि आभारी रहने छु। आज किबोर्डको अक्षरहरुमा यी सबै स्मरणहरु थिच्दै गर्दा हात कापिरहेछ। मन भारी भैरहेको छ। तैपनी सबै सहनै पर्ने रहेछ। तपाईंको स्वर्गमा बास होस्। हार्दिक श्रद्धाञ्जली दाइ।