औँसीले कतिलाई रुवाएर जान्छ। कोही आमा नहुनुको पीडामा रुन्छन् त कोही छोराछोरी टाढा हुनुको पीडामा। समाजमा म जस्ता धेरै छोराछोरी छन् जो बुवाआमा नहुनुको पीडामा छटपटाइरहेका छन्।
परिवारको साथ र सुखमा बाचेका छोराछोरीलाई औँसीले खासै फरक नर्पाला तर आमाबाबु नभएर एक्लो जिन्दगी बिताइरहेकाहरुको पीडा कस्ले बुझिदिने?
हुन त सबैसँग सोचेको कुरा हुँदैन तर बा-आमामध्ये कोही एक भए पनि भैदिए हुन्थ्यो भन्ने सन्तानहरुको पीडा छुट्टै हुने रहेछ।
करिब ४ महिना अगाडि हुँदो हो। म आफ्नो डेरा कीर्तिपुरदेखि घरसम्म जानका लागि कलंकीमा नारायणगढसम्म जाने माइक्रोमा बसिरहेकी थिएँ।
एकछिनपछि मेरो छेउको खाली सिटमा लगभग २०-२२ वर्षीय रातो वर्णकी, पछाडि हेर्दा कलेजको जस्तो देखिने ब्याग बोकेकी केटी बसिन्।
मैले उनलाई नियालिरहेँ र सोधेँ, ‘बहिनी, तिमी कहाँसम्म जाने?’
हस्याङफस्याङ गर्दै लामो सास फेर्दै उनले मतिर फर्कदै भनिन्, ՛भरतपुरसम्म जाने दिदी।’
मलाई लाग्थ्यो उनी हतारमा थिइन्। यतिकैमा एकछिन चुपचाप बस्यौँ हामी। सायद उनलाई मसँग बोल्न केही असहज महशुस भएको थियो।
एकछिनपछि फेरि उनले मलाई सोधिन्, ‘तपाईलाई चितवनको पुरानो मेडिकल कलेज थाहा छ दिदी? मलाई लोकेसन बताइदिनुहोस् न!’
काखमा एउटा मोटो बुक, बाहिर कभरमा लेखिएको थियो नर्सिङ भनेर। उनी कुनै समय किताबको पाना पल्टाएर पढिरहेकी हुन्थिन् त कुनै समय पढ्दा पढ्दै निदाएकी जस्ती देखिन्थन्।
मैले उनी तर्फ फर्कदै भनेँ ՛थाहा छ बहिनी। मेरो घर पनि त्यतै नजिकै हो, पुरानो मेडिकल जानका लागि तिमीलाई म सहयोग गरौँला।’
‘अहो! धन्यवाद दिदी, मलाई त कसरी पुग्ने होला भन्ने चिन्ता थियो।’ उनी अलिक खुसी देखिइन्।
उसको अनुहारमा हेर्दै मैले सोधेँ ՛अनि बहिनीको नाम के नि?’
उनी एकदमै मलिन र थकित जस्तै देखिन्थिन्। उनले मधुरो स्वरमा आफ्नो परिचय दिँदै भनिन्- ‘सबिता बन्जाडे, घर सल्यान तर मेरो बसाइ अहिले मइतीदेवीमा छ। मइतीदेवी स्थित डेरामा मेरो कान्छो दाइ र म बस्छौँ।
दाइ थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत हुनुहुन्छ। म पनि नर्सिङको इन्ट्रान्स दिँदै छु। भरतपुर मेडिकल कलेजका लागि। आज १२ बजेदेखि इन्ट्रान्स छ। पुग्छु कि पुग्दिनँ दिदी?’
मनमनै सोचेँ, विचरी रातभर इन्ट्रान्सका लागि तयारी गरेर होला झट्ट हेर्दा बिरामी परेजस्ती देखिन्थिन्। मैले टाउको हल्लाउँदै भनेँ, ‘गाडी कतै रोकिने अवस्था नआएमा सजिलै पुगिन्छ, हेरौँ बाटोमा के-कस्तो छ?’
फेरि मैले उसको मलिन अनुहारतर्फ नजर लगाउदै भनेँ, ՛अनि नि बहिनी, तिम्रो परिवारमा को-को हुनुहुन्छ नि?’
उनले जवाफ दिँदै भनिन् ՛म, दुई दिदी, एक भाउजू र दुई दाइ।’
मलाई उत्सुकता लाग्यो र पुनः प्रश्न गरेँ, ‘अनि आमा नि?’
उनी निशब्द भइन् केही समय। कता-कता मलाई डर लागेको महशुस भयो। नजिक भएको बहानामा अनेक प्रश्न तेस्राएर मैले गल्ती त गरिनँ?
एकछिनपछि टाउको उठाउँदै भनिन् ՛यदि त्यो निष्ठुरी समयसँग माया, स्नेह, न्याय र खुसीहरु हुँदा हुन् त मैले १२ वर्षको उमेरमा नै मेरो आमाबाट अलग्गिनु पर्ने त थिएन होला।
फेरि पनि त्यही समयले थिचिरहेको थियो हाम्रो परिवारलाई। म मेरो जीवनको १५ औँ वसन्त कटाएर १६ मा प्रवेश हुँदै थिएँ। फेरि बाबाबाट सधैँका लागि छुट्टिनु पर्ने मेरो जीवनका यी काला दिन।’
अनुहार रातो पारेर लामो सास फेरिन्। कुनै प्रश्न गरेर अझै उनको दुखेको घाउ दुखाउन मन लागेन। उनले आफ्ना कुरा बढाउँदै लगिन्। म भने उनका कुरामा टाउको हल्लाई रहेँ।
‘घाँटी दुख्ने समस्या पहिलेदेखि नै थियो मेरी आमालाई। लामो समयपछि चेक गर्दा घाँटीको क्यान्सर भएको थाहा भयो। तेस्रो फेजमा पुगिसकेको क्यान्सर भएकाले भरतपुर क्यान्सर हस्पिटलले भारत लगे उपचार हुन सक्ने भन्दै त्यहाँबाट रिफर गरिदिएछ।
खर्च जोरजाम गरेर मेरो ठूलो दाजु, माइली दिदी र काकीको उपस्थितिमा भारतको एपोलो हस्पिटलमा लगिएछ आमालाई। लगभग साढे दुई महिनाको उपचारपछि अलिक निको भएर बोल्ने, हाँस्ने गर्न लाग्नु भएको मेरी आमा।
निको भयो भनेर दाजुहरु आमालाई लिएर घर फर्कने तयारीमा थिए रे। अकस्मात बोल्दा, बोल्दै प्राण त्याग गर्नु भएछ भारतको एपोलोमा।’
‘अनि?’
‘भर्खर विवाह गरेको ३ महिना पनि नपुगेकी मेरी जेठी दिदी, विवाह गरेको एक महिनासम्म माइतीमा रात कटाउन नहुने दिदीको घरको चलनले आमासँग रात नकटाएको भन्दै आमा नेपाल फर्कने खुसीले सारी, चोलो, फलफूल र मिठाइ बोकेर माइत आई।
दिदी आएको दिन उही दिन थियो, आमाको मुख हेर्ने अघिल्लो दिन। भोलिपल्ट औँसीको त्यो दिन बिहानदेखि सबै आमाको मुख हेर्ने दिन भनेर होला फेसबुकका भित्ताहरु रंगाएका थिए त कसैले आफ्ना स्वर्गीय माताहरुलाई सम्झिएर सामाजिक संजालहरुमा पोस्ट गरिरहेका थिए।
सँगै हुनेहरुले मिठा परिकारको साथमा फलफूल दिएर बाबुआमाबाट आर्शीवाद लिएका थिए। तर हाम्रो घरमा भने त्यस दिन दाजुहरु आमालाई लिएर नेपाल आउने कुराले खुसीयाली छाएको थियो। मातातीर्थ औँसी पनि भएकोले आमाको मुख हेर्न पाउने प्रतिक्षामा थियौँ।
तर त्यो खुसीयाली र प्रतिक्षाको घडी एकछिन पनि टिकेन। औँसीको दिन दिउँसो १२ बजेको हुँदो हो, घरमा जन्ती जस्तै गाउँका कहिल्यै नआउने भद्रभलाद्मीदेखि लिएर सामान्य मान्छेको ताती, जहाँकी यतिका मान्छे त हाम्रो घरमा कहिल्यै भेला भएका थिएनन्।’
म भने बिना प्रतिवाद उसका कुरा सुनिरहेँ।
‘म ज्वरोले निस्लोट परेर सुतेकी थिएँ, उठेर पानीसम्म सार्न सकेकी थिइनँ। यतिकैमा मान्छेको एक हुल आएर मेरो निधारमा हात लाँदै भने 'ज्वरो आएको रहेछ नानीलाई, औषधि खुवाउनु पर्छ' भन्दै कोही यता त कोही उता गरिरहे।
वरिपरिका छिमेकी कोही झ्यालबाट त कोही ढोकामा उभिएर हाम्रै घरतिर नियालिरहेका थिए। तिनै आएका मान्छेको भिडबाट एउटा मान्छेको आवाज सुनेँ ՛के गर्छस् त केटा, तेरो भाग्य यस्तै रहेछ। भगवानले आँटेपछि के लाग्ने रहेछ र! अब कपाल फाल्नु पर्ने भयो, आमा छैनन् रे।’
टक्क कुरा पर्यो मेरो कानमा। दिदी आएर एक्कासी रुन सुरु गर्नुभो। तीन दिनपछि बल्ल होसमा थिएँ म। त्यो दिन हाम्रो लागि कालो दिन थियो। आमाको मुख हेर्ने दिन थिएन।
औँसीको अघिल्लो दिन दिउँसो मध्यान्नतिर म एकछिन भुसुक्कै निदाएर सपनासँग डराउँदै थिएँ। आकाश तिर दुई खुट्टा र जमिनतिर टाउको बनाउँदै कसैले मेरी आमालाई झुन्ड्याइरहेको थियो सपनामा।
यही सपनाले मनभित्र चिसो पसाली रहेको थियो। मनमा डरका छालहरु उठिरहेका थिए। नभन्दै मेरो सपना विपनामै परिणत भयो। छिमेकमा यही दिन साँझ ७ बजे दिल्लीबाट मेरी आमाले प्राण त्याग गरेको खबर आइसकेको रहेछ। यता हामी भने आमा आउने खुसीमा रमाउँदै थियौँ।’
उनका आँखा भिजिरहेकै थिए। आँखाबाट मोटा मोटा आँसुका थोपा झार्दै थिइन्। उनका आँखासँगै मेरा आँखा पनि रसाए। ऊ रुँदा म पनि रोइदिएँ। म प्रश्नहरुले उसलाई असजिलो नहोस् चाहन्थेँ।
उनी फेरि अगाडि बढ्दै गइन् ՛आमाको सदगत गरेर पाचौँ दिनमा दाजुहरु घर आइपुग्नु भो। घर, गाउँ र वरिपरि छरछिमेकमा फेरि रुवाबासी चल्यो। वरिपरिका आफन्तहरु कठै भनिरहेका थिए।
विचरी मेरी माइली दिदी, आमासँगै गएर पनि प्राण जाने समयमा एक पटक आमाको मुख देख्न पाइन। कारण, आमालाई सन्चो भएर प्लेनमा घर पठाइसक्यौँ, हामी बसमा घर जाने भनेर झुट बोल्दै घरसम्म ल्याएका थिए।’
केहीबेर सुकसुकाइन उनी। उनका आँखा धेरै नै राता भइसकेका थिए। उनको सुकसुक रुवाइले गाडीभित्र रहेका मानिस चकित थिए।
उनी बोल्दै गइन् ՛मेरो आमा फर्किने आशाले हुनुपर्छ मैले आमाको बाटो हेरिरहन्थेँ। साँझपखको गोधुली साँझमा त म आमालाई घरको पिँढीमा बसेर बोलाइरहन्थे। जब आमा मबाट सधैँका लागि छुट्टिएर जानु भो, त्यो समय मेरो जीवन दुःख र पीडाले भरिएको थियो।
दिदी महिनौँसम्म रोइरहेको देखेर म बाबालाई अनेक प्रश्न गरिरहन्थेँ। आमा गुमाउनुको पीडालाई विश्वास गर्न नसकेर होला, दुखेको घाउलाई अहिलेसम्म निको पार्न सकिरहेका छैनौँ। बुवाआमाको मृत्युपछि मेरो भागमा पनि बुवाआमाको जस्तै मृत्यु परिदिए हुन्थ्यो। यस्तै यस्तै कल्पनाले दिमागलाई थिचिरहेको हुन्छ मेरो मनमा।’
म निशब्द भएँ। आँखाभरि आँसु टिलपिल टिलपिल भए। ठाउँ, समय र परिवेश फरक होला तर कथा र पीडा उनको र मेरो उस्तै लाग्यो।
मैले फेरि उसको अनुहारतिर हेर्दै भनेँ ՛मेरो अनुहारमा हेर, म पनि तिम्रो जस्तै जीवन कथाले विवश घुमाउरो समयको हुलभित्र बाचिरहेका नारीहरु मध्येकी एक नारी हुँ। पीडाले दिएको जीवन बाच्नुमा कतिको संघर्ष गर्नुपर्छ, त्यो त भोगेकोलाई मात्र थाहा हुन्छ।’
संयोगवश सबिताको कथा मेरो जीवनमा मेल खाएको अनुभूति भयो। बिर्सिसकेका ती विगतका इतिहासलाई फेरि वर्तमानको यस कथाले सम्झाइदियो।
उनको अनुहार अझै नि मलिन थियो। मैले उनलाई जिस्काउँदै भनेँ ՛नरिसाऊ ल, बिर्सिसकेको तिम्रो पीडामा नुन छर्कने काम गरेँ।’
मुसुक्कै हाँस्दै भनिन् ՛तपाईसँग धेरै नजिक भएको आभाष भएर सेयर गरेकी हुँ।’
लामो कुराकानी गर्दागदै हाम्रो ओर्लने ठाउँ आइपुग्यो। हामी दुवै जना झर्यौं। उनी अलि हतारमा थिइन्।
‘हवस् दिदी धन्यवाद, फेरि भेटौँला है’ भन्दै हात हल्लाउँदै बिदा भइन्।