गत साता साँझपख मेरो मोबाइलको घन्टी बज्यो। छेउमै टेबुलमाथि रहेको मोबाइलको स्क्रिन तिर आँखा पुर्याएँ। आमाले फोन गर्नु भएको रहेछ। आमा केही समय अघिमात्र काठमाडौंमा आएर उपचार गरेर फर्किनु भएको थियो।
आमाले सधैँ फोन गरेपछि मेरो सन्चो–बिसन्चो बारे चासो दिनु हुन्थ्यो। मैले त्यही होला भन्ने हिसाबले फोन उठाएँ। तर त्यो दिन उहाँ अन्य दिनमा जस्तो सामान्य रुपमा प्रस्तुत हुन भएन।
केही हतासमा हुनु हुन्थ्यो। उहाँ कोरोना भाइरस र त्यसपछि सरकारले लगाएको लकडाउन बारे समाजिक संजालमा देखिने-भेटिने समाचारहरुलाई लिएर चिन्तित हुनु भएको रहेछ। मैले फोन उठाएँ र ‘हेलो’ भनेँ।
आमाले पहिलो बोलिमै भनिहाल्नु भयो, ‘बाबु भाइ-बहिनी, तेरो सबै अंकल-अन्टीलाई लिएर गाँउ आइजा।’
घर डडेलधुरा भए पनि हाम्रो परिवारका अधिकांश सदस्यहरु काठमाडौंमै विभिन्न पेशा र पढाइका कारण बस्दै आइरहेका छौं।
आमा मसँग फोनमा बोलिरहँदा उहाँको छेउमै बसेर ७८ वर्षीय हजुरआमा सुक्क–सुक्क रुनु भएको सुनिन्थ्यो। ब्याकग्राउन्डमा हजुरआमा भन्दै हुनुहुन्थ्यो, ‘जसरी भए पनि उनीहरुलाई यतै बोला।’
त्यति सुनेपछि मैले फोन हजुरआमालाई दिन आग्रह गरेँ। हजुरआमाले रुँदै भन्नु भयो, ‘बाबु, हिजोदेखि चिन्ताले गर्दा सुत्न सकेको छैन। कोरोना त बढेर, जसरी पनि गाउँ फर्क।’
गत महिना भारतबाट गाउँ फर्केका युवाले फेसबुकमा एउटा फोटो हालेछन्। जसमा कोरोनाका कारण मृत्यु हुनेहरुलाई लाइनै जलाइएको रहेछ। पछि त्यो फोटो सोसल मिडियाहरुमा भाइरल पनि भएको थियो।
त्यो फोटो देखेर आमा र हजुरआमाले मसँगै परिवारका सबै सदस्यहरुलाई घर फर्कन आग्रह गरिरहेका छन्। मलाई अहिले हरेक दिनमा कम्तीमा पनि दुई पटक फोन घरबाट आउँछ, जसको सन्देश हुन्छ, ‘सबै घर फर्क।’
त्यतिमात्र होइन, हरेक दिन सोसल मिडियामा सियर हुने कन्टेन्ट र सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको कारण भइरहेको मृत्युका समाचारले आमा र हजुर-आमालाई अहिले सुत्न दिएको छैन। उनीहरु डडेलधुरामा छन्, तर मन यता काठमाडौंमा छ।
आमा र हजुर-आमाको लागि अहिले अर्को सबैभन्दा ठूलो चिन्ताको विषय हो, मेरो बहिनीको जागिर। बहिनी स्टाफ नर्सको रुपमा एक अस्पतालमा कार्यरत छिन्। उनीहरुले त्यसैबाट अस्पतालमा काम गर्ने डाक्टर र नर्सहरुमा कोरोना भाइरस सरेको र उनीहरुको ज्यान जोखिममा रहेको भन्ने सुनेका रहेछन्।
अब छोरीको अवस्था के हुन्छ भन्ने चिन्ताले गर्दा हरेक पटक फोन गरे नै पिच्छे बहिनीलाई जागिर छाड्न लगाऊ भन्ने अनुरोध गर्छन्।
तर बहिनी भने अहिलेको बेलामा काम नगरे स्वास्थ्यकर्मीले कहिले काम गर्ने भन्दै ८ घन्टाको ड्युटीको स्थानमा १२ घन्टाभन्दा बढी काम गरिरहेको छे। मलाई बहिनीको कुरा आमा र हजुर-आमालाई बुझाउन गाह्रो भइरहेको छ।
महामारीको बेलामा यसरी आत्तिनेमा मेरो आमा र हजुर-आमा त एउटा प्रतिनिधि पात्र मात्र हुन्। यसरी नै कयौं नेपाली युवाहरुका आमा-बाबुहरुलाई घरमा बसेर आफ्ना सन्तानको चिन्ता गरिरहेका छन्। किनकि विभिन्न माध्यमबाट महामारीलाई थप भयानक रुपमा प्रस्तुत गरिएको छ।
त्यसमा पनि सोसल मिडियाहरुमा त व्यक्तिपिच्छे महामारीको बारेमा व्याख्या गरिएको छ। भारतमा कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरुको सामूहिक दाहसंस्कारको फोटोलाई सोसल मिडियामा सियर गर्दै भाइरल बनाइएको छ। जसले गर्दा कोरोनालाई थप आतंकको रुपमा व्याख्या गर्ने काम गरेको छ।
उक्त फोटोकै कारणले गर्दा मेरो आमा र हजुर-आमा जस्ताको निद्रालाई नै बन्द गराइदिएको छ।
महामारी जस्तो संकटको बेलामा मिडिया र सोसल मिडियाको प्रस्तुती फरक हुनु पर्ने हो। पीडितलाई थप पीडा दिनुभन्दा ‘पीडितलाई राहत दिने’ गरी समाचारको संप्रेषण र प्रसारण हुनु आवश्यक देखिन्छ।
सञ्चार माध्यम र सोसल मिडियामा आउने समाचारले आम मानिसलाई महामारीबाट कसरी बच्ने र सुरक्षित रहने जस्ता कुरामा ध्यान दिए महत्वपूर्ण हुन्छ। मलाई के लाग्छ भने हामीले समस्यालाई बल्झाउने भन्दा त्यसलाई कम गर्नेतर्फ सोच्नु उपयुक्त हुन्छ।
अहिलेको समय कोरोनालाई थप डरको रुपमा प्रस्तुत गर्नुभन्दा यसका कारण र यसबाट बच्चे उपायहरुलाई ध्यानमा राखेर सञ्चार माध्यम र सोसल मिडिया लगाउनेहरुले ध्यान दिए मेरो आमा र हजुर-आमा जस्तै अरुले पनि संकटको बेलामा आफ्नो सन्तानलाई लिएर हरेक दिन चिन्ता लिएर सुत्नै नसक्ने स्थिति आउँदैन थियो।