आजभन्दा ५४ वर्ष पहिला वसन्तको हरियालीसँगै एउटा सानो परिवारमा पहिलो सन्तानको रुपमा मेरा हजुरआमा र हजुरबाको जोडीलाई आमाबुवा बन्ने सौभाग्य दिएर जन्म लिनुभयो।
पहिलो सन्तानले पाउने माया र स्नेहसँगै आफ्नी आमाको स्तनबाट अमृतपान गर्दै बाबाको वात्सल्यमा हुर्कंदै दुई वर्षपछि सानी बहिनीको दिदी बन्नुभयो। अर्थात्. बहिनीको पहिलो साथी पहिलो गुरु तथा दुःख, कष्ट, पीडाको बाटो छेक्ने बारको रुपमा भूमिका प्रस्तुत गर्दै हुर्किँदै जानुभयो।
उमेर बढ्दै गयो, परिवार थपिँदै गयो। हिजोसम्म एउटा बहिनीको दिदी, तीन वटा सानी बहिनीहरुको ठुली दिदी हुन पुगिन्।
त्यही भएर होला जिम्मेवारीको भारी कलिलै उमेरदेखि बोक्न सिपालु। बहिनीहरुलाई स्याहार्ने तथा हेरचाह गर्नैमा व्यस्त भएर नै होला न त बालापनको भाडाकुटी खेल थाहा पाउनु भयो न त बालहटको व्यवहार नै देखाउन पाउनु भयो।
वयस्कताको त कुरै नगरे भयो। भर्खर किशोरावस्था टेक्दै गरेकी उनको जीवनमा आगमन भयो जीवनभरी साथ, सम्मान र माया दिने वाचा गर्ने जीवनसाथीको। बाह्र वर्ष पूरा गरी तेह्र वर्ष टेक्दै गर्दा सामाजिक नियमअनुसार विवाह बन्धनमा बाधिनु भयो।
आफ्नो जन्मघरबाट आफ्नो घरसम्मको यात्रा तय गर्न कति पनि नडराएकी उनीलाई पिर केवल एउटा थियो, बहिनीहरुको हेरचाह गर्न र आमाबाबालाई काममा सघाउन नपाउने।
आफ्नो घर अब श्रीमानको, सासूससुराको, जेठाजु-जेठानीको, देवरको घर भयो। जहाँ सबैको ख्याल राख्ने कामका साथसाथै श्रीमतीको भूमिकामा पनि अब्बल आउनु पर्थ्यो।
घरबारी खेतखलिया सबै गर्ने परिवारको एउटा दह्रो हांगा भएपनि अहँ! कहिले हांगा जस्तै उधो भएन। सधैँ जराकै भूमिकामा सीमित रही सबै हाँगाहरुलाई सिंचित गरी सम्बन्धहरु कसिलो बनाउनमै व्यस्त। काम गरी सबैलाई खुसी पार्न पाउनु भनेको ठूलो भाग्यको कुरो उनीलाई।
कहिले नथाक्ने। अजंगका जंगलका रुख ढालेर दाउरा चिरेर पिठ्यूमा बोकेर दिनकै चार/पाँच भारी दाउरा बोक्न पाई मात्रै रमाउने, गोठका दर्जन भैँसी र गाई गोरुका लागि डाँडा-डाँडा, रुख-रुख र पात-पात गर्दै घाँसका भारी बोक्दा नथाक्ने, बिघा-बिघा खेतबारी सल्टाउन छिनभर नभन्ने शक्ति स्वरुपा उनलाई पसिना बगाएको देख्नेहरु भन्थे 'डंकिनी नै रैछ काम गर्न त!'
जंगल ओसार्नमै व्यस्त उनीलाई, ओहो! पन्ध्र वर्ष भैसक्यो उमेर, बिहे भएको १८ महिना भैसक्यो, पेट बाहिर देखिदैन त के हो! भनेर कुरा सुनाउन थालेको पनि छ महिना जति भैसक्यो। रजश्वला हुन थालेको वर्षदिन नपुग्दै सबैको उनको पेट बाहिर देख्ने चाहना पनि पूरा भयो।
उमेरको सोह्रौं खुट्किला टेक्दै गरेकी ती पन्ध्र वर्ष अगाडीकी सानी नानीले आज आफ्नै गर्भबाट आफ्नो अंशलाई जन्म दिई यो संसारलाई फेरि एउटा आमा चिनाइन्। साथसाथै चिनाइन् भविष्यकी अर्की आमालाई।
हो, उनले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिइन्। श्रृष्टि कसरी चल्छ, यसै गरी होइन र?
उनी खुसि थिइन्, आमा बनेको हर्ष थियो र परिवारभरि नव-आगन्तुकका बालकृडाका बखानहरु थिए। पहिलो सन्तान पाएर जिम्मेवारी थपिएको आभाससँगै पैसा कमाउने बाटाहरु पछ्याउदा श्रीमान-श्रीमती टाढा हुन पुगे।
दूधे बालक काखमा, घरको जिम्मेवारी काँधमा र परिवार छुट्टिएपछिको एक्लो परानी साथमा लिई भगिरथभन्दा कडा परिश्रम र कर्मलाई निरन्तरता दिन कति पनि उदास नभएकी उनी आफ्नो क्षमतालाई आफै चुनौती दिन खुब सिपालु।
एक्लैले। सही पढ्नु भयो, उनी एक्लैले छोरीलाई हुर्काइन्, अर्की छोरीलाई पनि हुर्काइन र साथै दुई छोरीपछि फेरि दुई छोरा पाएर गलेको शरीर। चार चारवटा गर्भले चिथोरिएको पाठेघरमा फेरि भ्रुण हुर्काउने क्षमता नभएको बुझेकी उनले कहिले नदेखेको नपाएको तर सुन्न चै सुनेको गर्भ निरोधक अस्थायी साधनहरु कहाँबाट पाउनु र खै!
जंगलबाट दाउरा रुख ढालेर, छाटेर, चिरेर भारीबाधेर घर ल्याइपुर्याए जस्तो कहाँ सजिलो थियो र! त्यसैको विकल्प खोज्दै सरकारी अस्पतालको हिउँदे पाठेघरको शिविरमा कहिले गर्भ नबस्ने अप्रेशन गर्न उनलाई र परिवारलाई सजिलो भयो नि।
किन थाहा छ? किनकि त्यो निशुल्क थियो र आमाको लागि थियो। त्यसले कसैलाई दुख हुँदैनथ्यो र आमाको दुखकष्ट, 'त्यो पनि हुन्छ र?' भन्ने सोच्दथे सबैले।
उनै सानी नानी, भर्खर उमेरको तीस वर्ष टेक्दै थिइन्। आफ्नोभन्दा आधा उमेरको छोरी सँगसँगै उसका भाइबहिनीलाई पढाउने दृढ निश्चयका साथ कति जंगलका रुखहरु बोकेर बजारको चमेनाको भट्टीसम्म पुर्याइन्, कति भैसीको दूध कुमैयाहरुलाई दिएर टनकपुरका केटाकेटीहरुको गिलाससम्म पुर्याइन् लेखाजोखा नै छैन।
कति छाक खाना खाइन्, कति भोकै बसिन्, कति थरी लुगा पाइन्, कति थरी गहना लाइन् सम्झना नै छैन। किन थाहा छ? फेर्नलाई लुगा किन्नु पर्थ्यो, लगाउनलाई गहना नबेचिनु पर्थौ।
न त लुगा किनेर फेर्दै बस्न उनलाई फर्सद थियो न त पैसाको बिटो थियो। अँ साँच्ची, मासु खान वर्षमा दशैF नै कुर्नु पर्ने उनीले कुनै कुनै वर्ष दाउरा बेचिए खान पाई, नबेचिए अर्को दशै कुर्नु पर्थ्यौ। यो सबै किन थाहा छ? किनकि उनीलाई आफ्ना बालकहरुलाई शिक्षित र योग्य बनाउनु छ। आफूले नदेखेका सपनाहरु देखाउनु छ र आफूले नपुगेको ठाउँ पुर्याउनु छ। आमा हुन नि त।
स्कुलको आँगन नटेके पनि उनलाई समयले राम्रै सिकाइ तथा भोगाइ दिइसकेको थियो। उनी शिक्षाको ताकतमा पूर्ण विश्वस्त भैसकेकी थिइन्। शिक्षित छ त गरिखान सक्छ छोरीले, शिक्षित छ त गरिखान्छ र गरिखान दिन्छ छोराले।
उनका छोराछोरीको स्कुलको शुल्क बुझाउने समय कहिले ढिलो भएपनि शुल्क बुझाउने नोट भने हजारभन्दा सानो कहिल्यै भएन। चार-चार जना छोराछोरी पढ्ने भएर होइन नि, गाउँमा ऋण गर्दा हजारभन्दा कमले पुग्दैन थियो र पो हजारको नोट।
श्रीमानलाई उद्धम गर्दा ऋण पर्यो, उनैले बाख्रा बेचेर तिरिन्। छोराछोरी पढाउँदा लेखाउँदा ऋण पर्यो, उनैले दाउरा र दूध बेचेर तिरिन्। घरको छानो भत्क्यो, उनैले गहना बेचेर पानी नचुहिने बनाइन्। घ्यु बेचेर लुगा सिलाइन् र खान पुगेर बचेको अन्न बेचेर बच्चाहरुलाई न्यानो सिरक ओढाइन्।
उनले सबैथोक बेच्न सकिन्, सिपालु भइन्, केही बेचिनन् त केवल आफू, आफ्नो हिम्मत, आफ्नो हौसला र आफ्नो अस्तित्व। उनले सबै काम गरिन्, केही गरिनन् त केवल गर्न नहुने काम मात्र।
आज म ती चौन्न वसन्त पार गर्दै पचपन्नौं वसन्तमा उत्तिकै हर्ष र जोश जाँगरका साथ प्रवेश गरिरहेकी मेरी आमालाई चिन्दै छु। उनको तपस्या अझै पनि छोराछोरीलाई सम्झेर, श्रीमानलाई स्याहारेर र घर, खेतबारीमा पसिना बगाउँदै गाई-बाख्रा पाल्नैमा पाइन्छ।
किन थाहा छ? हामी छोराछोरी उड्ने भएपछि चराको बच्चाले गुड छाडे झैँ कमाउने भएपछि आमाको काख छाडेर उडिसकेका छौँ त्यसैले। एकछिन बसेर आमाका कुरा सुनेर उनका दिन बिताउने माध्यम हामी हुन सकेनौँ र पो उनले आफ्नो सारथी आफ्नो कामलाई बनाइन्। आफ्ना बस्तुभाउसँगै हाँसिन् र हाम्रो खुसिमै खुसी भइन्।
आमाले दुईटा छोरीको रुपमा भविष्यका आमा जन्माइन् भने दुइटा छोराको रुपमा भविष्यका बाबा जन्माइन्। आमाले श्रृष्टि गरिन्, आमाले पालन गरिन्, आमाले सम्मान गरिन्, आमाले स्याहार गरिन्, आमाले माया गरिन् र सधैँ गरिरहिन्। यो मानव रुपी प्राकृतिक चक्र जति चल्छ, त्यति नै आमाबाट आमा बन्ने चक्र पनि चलिरहन्छ।
आमा समयको अनेक कालखण्डमा अनेक रुपमा केवल संघर्ष गर्दै गइन् र माया बाड्दै गइन्। शरीर एक भएपनि समयक्रम सँगै भूमिका अनेक, भोगाइ अनेक पात्र अनेक भइन्।
निस्वार्थ र निष्काम कर्म मात्रै, परिश्रम मात्रै गरिन्। आशा र अभिलाषा आफ्नो लागि शून्य, अरुको लागि अनन्त दिइन्। त्यसैले म अचेल बुझ्दै छु आमा कि 'आमा' मात्र एउटा शब्द होइन, यो त अर्थ हो।
अर्थ तपाईका हरेक प्रश्नहरुको, तपाईका हरेक उत्तरहरुको, तपाईका हरेक आवश्यकता तथा चाहनाहरुको, तपाईका हरेक सुखदुखका पलहरुको र तपाईका हरेक शब्दहरुको।
धन्यवाद आमा, यो जीवन र यस जीवनको अर्थ बनिदिनु भएकोमा।