केही कुराहरु सम्झन छ मलाई, र यहाँकै बारेमा लेख्न्नु छ। जीवनमा धेरै कुराहरु संगाल्छौँ र सम्झन र बिर्सन जान्न तिर लाग्छौँ।
मलाई मेरी आमाको पहिलो सास सम्झन मन छ। मलाई मेरी आमाको पहिलो रुवाई सम्झन मन छ। मलाई मेरी आमाको प्यारो तोते बोली सम्झन मन छ। मलाई मैबाट टाढा गएर मेरी आमाको जीवनको कथा हेर्ने मन छ। जुन सम्भव होला र?
मेरी आमाले पहिलो रुवाइले यो संसार थर्किएको सुन्न मन छ मलाई, मेरी आमाले आफ्नो आमाको दूध चुस्दाको चप चप आवाज सुन्न मन छ मलाई, र आमालाई सोध्न मन छ- ‘मैले तपाइको दूध टोक्दा तपाई हाँसेजस्तै उहाँ चाहि के गर्नुहुन्थ्यो?’
सम्झन जस्तो गाह्रो केही पनि हुँदैन रहेछ जीवनमा। मेरो बाल्यकालको असंख्य सम्झनालाई बिर्सिएर आमाको बाल्यकाल सम्झनु थियो मलाई। तर बिडम्बना! मलाई म आफै जन्मिएको बिहानी थाहा छैन, म जन्मने बितिकै कस्तो काखमा थिएँ त्यो पनि थाहा छैन मलाई, म जन्मिदाखेरीको आमाको पीडा र मेरो रगतले भरिएको शरीर नै थाहा छैन मलाई।
र जिन्दगीमा धेरै कुराहरु जतन गरी राख्न तिर लागेपनि बाल्यकाल त कहिल्यै सम्हालिदो रहेनछ है? मलाई मेरो बाल्यकालमा त जानु मन नै थिएन, किनकि मेरो सबै पीडामा मल्शम लगाइदिने तिमी साथै थियौ।
मलाई मेरी आमाको बाल्यकाल सम्झन अति नै ईच्छा छ, मेरी आमा जन्मदा उनका हजुरबुवा, हजुरआमा, बा, आमा त्यति नै खुसी थिए होलान् र, जति मलाई जन्मदा तिमी खुसी थियौ!
मलाई जान्नु छ मेरी आमा जन्मदा उनीमाथि घामको ओसिलो किरणले स्पर्श गर्न पायो होला कि नाई?
मेरी आमा जन्मदा उन्का परिवारले सहजै स्वीकारे होलान कि नाई? ती घरका बाँकी परिवारले खुसीले काखमा लिए होलान् कि नाई? मलाई सबै कुरा जान्नु मन छ।
मेरी आमालाई जन्माएको खुसीमा मेरी हजुरआमाले सुत्केरी स्याहार कति पाइन् होलिन्, मेरी हजुरआमाले छोरी पाउन पर्यो भनेर ज्वानोको रस पानीमा उमालेर खाइन् होला कि, कति बट्टा घिउ सकिन् होला?
मेरी हजुरआमाले मेरी आमा जन्मदाको छैठौँ दिनमा के त्यस्तो सामाग्री राख्नै छुटाउनु भएछ, र मेरी आमाको जीवनमा सुखको घाम कहिल्यै लाग्नै सकेनन्।
मेरी आमाको हुर्काई हाम्रो जस्तो सहज थिएन रे, आमा खेल्दै गर्दा साथीहरु स्कुल जान्थे रे, आमा घासको ठूलो भारी ड्याम्म आँगन नै थर्कनी गरी भारी बिसाउँदा साथीहरु स्कुलबाट फर्कन्थे रे!
मलाई मेरी आमाले लगाउँदै नलगाएको त्यो स्कुलको ड्रेस र बोक्दै नबोकेको स्कुलको झोला भिरेको हेर्नु मन छ।
यो मन पनि बडो गज्ज्बको हुँदो रहेछ क्यारे, उस्ले देख्दै नदेखेको कुरा उस्लाई देख्नु मन लाग्ने। खाँदै नखाएको कुरा खान मन लाग्ने र सुन्दै नसुनेको कुरा पनि सुन्न मन लाग्ने। जाँदै नगएको ठाउँ उसलाई जान मन लाग्ने।
मेरी आमाले म यतिका वर्ष हुँदा पनि विवाह गर है, भनेर कहिल्यै बाध्यतामा पार्नु भएन। विचरी मेरी आमालाई महिनावारी नहुँदै कन्यादान गर्दिने हो भने स्वर्ग तर्छौ भन्ने फलाना फलानाका बोलिले आफ्नै परिवारले बाध्यतामा पर्दा पनि आफ्नो जिद्द गर्न सक्नु नै भएनछ।
उहाँले आफ्ना हरेक रहरको चिरहत्या गरेर अरुको बाध्यतालाई आफ्नो रहर बनाउन परेकाले कहिल्यै ममाथि आफ्नो जिद्ध देखाउनै सक्नुभएन।
मलाई जानु मन छ, मेरी आमाको पहिलो जवाफ के थियो होला मेरा बाप्रति जब उहाँहरुको विवाहको टुङ्गो लाग्न अगावे केटाकेटीलाई आफ्नो निर्णय सुनाउन गोप्य वार्तालाप गराइन्छ। मेरी आमाले के निर्णय गर्नु भयो होला? त्यो जान्नु मन छ।
कठ्यै मेरी आमा! उनले त विवाहको भोलिपल्ट मात्रै बाको अनुहार देखेकी रहेछिन्।
मलाई सम्झन सक्ने शक्ति आउँथ्यो भने म आफ्नो आमा बेहुली भएर सिंगारिएको हेर्थेँ, मेरी आमा कस्ती देखिन् होलिन मनभरिने गरी जग्गेमा बसेकी मेरी आमालाई हेर्थें।
मलाई मेरी आमाले तामदानीको (डोली) अर्थ लगाउँदै गर्दा मेरी आमा रुँदै तामदानी माथि चढेर यही घरसम्म भित्रिएको हेर्ने मन छ। मैले सास फेरे जस्तो सजिलो हुँदैन रहेछ, असम्भव चाह पूरा हुन। आमालाई आफ्नो माइतीको तल्लो डिलसम्म मात्रै तामदानीमा चढाएका रहेछ्न्, बाँकी बाटो आमा आफैँ हिँड्दै आउनु भएको रहेछ।
त्यत्रो बाटो हिंड्दा फोका परेका खुट्टामा अझ जन्तीले कुल्चिदिएछ्न्। आमा झनै मुर्छा पर्नु भएछ। आमा बेहुली हुँदा पनि डोलीमा राम्रोसँग चढ्नु भएकै रहेनछ।
मेरी आमा भन्नुहुन्छ- मान्छे कि त रुपले बिक्छ कि त सीपले। तेरा बा मलाई हेर्ने जाँदा ठूलो घाँसको भारी ड्याम्म आँगनै थर्कने गरी मैले भारी बिसाएको आवाज सुन्ना साथ मेरो बिहे मलाई नै नहेरी पक्का गरी गएका हुन् रे। त्यसै कारण यो घरा भित्रिएदेखि आजसम्न हातमा अरिया र निधारमा नाम्लोले साथ छाड्न सकेकै छैन, यी घाँसको भारीभन्दा ठूला ठूला मेरा सपना तुहिएको त लेखा जोखा नै भएन छ।
मेरी आमा जहिल्यै भन्ने गर्नुहुन्थ्यो- तेरी हजुरआमा हामी सानो हुँदा जहिल्यै हाँसिरहनु हुन्थ्यो। हाम्रो घरमा मलाई बासँग, हजुरआमासँग सोध्न मन छ, मेरी आमालाई हाँस्नै नसक्ने मुलुकमा किन पार्दिनु भयो? भनी।
मेरी आमा धन्दा गर्दै गर्दा लखतरान परेर फुस्स निदाउँदा अँगेनामा उम्लदै गरेको त्यो कुडेको सेतो दूध पोखिँदा, पिटाइले चुवाउनु परेको रातो रगत कहिल्यै नसम्झने गरी बिर्सनु मन छ।
मैले खाना नखाई अटेर गरी बस्दा बिस्कुन सुकाइरहेकी आमाले बिस्कुन छाडी मलाई खाना खुवाउन लाग्दा सुकाएको बिस्कुन परेवाले खाइदिँदा आमाको हातमा बेस्सरी परेको फलामे ढुमरोको पिटाई अब सधैँका लागि बिर्सन मन छ।
मेलापात गर्दै गर्दा गाईवस्तुलाई स्याहार गर्दै गर्दा टुसुक्क बसेको मौका पारेर कुरौटे नन्दहरुको दुष्ट व्यवहारले तिम्ले बारम्बार खाएका कुटाइहरु सधैँका लागि बिर्सन मन छ।
तिम्लेा भोगेका पीडा, बगाएका चौधारा आँसु, तिम्रा तोडिएका विश्वास, तिम्रो भत्किएको मन अब सधैँका लागि बिर्सनु मन छ।
सम्झनु र बिर्सनु नै जीवनको अनौठो कुरा हुँदो रहेछ क्यारे, चाहेको कुरालाई सम्झन नसक्ने र बिर्सन खोजेको कुरालाई बिर्सनै नसक्ने।
आमा बन्न निकै गाह्रो रहेछ क्यारे, गर्भ बोक्दा बोक्दा त्यो गर्भ बोक्ने पाठेघरले थकाइ मार्न नपाउने। आफू मरी मरी काम गर्दा पनि अबजसको पोकोलाई पर फाल्न नपाउने।
आमा बन्न निकै गाह्रो रहेछ क्यारे, छोरा नपाउन्जेल ती आमाले आफ्नो गर्भको हत्या गरिरहन पर्ने।
जिन्दगीको दौड जित्न दौडिँदा दौडिँदै पनि फेर्ने सकिँदैन रहेछ सास। मेरी आमाले एकछिन थकान मार्ने सास फेर्ने पाउनु हुन्थ्यो। मेरी आमा आफ्नै परिवार भित्रै लडनु भएछ क्यार, आफ्नो खुसीको लागि भनेर पनि कहिल्यै उठ्नै सक्नुभएन।
मेरी आमा पनि बाँकी आमा जस्तै कोमल मन कि हुनुहुन्छ, चिसो दाउरामा आगो सल्किन नसकेर धुवाँ मात्र पुत्याइरहेको हुन्थ्यो। हामीलाई दुई फाको चिउरा दिँदै खेल्न पठाउनुहुन्थ्यो र धुवाँमा एक्लै खाना बनाउनु हुन्थ्यो।
हाम्रा यी आँखाले संसारका सबै सुख देखून भनेर आफ्नो आँखा धुवाँले निकै कमजोर बनाउनु हुन्थ्यो।
आमालाई अझै पनि दुई चिजले छोडेकै थिएन, चुहिने छानो अनि धुवाँ। समय फेरिए पनि चुहिने छानोले छोडेन। बर्खामा जब फोका फोका पर्दै परेको बोजोड पानीले टिनका प्रत्येक प्वालबाट पानी चुइन्थ्यो, आमा ती पानीलाई पार लगाउने तिर लाग्नुहुथ्यो।
बाल्टी, गिलास, कराईमा खसिरहेको पानी पर्थ्यो। मकिएको काठको खाँबोबाट तप तप पानी हामी सुत्ने ओछ्यान भिज्थ्यो, र नभिजेको भागमा आमाले हामी सबैलाई ओछ्यान लगाइदिनु हुन्थ्यो। र एकनासले त्यो मक्या लागेको खाबो भाचिन्छ कि भन्दै धुमधुमती हेरिरहनु हुन्थ्यो।
आमाले मकै डोब्दै गर्दा सबैभन्दा सानी बहिनीलाई बुइँमा बोक्दै कम्मरमा मकैको बिउ पोको पार्दै कुटोले खन्दै डोब्दै गरेको देख्दा आमाले हाम्रो भविष्य पनि ती मकैसँगै मलिलो भूमिमा उब्जिनको लागि रोप्दिए जस्तो लाग्थ्यो।
आमाले सप्रदै गरेको त्यो मकैको चमरसँग मेरो सफलताको कामना गरेजस्तो लाग्थ्यो। सधैँभरि मकैको चमर जस्तै फुल्नु भन्नु हुथ्यो, मकैको बोटले चमर फुलाएपछि बल्ल मकैको घोगा पसाउँदो रहेछ। घोगा लाग्दै गरेको मकैले जुँगा पनि हाल्छ,जुन मलाई भन्दा पनि मेरी आमालाई औधी मन पर्छ।
त्यो जुँगा आमाले मेरो कलिलो ओठ माथि साँच्चिकै आउने जुँगा जसरी टासिदिनु हुथ्यो। त्यो जुँगाले मलाई बिझाए पनि ‘ह्या आमा, बिझायो मलाई’ भन्नै सक्दिनँ थिएँ। किनकि आमालाई एउटा छोराको निकै रहर थियो।
आमाले कैयौं पट्क छोरी जन्माएकै कारण भोकै सुत्नु पर्थ्यो, कैयौं दिन रातसम्म मेलामै काम गर्नु पर्थ्यो। कैयौं पट्क गर्भको बच्चा जन्मिने दिनसम्म चर्को घाममा खेत रोप्नु पर्थ्यो।
कैयौं छोरी जन्माउँदा पनि त सन्तान दिन नसक्ने भन्दै आमाको मनमा ढाकेको कालो बादल लाई आमाले चाहेर पनि हटाउन सक्नुहुन्थ्यो। र प्रत्येक परिवार र बुवालाई सोध्नु मन छ, छोरी चाहिँ सन्तान होइनन्?’
कथा सबै आमाको एउटै हुन्छ, आखिर आमा बन्न खेप्नु पर्ने पीडा सबैको एउटै भएर होकि।
मेरी आमाको जीवनमा हरेक कुराको भोगाइ छ- जन्मको, हुर्काइको, बिदाइको, पिटाइको, हाँसोको, आफै आमा बन्दाको र आफ्नो सन्तानले आफ्नो दुख बुझिदिँदाको खुसी।
आमा आफ्नो सबै दु:ख एकमुष्ट पारेर रुनुहुन्छ, अनि सबै खुसी संगाली खुसीले हाँस्नु हुन्छ।
मलाई मेरी हजुरआमासँग फेरि पनि केही कुरा सोध्न मन छ। सानोमा मेरी आमालाई तेल लगाइदिँदै गर्दा आमाको पेटले तेलको न्यानो पन महशुस गर्न पाएनछ क्या हो? आमा चिसो पटुकी लगाउँदा पनि आछुछु चिसो भो कहिल्यै भन्नु हुँदैन!
सबैले खाना खाएर कसौडी नै रित्तिँदा पनि आमाले आफ्नो लागि खाना कहिल्यै बसाल्नु हुँदैन।
आमासंग दुख मात्र छैन है, निकै खुसी पनि छ उहाँ भित्र। आँपको बोटमा पालुवा लाग्नासाथ आमा भित्र गुलाबी उमेरले छोएको पाउँछु। आमा चराभन्दा पनि हलुका भएर नाच्नु हुन्छ, जब आँपको बोटमा चिचिला लाग्न थाल्छ। आँपको फल विस्तारै बढ्दै जाँदा आमाको खुसी झन् झन् सिमलको भुवा जस्तै माथि माथि उड्दै जान्छ।
जब आँप कटमेरो हुँदै गर्दा हुरीले झर्छ, ती सबै आप नुनमा चोप्दै आमा लुकी-लुकी खानुहुन्छ। जब आप पाक्न थाल्छ, ती आँपका बास्नाले आमाका विगतका सबै दुख बिर्साइदिन्छ। मलाई आँपको बास्नाभन्दा मेरी आमाको खुसीको बास्ना मिठो लाग्छ। कसैले नदेख्ने गरी आँप टिप्नु हुन्छ र लुसुक्क आँपको बोटको छेल परेर खानु हुन्छ।
यदि कसैले देखिहाल्यो भने आमा आफ्नो सारीको सप्कोले मुख छोप्दै मुर्छा पर्दै लाजले हाँस्नु हुन्छ।
हामीमाथि आमाले खर्चिनु भएको आफ्नो त्याग, करुणा, समर्पण सबैलाई नजिकबाट देखेकी छु। मेरी आमाले दिएको संस्कारले म जहाँ गए पनि शिर ठाडो पारेर हिँडन् सक्छु जस्तो लाग्छ। छरिएर बसेको परिवारलाई एउटै फूलको थुँगामा फुलाएर राख्न सक्छु जस्तो लाग्छ।
मेरी आमालाई जन्माउँदा मेरी हजुरआमले पूर्णिामाको उज्यालो रातमा जन्माइदिनु भएको भए, मेरी आमाको जीवनमा यसरी कालो औँसीको रातले घेर्दैन थियो होला।
र सम्पुर्ण हजुरआमाहरुमा धन्यवाद। सबैलाई न्यानो स्पर्श गराउने आमालाई जन्म दिनु भएकोमा। सम्झनै नसके पनि, जान्नै नसके पनि, बिर्सनै नसके पनि, सम्भव नै नभएपनि यी सबै कुराको इच्छा जिन्दगीभर हुँदो रहेछ।
मैले यी कुराहरु लेख्दै गर्दा मेरी आमासँग सोधेँ, ‘तपाईको जीवन कहाँ छ?’
उहाँले हाँस्दै भन्नुभयो ‘ती संघर्ष जुन बाहिर देखिदैनन्। सुखहरु प्रत्यक्ष देखिन्छ्न् तर पीडाहरु देखिदैनन्। हो, जीवन त्यही निर अडिएको छ, प्रत्यक्ष देखिने खुसीले त्यहाँबाट जीवन लिन्छ जुन अदृश्य छ। र यही नै हो हरेक आमाको जीवन र भोगाइ।’
म निशब्द भएँ। मलाई आजसम्म पनि जान्नु नै मन छ, ती सबै कुराहरु सहँदा सहँदै पनि, जतिसुकै अफ्ठ्यारा परिस्थितिहरु आएपनि हामीलाई खबरै नगरी त्यस्को समाधान कसरी गर्छेऊ? जतिसुकै भवितव्य आइलागे पनि तिमी मुस्कुराउनै छाड्दिनौ आमा, किन?
सम्पूर्ण आमाहरुमा मातातीर्थ औँसीको शुभकामना। हामीहरु सबै यहाँहरु जत्तिकै साहसी आमा बन्न सकौँ।