मातातीर्थ औंसी, आमालाई सम्झना गर्ने, स्मरण गर्ने, माया गर्ने दिन। हुन त कहिले पो आमाबाट टाढा भइन्छ र! भौतिक रुपमा टाढा भएपनि मन मस्तिष्कबाट सधैं नजिक भइन्छ। परापूर्व कालदेखि आज सम्म यो दिनको महत्व त्यति नै छ।
आमा! तिम्रो मेरो कनेक्सन त म गर्भमै आएदेखि होला तर यति धेरै प्रगाढता चाहिँ मेरो उमेर बढेसँगै महशुस भएको थियो। धेरै कुरा आज पनि मेरो स्मरणमा ताजा छ आमा। मेरो परीक्षा हुँदा सबैभन्दा बढी तिमी चिन्तित हुन्थ्यौ।
कुन विषय मलाई गाह्रो लाग्ने, कुन सजिलो लाग्ने सबै तिमीलाई थाहा हुन्थ्यो। तिमीलाई के थाहा त्यो समाजशास्त्री मेक्स वेबरको परिभाषा। त्यही पनि म सुनाउथेँ। यो लेखकको परिभाषा लेखेँ, यसो लेखेँ भनेर।
न तिमी वाक्क हुन्थ्यौ मेरा कुरा सुनेर न म वाक्क हुन्थेँ तिमीलाई सुनाएर। यस्ता धेरै कनेक्सन छन् आमा तिमीसँग मेरो। कुन दिन रिजल्ट आउने, कुन चिज सबभन्दा मिठो लाग्ने, कुन नलाग्ने सबै। मैले नभनि तिम्रो स्मरणमा रहिरहन्थ्यो आमा।
विवाह भएर गएपछि नि आमा घर फेरियो। समय परिवेश सबै फेरियो तर तिम्रो र मेरो कनेक्सन कहिल्यै फेरिएन आमा। जति थियो त्योभन्दा गाढा हुँदै गयो। मेरो पढाइ, भविष्य, जागिर, वैवाहिक जीवन... यी सबमा तिमी धेरै जोडियौ।
जब म टेन्सनले जिन्दगीका मोडमा अल्झिएर सबै भविष्य अन्धकार देख्दा तिम्रो फोनको घण्टी बज्दथ्यो। म चाहेर पनि तिमीलाई लुकाउन सक्दिनथें। तिमीले मेरो आवाजबाटै सबै थाहा पाउँथ्यौ।
अनि म बिरामी हुँदा तिमीले थाहा पाइसक्छौ। यो भयो होला, त्यो भयो होला। त्यस पलमा म तिमीलाई खिल्याउँथें। आss! डाक्टरलाई नदेखाई थाहा हुन्छ भनेर। तर जब डाक्टरलाई देखाउँछु तिमीले जे भयो भन्थ्यौ नि डाक्टरले त्यही भन्छ। तिमी त ज्योतिषी नै हौ कि जस्तो लाग्छ। ल हेर त तिम्रो र मेरो कनेक्सन आमा!
आमा! म पनि आमा भएँ। मैले पनि तिमीले जस्तै एउटी प्यारी छोरीलाई जन्म दिएँ। अब त हामी तीनैबीच कनेक्सन भयो आमा। तिमी त आमाभन्दा नि एक स्टेप माथि महाआमा भइसक्यौ। तिमीले जाने जति सबै सिकायौ मलाई। आमा हुँदाको अनुभूति साँच्चै नै मिठो हुँदो रहेछ। उ हाँस्दा, उ रुँदा, पहिलो पटक मामु भन्दा। त्यो अनुभूति त तिमीले गरिसकेकी थियौ आमा।
नानी जन्मिएपछि अलिकति म टाढा पो भएँ कि! तर तिमीले कहाँ टाढा हुन दिन्थ्यौ र? मैले नभ्याएर के भो त? तिमी आफै सम्झेर गरिहाल्थ्यौ। तिमीलाई अब एउटै इच्छा थियो मैले लोकसेवामा नाम निकालोस् भन्ने।
तिमीले 'एक हातमा कोक्रोको डोरी लिने अर्को हातमा किताब' भनेको कुराले, जतिन्जेल मैले छोरीको कोक्रो हल्लाएँ, मन लागे नि नलागे नि म पुस्तक समाउँथें। जाँच दिएर आउँथें म, रिजल्ट आउँथ्यो।
तिमीलाई लुकाउन खोज्दथेँ म। तर तिमीले सपनीमै संकेत पाइसक्थ्यौ। 'रिजल्ट के भयो नि! सपनामा त मसँगै थियौ खोलामा। तरेनौ।’
लु हेर! तिम्रो मेरो कनेक्सन। मैले ठग्न खोजेर भयो त? तिमीले त सपनिमै थाहा पाइसक्छौ। म अब सक्दिनँ पार नलाग्ने भो भनेर किताब बन्द गरेर ढल्केको हुन्थें। त्यतिखेर तिम्रो फोन आउथ्यो। तिमीले कसरी थाहा पाउँथ्यौ? म थाकेको। हारेको। अचम्म लाग्छ।
तिमी एक मोटिभेशनल स्पिकरबनेर आउँछौ। तिम्रो प्रत्येक कुराले यति तरङ्गित हुन्थें जुरुक्क उठेर फेरि पुस्तक पल्टाउन थाल्थें।
तिमी र मेरो बीचमा छोरी, श्रीमान् आएपनि तिमीले त्यो कनेक्सन कहिल्यै टुट्न दिइनौ। जब मलाई तिम्रो आवश्यक पर्थ्यो, तिमीलाई म भन्न सक्दिन थिएँ। तिमी आफैं अन्तर्यामी भएर या मेरो मनलाई पढेर या आफै थाहा पाएर 'ल म आउँछु एक दुई दिन भए नि राम्रोसँग तयारी गर्नू’ भन्थ्यौ।
कसरी थाहा पाउँथ्यौ तिम्रो मलाई जरुरी छ भनेर? सानै पदमा नाम निकाल्दा तिमीले अँगालो मारी रुँदै 'एक्लै सानो नानीसँग बसेर नाम निकाल्नु सानो कुरा हो र!' भन्दै गर्व पो गर्यौ।
हेर, केही पलमा कति महान् बनाइदियौ आमा मलाई तिम्रो नजरमा! जागिर नि खान थालें। तिमीलाई अब 'जागिर नि खान जान्छे, नानी कसरि व्यवस्थापन गर्छे' यो सब मैले सोच्नुभन्दा अघि तिमीले सोचीवरी सबै प्रबन्ध मिलाइदिन्छ्यौ। आमा हेर त! तिम्रो मेरो कनेक्सन गर्भदेखि सुरुआत भएर कहाँसम्म आइपुग्यो?
घरीघरी तिमीलाई अंगालोभरि पाउन खोज्छु। मनभरि अनुभव गर्न खोज्छु अनि फोन गर्छु, खाली खाली हुन्छु। तृप्त हुन्न। रुसोले झैँ माया गरुँ कि! कपाल निलु कि! कसो गरुँ!