एक्काइसौँ शताब्दीमा आइपुग्दा आधा आकाश र आधा धर्ती हो नारी भनेर धेरै ठाउँमा भाषण गर्यौं र सुन्यौँ पनि। तर नारी र पुरुष बीचको विभेद यति फराकिलो छ कि न बुझिसक्नु छ न त बुझाइसक्नु नै।
हामी जतिसुकै भनौँ छोरा र छोरीमा फरक गर्दिनँ भनेर तर हाम्रो कुनै न कुनै क्रियाकलापमा विभेद झल्किहाल्छ। हामीले गर्ने व्यवहारमा विभेद झल्किन्छ। यदि हामीले विभेद गरिरहेका छैनौँ भने हाम्रो समाज तयार भएर बसेको हुन्छ हामीलाई छोरा र छोरीले गर्न हुने र गर्न नहुने सीमारेखाहरू तोक्नको लागि।
मेरी सात वर्षकी छोरीले विवाह गरेपछि बाबा-मामुलाई छोडेर जानु पर्छ रे, बाबा-मामुसँग बस्न पाइन्न रे भनेको सुनिछ। एकदिन जिस्किएर बाबाले- आमाको (हजुरआमा) त सात वर्षमा बिहे भाको रे, ‘तिमी पनि सात वर्ष भयौ अब तिम्रो नि विवाह गर्नु पर्यो’ भन्दिनु भयो।
विवाह भनेको नबुझेकी मेरी छोरीले ‘म त बाबा र मामुसँग नै विवाह गर्ने हो’ भनी। हामी सबै हाँस्यौँ अनि ‘मेरी माया, हामीसँगै बस्ने हो त’ भनेर उसलाई बुझाएँ। तर यसपालि उसले विवाह गरेपछि बाबा-मामुसँग बस्न पाइदैन भन्ने बुझी।
तर यो नियम छोरीमा मात्र लागु हुन्छ है भन्ने कुरा बुझेकी छैन। यो कुरा बुझ्नमा पनि ‘लै लै लै, मेरी छोरी खोई?’ भन्ने चर्चित गीतले नै भूमिका खेल्यो भन्नु पर्यो।
एकदिन बाबा, छोरी र छोरा बसेर टिभी हेर्दै थिए। गीत बजेछ ‘लै लै लै, मेरी छोरी खोई?’ गीतमा जब छोरीको विवाह हुन्छ अनि बाबु बनेका दिलिप रायमाझी रुन थाल्छन। अनि मेरी छोरीको बाबाले भन्नु भएछ ‘तिमी पनि एकदिन यसरी नै बाबा- मामुलाई छोडेर जान्छेऊ अनि म रोएर बस्छु।’
यति सुन्ने बित्तिकै छोरी डाँको छोडेर रुन थाली। टिभी पनि कसैलाई हेर्न दिइन र आफूले पनि हेरिन। त्यो गीत त झन् हेर्न नै मान्दिन र त्यसको केही दिनपछि बिहान उठ्ने बित्तिकै उसले बाबालाई भन्दै थिई- ‘बाबा, बिहे गरेपछि बाबा-आमासँग बस्न पाइदैन भनेको होइन, हजुरको पनि बिहे भइसक्यो त। हजुर किन अझ पनि आमा-बुवासँग बसिसिन्छ?’
अब उसलाई बुझाउनको लागि ‘म त छोरा हो नि, छोराले त बिहे गरेर ल्याउने हो जाने होइन, छोरीहरू मात्र अर्काको घर जाने हो’ भनेर बुझाउनु पर्यो। तर त्यति भन्दा पनि उसको मन शान्त हुँदैन।
उसले फेरी सोधिहाल्छे- ‘किन छोरी अर्काको घरमा जाने बाबा-मामु छोडेर अनि छोरा चाहिँ बाबा-मामुसँग बस्ने?’ भनेर।
त्यसैले होला बाबा केही बोल्नु भएन, मैले नै छोरीलाई अरु नै कुरामा भुलाएँ र ऊ भुली पनि हाली। तर उसले फेरि कुन दिन सम्झिन्छे अनि सोध्न बेर लगाउदिन। जतिसुकै पढेलेखेका बाबा-आमा भए पनि केही न केही कुरामा तिमी त छोरी हौ नि त भन्ने शब्द निस्की नै हाल्छ।
एकदिन के कुरामा हो छोरी ठूल्ठूलो स्वरले बोल्दै थिई। आवाज निकालेर हाँस्दै थिई। त्यतिकैमा बुवा आउनु भो र भन्नु भयो, ‘छोरी मान्छे त विस्तारै बोल्न पर्छ अनि विस्तारै हाँस्न पर्छ।’
‘विस्तारै बोल्न र विस्तारै हाँस्न पर्छ चाहिँ हो तर छोरीले मात्र चाहिँ होइन है’ भन्न पनि मन लागेन किनकि उहाँहरू त्यस्तै समाजबाट आउनु भएको हो र त्यही परम्परागत विचार मै त हुनुहुन्छ नि जसलाई बदल्न गाह्रो छ।
तर केही दिन पहिला मैले अर्को एउटा गीत हेरेँ। मेरी छोरी खोई होइन मेरो छोरो खोई? शब्दहरू सबै उस्तै, छोरीको ठाउँमा छोरो राखिदिएको। मलाई दुवै गीतहरू साह्रै नै मन परेका हुन् र गीत हेर्दा आँखाबाट आँसु पनि खसे।
आँसुको मामलामा कुरा गर्न पर्दा, साह्रै नै सस्ता आँसु छन् मेरा। यति चाँडै बग्छन् कि कुरो गरी साध्य नै छैन। साह्रै नै मिठा र मार्मिक शब्दहरू छन्, शब्द चयन कति राम्रोसँग भएको, स्वर उस्तै राम्रो अनि अभिनय उस्तै राम्रो सबैको।
तर मलाई साह्रै नै चित्त नबुझेको पाटो के रह्यो भने दुवै गीत हेर्दा छोरी भनिएकोमा छोरी ठूली हुन्छे अनि विवाह गरेर पठाइन्छ भने छोरा भनिएकोमा छोरा ठूलो हुन्छ अनि गाउँकै पहिलो डक्टर बनेर आउँछ।
यसको मतलब सबैले त यही नै बुझे कि बाबु एक्लै भएपनि छोरी बाबाको साहरा बन्न सक्दिन किनकि ऊ अर्काको घर जाने जात हो। परिवार, समाज र राष्ट्रको लागि सोच्ने र गर्ने छोरा मात्र हो। र यहि सोचको चित्रण मजाले गरेको पाएँ मैले यी दुई गीतका भिडिओहरू हेरेर।
छोरी र छोरा बीचको विभेदको एउटा नमुना मात्र हो यो। यस्ता कयौँ क्रियाकलापहरू हामीले भोगिरहेका छौँ। छोरी भएकै कारण मैले मेरी छोरीलाई एक्लै स्कूल पठाउन सकदिनँ, उसको साथीको घर त्यही नजिकै छ, कहिले काहीँ साथीकोमा जान खोज्छे तर म त्यहाँ पठाउन सक्दिनँ।
घर बाहिर कति धेरै बच्चाहरू खेलिरहेका हुन्छन् तर म उसलाई खेल्नको लागि घर बाहिर पठाउन पनि त सक्दिनँ। छोरीलाई घर भित्र थुनेर राख्न बाध्य छौँ हामी अनि हरेक पल उनीहरूलाई तिमी छोरी हौ है भन्ने कुराको बोध गराइरहन्छौँ हाम्रै व्यवहारबाट।
कसरी बोल्ने, कसरी खाने, कसरी हिँड्ने, कसरी हाँस्ने अनि कसरी बस्ने भनेर पनि सिकाई रहन्छौँ। छोरा र छोरीबीचको यो विभेदको खाडल अझ कति फराकिलो बन्ने हो अनि यो खाडलमा कति छोरीहरूले अझ जाकिनु पर्ने हो थाहा छैन।
जतिसुकै हक र अधिकारको कुरा गरे पनि, समानताको कुरा गरे पनि छोरीलाई हेर्ने हाम्रो दृष्टिकोणमा जबसम्म परिवर्तन आउँदैन, जबसम्म हामी छोरीलाई अर्काको घर जाने जात भनेर बुझाई रहन्छौ, विचरा बनाइरहन्छौँ तबसम्म हाम्रा छोरीहरूले आफूलाई सुरक्षित महशुस कसरी गर्ने अनि मैले पनि परिवार, समाज र राष्ट्रको केही गर्न सक्छु भन्ने कुरामा निर्धक्क कहिले हुने?