समय परिवर्तनशील छ। परिवर्तनशील समयसँगै धेरै कुरा परिवर्तन हुँदै गएका छन्। आजभोलि बालबालिकामा पनि धेरै परिवर्तनहरु आएका छन्।
प्रत्येक बालबालिका देश र समाजका कर्णधार हुन्। उनीहरु घरको काम गर्न किन रुचाउँदैनन्? अन्य कारण के हुनसक्छ?
करिब २० वर्ष अगाडिको कुरो हो। म माध्यमिक तहमा अध्ययनरत थिएँ। त्यो बेला बिहान उठेर घर, आँगन बढार्ने, तरकारी बारीमा पानी लगाउने, घरमा पालेका खसी बाख्रालाई घाँस काट्ने। यो मेरो हरेक दिनको जिम्मेवारी हुन्थ्यो।
सबै काम सकी तयार भएर करिब १ घण्टा दूरीको विद्यालयमा पढ्न जानुपर्थ्यो। साँझ फर्केर आइसकेपछि पनि घरको काम उत्तिकै हुन्थ्यो। आफ्नो पढाइलाई पनि ध्यान दिनुपर्ने छँदै थियो। विद्यालयको पढाइ पनि राम्रै थियो।
म मात्रै होइन, त्यो समयमा हरेक बालबालिकाले अध्ययनसँगै घरको काम गर्थे। मेरा दाइ, दिदीहरुको पनि पढाइसँगै घरको कामको आआफ्नो जिम्मेवारी हुन्थ्यो। सबैले जिम्मेवारी पूरा गर्नैपर्ने बाध्यता पनि हुन्थ्यो, यसै मेसोमा त घर चल्थ्यो।
नभए बुवाआमाको प्रेसरले मात्रै घर चल्न मुस्किल हुन्थ्यो। हामीले पनि पढ्थ्यौं, हाम्रा सन्तानले पनि पढिरहेका छन्। हामी घर र विद्यालय दुवै सम्हाल्थ्यौं तर अहिले नयाँ पिढीँकाले किन पढाइ र घरको काम सँगसँगै गर्न सक्दैनन्? या हामीले गर्न दिइरहेका छैनौं?
मेरी एउटी साथी छिन्, उनका १२ वर्षका छोरा छन्, उनी आफै खाना खाँदैनन्। साथीलेनै खुवाइदिन्छिन्। कैयौँपटक उनको घरमा जाँदा छोरालाई उनी आफैले खाना खुवाउँदै गरेको मैले देखेको छु।
मैले यो दृष्य देखेपछि भनें, 'तिम्रो बाबू यति ठूलो भइसक्यो, अझै खाना आफैले खुवाइदिंदै छौ, भोलिपर्सि बिहे गरेपछि
पनि छोरालाई बुहारीले तिमीले जस्तै खुवाइदिने होला हैन त?'
मैले यसो भन्दा उनी गललल हाँस्दै भनिन्, 'अब त्यही त होला नि।'
अहिलेको वास्तविक परिस्थिति धेरैकोमा यस्तै हुनुपर्छ। धेरैलाई यो समस्याले पिरोलेको होला सायद। आजकालका केटाकेटी टिभी, मोबाइल, ल्यापटपमा झुण्डिने बाहेक अरु काममा खासै मन लगाउँदैनन्। अभिभावकहरु पनि ‘तिमीबाट यो हुनै सक्तैन’ भनेर काम गर्नै दिंदैनन्।
यस्तो माहोल भएपछि केटाकेटीहरु केही गर्नुअघि नै हतोत्साही हुन्छन्। आफैले केही गर्न खोज्दा अभिभावक कराउँछन्, सातो खान्छन्। सरसफाइ वा किचनको काम गर्न खोज्दा बिग्रन्छ भनेर सर्तक गराउँछन्। बच्चा अग्रसर हुँदा अभिभावकले सह्राहना नगर्दा बच्चा ‘नर्भस’ हुन्छन्।
खाना खाँदा कपडामा पोखिन्छ भनेर डर देखाउँदा उनीहरु आफैले खाना खाने हिम्मत समेत गर्दैनन्। लुगा धुँदा साबुन सकिन्छ भन्ने पिरले बच्चालाई लुगा धुन दिंदैनन्। सानैदेखि बिग्रिन्छ, भत्किन्छ। यो नचलाऊ। उ नचलाऊ, भन्दा भन्दै उसको मानसिक स्वास्थ्यमा गम्भीर असर परिसकेको हुन्छ र अन्तत ग्याजेटको सहारामा बच्चा पुग्छ। यसको जिम्मेवार को त?
अहिलेका अभिभावक प्रायः सबै कामकाजी नै हुन्छन्। एकल परिवारको चलन छ। हजुरवुवा/हजुरआमासँग बस्ने चलन हराइसकेको छ। अभिभावक स्वयमले पनि आफ्ना छोराछोरीको लागि समय निकाल्न सक्दैनन्। फुर्सदिला अभिभावकले पनि आफ्ना सन्तानलाई भत्किने/बिग्रिने बहानामा कुनै काममा लगाउँदैनन्।
मेरी अर्की साथी छ। उसकी ११ वर्षकी छोरी छ। ऊ पेशाले पत्रकार हो। प्राइभेट मिडियामा दैनिक ७ घण्टा ड्युटी गर्छे। श्रीमान् विदेश गएको १० वर्ष भइसक्यो। नेपाल ३/४ वर्षमा आउँछन्। अब श्रीमानबाट दैनिक घरायासी काममा कुनै सहयोग हुने कुरो भएन।
यस्तो अवस्थामा छोरी ७ वर्षकी हुँदादेखि नै घरको काम सिकाएकी रहिछ। ऊ काममा जाँदा छोरीले खाना पकाउँछिन्। घर सफा गर्छिन्। लुगा धुन्छिन्। पकाएका भाँडा सफा गर्छिन्। सबै घरायासी काम सकेर विद्यालय पढ्न जान्छिन्। उनको पढाइ पनि राम्रो छ।
अब अर्को उदाहरण हेरौं, मेरी अर्की साथी जो आफ्नै कम्पनी सञ्चालन गर्छिन्। आफैले सञ्चालन गरेको भएपछि काममा अलिकति सहजता त हुने नै भयो। ८ कक्षामा अध्ययनरत छोराको विद्यालय ३ बजे छुट्छ। घरमा आमा पनि हुनुहुन्छ तर ऊ आफै नगए छोराले खाजा खाँदैन रे!
विद्यालयको लुगा पनि चेञ्ज गर्दैन रे! यसो भन्दै उनी हतार/हतार घर दौडिन्थिन्। सिनेमा हेर्न गयो, घर फर्किन हतार! खाजा खान थाल्यो छोराकै चिन्ता! उनको यस्तो हर्कतले बच्चा यतिसम्म उनीमाथि निर्भर भएछकी ऊ एक्लै नुहाउन पनि नसक्ने अवस्थामा पुगेछ।
नुहाउनकै लागि पनि आमाकै साहारा चाहिने! मैले कैयौं भेटमा उनीलाई सम्झाएको थिएँ, 'बच्चालाई यतिधेरै निर्भर पनि नबनाऊ, ऊ आफै केही गर्न नसक्नेहोस् भनेर। उमेर अनुसार उनीहरुलाई आफ्नो सँगसँगै घरको काम गर्न सिकाउनु पर्छ।'
त्यतिबेला मेरा कुरामा खासै चासो नदेखाएकी साथीले अहिले भने आफ्नो सन्तानलाई बेलैमा आत्मनिर्भर बनाउन नसकेकोमा पछुतो मान्छिन्। माथिका उदाहरणमा भेटिएका फरकबाटै हामीले पत्ता लगाउन सक्छौंकी आफ्नो सन्तानलाई आत्मनिर्भर बनाउने कि परनिर्भर?
मेरी एकजना आन्टी हुनुहुन्छ, उहाँको डेरामा जाँदा छोरीले खाजा बनाउँछिन्। विद्यालयबाट घर फर्किसकेपछि खाजा आफैं बनाएर खाएको मैले धेरैपल्ट देखेकी छु। आन्टी-अंकल दुवैजना सरकारी जागिरे हुनुहुन्छ। आन्टी भन्नुहुन्छ, 'हामी घरमा नभएको बेला छोरीले खाजा बनाएर खान्छिन्। उनीले आफ्नो काम आफै गरेको देख्दा मलाई पनि खुसी लाग्छ।'
यसरी सन्तान आत्मनिर्भर बनिदिने हो भने स्वयं सन्तानलाई त फाइदा पुग्छ नै, अभिभावकलाई पनि सन्तुष्टी मिल्छ। सानैदेखि बालबालिकालाई कामको जिम्मेवारी दिए ‘म सक्षम छु’, ‘गर्न सक्छु’ भन्ने सोच उनीहरुमा आउँछ। बालबालिकामा आत्मविश्वास बढाउँछ।
तर आफ्नो सन्तानको उमेर अनुसार काम गर्ने बेला भयो कि भएन? भनेर छुट्याउनैपर्छ। नत्र बालबालिका दुर्घटनाको शिकार बन्न सक्छन्। अहिले कोरोनाका कारण विद्यालयहरु बन्द छन्। पढेपनि अनलाइनमै पढ्छन्। पहिलेजस्तो विद्यालय जाने चटारो बालबालिकालाई छैन। यही समयको सदुपयोग गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउन पहल गर्न सकिन्छ।
अभिभावकले राम्ररी सोचौं त, मायाका खातिर छोराछोरीका लागि भनेर सबै काम आफैले गरिरहेका छौं, यसबाट उनीहरुलाई परनिर्भर त बनाइरहेका छैनौं? आफ्ना सन्तानजत्तिको माया अरुको कसको होला र! तर उनीहरु वयस्क अवस्थामा पनि हरेक ससना कुरामा आमाबुवाकै भरपर्ने भए भने अवस्था के हुन्छ?
त्यसैले बेलैमा सोचौं, आफ्ना सन्तानलाई उमेर अनुसारको जिम्मेवारी दिएर आत्मनिर्भर बन्न प्रेरित गरौं।