पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो। अद्धितिय प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ।
विशेषत: प्राकृतिक सुन्दरता, महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक साँस्कृतिक तथा पुरातात्त्विक सम्पदा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका सम्पदा हुन्। यस्ता सम्पदाको संरक्षण, प्रवर्द्धन र विविधीकरण गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्नु जरुरी रहेको छ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा २.५ प्रतिशत योगदान रहेको यस क्षेत्रको प्रवर्द्धनबाट बिभिन्न प्रकारका रोजगारीका अवसर वृद्धि गर्न सकिन्छ। गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्त्वपूर्ण योगदान रहन्छ। अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने भएकोले पर्यटन अर्थतन्त्रको प्रमुख सम्वाहक पनि हो।
हुनत: विश्व नै कोभिडले आक्रान्त भएको वेला ज्यानभन्दा पर्यटनको के कुरा भन्ने आउला। तर पर्यटन व्यवसायसँग करीव २ लाख भन्दा बढी जनसंख्या प्रत्यक्ष रुपमा रोजगारमा रहेकोले उनीहरू र आश्रित परिवारमा पर्नसक्ने मनोवैज्ञानिक प्रभावको बारेमा बेलैमा सम्बोधन गरिनु जरूरी देखिन्छ।
पर्यटनको लागि नेपालमा अनुपम प्राकृतिक सौन्दर्य, अद्धितीय पर्यटकीय क्षेत्रको विद्यमानता, सगरमाथालगायत पर्वत तथा पर्वतारोहण मनमोहक हिमश्रृंखला, प्राचीन कला संस्कृतिको भण्डार, वुद्धको जन्मभूमी, एकसिंगे गैडालगायत दुर्लभ वन्यजन्तु, पदयात्रा, साहसिक यात्रा गर्न सकिने प्रर्याप्त स्थानहरु हुनु, पर्यटन क्षेत्रमा निजी लगानीमा बृद्धि, गैर आवसीय नेपालीको सकृयता, अन्य मुलुकसँग हवाई सेवामा बृद्धि, अन्तराष्ट्रिय संस्थाद्धारा विश्वमा भ्रमण गर्नु पर्ने स्थानहरुको सूचीमा नेपालका पर्यटकीय गन्तव्य समावेस हुँदै जानु, छिमेकी मुलुक चीन तथा भारतबाट ठूलो संख्यामा पर्यटक आउनसक्ने सम्भावना, संघीयताको कारण संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहनु नेपालमा पर्यटनको लागि सुखद सम्भावना हुन्।
यहि सम्भावनाको समुचित प्रयोगबाट राष्ट्रिय आयमा बृद्धि, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान साथै रोजगारीमा बृद्घि र बैदेशिक मुद्रा सञ्चिती बढ्ने अवसर समेत रहन्छ। यहि अनुरूप नेपाल सरकारले १९९८, २०११ र २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। वाह्य तथा आन्तरिक पर्यटन बढाउने, नेपाललाई आकर्षक अद्धितिय पर्यटकीय स्थलको रुपमा विकास गर्ने, अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रचार प्रसार गर्ने, प्रशस्त पर्यटन सम्भावना भएका क्षेत्र पहिचान र विकास गर्ने, पर्यटकको गुणस्तरमा बृद्धि गर्ने, पर्यटकीय स्थानको लागि संरचना निर्माण गर्ने त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने जस्ता उदेश्य राखिएका थिए। जसबाट लाखौ पर्यटक भित्र्याउने लक्ष्य थियो।
विगत २०७२ सालको भूकम्पबाट ओरालो लागेको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किने सुरमा थियो। तर पुन:गत वर्षदेखि शुरू भएको कोभिड -१९ को कारण नराम्ररी थला पर्यो। जसको फलस्वरूप विश्व अर्थतन्त्र ओरालो लाग्ने गरी पर्यटन क्षेत्र धरासायी भयो। सायद: विश्व इतिहासमा विश्वका सबै पर्यटकीय स्थलहरू यसरी सुनसान भएको सम्भवतः पहिलो पटक हुनुपर्छ।
विश्वमै आर्थिक कृयाककलाप संकुचित भएका बेला कोभिडको लागि महत्वपूर्ण सामाजिक दुरीको नीति र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आवागमनमा भएको अवरोधले सबभन्दा धेरै पर्यटन उद्योग प्रभावित बन्यो।
त्यसो त नेपालमा प्रमुख पर्यटन गन्तव्यबाट सिधा हवाइ सेवा नहुनु, भए हवाइ सीटको संख्यामा कमी रहनु र हवाइ भाडा समेत महँगो, विदेशी पर्यटकलाई उपलब्ध गराइने सेवा सुविधा वारेमा पर्याप्त सूचना प्रवाह नभएको र स्वदेश भित्रका होटल, ट्राभल, टुर अपरेटरबीच सञ्जाल स्थापना गर्न सकिएको छैन।
यस्तै पर्यटकीय स्थलहरुको पहिचान गरी ती क्षेत्रमा पूर्वाधारको एकीकृत र समन्वयात्मक रुपमा विकास गर्न नसकिएको, पूर्वाधारहरु पनि पर्यटन–मैत्री बनाउन नसकिएको, पर्यटन विकासका संभावना र संभाव्य स्थलहरुको उचित विकास, विस्तार, संरक्षण र प्रचार प्रसार गर्न नसकिएको, पर्यटन तथा नागरिक उड्डयन सम्बन्धी क्षेत्र र उपयोगहरुमा वैदेशिक लगानी आकर्षण गर्न सकिएको छैन।
तीन तहको सरकार, सरकारी, गैर सरकारी क्षेत्रका कर्मचारी कामदारलाई यो सुविधा उपलब्ध गराई आन्तरिक पर्यटक संख्या बढाउन नसकिएको, आन्तरिक पर्यटन प्रवर्धन गर्ने कार्य गर्न नसकिएको, त्रिभुवन अन्तर्राष्ट्रिय हवाइ क्षेत्रको क्षमता बढाउन र स्तरोन्नति गर्न नसकिएको, जस्ता यावत समस्याहरु विधमान छन्।
यसका अलावा नेपालको पर्यटन विकासमा पर्यटन उपज र क्रियाकलापको अपेक्षित उत्पादन, विकास र विविधिकरण हुन नसक्नु, अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्द्धन अपेक्षित रूपमा गर्न नसकिनु, पर्यटन पूर्वाधारको कमी हुनु, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन र पर्यटन विकासमा निजी क्षेत्रलाई पर्याप्त सहभागी गराउन नसक्नु, पर्यटन क्षेत्रको विकासमा उद्यमशीलता विकासलाई जोड्न नसकिनु, पर्यटन क्षेत्रबाट प्राप्त लाभको न्यायोचित वितरण हुन नसक्नु र पर्यटकीय गतिविधि प्रविधिमैत्री नहुनु जस्ता प्रमुख समस्या हुन्।
विश्व पर्यटन बजारमा नेपाललाई प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नु, हवाई सेवाको सुरक्षा, विश्वसनीयता विस्तार गर्नु, पर्यटकीय सेवा-सुविधाको गुणस्तर वृद्धि गर्नु, नयाँ गन्तव्य स्थलहरूको पहिचान र विविधीकरण गर्नु, पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु, पर्यटन उद्योग र पर्यटन अर्थतन्त्रको रूपमा नेपाललाई विकास गर्ने सोच तयार गर्नु र यस क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको पर्याप्तता कायम राख्नु, यस क्षेत्रमा जलवायु परिवर्तनजन्य जोखिमबाट आउने असर कम गर्नु चुनौतीको रूपमा रहेका छन्।
यसैगरी पर्यटकको खर्च र बसाई अवधि वृद्धि गर्ने गरी पर्यटन उपजको विविधिकरण र प्याकेजिङ गर्नु, गुणस्तरीय पर्यटक आगमन वृद्धि गर्नु, पर्यटन सेवालाई छरितो, पर्यटकमैत्री, सुरक्षित र विश्वासिलो बनाउनु, आधुनिक प्रविधि र उपकरणको प्रयोग गरी पर्यटन उपजहरू चित्ताकर्षक र मनोरञ्जनात्मक बनाई पर्यटकलाई व्यस्त बनाउनु हाम्रो सामु चुनौतिको रुपमा रहेका छन् ।
उल्लेखित समस्या तथा चुनौतीको वावजुत पनि नेपाल असीमित पर्यटकीय संभावनाहरु भएको देश हो। संघीय संरचना अनुरूप तीन तहका सरकारबाट पर्यटन क्षेत्रमा उत्साहजनक काम गर्ने वातावरण तयार हुनु, भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण हुनु , नयाँ पर्यटकीय गन्तव्यहरूको विकास हुँदै जानु, अन्तर्राष्ट्रिय विमानस्थलहरू लगायत पर्यटन पूर्वाधारहरूको निर्माणले गति लिनु, द्रूत विकास भइरहेका छिमेकी राष्ट्रहरूको नेपालसँग सन्निकटता हुनु, प्राकृतिक सुन्दरता, अनन्त शान्तिआभाष, सौम्यता, आध्यात्मिकता, प्राचीन ज्ञान र दर्शनको उद्गमस्थल, जैविक विविधता, विशिष्ट प्रकृतिका पर्यटकीय गन्तव्य र उपजहरूका कारण पर्यटन केन्द्र (Tourism Hub) बन्न सक्ने प्रबल सम्भावनाले समृद्धिको एउटा प्रमुख सम्वाहकको रूपमा पर्यटन क्षेत्र स्थापित हुन सक्ने अवसर छ।
पर्यटन क्षेत्रको विकासका संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ-आफ्नो क्षेत्रबाट काम गर्न जरुरी छ। जसको लागि तीनै तहको अधिकारक्षेत्र र भूमिकामा केन्द्रित रही कार्य गर्नुपर्छ।
पर्यटनको लागि आवश्यक पर्ने पर्यटन पूर्वाधारको विकास गर्ने। विशेष गरी पूर्वाधार निर्माण गर्दा पर्यटक मैत्री सेवा सुविधामा जोड दिने। हवाइ, सडक र पैदल मार्गको गन्तव्य तय गरी प्रचार-प्रसार गर्ने। सडकमा सूचना वोर्ड राख्ने, पर्यटक गाइडलाई तालिम दिई पेशागत रुपमा दक्ष बनाउने, ट्रेकिंग एरियामा प्राथमिक उपचार केन्द्रको स्थापना गर्ने।
सूचना प्रविधिको उपलव्धता गराउने, रारा, खप्तड, गोसाइकुण्ड, शे-फोक्सुण्डो, जस्ता स्थानको प्रवर्धन गरी त्यहाँसम्म पुग्न आवश्यक पर्ने सुविधा प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्छ।
पर्यटकीय मार्ग पहिचान गरी प्रसार प्रचार गर्ने। अन्तराष्ट्रिय रूपमा राजदूतावासमार्फत सूचना प्रवाह गर्ने। गैर आवासीय नेपालीलाई नेपाल पर्यटक भित्राउन पहल गर्न यसको जिम्मेवारी दिने। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको स्तरोन्नतीबाहेक थप गौतम बुद्ध अन्तर्राष्टिय विमानस्थल, पोखरा क्षेत्रिय अन्तर्राष्टिय विमानस्थल र निजगढ अन्तर्राष्टिय बिमानस्थलको काम छिटो सम्पन्न गरी संचालनमा ल्याउनुपर्छ।
पद मार्गका लागि पूर्वदेखि पश्चिम नेपालको हिमाली क्षेत्र समेट्ने The Great Himalayan Trail ( GHT) को १२७ km DPR तयार भएको छ यसलाई छिटो सम्पन्न गर्नुपर्ने देखिएको छ।
विशेष प्याकेजमार्फत स्वदेशी बिदेशी पर्यटक बढाउने र औषत खर्चमा बृद्धि गर्ने वातावरण बनाउने। पर्यटक आकर्षित गर्ने र भित्र्याउने मात्र होइन पर्यटकलाई लामो समयसम्म बस्न बसाइ अवधि बढाउने वातावरण मिलाउनुपर्छ।
पुरातन सम्पदा पुर्ननिर्माण पुरातात्विक मौलिकता प्रर्बद्धन, अतिथि सत्कारलाई पर्यटक भित्रने आगमन बिन्दुदेखि प्रस्थान गन्तब्य सम्म अतिथी देवो: भवको सार्थकता झल्किने गरी कार्य गर्नुपर्छ। पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिलाई दक्ष बनाउने, भाषिक ज्ञान हुनुपर्ने, गाइडलाई उक्त स्थानको जोखिम र त्यससँग जुध्न तयारीबारे जानकार बनाउने गरी मानव शंसाधन विकास गर्ने।
यी सम्पूर्ण कार्य गर्न सार्वजनिक, निजी र सहकारीको साझेदारीमा कार्य गरेर अगाडि बढ्नुपर्छ। मुलुकको संरक्षित क्षेत्रमा विविध पर्यटकीय क्रियाकलाप गरी पर्यटक आकर्षित गर्ने। साथै पर्यटकीय क्षेत्रबाट प्राप्त लाभलाई स्थानीयस्तरसम्म पुर्याउने, सरकारको पहलमा पर्यटन ब्यवसायी, निजी क्षेत्र, नागरिक समाज, होटल ब्यवसायी, गैर आवासीय नेपाली, स्वदेश र बिदेशमा रहेका कुटनीतिक नियोग लगायत सबै सरोकार पक्षवीच सहकार्य गर्नुपर्छ।
तर अहिले कोभिडले आक्रान्त पारेको समयमा हामीले अन्य क्षेत्रको अलावा यस क्षेत्र संचालनमा लाग्ने खर्चको सावा ब्याज भुक्तानीको समय थप्ने र सहज सरल कर्जा उपलब्ध गराउने वातावरण मिलाउनुपर्छ।
असारमा बुझाउनुपर्ने करको किस्ता रकमको म्याद थप्ने। सानो पूँजिबाट ग्रामिण क्षेत्रमा पर्यटन सम्बधित काम गर्ने ब्यक्ति र फर्मलाई पूँजी उपलब्ध गराउने। पदयात्रालाई थप बिश्वसनीय र भरपर्दो बनाउन पदयात्रा जादा अनिवार्य विमा गर्ने नियम कार्यान्यवन गर्ने। छिमेकी मुलुक तथा प्रमुख पर्यटन बजारमा नेपाली पर्यटनको व्यापक प्रचार-प्रसार र प्रवर्द्धन गर्ने तथा पर्यटनको सम्भावना बोकेका शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्नुपर्छ।
यसका लागि नेतृत्वको कार्यकुशलता र दृढ इच्छाशक्ति र तिनै तहका सरकारबीच समन्यव हुन जरुरी छ।
संविधानपद्धत हक अधिकारको कानुन कार्यान्वयनमा जोड दिने। आन्तरिक पर्यटकलाई विशेष महत्व दिइ, विशेषत यस क्षेत्रको विकासमा ध्यान दिएर पुनरावलोकन र प्राथमिकीकरण गर्नुपर्नेछ।
कोभिड १९ को आक्रामक र संवेदनशील अवस्थामा कमी आए लगत्तै सुरक्षाका मापदण्ड अपनाइ पर्यटक क्षेत्रहरु नेपाल सरकारले खुला गर्ने। यसका लागि पर्यटन बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिशेष पहल गरि नीति, रणनीति र कार्यनीति बनाइ कार्यान्यवन गर्नु गराउनुपर्छ।