केही दिन अगाडि मेरो कलेजकी सिनियर प्रतिभा दिदीले फेसबुकमा राम्रो प्रश्न उठाउनु भयो। आफ्नो काम ल्याकतले देश-विदेशमा महत्वपूर्ण पदमा रही काम गर्नु हुने उहाँ नयाँ आमा पनि हुनुहुन्छ।
दिदी झैं दिदीका श्रीमान् पनि प्रतिभावान हुनुहुन्छ, तर उहाँलाई बाबु भएर गर्नुपर्ने जिम्मेवारी पूरा गरेकोमा धेरै नै वाह वाह! र दिदीलाई आफ्नो जिम्मेवारी पूरा गरेकोमा सामान्य कुरा भनी उल्लेख गरिएको मलाई पनि चित्त बुझेन।
यी कुराहरु आफूसँग कैयौं पटक मेल खाए झैँ लाग्यो। कतिपटक नभनुम् त मन पोल्छ बोलम् त अरुले पोल्छन्, आखिर ओक्किल्नी त हो भनेर। त्यसपछि त के थियो र बुरुरुरु कमेन्टको वर्षा भयो 'ओक्किल्नी' 'नोक्किल्नी' सबैले यसरी ओकले कि मानौं यी कुराहरुले उनीहरुलाई पनि निस्सास लग्निगरी थिचेका थिए।
कति पटक सोचेँ कुनै लेख लेखौँ अनि मनका कुरा पोखुँ तर पहिले स्पेनको बुल फैटर जस्तो म सहमिन थालेछु। पटक-पटक प्रतिभा दिदी अनि अभिमा दिदीलाइ धन्यवाद दिन मन लाग्छ, लेखिराख्नू है हामी 'ओकिल्नी'हरुको हिम्मत बढ्छ।
मलाई मेरा कति साथी तथा दिदीहरुले भन्छन्- 'निकै भाग्यमानी! तेरो त श्रीमानले घरको काम सघाउने गर्दा रैछन्।' तर कहिले पनि उनीहरु तेरा श्रीमान कति भाग्यमानी, तैले आर्थिक हिसाबले सघाउँछेस् किन भन्दैनन्?
मेरो हरेक सीप जान्नी आमा, अनि दाइ जस्तै डाक्टर भाउजू, मल्टिनेसनल कम्पनीको ठूलो पदमा रहेको भाउजूले आर्थिक हिसाबमा सघाएका कुराहरु सामान्य मानिन्छन्। कुरा राम्रो हो, तर त्यस्तैगरी दाजुभाइ बुवाले घरको काम गर्नु किन सामान्य हुन सक्दैन?
मेरो दाजु, श्रीमान असल र मायालु छन्। कहिले काहीँ श्रीमान् मलाई पैसा राख न भन्नुहुन्छ तर मलाई पैसा लिन मन लाग्दैन किनकि मलाई भित्रबाट लाग्छ कि ऊ मेरो जीवनसाथी हो, मेरो एटिएम कार्ड होइन। म उसलाई साथ दिन चाहन्छु, आर्थिक भार होइन।
अर्को कुरा, काम कुरा गर्दा उसले घरको काम निक्कै ढंग पुर्याएर गर्छ। जस्तैः उसले जस्तो लुगा पट्याउन मलाई सायद अर्को जुनि लाग्छ होला तर पनि उसले कहिलेकाहीँ तरकारी काटेर, लुगा धोएर, श्रीमान् त पाएकै हो भनेर जिस्क्याउँदा लाग्छ कि घर सम्हाल्नु मेरो नै जिम्मेवारी हो।
महिना अगाडि लकडाउनमा छिमेकी दाइले कुचो लगाउँदा उसले छक्क परेर हेरे र भने- ‘लौ! म मात्र घरको काम गर्नी भनेको त दाइले गर्दा रहेछन्!’
अनि अंग्रेजीमा फेसपाम भनेर म लागेँ। तपाई भन्नु होला मेरो श्रीमती त काम नि गर्छे, पैसो नि माग्छे। हो, मैले माई इनकम इज माई, हिज इनकम इज फेमिली इनकम भन्ने मान्छे नि भेटेको छु र श्रीमतीले कमाएको उसैलाई पिटेर खोस्ने श्रीमान् पनि।
कुरो यस्तो होकि अचेलका बुहारीहरुलाई पहिले जस्तो घर के काम छ र भनेर भन्दा यो नि सम्झिउँ कि अचेल छोरो र ज्वाइँको आर्थिक बोझ नि घटेको छ त। इन्सुरेन्समा छुट, पिएफ दुवैको हुन्छ, चुटेको गोरु जस्तो भएर आउनुको सट्टा अलि अलि थकान दुवैको हुन्छ, उस्तै निन्द्रा लाग्छ।
बेला बेलामा पार्थले साथीहरुको डाइलग पाउँछ, यार तैले जस्तो बिहे त कसैले गरेनन्, भेट नै हुन्न।
कहिले काहीँ आफ्नो जीवनसाथीको बारेमा सोचम न, उनीहरु कति पटक आमा-बुवाकोमा गए, कतिपटक आफ्ना साथी भेटे, कति पटक सिनेमा हेर्न गए?
अनि तपाई कति पटक ससुराली बस्नी गरेर जानु भयो? कति पटक श्रीमतीका साथीहरु घरमा बोलाउनु भयो? आफ्नो घर, पहिरन, पहिचान सबैकुरामा परिवर्तन गर्न महिलालाई सामान्य, घरका जिम्मेवारी किन पुरुषलाई असामान्य?
मलाई घरमा काम सघौन आउने दिदीले छ बजे उठ्छ, पाँच बजे उठ्दैन र सात बजे उठेर आउनी मेरो श्रीमानलाई केही नभन्दा चित्त दुख्थ्यो। नित्य योग गरिसक्नी, घरको काम गरी बाहिरका काम पनि गर्दा पनि तिखो वचन खाँदा दुख लाग्थ्यो।
कति पटक पार्थसँग बोल्न पनि मन नहुनी। एकदिन सोचेँ, म मूर्खता गर्दैछु। चित्त नबुझेको कुरा त भन्नि पो नत्र त स्याना स्याना कुराले पछि सम्बन्ध बिगार्छ अनि अचेल पार्थ र म दुवै बिहान उठ्छौँ। ऊ साइक्लिङ गर्छ, म योग। जे भए नि यो नेपाल हो, केटी केटी नै हुन्छ भनी डाइलग बच्चैदेखि खाएको हो। त्यही चक्करमा कति पलायन भए।
यति भन्दा कतिले मलाई एकदम चन्डाल श्रीमती सोच्नु भो होला। खैर! इच्छा तपाइको, पार्थका सुख्खा खुट्टामा मजाले तोरीको तेल लगौनि मै हो र मेरो टाउकोमा पार्थले जस्तो मजाको तेल मालिस कसले गर्न सक्नु?
कति सुन्दर र सामान्य कुरो नि है? मेरो कुरो बस् यति हो, भविष्यमा परिवार माथि निबन्ध लेख्दा भविष्यका छोराछोरीले म धेरै काम गर्नी र आमा महान् नदेखून्। म बस् आमा हुने हो, रमाइलो आमा न कि महान् त्यागी।
मेरो आउने पुस्ताले लेखोस्, मेरो बुवा-आमा मिली-मिली काम गर्छन्। किनकि मेरो प्यारो श्रीमान काम गरिदिनी नभई काम गर्नी हुन्। त्यस्तै उसकी प्यारी श्रीमती पनि।