अहिले ड्युटी सिफ्टको आधा प्रहर बल्ल सकिँदैछ। बिरामीको ओइरो अझै उस्तै छ। लगातार आउने क्रम चलिरहेछ तर जाने भने खै एकाध अपवाद मात्र भए, अनि रहेपरे सब यहीँ थुप्रिँदै छन्।
आउने जाने सिलसिला त यसरी सधैँ नै चलिरहन्छ। यहाँ भएका सब बिरामीहरूको व्यवस्था सकेर पाँच/दश मिनेट सुस्ताउने मौका मिलेको समय मनको बहलाई कोर्ने कोसिस चल्दैछ अहिले।
आज पनि नाइट ड्युटीको सिफ्ट सुरु हुनु १०-१५ मिनेट पहिले नै आइपुगें, इमर्जेन्सीमा साथीलाई पालो दिन। साथी मलाई देखेर फिस्स हाँस्छन्, मनमनमा भने गद्गद होलान् आफ्नो पालो सकिएकोमा। खुलेर हाँस्न भने सकेनन्, सायद पिपिईको बोझले सिथिल शरीरमा जाँगर पनि त मर्यो होला नि।
पसिनाले निथ्रुक्क हुनेगरी बग्दा शरीरबाट ताकत पनि त बह्यो होला! अचेल चाँडै नै पुग्ने प्रयास गरेछु स्क्रब लगाएर। सबैको ड्रेस त्यही जो भएको छ। चाँडो नपुगे अघिल्लो सिफ्टको साथीलाई मर्का पर्छ फेरि। पिपिई लगाउनै लाग्छ त्यति समय त।
फेरि ती थुप्रिएका बिरामीहरूको फेहरिस्ता हेन्डओभर दिँदादिदैं आधा घण्टा जति त त्यसमै जान्छ अनि उसलाई आफ्नो पिपिई सावधानीपूर्वक निकाल्न अर्को ३० देखि ४५ मिनेट लागिहाल्छ। यसो गर्दा सिफ्ट सकेर पनि एक डेढ घण्टा अझै अस्पतालमै बस्नुपर्छ।
फेरि नुहाई सफाई गर्दा त! समय काल नै यस्तै छ, अस्पताल सकेसम्म कम बस्नु नै बेस। तर कोही जहिले ढिला गर्ने हुन्छन्, लेट लतिफ। रिस त उठ्छ तर पिउने गरेछु आफै, देखाउँन्न। पहिले त सुनाइन्थ्यो दुई-चार कुरा, अचेल त्यो नि बन्द गरेँ। सबैको आफ्नै समस्या हुन्छ नि के गर्ने!
खैर, चाँडै पुगेर साथीलाई त खुसी दिएँ तर आफै भने खिन्न परें। इमर्जेन्सी अहिले नै पूरा भरिएको छ भने अबको सिफ्ट के गर्ने होला? कोभिडको शंका छ तर बेड खाली छैन। कुनै वार्डमा बेड छैन वा आइियूमा खाली छैन भने कोही अन्य अस्पताल जान चाँहदैन वा भनौँ सक्दैनन्, जे जसो यहीँ इमर्जेन्सीमै हेर्नु पर्नेछ।
प्रायः त सिकिस्तै छन्। कति बेला के हुने भन्नै सकिन्न। इमर्जेन्सीमा भिड भएपछि भने समस्या सुरु हुन्छ। बेड नहुने, उपचार जाँचलाई समय लाग्ने, रिपोर्ट ढिला आउने अनि बिरामी र कुरुवाको असन्तुष्टि बढ्दै जानेसँगै हुन्छ। असन्तुष्टिपछि आक्रोश बढ्छ अनि...।
साथीले हरेक बेडको बिरामीको बिस्तार लगाई हेन्डओभर दिंदै गर्दा झ्याल बाहिर एम्बुलेन्सको साइरन सुनियो र रातो बत्ती देखियो। अर्को सिकिस्त बिरामी फेरि इमर्जेन्सीको ढोकामा आइपुगिसक्यो। पहिले नै भरिएको कोठामा अब कहाँ राख्ने? मलाई चिन्ता लाग्न थालिसक्यो।
यो त अहिले सुरुआत पनि भएको छैन। अहिले यो हाल छ भने रात त अझै पुरै बाँकी नै छ। के भन्छन्, 'रात अभी जवान है।' मनमनै आफूलाई सम्झाउँदैछु। सान्त्वना पनि दिन्छु। मनोबल त बढाउनै पर्यो। रात त जसरी पनि कटाउनै पर्यो।
प्रार्थना नि गरेँ। कोही सिकिस्त बिरामी अझै जटिल नहोस् र कुनै मोर्टालिटी नहोस् भन्दै भगवानको नाम लिएर सिफ्ट सुरु गरियो।
आउने क्रम त लगातार चलिनै रहेछ, जाने क्रम भने प्रायः शून्य छ। मुस्किलले १/२ जना वार्डतिर ट्रान्सफर हुँदैछन्। बाँकी भने सबै आफ्नो पालो कुर्दैछन्। नयाँ नयाँ बिरामी थपिने क्रम पनि जारी छ। कसैको सास छिटो चलिरहेछ भने कसैको धड्कन त कसैको होस् गुमेको छ र कसैलाई कम्पन छुटेको छ।
कसैलाई अक्सिजन दिइएको छ, कसैलाई लठ्ठिने औषधि भने कसैको मुटुको चाल मोनिटरमा नापिंदैछ। सबैलाई बेड र आइसियू. नभएको जानकारी सुरुमै गराउँदै काम सुरु गर्छु। एउटै बेडमा २/३ जना बिरामीहरू राखेर हेर्दैछु। कोही त कुरा सुन्छन् र बुझ्छन्। तर प्रायः कोही कराउँछन्, झगडा गर्छन् नानाभाती गलफत्ती गाली गर्छन् र तथानाम आरोप लगाउँछन्।
आफू भने निरीह प्राणी भएको सानो मुख लगाउँदै सब सुन्दै फेरि त्यही रटान लगाउन सुरु गर्छु- बेड नै छैन। समय बडो मुस्किल छ। 'यत्रो अस्पतालमा एउटा बेड नि छैन?' 'जसरी नि एउटा बेड मिलाइदिनु न!' भनेर भन्ने त सामान्य भयो।
चोर, लुटेरा, ठग, फटाहा, आदि त खै कति भइयो। अझ बाहिर जिल्लाबाट आएकाहरूलाई बुझाउनै गाह्रो। 'यही अस्पताल जान भनेर पठाको, यो नै राम्रो हुन्छ भनेर आएको, अन्त कता जाने था' छैन, यहीँ नै मिलाइदिनु,' आदि इत्यादि कुरा हुने।
होला सबैले यही अस्पताल भनेर आएको तर बेड छैन त म के गर्न सक्छु? अरुलाई हटाएर त तिनलाई राख्न नि मिलेन। राम्रो रिफरल सिस्टम नै छैन यहाँ। रिफर भन्यो पठायो। समन्वय नै हुँदैन, सञ्चार नै गर्दैन। रिफर कसरी गर्ने, कहाँ रिफर गर्ने, कसलाई रिफर गर्ने न कुनै सम्पर्क हुन्छ न केही जानकारी। कुनै सिस्टम नै छैन।
कहिले त लाग्छ कति रुखो बोल्दैछु, कति छुच्चो र निर्दयी भएछु। म यस्तो त कदापि थिइनँ। विडम्बना, परिस्थिति नै यस्तै छ। खरो भएर कुरा नराखे सुन्दैनन् अनि फेरि आफैलाई लापरबाहीको आरोप लाग्ला भन्ने डर। यति सम्झाउँदा त कुरा नबुझे जस्तो जाने बेला सब दोष चिकित्सक, नर्स र अस्पताललाई थोपरेर जान्छन्।
यति बेर बुझाउँदा त सुई लगाएर झन सिथिल पार्यो भन्छन् भने यसरी नभनी उपचार गर्दै जाउँ भनेर हेरियो भने के गर्लान्? आशा गरौँ कुनै दिन निर्धक्क भई फेरि बिरामी छोएर हेर्ने दिन चाँडै आउने छ।
अनि अहिलेको बिरामी र स्वास्थ्यकर्मी बीचको खाडल पनि छिट्टै पुरिनेछ र आम मानिसमा स्वास्थ्य उपचार र स्वास्थ्यकर्मीप्रति विश्वास बढ्ने छ र द्ववन्द कम हुने छ।
सुस्ताउन त कहाँ धेरै पाइन्छ र है इमर्जेन्सीमा। तैपनि मौका मिले जति त सुस्ताउनै पर्छ हामी पनि बीच बीचमा। लौ, फेरि झ्याल बाहिरबाट रातो बत्तीको उज्यालो देखिँदैछ साइरनसँगै। यो पनि अब व्यवस्था गर्ने पर्यो नि।
अझै आधा प्रहर त बाँकी नै छ। भनेकै हो, 'रात अभी जवान है।' अब फेरि सुस्ताउन पाइएला नपाइएला अहिलेको ब्रेक यति भयो। केही सोच्दै बोल्दछु, ‘२ पो बज्न लागेछ। सिस्टर! नयाँ बिरामी आए जस्तो छ तयारी गर्नुस्।’
(लेखक कान्ति बाल अस्पतालका मेडिकल अधिकृत हुन्।)