अहिले विश्वको प्राथमिकतामा कोभिड परेको छ। हाम्रो देशमा पनि लकडाउन झन् झन् कडा भइरहेको छ। सर्जनको आँखाबाट हेर्दा कतिपय बिरामीहरु अस्पताल आउन ढिला गरेको देखिन्छ। एप्पेन्डीसाईटिस भएर पिप जमेको वा फुटेको, आन्द्रा फुटेको, हर्नियामा आन्द्रा अड्केको, बटारिएको जस्ता जटिल अवस्थामा अस्पताल आउने देखिएको छ।
रोग लागेपछि छिटो आउँदा अस्पतालको बसाई छोटो हुने, जटिलता पनि कम हुने गर्छ। तर घर बाहिर निस्कने सास्ती, गाडी नपाइने समस्या, अस्पतालमा पनि कोभिड सर्ने मनोवैज्ञानिक त्रास आदिले यस्तो अवस्था आएको सजिलै अनुमान गर्न सकिन्छ।
साधारण समस्यामा अस्पताल जानैपर्छ भन्ने छैन। उदाहरणको रुपमा ग्यास्ट्राइटिस भएर औषधि खाईराख्नु भएको छ र सन्चो पनि भएको छ भने हतार गर्नु पर्दैन। पित्तथैलीको पत्थरी छ तर कुनै लक्षण छैन भने आत्तिनु पर्दैन।
त्यस्तै बाहिर भित्र आउनेजाने र नदुख्ने खाले हर्निया छ भने पनि डराउनु पर्दैन। साधारण समस्याको लागि स्वास्थ्यकर्मीसँग सल्लाह लिन सकेसम्म टेलिफोन वा अनलाइन प्रयोग गर्दा राम्रो हुन्छ। अस्पताल जानैपर्ने भए सकेसम्म नजिकैको स्वास्थ्यसंस्था जानु राम्रो हो। त्यहाँ नहुने उपचारको लागि मात्र टाढा जानुपर्छ। इमर्जेन्सी अवस्थामा अस्पताल जाँदा कोभिड सर्ला भन्ने मनोविज्ञान त्याग्नु पर्दछ। नत्र घर बसेर ज्याननै जोखिममा पर्छ। अस्पताल जाँदाआउँदा मास्क लगाउने, अरूसँग दुरी कायम गरेर हिड्ने र सरसफाईमा ध्यान दिनुपर्छ।
साधन स्रोत र जनशक्ति कोभिडका बिरामीको उपचारमा लाग्ने भएकाले अस्पतालमा प्राथमिकता परिवर्तन भएको छ। कोभिड अस्पताल भनेर दर्ज भएका अस्पतालमा अन्य बिरामी जाँचिदैन। हाल प्राय: सरकारी अस्पताल यो समूहमा पर्छन्। अन्य अस्पतालहरुले दुवै खाले बिरामी जाँच्ने व्यवस्था मिलाएका हुन्छन्। अस्पताल परिसरमा रोग नफैलियोस् भनेर त्यही अनुसारको व्यवस्था मिलाइएको हुन्छ।
कोभिड लागेका, नलागेका र छानबिन गर्न बाँकि बिरामीलाई छुट्टाछुट्टै रखिएको हुन्छ। हिजोआज हरेक अस्पतालमा कोभिड कमिटि बनाइएको हुन्छ। यही कमिटिले अस्पताल भित्रको काम कारबाहीलाई दिशा निर्देश गर्दछ।
कोभिड उपचारको क्रममा हामी चिकित्सकले अमेरिका, बेलायत, यूरोपलगायत देशको अवस्था, अनुसन्धानबाट प्राप्त परिणामलाई नजिकबाट अध्ययन गरिराखेको हुन्छौं। त्यसैले हाम्रो देशमा भएका उपचार विधि तिनै विकशित देशसँग मिल्छ।
अस्पतालमा बिरामीलाई नसरोस् र बिरामीबाट स्वास्थ्यकर्मी र स्टाफलाई पनि नसरोस् भनेर व्यवस्था मिलाइएको हुन्छ। पि पि इ र मास्क लगाइएको हुन्छ।
यस्तो बिसम परिस्थितिमा पनि इमर्जेन्सी सर्जरी भने भइराछन्। कोभिड टेष्टको रिपोर्ट आउनु अगावै पनि सर्जरी गरिन्छ। इमर्जेन्सी नभएका बिरामीलाई भने पछिको लागि सर्जरीको समय दिइन्छ।
सल्यकक्षमा थोरै अत्यावश्यक जनशक्ति मात्र परिचालित हुन्छन्। सहयोग चाहिएको बेला बाहिरबाट अरु जनशक्ति परिचालित गरिन्छ। एनेस्थेसीआको पनि छुट्टै प्रोटोकल हुन्छ। मिलेसम्म बिरामीलाई पुरै बेहोस नगराई ढाडमा सुईबाट ओषधि दिएर सर्जरी गरिन्छ। प्रायजसो ग्यास प्रयोग हुने ल्याप्रोस्कोपी सर्जरी जस्तो बिधि अपनाइदैन। विकशित देशमा हेपा फिल्टर प्रयोग हुने भएकोले यस्ता सर्जरी गर्न कुनै बाधा पर्दैन।
क्यान्सर सर्जरी के गर्ने भनेर अस्पतालमा भएको ट्युमर बोर्डले निर्क्योल गर्दछ। शरीरभित्र छिटो फैलिने खालको र बिरामीलाई समस्या ल्याइहाल्ने खाले क्यान्सर रहेछ भने छिटो सर्जरी गर्नुपर्छ। उदाहरणको रुपमा ठूलो आन्द्राको क्यान्सर भएर अवरोध गराइसकेको वा छिट्टै गराउने वाला छ भने तुरून्त सर्जरी गरिन्छ। नत्र भने केहि समय कुराइन्छ।
इमर्जेन्सी नपरेका कयौं बिरामी सर्जरीको लागि कुरेर बस्नु भएको छ। कोभिड कम हुँदै जाँदा यस्ता सर्जरीहरु सुरु हुनेछन्। यस्ता कतिपय बिरामीहरुलाई कोभिड लागेर ठिक भइसकेको अवस्था पनि हुनसक्छ। लक्षण नभएका वा साधारण लक्षण देखिएर ठिक भएका बिरामी लाई प्राय: कोभिड लागेको एक महिना पछि सर्जरी गरिन्छ। सिकिस्त कोभिड भएर सघन उपचार कक्षमा भर्ना भई उपचार गराई ठिक भएका बिरामीहरुलाई भने तीन महिना पछि वा सबै अवस्था सामान्य भएपछी सर्जरी गरिन्छ।