नियती यसरी दोहोरिएर आयो कि अब हामी रहौँला कि नरहौँला भन्ने मनोविज्ञानले त्रसित बनाएको छ। पोहोर साल त ठिक ठिकै, सुस्त सुस्त आउँदै गरेको विपद यसपालि त पत्तै नपाई दैलोमा आइपुग्यो।
कतिलाई लागेको थियो होला यो नरसंहार सकिएछ भन्ने। अनि कतिले त सायद सकिएकै भान पारेर फेरि नयाँ बिहानीको तेजिलो उज्यालो जस्तै गरी आफ्नो गति समाए। हुन पनि सकिएको ठान्नु वा सकिएको भानमा पर्नु बाहेक त्यसको विकल्प थिएन।
शासकले डोहोर्याउने सामाजिक परिवेशको सन्दर्भमा अल्बर्ट आइन्सटाइनको भनाइ युक्तिसंगत हुन सक्दछ 'ट्राइ नट टु बिकम अ म्यान अफ सक्सेस, बट र्यादर ट्राइ टु बिकम म्यान अफ भ्यालु।'
ठ्याक्कै भन्नु पर्दा हामीले कस्तो शासकको शासन परिकल्पना गरेको हो र हामी अहिले त्यसको अनुभूति कस्तो पाइरहेको छौँ? काम गरुन्जेल त सबै सफल नै हुने हुन्। फरक यति हो कोही १९ होलान् कोही २०। एक दुइ अंकको न फरक हो। तर मूल्य चुकाएर मूल्यवान कुन चरित्र हुन्छ, त्यसको खोजी त हुनु जरुरी छ नि।
सुशासन राज्यको प्रत्येक प्रणालीलाई जनतामुखी बनाई जनताको चाहना बमोजिम छिटो, छरितो तथा प्रभावकारी ढंगले जनताले प्राप्त गर्ने सेवा प्रत्यक्ष अनुभूति गर्ने एउटा प्रणालीगत व्यवस्था सुशासन हो।
सुशासन हुन त जनताले प्रत्यक्ष अनुभूत गर्ने खालको व्यवस्थाको आवश्यक रहेछ। आफूलाई शासन गर्न दिन तयार भएर प्रत्येक जनता त्यसकै निमित्त चुनावमा सहभागिता जनाउँदछ।
हालको परिदृश्य हेर्ने हो भने काहलीलाग्दो छ। जो रोगको संक्रमणबाट ग्रसित छ उसले एम्बुलेन्स, अस्पतालका शय्या तथा कृतिम हावा नपाएर छटपटीमा छन्। जो बिहान बेलुकाको रोजीरोटी, दिनभरको काम गर्न पाउँदा मात्र पुर्याउन सक्दछ, ऊ दिनभरि बन्द कोठामा थुनिएर बस्नु परेको छ।
बालक, युवा, वृद्ध/वृद्धा जो कोही पनि अहिलेको परिदृश्यले आत्तिएको छ। हालको अवस्थामा गाँसको साथसाथै औषधि उपचार नपाइने कुराले त्रसित बनेको छ। बालबालिकाको शिक्षादेखि युवा वर्गको रोजगारी समस्या छन्। यसको लागि जिम्मेवार को त?
पोहोर सालको जस्तो ओम्नी प्रकारण पत्रपत्रिकामा छरपस्ट थिए। यो साल पनि पत्रपत्रिकामा खोपमा कमिसनको कुरा छरपस्ट छन्। प्रदेश प्रदेशमा सत्ता समिकरणको कुरा सेलाउन नपाउँदै केन्द्रमा पनि त्यस्तै कन्त बिजोक छ।
यहीबाट आउदछ सफल हुनु र मूल्यवान हुनको भिन्नता। यतिको व्यवस्था फेरिए हाम्रो मुलुकमा। यतिका धेरै शासन व्यवस्थामा तल्लो तहदेखि देशको मथिल्लो कार्याकारी तहसम्म नै सबै शासन गर्ने शासक सफल भए।
असफल कोही भएको छैनन् र भविष्यमा पनि हुने छैनन्। सबैले शासन गरे, गरिरहने छन्। तर शासन कस्का लागि भए, केका लागि भए?
हे शासकहरु, तपाईहरु कस्का लागि शासन गरिरहनु भएको छ। तपाईहरु सफल हुनुहुन्छ। सफल भएरै हो नि प्रत्येक चुनाव जितेर शासनको बागडोर तपाईहरुकै हातमा हुन्छ। तपाईहरु आफ्ना लागि सफलभन्दा पनि जनताका लागि मूल्यवान भइदिनुस्।