अहिले यो लेख्न बसिरहेको मेरो टेवलमा केहि भिटामिनका ट्यावलेट, स्यानिटाईजरका बोतल र एउटा डयरी छ। परिवारमा १९ महीनाकी छोरीदेखि बुबा, ममी, श्रीमती, सासु आमा, बा र सालो भाइसमेत ७ जना कोरोनासँग जुधिरहँदा, उहाँहरूलाई साथ दिने एक किसिमको ‘वार रूम’ जस्तो भएको छ यो।
ससुराली तर्फ भाइलाई कोरोना देखिएपछि बुटवलमा होम आईसोलेसनमा राखिएको थियो। बाबा, ममी र श्रीमती (कुशलता) समेत थप तीन जनाले सावधानी अपनाउँदै भाइको ख्याल गरिरहनु भएकै थियो। बिस्तारै बाबा, ममी र कुशलतामा पनि लक्षण देखिए। कोभिड नै त हैन होला भन्दा भन्दै पनि परीक्षणमा कुशलताबाहेकमा कोरोना देखियो। घरमा बाँकि सबैलाई पोजेटिभ देखिएको र सबैखाले लक्षण देखिएकोले रिपोर्ट नेगेटिभ भए पनि कुशलतालाई पनि कोभिड छ भन्ने मानियो र चिकित्सकको राय पनि सोहि अनुसार नै थियो।
यसबीच मेरो घर तर्फ, गोरखा अजिरकोटमा बुबा, ममि र सानी छोरीको अवस्था सामान्य नै थियो। बैसाख १८ गते तिर हल्ला ज्वरो आएको बुबाले सिटामोल खाएपछि ज्वरो हरायो र हामीले सामान्य नै लियौं।
तर २२ गते बुटवलमा बाबाको अक्सिजन लेभल घटिरहँदा, गोरखाबाट ममीलाई पनि ज्वरो आएको खबर आयो। गोरखाको हकमा फेरि पनि कसैको ट्राभल हिस्ट्रि नभएकोले कोरोनाको शंका गरिएन र सिटामोल खान भनियो। बुटवलतर्फ भने उपचारका लागि काठमाडौं लानेबारे छलफल त सुरू गर्यौं। तर बुझ्दै जाँदा यता हस्पिटलका बेडहरू भरिईसकेको थाहा हुँदै गयो।
२३ गते,
बुटवलमा परिवारका चारै जनामा कोरोनाको संक्रमण त छँदै थियो, बाबाको अक्सिजन लेभल थप घट्न थालेपछि उप महानगरपालिकाले उपलब्ध गराएको सिलिण्डरबाट घरमै अक्सिजन दिने सम्मको प्रबन्ध भयो। तन्दुरूस्त नभईसकेको भाइ र करीव ७–८ दिनको उच्चतम असरसँग संघर्ष गरिहरका बाँकि सदस्यबाटै आवश्यक रेखदेख भईरहेकै थियो।
एक्कासी दिउँसो गोरखामा सानी छोरीलाई पनि ज्वरो आएको खबरले तर्सायो। अब ढुक्क हुने अवस्था रहेन भन्ने भयो। एक जना आफन्तबाट टेकु अस्पतालका डाक्टर अनुप बास्तोलाको फोन नम्बर पाएको थिएँ, उहाँलाई फोन गरेँ। पहिलो चोटि कुनै समस्या परेर डक्टरलाई फोन गर्दै थिँए। कोरोनाले बढाएको व्यस्तताबी एक अपरिचित मेरो कुरा सुनेपछि डक्टरको संकेत कोरोना हो, परीक्षण गरौं भन्ने तर्फ रह्यो।
घर र नजिकका आफन्तमा कोरोना नदेखिएको अघिल्लो लकडाउनको ठीक यही समय, हाम्रो पनि अनेकन परिकार पकाएर, फिल्महरू हेरेर, फोटो/भिडियो खिचेरै बितेको थियो। तर यसपटक बुटवलमा कोरोना देखिएपछि म निरन्तर यसबारेमा बुझ्ने, पढ्ने गरिरहेकै थिएँ।
अफ्टेरो भएपछि अस्पताल पुग्दा धेरै समस्या आएको खबरले, म गोरखाबाट परिवारलाई काठमाडौं ल्याउनुपर्छ भन्ने निश्कर्षमा पुगिहालेँ। आफ्नो ज्वरोलाई सामान्य ठानिरहनु भएको बुबा, ममी पनि सानी बच्चीमा पनि ज्वरो देखिएपछि अत्तिनुभएको, आवाजबाटै बुझ्न सक्थेँ।
एउटा बाटो थियो, पहिले टेस्ट गरिहेर्ने। तर गाँउपालिकाको अनुरोधमा टेस्टका लागि टिम आउन अर्को दुई तिन दिन र त्यसको रिजल्ट आउन थप दुई तिन दिन लाग्ने देखियो। थप ५–६ दिन कुर्नु कुनै हिसाबले उपयुक्त लागेन। त्यसमाथि डाक्टरलेसमेत कोभिडको शंका गरेको सुनाएपछि बुबा, ममी छिट्टै काठमाडौं आउन राजी हुनु भो।
पहिलो समस्याः कहाँ राख्ने?
पाटनस्थित आफूबसेको घरमा बुद्ध अंकल, अन्टी र अंकलको मुमा पनि हुनुहुन्छ। उमेरले मात्र होइन अनेकन औषधि सेवन गरिराख्ने उहाँहरू कोरोनाको उच्च जोखिमयुक्त समूहमा पर्नुहुन्छ। त्यसैमाथि अन्टिलाई कोरोना देखिएर अस्पताल भर्ना हुनुहुन्थ्यो। एउटा संयोग चाँहि घरको भुई तल्ला खाली थियो, जहाँ अस्पताल लग्नु अघि केहि दिन घरबेटी अंन्टिलाई आईसोलेसनमा राखिएको पनि थियो।
घरमा कोभिडको लक्षण देखिएकोले भुईँतलालाई आईसोलेसनका रुपमा प्रयोग गर्न मिल्ला कि भन्ने मेरो प्रस्तावमा अंकलले नाई भन्नु भएन। बरू अस्पतालबाट फर्केपछि अन्टीका लागि अरू व्यवस्था गर्छु भन्ने अंकलको भनाईले पहिलो र ठूलो ढाडस दियो। असल घरवेटी पर्नु, संकटका बेला एक चौँथाई पीडा कम हुनु रहेछ।
दोस्रो समस्याः ल्याउने कसरी?
यहाँ बस्नलाई प्रबन्ध त भयो, अब गोरखाबाट ल्याउने कसरी! धन्न गोरखाका सबैजसो स्थानीय तहमा एम्बुलेन्स त रहेछन् तर कोरोनका डरले ‘ज्वरो’ आएका बिरामी बोक्न तयार नहुने। कति त सामन्य पिपीईकोसमेत व्यवस्था नभएको। अरू सामान्य गाडीहरु त मान्ने कुरै भएन।
अँझ गोरखामा निषेधाज्ञा सुरू भएको अवस्था थियो। उताबाट व्यवस्था हुन सकेन भने, यतैबाट कुनै गाडी लगेर ल्याउने कि भन्ने बिकल्पमा सोचेँ। तर सिसिएमसीको निर्णय भन्दै, जिल्ला भित्रको बिरामी बाहिर लान सिफारिस चाहिने, रिपोर्ट चाहिने आदि प्रकृयाका कुरा भए। अरू सामान्य गाडी यताबाट पनि जान मानेनन्। कोभिडको बिरामी बोक्ने एम्बुलेन्सलाई कोभिड पोजेटिभको रिपोर्ट दिए पछिमात्र प्रकृया सुरु हुने भो। प्राईभेट अस्पतालका एम्बुलेन्सहरुका हकमा बेड खाली भएको अवस्थामा बिरामी सम्बन्धित अस्पतालमा ल्याउने शर्तामा मात्र एम्बुलेन्स जाने लगायतका अनेकन झमेला बुझ्दै गएँ।
र अन्तमा पालुङ्गटार नगरपालिकामा पपिपीई सहितको एम्बुलेन्स भएको र सो उपलब्ध गराउने मेयर दिपक बाबु कँडेलको वचन सँगै २३ गतेको दिन गुज्य्रो।
२४ गते
२४ गते बिहान दुबैतर्फ कुरा गरेँ। अवस्था सामान्य नै थियो। गोरखामा काठमाडौं आउने तयारी थियो भने बुटवलमा बाबालाई अलि सहज भएकाले घरमै हेरौं भन्ने थियो।
तर जब मध्य दिनसम्म गोरखा तर्फ जान्छु भनेको एम्बुलेन्स हिँड्न ढिला गर्दै थियो, बुटवलमा बाबाको अक्सिजल लेभल घटेकाले तत्काल काठमाडौं ल्याउनुपर्ने भो। बुटवलका अस्पताल यसै पनि स्याचुरेटेड थिए।
पहिलो खोजी: कहाँ?
जहाँ जहाँ फोन घुमायो, अस्पतालमा बेड छैन भन्ने मात्र जवाफ आउथ्यो। चिनजानका सबैतिर हल्ला खाल्ला गर्दा पनि बेडको जोहो हुने कुनै गुन्जाउस थिएन। ईमरजेन्सीमै त बुटवलकै अस्पतालमा पनि लान सकिने बिकल्प सोचियो। तर अस्पतालले कुनै पनि बेला अक्सिजन सकिनसक्ने भनिरहेको थियो। बल्ल तल्ल यता केहि समय ईमरजेन्सीमै राखेर भए पनि उपचार गराउने भनि एक निजी अस्पताल सँग कुरा भो तब खोजी भो ल्याउने कसरी!
दोस्रो खोजी: कसरी?
अस्पतालमा बेड करिब करिब मिल्यो भन्ने भए पछि, ल्याउने कसरी भन्ने सोच्दा साँझ परिसकेको थियो। हेलिमार्फत ल्याउने बिकल्पमा पनि थुप्रै हेलिहरुको समय थिएन। भोलिपल्ट १२ बजेपछि, झण्डै ६ लाखमा ल्याउन एक कम्पनी तयार त भयो। यसैबीच अक्सिजन र मेडिकल सपोर्टसहितको एम्बुलेन्स भोलिपल्ट बिहान हिड्ने गरी व्यवस्था गर्न सकिने भएपछि त्यहि बिकल्प निश्चित गरियो।
उता गोरखाबाट ढिला गरेर हिँडेको एम्बुलेन्स मध्यरातमा काठमाडौं आईपुग्यो। बुबा, ममी र छोरी तिनै जनामा ज्वरो त थिएन, तर खोकि र थकान थियो। धेरै आफन्तले ‘कोभिड त हुनै सक्दैन, व्यार्थै लगिस् काठमाडौं’ भन्नु भएको थियो। म पनि चाहन्थेँ उहाँहरुले भने जस्तै होस्, मैले सोचे जस्तो नहोस्।
२५ गते
२५ गते बिहान बुटवलबाट बाबा, ममी, कुशलता र कुशल एम्बुलेन्समा काठमाडौं आउँदै हुनुहुन्थ्यो, र यता पाटनमा बुबा, ममी र छोरीको स्वाव संकलन। थप लक्षणहरू नदेखिएपछि बुबा, ममीमा चाँहि कोरोना हैन होला, जे होस् काठमाडौं ल्याएर ढुक्क भैयो भन्ने साझा बुझाई भयो हाम्रो।
कलंकी पुगेर कुशलताले आफूलाई पनि अफ्टेरो भएको सुनाएकी थिईन्। थकान र भोकले हुँदो हो भनेर सामन्य रूपमा लिएँ। यहाँ आईसोलेसनमा भएकी छोरीहरुको अवस्था सामन्य रहेको मलाई त थाहा थियो, उसलाई यसको पनि अतिरिक्त चिन्ता छँदै थियो।
जब बाबाको लागि बेडको व्यवस्था भएको अस्पतालमा पुग्यौं, अस्पताल आफ्नै हालत खराब भईसकेको रहेछ। जेनतेन बेडमा त राख्यो तर केहि बेरमै अक्सिजन सकिँदैछ भनेर तर्सायो। आफै संक्रमित, यात्राले गलेकी र अनेकन तनाव झेलिरहेकी कुशलतालाई श्वास फेर्न अफ्टेरो भयो भन्ने फोन आयो।
फोनमा ‘अक्सिजन लेभल ८८ मा झरेको र सास फेर्न नसक्ने भएँ, मलाई छिटो अक्सिजन देउ’ भन्ने आवाजले मेरो होस् उड्यो।
यो अक्सिजनवाला नयाँ समस्या आईलाग्यो। अस्पताल पुगेपछि त यसको छुट्टै प्रबन्ध हामी आफैंले पनि गर्नुपर्ला भनेर सोचेकै रहेनछौं। सामाजिक सञ्जाल र फोन सम्पर्कबाट उही नम्बरहरु आउथे, जो सरकारले वा अन्य संस्थाले बाडेका थिए। तर तिनले मागेको जानकारी र कागजातहरु उपलब्ध गराएर रेस्पोन्स कुर्ने समय नै कहाँ थियो।
कतिसम्म भने अक्सिजन अभावले प्याक प्याक परिरहेकी कुशलतालाई केही मिनेटमात्र अक्सिजन लगाईदेउ, आधा घण्टामा आफैं व्यवस्था गर्छु भन्दा पनि अस्पताल असमर्थ थियो। वीर वा टिचिङको ईमरजेन्सीसम्म पुर्याउन पाए त अक्सिजन देला कि, भन्ने धेरैको सुझाव थियो, तर पुर्याउने कसरी!
१०२ नं वाला एम्बुलेन्सले ‘पठाउने र लिने अस्पतालको नंम्बर दिनुस्, हामी कन्फर्म गरौं र मात्र’ भन्ने प्रकृया सुझायो। उनीहरु उनिहरुको ठाँउमा ठीक थिए होलान्, तर मेरो लागि थिएन।
संयोग, एक निजी एम्बुलेन्स फेला पर्यो, जसमा केही बेर अक्सिजन लगाउन सकिन्थ्यो। कुशलतालाई त्यसैको साहरामा वीर अस्पताल ल्याउँदासम्म अक्सिजनको एक सिलिण्डरको व्यवस्था हुने खबर पाएँ। अस्पतालको अवस्था ह्दयवादारक थियो, आकस्मिक कक्षमा कुशलतालाई अक्सिजन दिने व्यवस्था भयो। र म लागेँ अक्सिजनको प्रवन्धमा, जुन बाबा रहनु भएको निजी अस्पतालमा जति बेला पनि आवश्यक पर्न सक्दथ्यो।
कुशलता या बाबा जसलाई पनि अस्पतालले अक्सिजन दिन सकेन भने, एक सिलिण्डर अक्सिजनको व्यवस्था छ भन्ने कुराले हामीलाई ढाडस दियो। दुबै जनालाई भेटर फर्कदै गर्दा साँझ पर्दै थियो। मलाई अत्तालिने कत्ति छुट थिएन। तर अस्पतालमा बाँच्न संघर्ष गरिरहेकाहरुलाई देखेर फर्कदै गर्दा म बिक्षिप्त भईसकेको थिएँ।
बाटोमा फर्कदै गर्दा यति धेरै तनाव झेलिराछु, घरमा बुबा, ममि र छोरीको त पक्कै नेगेटिभ आउला भन्ने थियो। अबेरसम्म पनि खबर आएको थिएन, मलाई चाँडै खबर पाउनु थियो र म नेगेटिभ भएको खबर सुन्न मात्र तयार थिँए।
साँझ कोठामा आई पुगेँ, थकान र अत्यासका बीच लामो सास फेरेँ। मोबाईलमा घण्टी बज्यो। बुबाको पोजेटिभ, ममिको पोजेटिभ र छोरीको पनि पोजेटिभ। म शून्य भएँ।
अनेकन तनावबीच अक्सिजन लिईरहेकी कुशलतालाई, छोरीसहित बुबा, ममीमा कोरोना देखिएको खबर सुनाऊँ, कि ढाटुँ? बाबा र कुशलतालाई अस्पताल कुदाईरहेको थाहा पाएरै तर्सिनु भाको बुवा, ममीलाई तपाईहरु आफैंलाई पनि कोरोना छ भनेर सुनाऊँ, कि ढाटुँ? जे सुनेर पनि नतर्सने छोरी थिई, तर म सबैभन्दा बढि उसैलाई सोचर तर्सिराथेँ।
मैले अक्सिमिटर लिएँ, बुबा, ममिको हात समाएँ र नापे। बुवाको ९७, ममिको ९७ र छोरीको ९७। अलि राहात भो अनि उहाँहरुलाई सुनाएँ, ‘तपाईहरूमा कोरोना देखियो र अक्सिजन लेभल ठिक छ नआत्तिनू।’
गाँउमा छिमेकमा छोरीमार्फत धेरैलाई सरेको हुनसक्थ्यो, उता खबर गरेँ। अक्सिजन लेभल लिईरहेकी कुशलतालाई पनि सुनाएँ, उसले ‘ल, म आज यहि बस्छु, भोलिसम्म त फर्किहाल्छु’ नभनेको भए, म अँझ गल्थेँ होला।
कुशलताका सम्बन्धमा ईन्जिनियरीङ क्षेत्रका अग्रज र साथीहरूको चासो थियो, ससुरालीतर्फ बाबाको स्वास्थ्य बिग्रिएको भन्ने खबर फैलिएको थियो र भने घर तर्फ त ‘एम्बुलेन्समा राखेर लान परेको’ भनेर अँझ बढी हल्ला हुने नै भो।
आफन्तहरुको फोन आउथ्यो र आफैं तर्सेजस्तो गरेर सम्झाउनु हुन्थ्यो। उहाँहरुलाई मेरो घर तर्फको मात्र जानकारी थियो, कुशलता र बाबाको खबर सुनाए उहाँहरु नै अत्तालिनु होला भन्ने डर। धेरैले सानी छोरीलाई घर नराख, अस्पताल लगिहाल भन्नु हुन्थ्यो। अस्पताल कस्तो भएका छन्, मैले देखेरै आएको थिएँ।
र मैले डक्टरहरुको कुरा सुन्ने निधो गरेँ। डा.भुपेन्द्र बस्नेत, डा. अनुप बाँस्तोला र डा.दिनेश थपलियासँग बुबा, ममी र छोरीका अवस्थाबारे अपडेट गराएँ। उहाँहरुको ढाडस लिएँ।
अस्पतालमा रहनु भएको बाबा, उहाँको रेखदेख गर्दै रहनु भएको आँफै संक्रमित ममी र भाइ, अर्को अस्पतालमा अक्सिजन लिईरहेकी कुशलता र आफ्नै कोठा मुन्तिर खोकी रहनुभएको बुबा, ममि र छोरी। एउटा अत्यासलाग्दो रात, जहाँ अत्तालिन छुट थिएन, बितेर गयो।
भोलिपल्ट बिहानै, केही साथी र अग्रजलाई आफ्नो खास हालत बताएँ, यस्तो यस्तो समस्यामा यसरी सहयोग गर्नुपर्ने हुनसक्छ भने। अलि हल्का भो। डा. अनुप सुवेदी, डा.अनुप बाँस्तोला आदिका सामाजिक सञ्जालमा रहेका जानकारीहरु संकलन गरेँ। अलि हल्का भो।
बिहान सबैको अवस्थाबारे डाक्टरहरुलाई टेक्स्ट गरेँ। म अपरिचितको टेक्स्टलाई पनि आफ्नो अनुकुल समयमा उहाँहरुले रेस्पोन्स गर्नुभो, केही औषधिहरू सुझाउनु भो। अलि हल्का भएँ। कुनै पनि बेला अक्सिजन आवश्यक पर्न सक्छ, अस्पताल आफैंले अक्सिजन व्यवस्था गर, भन्न सक्छ भनेर केही तयारी गरेँ। अलि हल्का भो। झण्डै सबै जसो फोन, म्यासेज र सामाजिक सञ्जाल मार्फत राख्नु भएको चासोलाई जवाफ दिएँ।
यति गरिसक्दा म करिब सम्हालिईसकेको थिएँ।
अहिले बाबा अस्पतालमा सुधारोन्मुख अवस्थामा हुनुहुन्छ भने बाँकि आइसोलेसनमा। स्वास्थ्य अबस्था सबैको सामान्य हुँदैछ। यसबीच हामीलाई सहयोग, हौसला र उत्प्रेरणा दिनुहुनेप्रति आभार व्यक्त गर्न त बाँकि नै छ।
यसबीच हामीले सुरुवातमा केहि गल्ति गरेका छौ। जो अरूमा नदोहोरियोस् भन्ने लाग्छ,
१ होम आईसोलेसनमा रहेको कुशलबाट अरू परिवारका सदस्यहरु जोगिन सक्थ्यौ। बाबामा लक्षण देखिने बित्तिकै टेस्ट गर्ने र आईसोलेट गर्न सक्थ्यौ। ढिला गर्यौ।
२ गोरखामा बुबालाई ज्वरो देखिएलगतै टेस्ट सम्भव नभए पनि आईसोलेट गर्न सक्थ्यौ। जसले ममी र छोरी हुँदै छिमेकसम्म कोरोना फैलन रोक्न सक्थ्यो।
३ बाबालाई ज्यादा समस्या थियो तर संक्रमित ममी र कुशलताबारे पनि उत्तिकै सचेत हुनु सक्थ्यौं, जसले कुशलताका लागि गर्नुपरेको अकस्मातको दौडधुपलाई हल्का बनाउन सकिन्थ्यो।
र केही राम्रो पनि,
१ गोरखामा ममी र छोरीलाई पनि ज्वरो आउने बित्तिकै काठमाडौं ल्याउने निर्णय। जसले गर्दा परीक्षण गरिहाल्न सम्भव भयो र गाँउमा पनि थप परीक्षणका लागि बाटो खुल्यो।
२ बिरामीलाई सिधै अस्पताल कुदाउने भन्दा पनि, चिकत्सकसँग परामर्श लिदै होम आईसोलेसनमा राखेरै उपचार गर्ने निर्णय।
३ सामाजिक सञ्जालमा फैलिएका अनेकन औषधिबारे नभई, आधिकारिक चिकत्सिकका लेख, रचना र सुझावलाई मात्र फलो गर्ने निर्णय।
४ र आफूबाहेक नजिकका आफन्त र साथी र अग्रजलाई नियमित अपडेट गराउने कुरा, जसले आफूसँगै उहाँहरु पनि हुनुहुन्छ है भन्ने आत्मविश्वास दिलाउँदो रहेछ।
धन्यवाद।