जीवन अन्वेषण गर्दै जाने क्रममा धेरै ठाउँहरु पुगेँ अनि धेरै मनिसहरुसँग भेटेँ पनि। यात्राहरुका यस्तै क्रममा भेट भएको थियो शान्ति गुरुङ र सानुमाया चेपाङसँग।
हुुनलाई दई नाम तर यदि भाग्य हुन्छ र लेखिन्छ भने दुवैको भाग्य सायद एउटै भावीको हातले लेखेको हुनपर्छ।
१७४ किलोमिटर लामो धेरै गाउँ-ठाउँ अनि सहरहरु जोड्ने पृथ्वी राजमार्गले हुग्दी पुल, धादिङबाट दक्षिण पश्चिम लागेपछि १०/१२ किमि मात्र माथि बसेको बेनिघाट रोराङ गाउँपालिका- १० स्थित गोइराङ गाउँलाई कहिल्यै विकाससँग जोड्न सकेन अनि सकेन जोड्न सुखसँग।
कैयौँ वर्ष बिते, देशमा सत्ता र सरकार फेरिए। फेरिए राजमार्गमा हिँड्ने गाडीहरु, प्रत्येक घडी तर गोइराङको त्यो उजाडलाग्दो पाखोमा बसेका ती सानासाना घरका कथाहरु कहिल्यै फेरिएनन्।
हुन त जीवनमा सुख नदेखेका मानिसलाई दु:खले पिरोल्दैन रे! केही पल त्यस्तै पनि लाग्यो जब मैले गोइराङका कथाहरु आफैँले पहिल्याउने मौका पाएँ।
बिजुली एकै वर्ष आगडि आएको भए पनि, गोइराङका जीवनहरु अझै अँध्यारोमै बाँचिरहेका थिए।
विकासको नाममा ६ महिना पहिला आएको बाटो मात्र थियो र अरु विकासका पूर्वाधारबाट टाढिए जस्तै टाढा-टाढा बसाइएका थिए घरहरु। सायद एउटा घरको रित्तो कसौँडी अर्को घरले बजेको नसुनोस् भनेर वा अर्कै घरको फाटेको कपडा सिलाउँदै गरेको अर्को घरकाले नदेखून् भनेर।
पोखरा लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा सामाजिक कार्य र पत्रकारिता पढिरहेकी मलाई समाज पढ्न खुब मन लाग्ने अनि लाग्ने मन समाजमा बस्ने विवेकशील प्राणी भनिने मानिसको कथा सुन्न।
त्यसैले कैवाल्य संस्थामा कार्यरत उम्मिद दाइले धादिङ जाने कुरा गर्दा आफूलाई रोक्न सकिनँ र गएँ आफैसँग पढिरहेका साथी बसन्त पहारी र फोटोग्राफर सुवास दाइसँग।
मनमा एउटा बेग्लै कल्पनाले घर बनाइसकेको थियो। त्यहाँ भेट हुन सक्ने पात्रहरुले दिमागमा आफ्ना लागि ठाउँ बसाइसकेको थिएँ। बाक्लो चेपाङ बस्ती तथा गुरुङ, मगर मिश्रित ठूलो गाउँ हेर्दा कुनै द्वन्दपछि घायल छोडिएको मान्छे जस्तै देखिन्थ्यो।
बाटो खन्दा लागेका चोटहरु अझै ताजा नै देखिन्थे, मानौँ चोटहरुले चिच्याउँदै गुहार्दै छन् खोज्दैछन् मल्हम आफूलाई र बस्तीका आफ्ना आफन्तहरुलाई। स्कुल र शिक्षा व्यवस्था अवलोकन गर्न विद्यार्थीहरुका लागि केही स्टेशनरी र खेलकुद सामाग्री मात्र लिएर गएका हामीलाई अरु औषधिको अभावले पिरोल्न थालिसकेको थियो।
पहिलो दिन झमक्क साँझमा पुगेका हामी थकाइ अनि अप्ठ्यारोले थोरै मात्र कुरा गर्यौं तर हामीले बास बसेको घरका मालिक प्रकाश गुरुङले आफ्नो गाउँ बस्ती र बसोबास गर्ने मान्छे सबैको विस्तृत जानकारी दिए। दोस्रो दिन विद्यालय अवलोकन र गाउँ भ्रमणमै बितेकाले केही कुरा भइरहेको थिएन।
त्यसैले एक दिन दुई रात बितिसक्दा पनि कुरा हुन नपाएको र सोध्न नसकेको प्रश्न, अप्ठ्यारो मान्दै सोधेकी थिए, १४ महिने बाबु पिँठ्युमा बोकेर बेलुका खाएका भाडा माझ्न निस्केकी शान्ति गुरुङलाई। उनको शारीरिक बनावटबाट अनुमान गर्न सकिन्थ्यो।
उनको भर्खरै फक्रिँदै गरेको उमेर, जसलाई उनैको पिँठ्युमा खेलिरहेको कोपिलाले थिच्दै थियो। त्यत्तिका समय उनी मुनिकै छानो बाँडेर बसेकी मलाई खोइ किन आएनन् पहिले यति धेरै प्रश्न? अनि आए पनि त कहिले? जब केही बेरमै फर्किनु थियो पोखरा।
‘कति महिना भयो नि बाबु?’ बाट सुरु भएको मेरो प्रश्न कति बेला ‘किन यति छिटै बिहे गरेको नि?’ मा पुगेछ थाहै भएन। १४ महिने बाबु आफ्नी आमा र मेरो संवाद सुनेर झिझिँदा पो झसंग परेँ।
‘बाबा सानैमा बित्नु भयो, ६-६ वटा छोराछोरीलाई हुर्काउन आमालाई धौधौ थियो। त्यसैले २ जना ठूला दाइहरुले ज्याला मजदुरीको बाटो रोझे, मभन्दा ठुला दुई दिदीहरुले बिहे गरिसकेका थिए। तर म र सानो भाइ भने १ घण्टा लगाएर स्कुल जान छोडेका थिएनौँ पढ्नलाई, जीवन बाहेकको पढाइ। म ५ पढेर ६ कक्षामा जाने बेला भएको थियो, त्यत्तिकैमा मभन्दा १ कक्षा माथि पढ्ने केटासँग प्रेममा परेँ र सुरु भयो मेरो जीवनको अर्को अध्याय।
१ घण्टा लगाएर कहिले भोको पेट त कहिले खाली खुट्टा हिँड्दा विरक्त लाग्थ्यो। झन् बढी विरक्त लाग्थ्यो घरको गरिबी र परिस्थिति देखेर। त्यसैले दिदीहरुले जस्तै खुसी पाउने आशामा यो सानो बाबुको बाबासँग भागेर बिहे गरेँ।
मेरो हजुरआमाले म सानो हुँदा सुनाउने कथा जस्तै लाग्यो मलाई उनको कुरा। ५-६ वर्षमा बाबाआमाले झुक्याएर बिहे गरिदिने कथा। तर शान्तिको कुरा हजुरआमाको कथाभन्दा फरक थियो। किनकि उनलाई उनका बाबा-आमाले झुक्याएर गरिदिएका थिएनन् उनको बिहे।
यति भनिसक्दा उनको आँखामा भरिएको आँसुको गहिराइ अनि बोलीमा छोपिएको पछुतो र लाज सायदै आज कलमले लेख्न सक्ला। तर मैले प्रस्ट देख्न सक्थेँ उनका हरेक शब्द आँखामा।
मैले बाल्टीबाट पानी झिक्दै गर्दा उनले दोहोराएका शब्द 'आज पछुतो लाग्छ' झैँ पनि मेरो दिमागमा गडेर बसेको छ। तर खोई किन, त्यसबेला पनि फेरि किन भनेर सोध्न मन लागेन। सायद मैले देखिसकेकी थिएँ उनको उत्तरमा आउन सक्ने दृश्यहरु, उनैको घरमा बस्दा, खाँदा र नियाल्दा।
गरिबी र पीडाबाट भाग्न उनले बिहे गरेकी थिइन्। उनलाई पढाइको बाटोभन्दा सजिलो लागेको थियो बिहेको बाटो। त्यसपछि उनको पीडा कम भयो कि भएन थाहा भएन तर गरिबी भने उनले व्याख्या गरे जस्तै थियो अझै पनि। तर उनले त्यसबेला स्कुलको १ घन्टाको बाटो केही वर्ष अझै हिँडेको भए आज उनको गन्तव्य सायद अर्कै हुन्थ्यो होला।
‘अब त स्कुल पनि नजिकै छ, फेरि पढ्न जान मन लाग्दैन?’
मेरो प्रश्नमा उनको उत्तर मुस्कान थियो। लाज अनि संकोचले भरिएको मुस्कान अनि विस्तारै तेर्सो गरेर बारम्बार हल्लाइएको शिर।
सायद भन्न खोज्दै थिइन्- अब त लाज लाग्छ, बाबु पनि त छ, कसरी? अब बाबुलाई पढाउछु म अनि यसको बा जस्तो हुन दिन्न यसलाई।
लागेको थियो, शान्तिको कथा मगजमा धेरै बेर अढिदैन। कलेजमा पढेका पाठहरु जस्तै। तर अहँ! त्यसो भएन। करिब ६ महिना अघि मात्र ६ वर्ष लगाएर आएको बाटोबाट तल झर्दै गर्दा पनि उनको कथा हामीसँगै गाडी चडेर तल हुग्दी पूलसम्मै आयो। छोराको कान जचाँउने बाहना बनाएर र सँगै भेटाइदियो उनी भएकै कथाको अर्को पात्र सानुमाया चेपाङसँग ।
त्यसो त हिजो अस्तिको बसाइका देखाइ अनि भोगाइबाट म प्रस्ट थिएँ, शान्ति गुरुङको कथा उनी मात्रमा सीमित नभएर सबै गोइराङ गाउँकै कथा हो तर पनि फेरि म झस्किएँ, सानु मायाको उमेर सुनेर ।
काखमा १० दिने नानी बोकेर तल हेल्थपोस्टसम्म जँचाउन हिँडेको त्यो सानो शरीर मात्र १५ वर्षको रहेछ अनि २ वर्ष पुरानो रहेछ उनको बिहेको कथा।
तर बल्ल टुँसाउँदै गरेका स्तनबाट उनले एउटा अर्को शरीर पाल्दै थिइन्। पाल्दै थिइन् भविष्यकी उनलाई। सानुमायालाई बढी प्रश्न गर्न उनको सुत्केरी शरीर अनि झारा टार्न मात्र खनिएको अप्ठ्यारो बाटोले दिएन तर नानी काखमा समाएर चिम्लिएका उनका बन्द आँखामा पनि म देख्न सक्थेँ उनको कथा।
शान्तिको जस्तै उनको बिहेको कथा अनि सानी छोरीको भोलि फेरि दोहोरिन सक्ने कथा जुन म चाहन्न थिएँ दोहोरियोस्। सुन्न परोस म जस्तै कोही अरुले उनको बिहेको बाटोको कथा र पछुतोको ब्यथा, कुनै पनि कारणले।
गोइराङ जान पनि नानाथरी बाहाना र घुर्की लगाएर गएकी मलाई सानुमाया र शान्तिको कथाले आफ्नो जीवन एकचोटि फेरि फर्केर हेर्न बाध्य बनाएको थियो। कसरी म स्कुल जान बाबाआमालाई यो र त्यो किन्दिन माग गर्थेँ।
कलेज जाँदा होस या साथीहरुसँग बाहिर घुम्न जाँदा होस, पैसा माग्न कति सजिलो थियो। २१ वर्ष लागिसक्दा पनि सानै छेस् भनेर कतै जान दिन अव्ठ्यारो मान्ने बाबा-आमालाई मैले बारम्बार सम्झिरहेकी थिएँ।
यसपालि रिसले होइन प्रेमले, सम्मानले अनी कृतज्ञताले। कसरी हरेक कुराका लागि, नचाहिँदो मागदेखि अत्यावश्यक अर्ती दिएका पलसम्म, मैले एकाएक सबै सम्झिरहेकी थिएँ।
त्यती सबै माझ मेरा गोइराङ नामक कथाका पात्रलाई धन्यवाद सँगै नराम्रो मानिदिनु बाहेक म अरु केही गर्न सकिरहेकी थिइनँ। तर मेरो हातमा भएको र गर्न पनि सक्ने प्रार्थना थियो जुन मैले गरिरहेकी थिएँ।
उनीहरुसँग छुटेपछि आज यो लेखिरहँदासम्म उनीहरुका लागि, उनीहरुका काखमा खेलेका नानीबाबुदेखि उनीहरु जस्तै भेट हुन नपाएका बेनीघाटका अरु पात्र अर छुटाउनै नमिल्ने सरकारका योजना र नीतिहरुका लागि जस्ले कुनै दिन शान्ति र सानुमायाको जस्तो जीवन अरु बन्न दिनेछैन, र दिने छैन रोज्न सजिलो शिक्षामाथि बिहेको बाटो।