ए हली दाइ ,
गोरू फुकाई ,
जोताराले बाँधेर ल्याऊ ,
सामन्ती साँढेलाई।
माथिका हरफहरू जननेता मदन भण्डारीका हुन्। त्रिशूलीमा धेरै पानी बगिसकेको छ सँगै आँसु , पसिना र रगत पनि। कहाँ गए ती सपना, वाचा र प्रतिबद्धताहरू।
दाशढुंग्गा काण्ड सम्झिँदा अझै पनि आँखाका गहहरू डब्डबाँउछन्। सँगै वर्तमानको कुरूप दृश्यले आक्रोशको ज्वाला जल्दछ। मदनकै सहयात्री प्रधानमन्त्री छन् र उनकै पत्नी राष्ट्रपति। अझ केही समय अगाडि त लगभग दुई तिहाई सरकारको नेतृत्वमै थिए। प्रष्ट बहुमतसहितको सरकार हुँदासमेत दासढुंगा बारेमा चुँ सम्म बोल्दैनन्, सिन्को भाँच्दैनन्। अझै हाहा र हिही मै सम्मानित पदको धज्जी उडाउँदै छन्। मदन भण्डारीका नाममा फाउण्डेशन खोल्नुछ ब्यापार गर्नुछ बस , धिक्कार तिम्रो पद र प्रतिष्ठालाई।
दुनियाँलाई थाहा छ, रूपमा तिम्रा गालाहरू राता पिरा त देखिन्छन् किन्तु सारमा तिमीहरूका खुट्टाहरू लुला भैसकेका छन्। अझै पनि बाँकी छ ढोंग लुला हातहरुले लालसलाम गर्ने भो नछोउ तिम्रा अपवित्र हातहरूले मदन आश्रितको तस्वीरलाई। एकपटक आफ्नो अनुहार ऐनामा हेर राता पिरा तिम्रा गालाहरू त्यसै भएका होइनन्। बाहिर तिम्रो घरको बगैंचामा गएर हेर फूल त्यसै मगमगाएको होइन। गाडी, घोडा र तिम्रो चकाचौंध जीन्दगी फोकटमा आएको होइन। तिमीहरु त सम्पन्न भयौं तर देश र जनताको हालत ...?
जनताका हातहरू जसले रहस्यमय दासढुंगा काण्डको विरूद्धमा सत्य तथ्य पत्ता लगाउने मागसहित रत्नपार्कका रेलिंगहरू तोडेको थिए। ती हातहरूलाई कुनै पश्चाताप या ग्लानी छैन किनकि ती हातहरू कसैको खटनपटनमा खटिएका थिएनन्। कसैको फर्मान र आदेशमा होइन हृदयबाट उठेका थिए।आफ्ना प्यारा नेताहरू गुमाउँदाको पीडा र आक्रोशमा उठेका थिए।
पार्टी नेतृत्वले मदन -आश्रितको हत्यारा पत्ता लगाउने कुरा त कता हो कता बरू उनको अभावमा महाकाली सन्धी र पार्टी विभाजन गर्यो। अहिले सामाजिक सन्जालमा फटफटाउनेहरूले आफ्ना नेताहरूलाई सोध्नुपर्ने धेरै प्रश्नहरु छन्। सत्य तितो हुन्छ, राष्ट्रियताका मामलामा महेन्द्र, मरिचमान, वीरेन्द्र, ज्ञानेन्द्रभन्दा पुड्का देखिएका छन् हालका नेताहरू।
जननेता मदन भण्डारी विनाको एमालेको जीवनमा कयौं धर्साहरू मध्य प्रमुख धर्साहरू थिए माधव र केपी। दासढुंगा रहस्यमय घटना पश्चात् त्यसको सत्य तथ्य पत्ता लगाउन पार्टीले गठन गरेको आयोगका प्रमुख थिए-ओली, पार्टी नेतृत्वमा थिए माधव तर माखो मारेनन् दासढुंगा मामलामा यी दुबै जना आजसम्म पनि मै चुप तैं चुप छन् आखिर किन?
लाखौं इमान्दार कार्यकर्ताले यो प्रश्न गर्नुपर्छ कि पर्दैन? यदि पर्दैन भन्ने कसैले ठान्दछ भने त्यो सबैभन्दा ठूलो लाचारी मात्र होइन आफूले आफूलाई धोका दिनु हो आफ्नै इतिहासलाई थुक्नु हो। नेता या कार्यकर्ता होस कसैले फ्याँकेको हड्डी खाने ब्यक्तिगत स्वार्थमा डुब्नेले गलत प्रवृत्तिका विरूद्ध आवाज उठाउन सक्दैनन्।
नक्कली अनुशासनको दाम्लामा बाँधिनुभन्दा त्यसबाट बाहिर निस्किनु अथवा विद्रोह गर्नु समयको अनिवार्यता हुन्छ। अन्यथा इतिहासले केवल नेतृत्वलाई मात्र गद्धार सावित गर्दैन तिनीहरूकै पछि कुद्ने दल दासहरूले पनि कलंकको टिका लगाउनुपर्छ।
खास कार्यकर्ताहरू निरासामा डुब्दै पलायन भए, कति पलायन हुने बाटोमा छन् अहिले देखिएका अधिकांश कार्यकर्ताहरूमा केही पनि हुँदैन भन्दै मौन बसेको देखिन्छ र यो मौनता मृत्यु हो। अब साँचो अर्थमा मदन-आश्रित प्रतिको सम्मान र समवेदना भनेको लाखौं कार्यकर्ताहरूले नेताहरूलाई घेराबन्दी गर्नु हो। सत्य तथ्य पत्ता लगाउन दबाव दिनु हो। आजसम्मका कर्तुतहरू उनीहरू कै मुखबाट झार्नु हो। नाटक मन्चन एउटा कुरा हो किन्तु महाकाली सन्धीका बफादारहरू राष्ट्रवादी हुनै सक्दैनन्।
पार्टीमा महाकाली सन्धीका पक्षमा बहुमत पुर्याउन विरामी अध्यक्ष विना बैठक र अध्यक्षको भोटिङ अधिकार समेत अर्को वैकल्पिक ब्यक्तिमार्फत् गरी महाकाली सन्धीको पक्षमा बहुमत पुर्याइयो। त्यतिबेला पार्टी अध्यक्ष मनमोहन अधिकारीसमेत महाकाली सन्धिको विपक्षमा रहेका समाचारहरू बाहिर आएका थिए। मात्र एक मतको अन्तरले महाकाली सन्धी पास गर्ने निर्णय गरियो संसदमासमेत यस्तै नाटक गरियो, बहुमत पुग्ना साथ मध्यरातमा महाकाली सन्धी पास गरियो।
विभिन्न शक्तिकेन्द्रका एजेण्टहरू कहाँ र कति मात्रामा छन् एकपटक सोच्न र यिनीहरूलाई धुलो चटाउन जरूरी छ। तत्कालीन एमाले निर्णायक ठाउँमा थियो जसले त्यो सन्धिलाई असफल पार्न सक्थ्यो। तर नेतृत्वले हिम्मत गरेन किनकि, दासढुंगा हत्याकाण्डसँगै नेतृत्वका खुट्टाहरू लुला भैसकेका थिए। डरपोक र लाछिहरूले जबजलाई केवल सत्तामा जाने र टिक्ने माध्यम बनाए जबजको अन्तर बस्तुको हत्यारा अरू कोही होइन खुद पार्टी नेतृत्व नै थियो।
सबैभन्दा पहिले यो समान्य कुरा याद राखौं कि, हामी वर्तमानमा छौं। यही वर्तमानले देश र जनताको भविष्य देख्नुपर्दछ। सबै कुरा हिँजोको सरकार र नेतृत्वको गल्ती औंल्याएर हामी चोखिन मिल्दैन। हिंजोका राज्यसत्ता सन्चालकहरूले राम्रो गरेको भए आजको देशको अवस्था यस्तो हुने थिएन।
गल्तिहरू मात्रै उधिन्ने हो भने सबैभन्दा ठूलो कलंकको टिका हाम्रै निधारमा पनि छ किनकि, पटक पटक असफल नेतृत्वलाई बोक्ने हाम्रै काँधहरू हुन अब समय आएको छ कि, हामी हाम्रो काँधबाट यो बोझलाई हटाँऊ अन्यथा हाम्रो पुरा शरीर दुर्गन्धित त हुने नै छ संगै समाज पनि संक्रमित हुनेछ।
महाकालीमा धेरै पानी बगिसकेको छ, तर हामी उफ्रिन र थच्चिन भने छाडेका छैनौं। छिट्टै भुल्ने र हौसिने हाम्रो विश्वास भनौं या मूर्खताले पटक पटक धोकाबाहेक अरू केही दिएन। आफ्ना अपराध या कमजोरी लुकाउन अर्काका कमजोरी र अपराध देखाउने प्रवृत्ति यतिवेलाको सबैभन्दा ठूलो तमासा हो। यो तमासा कहिले सम्म? यो दुई कौडीको ढोंग कहिलेसम्म? कसको खटन पटन र चुलो चौकोमा काम गर्दैछौ कामरेडहरू यो दुई कौडीको खेल, यो तमासा बन्द गर।
‘जुन जोगी आए पनि कानै चिरेको। माछो-माछो भ्यागुतो’ आज मल्ल युद्वमा छौ, जसको देश र जनतासँग कुनै साइनो छैन। यदुवंशी हुने लाइनमा छौ। अपराध र भ्रष्टाचारका मामलामा तिम्रो निधार ओभानो छैन। नेपालमा परिवर्तन तिमीहरूको विर्ता होइन। एउटा कालखण्डमा तिमीहरूले गरेको योगदानको बदलामा आज ब्याजसहित असुल मात्र गरेका छैनौं, देशलाई एम्बुसमा पारेका छौ।
भ्रष्टाचार ,चाकडी , अपराध राष्ट्रघात, गुटवन्दी र अराजकताको एम्बुस। परिवर्तन खोज्ने नै हो भने तिमीहरू अभिभावक भएर बस। नयाँ पुस्तालाई पार्टी र सरकार दुबैको जिम्मा देऊ। बिसौं हज्जार जसलाई चिहानमा पठाइएको थियो भोलि जवाफ लिएर तिमीहरु त्यहाँ जानुपर्ने छ, तिनीहरु तिम्रो प्रतिक्षा गरिरहेका छन् याद राख। तिम्रो अस्तिपन्जरले समेत चिहानमा ठाउँ नपाउन सक्छ त्यो बेला चिहानबाट समेत मिल्किनुपर्ला, चेतना भया।