एकाबिहानै म ओछ्यानमा पल्टिरहेको थिएँ, आमाको फोन आयो।
‘कस्तो छ नानी तँलाई?’
आमाको स्वर मलिन अनि डराएको जस्तो थियो।
मैले भनेँ, ‘म ठिकै छु आमा, के भयो र?’
आमाले भासिएकै स्वरमा भन्नुभयो, ‘फलानो मामा कोरोनाको कारणले बित्नु भएछ, तँ जागिर छोडेर घर आइज नानी। बरु बाँझो खेत खनेर खाऔंला।’
डर र माया मिसिएको स्वरमा आमाले मैले प्रतिक्रिया दिनै नपाउने गरी एकै सासमा भन्नुभयो।
मलाई अबेर भइसकेको थियो, रातभरि ड्युटीमा खटिएका साथीहरुलाई पालो दिन वा भनौँ आफ्नो १२ घण्टे ड्युटीको लागि खाजा, खानाको व्यवस्था गरी घरबटै जो लैजानु थियो। त्यसैले मैले बेलुका आएर कुरा गर्छु आमा भन्दै फोन राखेँ।
आखिर आमाको मन न हो, त्यसमाथि विगत केही दिनहरुमा घरकै छेउका फलानो मामा, फलानो काका, पल्लो घरको दाइ, तल्लो गाँउको बहिनी... जो जवानै थिए र कुनै पनि दीर्घरोगहरु थिएनन्, कोरोनाको कारणले मृत्यूवरण गरिरहेका थिए।
त्यस्तो सुन्दा र देख्दा एकातिर कहाली लागिरहेको थियो होला अर्कोतिर आफ्नी छोरी दिनरात नभनी कोरोनाका बिरामीको सेवामा खटिरहेकी छे। उसलाई पनि कोरोना फेरि संक्रमण भइहाल्छ कि भन्ने डर थियो।
मलाई तीन पल्टसम्म संक्रमण हुँदासम्म साहस राख्नुभएकी मेरी आमा यसपटक भने नयाँ भेरियन्टको समाचारले अलि त्रसित देखिनु हुन्थ्यो।
तर तिमी नआत्तिनु आमा, म तिम्रै छोरी हुँ, मैले देखेकी छु तिमीले भोगेका दुःख, पीडा र संघर्षका कथाहरु। यस्ता कथाहरु जुन कुनै वेदनाहरुले भरिपूर्ण फिल्ममा देखाइएका दृश्यहरुभन्दा कम छैनन्। यस्ता कथाहरु जुन सहन सक्ने क्षमता एकदमै कम महिलाहरुमा मात्र हुन्छ।
यस्ता जीवनका थुप्रै आरोह र अवरोहहरु भोगेपनि तिमी कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट टाढा भइनौ आमा। सधैँ परिस्थितिको डटेर सामना गर्यौं जसले तिम्रा चारवटी छोरीहरुले सानको जिन्दगी बाँचिरहेका छन्।
हो, आज मेरो काँधमा परिस्थितिको डटेर सामना गर्ने क्षण आएको छ जुन कुरा मैले तिमीबाट सधैँ सिकेको छु। अनि तिमी कसरी हार खान सक्छौ यत्ति सजिलै? सायद आमाको ममताले तिमीलाई पगाल्यो होला।
कोभिडबाट एउटा बेडमा भएको एकछिन पहिला सास फेर्दै गरेको बिरामी मर्दा पनि अर्को बिरामीलाई बचाउन हुनुपर्ने साहस म तिम्रै संघर्षका दिनहरु सम्झेर जुटाउँदै छु। त्यसैले म यो जिम्मेवारीबाट भाग्नु हुँदैन र म भाग्दिनँ पनि। किनकि म तिम्रो प्रतिबिम्ब हुँ जो तिम्रो छाया बनेर हिँडिरहन चाहन्छ।
मसित अथाह ज्ञान र सीप छ भन्दिनँ, तर आजसम्म मैले हासिल गरेको ज्ञान र सीपको प्रयोगले कैयौँ बिरामीहरुको घाउमा मलमपट्टी गर्न गर्न सक्छ। एउटा पीडामा छटपटाइरहेको बिरामीको पीडा कम गर्न सक्छ।
एउटा मृत्यूको मुखमा पुगेको मानिसलाई नयाँ जीवन दिन सक्छ। एउटा आमाको कोख रित्तो हुनबाट जोगिन सक्छ। एउटी महिलाको सिन्दुर पुछिनबाट रोकिन सक्छ अनि एउटा बालक टुहुरो हुनबाट जोगिन सक्छ। त्यसैले आमा, म यो जिम्मेवारीबाट भाग्न सक्दिनँ र भाग्नु पनि हुँदैन।
तिमी डराउने होइन, बरु गर्वले छाती चौडा गर आमा किनकि तिमीले एउटा युद्धमा लड्ने एक साहसिक योद्धालाई जन्म दिएकी छौं। तिमी नडराऊ आमा, योभन्दा पहिला मैले तीन पटक कोरोनालाई जितिसकेकी छु।
जबसम्म तिम्रो अथाह माया र आशीर्वाद रहिरहन्छ, मलाई केही हुनेवाला छैन। बरु तिमी म जस्तै थुप्रै नर्सहरु तथा स्वास्थ्यकर्मीहरु जो दिनरात आफ्नो ज्यानको माया नमानी काम गरिरहेका छन्, उनीहरुको लागि प्रार्थना गर।
हामी सबै मिलेर यो युद्ध जित्नुपर्छ आमा। त्यसैले आमा, तिमी अत्तिनु पर्दैन।
(लेखक वीर अस्पतालको नर्सिङ निरीक्षक हुन्।)