खोल्सीको जल, वायु वा थलमार्गबाट हेलिएर वा रथाटन गरी सागरमै किन नपुगोस्, त्यसको स्वाद र गन्ध मुलभूत रुपमा उही नै हुन्छ।
यो अनवरत यात्रामा समयको छालले जीवनका आकार र रेखाहरु बदल्नेमा भने कुनै सन्देह छैन। यसरी नै भूतकालका कन्तुरहरु क्रमभंग गर्दै, टुक्रिएका यादहरुको समास वर्तमानमा गर्दा, मेरो मानसपटल सधैँव बालापनमा पुगेर हैरान, बेचैन र अवाक् बन्छ।
'छेउ छेउको तितो, बीचको मिठो।'
'जो बीचमा सुत्छ उसलाई आँटीबुढी आएर मिठो मानेर खान्छे।'
दिउँसो खेल्नेबेलामा आमासंग को सुत्ने भनेर मेरो र बहिनीको जहिल्यै झगडा पर्थ्यो।
बच्चैदेखि निकै छेरुवा मलाई त्यति भनेपछि पुगिहाल्थ्यो। आंटीबुढीको डरले भने ठूलो भइन्जेलसम्म पनि छाडेन। त्यो बेला, रेडियो नेपालमा बेलुकाको साढे सात बजेतिर घटना र विचार भन्ने कार्यक्रम आउँथ्यो क्यारे।
त्यो कार्यक्रम सुरु हुनु अगाडि एउटा धुन बज्थ्यो। त्यो धुनलाई मैले आंटीबुढी आउन लागेको संकेतका रुपमा बुझ्थेँ। निकैपछि थाहा भयो, चकचक गरेको बेलामा तह लगाउनको लागि त्यस्तो कथा बनाइएको रहेछ।
आजकल, नाबालाक अवस्थामा सुषुप्त रहेका आमाको स्मरणका पानाहरु कतै हराएको महशुस हुन्छ। अझ भनौं, बा जीवितै हुँदा मलाई आमाको खास याद नै छैन।
बाले स्कुलमा दिउँसो खाजा लिएर गएको, गाउँमा हुँदा मट्यांग्रा बोकी, बाको पछि लागेर लाखु धपाउन गएको भने धमिलो रुपमा सम्झिन्छु। मेरो उमेर त्यस्तै ४-५ वर्ष हुँदा बा बित्नुभयो।
त्यो समय मलाई राम्रैसंग थाहा छ, तर जति प्रयास गरेपनि त्यो कालखण्डको फ्रेमभित्रको आमाको चित्र मेरो स्मरणमा आजसम्म कहिले आएन। अझ यसो भनौं, मेरी आमाले रातो कपडा र चुरा पोते लाएको मैले देखेर पनि सम्झिन सक्दिनँ। आमाको तस्बिर मेरो स्मृतिको क्यानभासमा सधैँ स्यामश्वेत नै रह्यो।
समयको कठोर संघर्षले गर्दा छिट्टै मुजा परेको ठूलो अनुहार, त्यसमाथि आधा झरेर र बाँकी फुलेर सेतो भएको कपाललाई ढाक्नेगरी शिरमा गुथेको सेतै मलमलको पछ्यौरा, आङमा मैलो रङको चोलो र त्यस्तै फुस्रो खाले धोती।
सर्लक्क परेको ठूलो गाँठी जिउडाल, असन्तुलित भएपनि सामान्य हिँडाइ, केहीबेर हिँडेपछि खुइ…य गरेर कम्मरमा हात राखी एकछिन रोकिने उहाँको बानी र घुँडाबाट आइरहने राइफलको तेलको गन्धसँगै म हुर्किएँ।
मैले देख्ने बेलादेखि अन्तिमसम्म आमालाई लगभग उस्तै नै पाएँ। सायद बुढ्यौलीमा मात्रै देखेकाले होला, अचेल मेरी आमा उमेर छँदा कस्ती हुँदी हुन् भन्ने खुब जान्न मन लाग्छ।
आमालाई निकै चिया पिउनु पर्ने, बिहान र दिउँसो खाजा खाने समयमा उहाँलाई चिया अनिवार्य चाहिन्थ्यो। चिया पिउने उहाँको आफ्नै तरिका थियो। बिट नदोब्रिएको ठूलो बटुकोबाट आफै थालमा खन्याएर, सेल्याएर, थालबाटै तन-तन पिउनुहुन्थ्यो।
त्यो आमाको थाल र बटुको अझैसम्म पनि घरमै छ। आमाकै सिको गर्दै मैले पनि निकै पछिसम्म त्यसरी नै स्टिलकै थालमा चिया खान्थेँ। ठूलो हुँदै गएपछि केही लाज र गालीले गर्दा स्टिलको गिलासमा सरियो।
आजकल पनि मलाई चिया खाँदा पाएसम्म र भएसम्म स्टिलकै गिलासमा चाहिन्छ। चरेसको थालमा भात खानु र कप वा सिसाको गिलासमा चिया पिउनु कहिल्यै नपरोस् जस्तो लाग्छ। दूध चियाको लत नजानेरै त्यहीबाटै सुरु भयो र यो सायदै कहिल्यै छुट्ला।
मैले थाहा पाउँदाबाटै आमा नियमित औषधि खानु हुन्थ्यो। हामीले धेरै पिरोल्दा आफ्नो मुटुमा प्वाल परेको र अब छिट्टै मर्ने कुरा सुनाउनु हुन्थ्यो। हत्तपत्त म आमाको काखमा लुटपुटिएर ठूलो भएपछि मुटुको डाक्टर बन्ने र आमालाई निको बनाउने कुरा गर्थेँ।
मैले यसो भनिरहँदा आमाको अनुहारको भाव खै कस्तो हुन्थ्यो तर म मर्छु भन्न छाड्नु हुन्थ्यो। सायद बालापनको क्षणभंगुरीय मिठासले आमालाई एकछिन भए पनि आनन्द दिँदो हो। आज समयको छालले काट्दा काट्दै शरीर तन्काएर ठूलो बनाएको छ। जीवनको रेखाचित्र कोरिदै जाँदा लाडे पल्टिएका ती अबोध वाचाहरु भने तस्बिरमा अटाएनन्।
बच्चामा ममीसँग झगडा परेपछि म सधैं जसो घर छाडेर जाने धम्की दिन्थेँ। आफ्नो केही कपडाहरु झोलामा राखेर ममीलाई 'तिमीहरुको घरमा बस्दिनँ' भन्दै घुर्कीसहित झोला बोकेर घर बाहिर लाग्थेँ।
आमाले कहिलेकाहीँ 'मलाई नि लैजाऊ बाबु, तिमी भएनौ भने मलाई खान पनि दिन्नन्!' भनेर भन्नुहुन्थ्यो। जिस्किएर भनेको उहाँको कुरामा म असीमित सत्यता देख्थेँ र भन्थेँ 'आमालाई पनि मसँगै लान्छु। जोगी भएर, मागेर भए पनि जसै पाल्छु।'
जति सान झारेर बाहिर निस्किएपनि घर आगाडिको दगदगेको बुटो छेउमा पर्खालको आड लाएर लुक्न बाहेक टाढा जाने आँट कहिले आएन। त्यहाँ लुकिन्जेल मैले कहिले मागेर, कहिले अरु काम गरेर आमालाई पालेको कल्पना भने खुबै गर्थें।
१५ वर्ष अघिको एक बिहान, सपनाबाट असिनपसिन भएर ब्युझिन्छु। पृष्ठभुमिमा टङ्-टङ् बजेको ५ घन्टीले बिहानको ५ बजेको शंकेत दिन्थ्यो। दुई तले खाटको माथिल्लो ओछ्यान छेउको झ्यालबाट म शून्य अवस्थामा बाहिर चियाउँछु।
मेरा ज्ञानेन्द्रीयहरुले केही मेसो नपाएको भान हुन्छ। सपनाबाट ब्युझेको धेरैपछिसम्म पनि आँसु खस्न भने छाडेको छैन।
केही बेरको शून्यता पश्चात कहीँकतै सुनेको कुराले केही राहत दिन्छ, 'सपना कोही जिउँदो मुन्छे मर्या देख्यो भने, त्यो मुन्छेको आयु बढ्छ।' केही शब्दहरुको स्मरणीय दर्कोले मेरो अतालिएको चेतलाई थोरै भएपनि शान्त बनाउँछ तर पुनः निन्द्रा भने लागेन।
हजुरआमालाई प्रायः म सपनामा देखिरहन्थेँ। भेट भने विद्यालयको होस्टलबाट घर जाँदा मात्रै हुन्थ्यो, लगभग महिनामा एकपटक। त्यो बेला आमालाई रोगले च्याप्दै लागेको थियो।
म सामान्यभन्दा अलि धेरै नै आमा भएको सपना देख्थें। त्यस्तैमा त्यो बिहानको सपनामा मसँग बोल्दा बोल्दै आमा बित्नुभएको देखेकोले म आत्तिएको थिएँ।
केटाकेटी बेला त्यो कुरा मैले बिर्सिहालेँ। लगभग १ हप्तापछि बल्ल थाहा भयो, एक हप्ता अगाडि नै मलाई खोज्दा खोज्दै बिहानको त्यही समयमा आमाको शरीर निर्जीव भएछ।
विज्ञानले ओतेको युगमा रक्तसंचार नभएको शरीरले कोसौँ पर रहेको पुन्टे प्राणीसँग अलबिदा माग्यो। त्यो दिन र आजको दिन मैले आमालाई सपनामा फेरि कहिल्यै देखेको छैन। सपनाको परिधि मेरो मस्तिष्कको पकडभन्दा बाहिरको भएर होला, कयौंपटक आमालाई सपनामा देखियोस् भनेर सुत्नेबेलामा निकै सोचे पनि नहुने रहेछ।
बालक र वृद्ध बीचको सम्बन्ध किन घनिष्ट हुन्छ भन्नेबारे विज्ञानले अनेक तर्क पेश गरेको होला। मलाई भने यो प्रकृतिले बनाएको निकै खास र अर्थपूर्ण नियम हो भन्ने महशुस हुन्छ। यसकारण कि यो सम्बन्ध, संसर्ग र आत्मियताले अचेतन मनमा आफ्नो सभ्यता, संस्कार र दर्शनको अभूतपूर्ण खाँबो गाड्ने रहेछ।
यस्ता यादहरु समयको धर्सा र घस्रणसँगै अझ सुक्ष्म, सपाट, सरल र जीवन्त लाग्दा रहेछन्। बचपनकै स्मृतिचित्र भएपनि, मेरा लागि वर्तमानमा स्व: प्राणित्वको मुख्य हिस्सेदार यिनै यादहरु बनेका छन्।
तत्पश्चातदेखि वर्तमानसम्म जीवनमा घटित उच्छ्वास, चंचलता, माधुर्यता, आत्मियता जस्ता मनका विकिरणहरुमा मैले सधैँव आमाको त्यही तरंग संचारित भएको आभाष पाउँछु। भावनात्मक निकटताको गहिरो प्रारूप बालक हुँदै नजानेर अनुभव गरिएछ। खैर, जानेर कहिले पनि मनुष्य त्यो विन्दुसम्म नपुग्ला।
सधैंको वर्ष झैँ यो वर्षपनि आमालाई फेरि सपनामा देखियोस् भन्ने मनकामना जारी नै छ।