कोरोना भाइरसले विश्वका साना ठूला राष्ट्रहरु कसैलाई पनि अछुतो राखेन। यस भाइरसले हाम्रो जीवनलाई अस्तव्यस्त र अनिश्चित बनाइदिएको छ। यो भाइरस महामारीका रुपमा फैलिएपछि हामी सबैजनामा त्रासको वातावरण उत्पन्न भएको छ।
कोरोना भाइरसबाट लाखौं सङ्ख्यामा मानिसहरु संक्रमित भइसकेका छन्। यसका कारण विश्वभरि धेरै सङ्ख्यामा मानिसहरुले ज्यान गुमाउनु परेको छ। जुन जुन देशमा यो भाइरस देखा परेको छ, त्यहाँको सरकारले रोकथामका लागि विभिन्न स्वास्थ्यका सावधानीहरु अपनाएका छन्।
लकडाउन, निशेधाज्ञा जारी गरी मानिसको भिडभाड हुन नदिने खालका व्यवस्था लागु गरेपनि अहिले नेपाल भारत जस्ता देशमा यसको अप्ठ्यारो अवस्था सिर्जना गरिदिएको छ।
वैज्ञानिकहरु यो भाइरस नियन्त्रणमा ल्याउनका लागि विभिन्न खोज तथा अनुसन्धानमा लागिरहेको समाचारहरुमा सुन्न पाइन्छ। खोप एउटा उपाय भएपनि यो सबैजनालाई पुर्याउन धेरै समय पर्खिनुपर्ने अवस्था छ।
यो भाइरस स्वासप्रश्वासका माध्यमबाट सर्ने कुरा बताएपछि जनस्वास्थ्यलाई सुरक्षित राख्न मास्क, स्यानिटाइजर प्रयोग गर्ने, हात नमिलाउने नमस्कार गर्ने, साबुन पानीले मिची मिची हात धुने, २ मिटरको दुरी कायम गरेर मात्र भेटघाट गर्ने जस्ता स्वास्थ्य सावधानीहरुलाई सबैले पालना गर्न थालिएको छ।
मान्छेको भीडभाड रोक्न र महामारीलाई थप फैलिन नदिन शैक्षिक क्षेत्र, यातायात लगायतका क्षेत्र बन्द पनि गरिएको छ।
महामारी फैलिएका देशबाट हाम्रो देशमा आएका कारण हुनसक्छ, सन् २०२० जनवरी २४ का दिन नेपालमा पनि यो भाइरसको सङ्क्रमण देखा परेको भनिएको छ। करिब एकवर्ष अघि हरेक दिन सङ्क्रमितको संख्या फैलिदै गएपनि मृत्यु हुनेको सङ्ख्या भने कमै थियो। तर अहिले भने यो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको छ।
स्वास्थ्य अवस्था गाह्रो भएर अस्पताल भर्ना हुने मानिसको सङ्ख्या पनि बढिरहेको छ। हाम्रो जस्तो गरिब र कम विकसित देशका लागि अहिलेको महामारीको सामना गर्नु निकै ठूलो चुनौति भएको देखिन्छ।
यो भाइरसलाई नियन्त्रण गर्न मानिसको हिँड्डुल र भिडभाडलाई कम गर्नुपर्ने रहेछ। महामारीको सङ्क्रमण धेरै भएपछि देशका विभिन्न स्थानीय सरकारले २०७७ चैत्र ११ गतेबाट निषेधाज्ञा लागू गरेका छन्। जसका कारण औषधी पसल, हस्पिटल बाहेक सबै शैक्षिक संस्था, मानिसहरुको आवागमन तथा यातायातका साधनहरु ठप्प छन्। सरकारले जनस्वास्थ्यको हितलाई मध्यनजर गरी यस अनुसारको व्यवस्था लागु गर्नु स्वभाविक थियो।
सरकारले शैक्षिक संस्था बन्द भइसकेपछि वैकल्पिक विधिबाट पठनपाठन सुरु गर्न सबै शैक्षिक संस्थाहरुलाई निर्देशन गर्यो। केही शैक्षिक सामग्री पनि प्रकाशन गरिदिएको छ। तर, स्थानीय तहले विद्यालयमा क्वारिन्टाइन बनाएका कारण कक्षाकोठाहरु, फर्निचरहरु, शैक्षिक सामग्रीहरुमा क्षति पुगेको छ।
विद्यार्थीले वर्षको अन्त्यमा आफू स्वयम् विद्यालय नै गएर आफूले पढेका कुरा परीक्षा मार्फत अभिव्यक्त गर्न समेत पाएनन्। विद्यार्थीको मूल्यांकन पनि आन्तरिक परिक्षाहरुका आधारमा भयो।
कालीकोट जस्ता हिमाली क्षेत्रका विद्यार्थी त एक शैक्षिक सत्र नपढेरै गुमाउनु पर्यो। नयाँ पाठ्यपुस्तक केही बालबालिकाका हातमा त आए तर शिक्षकसँग भेटेरै सिक्न भने पाइएन। यसो हुँदा भन्न मन लाग्यो ‘हाम्रा विद्यालयका कक्षाकोठा भत्किए, हामीले वर्षौ भर सिकेका कुरा भत्किए, हामीले पढ्नु पर्ने पाठहरु भत्किए, साथी र शिक्षकसँगका सम्बन्धहरु भत्किए।’
बन्दाबन्दीले जति प्रभावित बनादियो हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा जस्ता दुर्गम क्षेत्रका विद्यार्थीको पठनपाठनमा तर त्यति पारेन होला सहरमा। किनकि, सहर बजार जहाँ बत्ती र इन्टरनेटको राम्रो सुविधा छ, त्यहाँका विद्यालयहरुले विद्यार्थीहरुका लागी विभिन्न माध्यमबाट अनलाइनमा कक्षा संचालन गरिहेका छन्, विद्यार्थीहरु घरमै बसेर रमाउँदै पढ्न पाएका छन्। साँझ बिहान इन्टरनेट, रेडियो, टेलिभिजनबाट हेर्दै सिक्न पाएका छन्।
तर हामी गाउँका विद्यार्थीलाई इन्टरनेट अझै पनि टाढाको कुरा भएको छ, टेलिभिजन देखेका छैनौं, बिजुली बत्तीको सुविधा हामी कहाँ छैन। मोबाइल फोनको टावर धेरै ठाउँमा टिप्दैन, रेडियोको सबै ठाउँमा पहुँच छैन, विज्ञान र प्रविधि हामीसम्म आइपुगेको छैन। अनि यी विषयमा हाम्रा अभिभावकलाई थाहा छैन, ति के हुन् भनेर थाहा पनि छैन।
हाम्रा लागि न त अनलाइन कक्षा भए, न त विद्यालयमा पढाइ-लेखाइ नै भयो। करिब आधा शैक्षिक सत्र त शिक्षकको अनुहार देख्न नपाएरै बित्यो। ‘बिहान उठ्ने, छिमेकका साथीभाइसँग खेल्ने, दिउँसो गाईवस्तु चराउन जंगल जाने गाईवस्तु, चराचुरुङ्गीसँग रमाउने, साँझ झ्याउकुरी बास्न थालेपछि घर फर्किने र घरमा पाकेको खाएर सुत्ने।’
हामीले बन्दाबन्दीको समयका दिनहरु यसैगरी बिताएका छौं। घरमा पढाइलेखाइ पटक्कै पनि भएन, किनकि हामी मध्य धेरैका अभिभावकलाई केही समय नपढेर केही फरक पर्दैन भन्ने लाग्छ। हामीलाई भने स्कुल जान नपाएर, पढ्न नपाएर छट्पटि भएको छ। आफ्नो भविष्य धेरै पछाडि धकेलिए जस्तो लाग्छ।
यो समयमा मनमा अनेकौं कुराहरु खेल्छन् तर उत्तर भने भेटाउनै गाह्रो भएको छ। हामी कहाँ किन सञ्चार प्रविधिको विकास राम्रो भएन होला? हामीले सूचना र सञ्चार प्रविधिको उपभोग गर्न किन पाएका छैनौं होला? यही तल सुर्खेत र हाम्रो गाउँको विकासमा विभेद किन भएको होला त?
किन हाम्रा शिक्षकले रेडियो र अनलाइनमा कक्षा संचालन गर्न नसकेका होलान्? ती सहरका शिक्षक झै, अब हाम्रो पढाइ लेखाइ कहिले सुरु होला? शिक्षक र कक्षाका सबै साथीहरुसँग कहिले भेट हुन्छ होला? शिक्षकसँग भेटेरै कहिले सिक्न पाइन्छ होला? आदि इत्यादि!
यो समयले विद्यार्थीको पठनपाठन मात्र प्रभावित भएन देशको राजनीतिक र सामाजिक स्थिति पनि निकै प्रभावित भएको छ। गाउँमा सानै उमेरमा बिहे गर्ने मेरै उमेर र कोही त अझ सानै उमेर बालबालिका बढिरहेका छन्।
महामारीका अवस्थामा बालबालिकाहरुमा मानसिक समस्या पनि देखिन थालेका छन्, धेरैजसो काममा लाग्नु परेको छ र केही बालबालिका माथि त घरमा नै हिंसाका घटना पनि भएका छन्।
अहिले बालबालिकालाई आफै भएपनि किताब कापी हेरेर पढ्न सकिने भएपनि त्यसतर्फ ध्यान दिनै सकिएको छैन, पढाइ प्रतिको रुची कम भएको छ, विद्यालय पुनः सञ्चालन भए पनि विद्यालय जान डर लाग्छ, पहिले पढेका सबै कुरा बिर्सिसक्यौं।
यसो नहुनुमा त कुनै दूई मत पनि छैन, किनकि बालबालिकालाई समय बिताउन निकै गाह्रो थियो, परिवारमा साँझ बिहानको छाक टार्न गाह्रो थियो, सबै अभिभावक पढेलेखेका पनि हुनुहुन्न, बालबालिका २४ घण्टै घरमा बसेका छन्, ज्याला मजदुरी गरेर पेट पाल्नेहरुलाई निकै समस्या भएको छ।
महामारी सबैका लागि नयाँ अवस्था भएपनि यसअघि हाम्रै गाउँठाउँमा वा देशमा बाढी पहिरो र भूकम्प जस्तो विपदका अवस्थामा बालबालिका नै बढी प्रभावित भएको देख्ने र महशुस समेत गर्ने गरेका छौं। किनकि हामी अरुकै भरमा बाँचिराखेका हुन्छौँ।
यस अवस्थामा अभिभावक, स्थानीय समुदाय, शिक्षक, स्थानीय संघसंस्था र सरकार बालबालिकाका आवश्यकता प्रति संवेदनशिल हुन सकेनन् भने बालबालिका, परिवार र राज्य सबैले ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ। हरेक परिवारका लागि आफ्नो सन्तानको जति महत्व हुन्छ, हरेक राष्ट्रका लागी बालबालिकाको त्यति नै महत्व हुने गर्दछ।
किनभने, त्यो बालबालिका एउटा यस्तो पुस्ता हो जसले देशको भविष्य निर्माणमा ठूलो भूमिका खेल्दछ। यदि त्यो पुस्ता नै रहेन वा विकासका अवसरबाट वञ्चित भयो भने देशका लागि आवश्यक जनशक्ति नै रहन्न। त्यसैले अभिभावक, स्थानीय समुदाय, शिक्षक, स्थानीय संघसंस्था र सरकारले जस्तोसुकै परिस्थिति आएपनि बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र विकासमा ध्यान दिनु पर्दछ। यसो गर्न सके मात्रै देशको सम्वृद्धिमा ठूलो सहयोग पुग्न सक्दछ।
यसरी राज्यले ल्याउने नियम, विधि र कार्य प्रणालीहरु पनि सबै ठाउँको लागि एकैनासको हुनुहुँदैन। भूगोल, ठाउँ परिवेश अनुसार फरफरक हुन सकेमा त्यहाँको वस्तुस्थिति अनुसार काम कारबाहीहरु अगाडि बढाउन सकिन्छ। यति मात्र होइन ग्रामीण क्षेत्र जहाँ अति नै विकट ठाउँहरु रहेका छन् त्यहाँको विकासमा सबैको ध्यान जान जरुरी छ।
त्यस क्षेत्रको विकासका लागि राज्यको लगानीमा अभिवृद्धि गर्नुपर्ने देखिन्छ। देशका हरेक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको तीव्र वृद्धि हुन आवश्यक छ।
हामी सबै सुरक्षित रहौं, कोरोना भाइरसबाट बाँचौं अनि बचौं र बालबालिकाका आवश्यकताप्रति संवेदनशील बनौं।