हामीलाई कोभिडको लक्षण बारेमा कसैले सोध्यो भने एक पाना भन्न सक्छौं। मेरो ७० वर्ष पुग्न लाग्नु भएका बा-आमालाई सोध्नुस् न, खुरुरुरु भनिदिनु हुन्छ।
अरु त अरु सानो सानो बच्चाहरुलाई पनि थाहा भइसक्यो अब। पहिलो लहरको कोभिडको लक्षणभन्दा आहिले आएको दोश्रो लहरमा केही अन्य लक्षणहरु पनि देखा पर्दै आएका छन्। जस्तैः पखाला लाग्ने, टाउको दुख्ने, आँखा तिर दुख्ने आदि।
तर यसको मतलब ज्वरो वा रुघाखोकी यो पालिको लहरमा देखिदैन भन्ने होइन, त्यो पनि हुन सक्छ। कसै-कसैलाई सास फेर्न गाह्रो हुने, जीउ दुख्ने, जिब्रोले स्वाद थाहा नपाउने, नाकबाट गन्ध थाहा नपाइने इत्यादि लक्षणहरु पनि देखिन्छन्।
यी लक्षण देखाएर आउने रोगलाई नियन्त्रण गर्न वा फैलिन नदिन हामीले व्यक्तिगत रुपमामा पनि निकै ठूलो भूमिका खेल्न सक्छौं। कस्ता भूमिका रहन्छन् होला त?
यसै क्रममा मैले मेरो परिवारकै एक सदस्यलाई लक्षण देखिएको दिनदेखि नै हामीले अपनाएका कुराहरुको आधारमा केही उपायहरु भन्दै छु।
- सुरुमा लक्षण पहिचान गर्ने
हामीले सुनेका कुनै पनि लक्षण (जस्तै ज्वरो, रुघा खोकी, जिउ दुख्ने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, जिब्रोले स्वाद थाहा नपाउने, नाकबाट गन्ध थाहा नपाइने) भएमा सुरुमै कोभिडको शंका गरौँ।
यी लक्षण हुन त मौसमी रुघाखोकीको पनि हुन सक्छ। भएमा ठिकै छ निको भइहाल्छ, तर कोभिड रहेछ अनि पछि थाहा भयो भने हामीले परिवारका अन्य सदस्यलाई सारिसक्ने छौं।
त्यसैले परिवारका सदस्यलाई कुनै पनि त्यस्ता लक्षण देखिएमा कोभिड हुन सक्ने अनुमान लगाउन सकिन्छ।
- छुट्टै बस्ने र खाने
लक्षण देखिने बित्तिकै सो व्यक्तिले आफूले आफूलाई अन्य परिवारबाट छुट्टै राख्नु पर्छ वा अन्य सदस्यले उसलाई छुट्टै राख्न मदत वा हौसला दिनुपर्छ। छुट्टै बस्ने भनेको मतलब कम्तीमा पनि छुट्टै कोठामा बस्नु पर्छ र सोही कोठामै खानु पर्छ।
छुट्टै फ्ल्याट वा छुट्टै घरमा भए झन् राम्रो। छुट्टै कोठामा बसेको बेला ढोका बन्द नै गरेर राख्ने तर हावा पास हुने गरी झ्याल खोलिराख्ने। सकेसम्म आफ्नो खाने थाल, कचौरा, गिलास वा अन्य चाहिने सामान आफ्नै कोठामा राख्ने र आफूले खाएको जुठो भाडा पनि आफैले माझ्ने।
अन्य कसैले हातमा ग्लोब लाएर पनि सफा गर्दिन सकिन्छ तर अरुभन्दा छुट्टै माझ्ने र राम्ररी घाममा सुकाउनु पर्छ।
- सकेसम्म छुट्टै ट्वाइलेट प्रयोग गर्ने वा लक्षण भएको व्यक्तिले प्रगोग गरेको ट्वाइलेट स्यानिटाइज गरेर मात्र अरुले प्रयोग गर्ने
मिल्छ भने लक्षण भएको व्यक्ति वा संक्रमितले छुट्टै र अन्य परिवारका सदस्यले छुट्टै ट्वाइलेट प्रयोग गर्ने। एउटै ट्वाइलेट प्रयोग गर्नु परेमा संक्रमितले प्रायोग गरेपछि बस्ने कमोडलाई स्यानिटाइज गरेर मात्र प्रयोग गर्ने गर्नु पर्छ।
ट्वाइलेटलाई नियमित सफा गरिराख्ने र ट्वाइलेट कोठामा भेन्टिलेसन् वा झ्याल खुल्ला राख्ने। स्यानिटाइज गर्नको लागि आहिले विभिन्न थरिका स्प्रे पनि पाइन्छन्।
- मास्क प्रयोग गर्ने र दूरी कायम गर्ने
लक्षण देखिएकोले र अन्य सदस्य दुवैले मास्क प्रयोग गरेर खुला ठाउँमा दूरी कायम गरेर भेट्न वा कुराकानी गर्न सकिन्छ। लक्षण देखिएको व्यक्तिसँग अन्य सदस्यहरु बन्द कोठामा बस्नाले संक्रमण सर्ने सम्भावना हुन्छ।
- आफूलाई लक्षण भएको कुरा अन्य नजिक बस्ने नातेदार वा छिमेकीसँग भन्ने वा नलुकाउने
यसो गर्नाले उनीहरु तपाईंकोमा आउनुभन्दा आगाडि नै सजक हुन्छन्। जरुरी नपरेसम्म घरमा नआइदिन अनुरोध गर्ने। घरमा आउनु परेमा मास्कको प्रयोग गरी र दूरीको कायम गरी खुल्ला ठाउँमा भेट गर्न सकिन्छ।
आफूमा पनि लक्षण हुँदा हुँदै अरुको घरमा नजाने, कार्यालय नजाने वा अन्य व्यक्तिसँग सम्पर्क हुने ठाउँहरु जस्तै तरकारी पसल अन्य पसल जस्ता ठाउँमा नजाने। जान बाध्यता परेमा मास्क लगाएर दूरी कायम गर्ने गरी जाने तर भिडभाडमा भने कदापि पनि नजाने।
- कोभिड टेस्ट गर्ने/गराउने
लक्षण देखिएकाले कोभिड संक्रमण भए नभएको निश्चित गर्नको लागि कोभिड टेस्ट गर्न गइहाल्ने वा लैजाने। टेस्ट गर्दा कोभिड संक्रमण नदेखिएमा परिवारसँग छुट्टै बस्नु पर्दैन तर मौसमी रुघाखोकी भएमा पनि केही सामान्य कुराहरु जस्तै हातहरु सधैँ सफा राख्ने, खोक्दा वा हाछ्यू गर्दा नाक मुख छोप्ने, र खानपिनमा ध्यान दिने गर्नु पर्छ।
टेस्ट गर्दा कोभिड संक्रमण देखिएमा आत्तिनु पर्दैन, आफ्नो परिवारको सदस्यलाई हुन नदिन माथि उल्लेखित कुराहरुको पालना जारी राख्ने गर्नु पर्छ। टेस्ट नै नगरी लक्षणकै आधारमा र डाक्टरको सल्लाह बिना विभिन्न जथाभावी औषधि आफै किनेर खाने नगरौं।
- लक्षण देखिएका सदस्य बाहेक सँगै रहेका अन्य सदस्यले पनि सजक रहने
लक्षण देखिनु अगाडि नै कोभिड संक्रमित व्यक्तिबाट अरुलाई संक्रमण सर्ने सम्भावना हुन्छ। त्यसैले कोभिड पोजेटिभ भएका व्यक्तिसँग लक्षण देखिनु अगाडि नै नजिकै भएका व्यक्तिहरु आफूलाई लक्षण नदेखिएता पनि सजक रहनु पर्छ।
प्रत्यक्ष सम्पर्कमा आएको छ भने त्यसरी नै अलग्ग बस्नु पर्ने हुन्छ र शंका लागेमा कोभिड टेस्ट गरिहाल्नु पर्छ। कोभिड संक्रमितको सम्पर्कमा आएका व्यक्तिले पनि भिडभाडमा नजाने, र अरु व्यक्तिसँग सम्पर्कमा आउनु हुँदैन। कुनै पनि लक्षण देखिएन वा कोभिड नेगेटिभ आएमा मात्र ढुक्क हुन सकिन्छ।
हाम्रो प्रायः सबैको घरमा बुढा भएका आमा बुवा, दीर्घरोगीहरु हुनुहुन्छ। उनीहरुको साथसाथै परिवारका अन्य सदस्य, नातेदार, छिमेकी र साथीभाइहरुलाई हामी आफैले संक्रमण हुनबाट जोगाउन सक्छौं।
संक्रमणको चेन अर्थात् फैलिने प्रक्रियालाई हामीले तोड्न सक्छौं र संक्रमणको दर पनि घटाउन सक्छौं। त्यसको लागि सजक हुनुपर्छ र माथि उल्लेखित कुराहरु पालना गर्नु पर्छ। तीभन्दा अझ धेरै उपायहरु पनि अपनाउन सकिन्छ वा आफूले गर्न सकिनेसम्म गर्न सकिन्छ तर कम्तीमा यी कुराहरु बिर्सिनु हुन्न है।
(लेखक जनस्वास्थ्यकर्मी तथा अनुसन्धानकर्ता हुन्।)