नेपालमा कोभिड-१९ को दोस्रो लहर सुरू भएसँगै पछिल्लो केही दिनयता नयाँ संक्रमित थपिने र कोभिड संक्रमणबाट मृत्यु हुने दर तीव्र गतिमा बढीरहेको छ।
काठमाडौं उपत्यका लगायत देशका अधिकांश जिल्लाहरूमा कडा निषेधाज्ञा लकडाउन गरीएको छ। जसले गर्दा होटल व्यावसाय, पर्यटन क्षेत्र, उद्योग, कलकारखाना, शैक्षिक संस्था लगाएत सबै क्षेत्र ठप्प छन्।
विषेशगरी ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्ने गरीब असहायको रोजिरोटी खोसिएको छ। यस विषम् परिस्थितिमा जनताहरू अभाव, भोक अनि रोगसँग प्रत्यक्ष जुधिरहेका छन्।
नेपालमा पहिलो लहर केही मत्थर भएसंगै पुनः दोस्रो लहर आउन सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारको सम्पूर्ण ध्यान अस्पताल, आइसोलेसन सेन्टर, आइसियू, अक्सिजन, भेन्टिलेटर, स्वास्थ्यकर्मी, डाक्टर, नर्सहरूको प्रयाप्त व्यवस्थापन संञ्चालनमा सम्पूर्ण ध्यान केन्द्रीत हुनुपर्ने थियो। तर विडम्बना त्यसो हुन सकेन।
फलस्वरूप राजनैतिक दलका नेताहरू, मन्त्रीहरू दिनानुदिन जसो सत्ता, शक्ति र कुर्सीको फोहोरी खेलमा रुमलिएर बन्द, हड्ताल जुलुस सभा-सम्मेलन गर्नमै क्रियाशील रहे।
आम नागरिकहरु पनि स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै मास्क, सेनिटाइजर सामाजिक दूरी कायम नगरी आफूखुसी बलमिच्याई गरी खुलेआम भिडभाडमा सरिक हुनु लगायत यी सबै कारणहरुको नतिजा स्वरूप आज नेपालमा दोस्रो लहरको कोरोनाले भयावह अवस्था सिर्जना गरेको छ।
कोरोना रोकथाम र नियन्त्रणमा खासगरी नेपाल सरकार, राजनीतिक दलहरु, स्वास्थ्य मन्त्रालय, सरकारी तथा निजी अस्पताल सञ्चालकहरू जनस्वास्थ्यविद्, डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत अन्य सम्बन्धित निकायहरू बीचमा आपसी समझदारी मार्फत साझा कार्यदल बनाएर रोकथाम र नियन्त्रणमा अगाडि बढ्नुपर्ने अवस्थामा त्यसो हुन सकेन। जसको परिणामस्वरूप आज कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनाइरहेको छ।
सरकारी तथा निजी अस्पतालमा बिरामीहरु खचाखच भरिएका छन् जसले अक्सिजन,आइसियू, भेन्टिलेटर र बेडहरुको चरम अभावले गर्दा कैयौं बिरामीहरु उपचारको अभावमा मृत्युवरण गरेका छन् भने धेरैजसो बिरामीहरु अस्पतालको पिँडीमा मृत्युसँग संघर्ष गर्दै छटपटाइरहेका छन्।
उनीहरूको चित्कार सुन्दा जो कसैको पनि मन थामिन सक्ने अवस्था छैन। हालसम्म नेपालमा झण्डै ४ लाख ७२ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या करिब ५४०० नाघिसकेको छ। यही अवस्था कायम रहेमा आगामी साउन/भदौसम्म नेपालमा करिब ४० हजारभन्दा बढीले ज्यान गुमाउन सक्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ।
यस्तो महामारीको अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सम्पूर्ण ध्यान कोरोना रोकथाम र नियन्त्रणमा हुनुपर्ने थियो। तर विडम्बना! स्वास्थ्यमन्त्री स्वयम आफै भ्याक्सिन खरिद प्रकरणमा व्यापक कमिसन, भ्रष्टाचार भयो भन्दै आफू पानी माथिको ओभानो बन्न खोजिरहेका छन्।
यतिमात्र होइन, राजनीतिक दलका नेताहरु सत्ता, शक्ति र कुर्चीको बहुमत अल्पमतको खेल, संसद अपहरण रिसोर्ट तथा होटलहरुमा गोप्य भेला जस्ता खेलमा अल्मलिनु लज्जास्पद विषय हो।
उता विश्व समुदायले नेपालमा कोरोना नियन्त्रण बाहिर गइसकेको भन्दै चासो र चिन्ता व्यक्त गरीरहेका छन् भने यता मेरो देशको प्रधानमन्त्री, स्वास्थ्यमन्त्री नेपालमा पूर्णरुपमा कोरोना नियन्त्रणमा छ भन्दै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मिडियामा अन्तरवार्ता दिन भ्याइ नभ्याइ छ।
यति मात्र होइन जनता अक्सिजन, आइसियू र भेन्टिलेटरको अभावमा मृत्युसँग लडिरहेको बेला उता प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै ‘कोरोना सोरोना केही होइन तातो पानी, बेसार र अम्बाको पात उमालेर खाएमा कोरोना चैट हुन्छ’ भनेर भ्रमपूर्ण अभिव्यक्ति दिइरहेका छन्। पक्कै पनि यो शोभनीय विषय होइन।
विश्व समुदाय यतिबेला कोरोनासँग वार कि पारको लडाइँ लडिरहेका छन् खासगरी विश्व महाशक्ति राष्ट्रहरू अमेरिका, बेलायत, भारत, ब्राजिल, फ्रान्स, स्पेन, इटाली लगाएतका देशहरूमा कोरोनाले धेरै मानवीय तथा जनधनको क्षती पुर्याएको छ, साथै अर्थतन्त्रमा समेत भारी गिरावट आएको छ।
पछिल्लो समय हाम्रो छिमेकी देश भारतमा तीव्र गतिमा कोरोना फैलिरहेको छ। जुन नियन्त्रणभन्दा बाहिर छ। भारतको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ। त्यसैले नेपालमा थप जिउधनको क्षती हुन नदिन नेपाल सरकार, जनता सबै सचेत हुन जरुरी छ।
विगतमा के भयो, के भएन भनेर आरोप प्रत्यारोप गरी बस्ने समय यो पक्कै पनि होइन। अब कस्तो स्वास्थ्य रणनीति अपनाउने, खोपको सहज आपूर्ति कसरी मिलाउने, लकडाउन र निषेधाज्ञाको विकल्प कसरी खोज्ने, स्वास्थ्य संकलन लगाउने वा नलगाउने? भन्ने विषयमा सरोकारवाला सबै निकायको छिट्टै ध्यान पुर्याउन जरुरी छ।
प्रधानमन्त्री लगायत सबै सरोकारवाला निकायहरूलाई म आग्रह गर्न चाहन्छु, अबको केही महिना सबैको ध्यान कोरोना रोकथाम तथा नियन्त्रणमा सम्पूर्ण शक्ति प्रयोग गरौं। जति सक्दो छिटो खोपको सहज आपूर्ति मिलाएर सबै नागरिलाई खोपको दायरामा समेटौं।
जनता बाँचे राजनीति फेरि पनि गरौँला। त्यसैले पहिला जनता बचाउने महान् अभियानमा सबै मिलि हातेमालो गरौँ।