कोरोनाको दोस्रो लहरले हामी नेपालीलाई पनि छाडेन। हामी सबै यसबाट धेरैथोरै प्रभावित भयौं र भएका छौं। कतै अलि बढी प्रभाव छ त कतै अलि कम छ। तर प्रभाव नभएको लगभग कुनै ठाउँ नै छैन।
मृत्युको संख्या आइरहेको छ। अस्पतालमा अक्सिजन र भेन्टिलेटर तथा बेडहरूको अभाव हुन थालेको छ। प्रयासहरू पनि जारी छन् तर साधन र स्रोतको कमीका कारण भनेजस्तो व्यवस्थापन गर्न सकिएको छैन।
यहाँ मैले उठाउन खोजेको कुरा कुनै व्यक्ति र ठाउँ विशेषको मात्र होइन, कोरोना कालमा देखिएका समग्र अमानवीय प्रवृत्तिप्रतिको सौम्य आक्रोश हो। भविष्यमा यसप्रकारका संवेनदनहीन र अराजक व्यवहार कतैबाट नदेखिउन् भन्ने पवित्र उद्देश्यबाहेक पङ्क्तिकारसँग अरु कुनै निजी आग्रह र स्वार्थ छैन।
यसमा कसैप्रति लक्षित गरेर कुनै समुदाय विशेषको मानहानी गर्न खोजिएको पनि होइन। एउटा विवेकी र सचेत मानिसले समाज गलत दिशातिर जान लाग्दा ठीक ठाउँमा डोर्याउन भूमिका खेल्नुपर्छ, खेलेन भने उसको विवेक र ज्ञान भुत्ते भएको प्रमाणित हुन्छ भन्ने मान्यताका साथ आफैंले सबैभन्दा पहिला उठाएको विषयको साङ्गोपाङ्ग विश्लेषण प्रस्तुत गर्न चाहेको छु। घटना सन्दर्भका धेरै कुराहरू बाहिर आइसकेकाले सबै कुरा भनिरहनु आवश्यक पनि देखिन्न।
उनी विगत दुई वर्षदेखि थला परेकी थिइन्। उनी बिरामी नै थिइन्। बुढेसकालको ज्यान त्यसै पनि गाह्रो हुनु स्वभाविकै थियो। उनको दिसा-पिसाबसमेत तर्काउने अवस्था थिएन। तर यो अवस्था र कोरोनाको कुनै सम्बन्ध थिएन। लामो समयदेखि थलिएकी उनको अन्ततः जेठ ५ गते बिहान सात बजेतिर प्राणपखेरु उड्यो। उनले देहत्याग गरिन्। यो स्वभाविक मृत्यु नै थियो।
उनको मृत्यु जति स्वभाविक थियो, त्यो भन्दा बढी अस्वाभाविक माहोल बाहिरी वातावरणमा व्याप्त थियो। समाजमा कोरोनाको सन्त्रास फैलिइरहेको थियो। ज्वरो आउँदा वा खोक्दा पनि मान्छे तर्केर हिँड्न थालिरहेका थिए।
यतिबेला हाम्रो जिन्दगी पिसिआर परीक्षण र एन्टिजेनमा झुन्डिएजस्तो भएकै छ। यो हामी सबैलाई थाहा भएकै कुरा हो। वास्तवमा मान्छेको सपनाहरू एन्टिजेनमा नै अल्झिरहेका छन् जस्तो भइरहेको छ। परिवेशले मान्छे जीवनमुखी भन्दा मृत्युमुखी भइरहेको जस्तो देखिँदै गएको छ।
जीवन नचलेजस्तो, कतै हराएजस्तो, मृत्युको सन्नाटा छाएजस्तो, अचम्मको मौनता र शून्यतामा जीवन अल्झिएजस्तो अनुभूति सबैतिर भइरहेको छ। वृद्ध आमाको मृत्यु ठीक यही परिवेशमा भएको थियो।
मान्छे मरेपछि मान्छेको भौतिक शरीरलाई आ-आफ्नै विधिअनुसार दाहसंस्कार वा अन्त्येष्टि गर्ने परम्परा हरेक समुदाय र सम्प्रदायमा हुन्छ नै। यहाँ पनि त्यही हुँदै थियो। तर छिमेकमा कोही थिएनन्। अलिअलि बुढाखाडा मान्छेहरूको जमात थियो, जो कोरोना सन्त्रासले भित्रभित्रै भयभित थिए। तिनीहरूले छिमेकको धर्म निवाउने बाध्यताले मात्र त्यहाँ उपस्थित भएका थिए। आफ्ना भन्नेहरू तराईतिर थिए, मन खाएर काम गरिदिने दाजुभाइ यहाँ खासै थिएनन्।
तैपनि हृदयमा ‘हरि’ भएका केही बुढाहरू जम्मा भए। बुढीको शव खोलामा लैजाने कुरा भयो। मलामी पनि पुर्याउन गाह्रो हुने भो। जताततै बन्द छ। कोही आउने स्थिति छैन। गाउँमा मान्छे छैन। भएका पनि कोरोनाको डरले आउन खोज्दैनन्। बुढीलाई कसरी जलाउने होला भन्ने पिरले एक दुई वृद्धहरू चिन्तित देखिन्थे।
शवभन्दा पहिला दाउराको जोहो गर्नुपर्थ्यो। दाउराको जोहो गरियो। पहिले-पहिले जस्तो भए सबैले घर घरबाटै दाउरा ल्याउँथे। तर त्यस्तो स्थिति थिएन। दाउरा आँधीघाटसम्म लैजान पनि गाह्रो हुने भयो। त्यसैले, ट्याक्टर खोजौं भन्ने भयो। ट्याक्टरमा बल्लबल्ल दाउरा हालियो। दाउरा लिएर ट्याक्टर खोलामा गयो।
समस्या यतिबेला बल्झियो, जतिबेला घाटमा लगिएका दाउराहरू ट्याक्टरबाट सजिलै बिसाउन पाइएन। ‘फलानो कोरोना भएको घरकी बुढीलाई ल्याउँदैछन् रे, हामी सबै मिलेर यिनीहरूलाई लखेट्नुपर्छ,’ एक महिला भीडबाट उत्तेजित हुँदै थिइन्।
‘होइन अरु त छेक्न सकिएला तर धुँवा छेक्न त सकिँदैन नि। हामी सखापै भएर यिनीहरूलाई सजिलो पार्न सकिँदैन,’ अर्की एक अधवैंसे महिलाले औंलो ठड्याउँदै पाखुरा सुर्किन्।
‘भोलि यही बाटो भएर खेतमा मेलापात गर्नुपर्छ। बिउ राख्ने बेला भाछ। मकै पाक्छन्। मकै बोक्न यही बाटो जानुपर्छ। हामी कसरी हिँड्ने यो बाटो?’ एक पुरुष बोल्दै थिए। ट्याक्टरको ड्राइभर अलमलमा पर्यो।
‘अब के गर्ने त? बुढीले त सके देउघाट नसके राम्दी लैजाने भनेकी थिइन्। राम्दी लैजाने स्थिति नभए पनि आँधीघाटमा जलाएर अस्तु राम्दी लैजानुपर्छ,’ एक सन्तजस्ता देखिने पुरुषले भन्दै थिए।
उता कोरोना पोजेटिभ देखिएर त्यसै हतास भएका वृद्ध आमाका सोझा पुत्र विलखबन्दमा थिए। धेरै वर्ष लाहुर बसेकाले यताको त्यति मेसो नपाउने भएकाले पनि उनी त्यसै अलमलमा परेजस्ता देखिन्थे। उनी विरक्तमा परिरहेका थिए।
संसारमा त्यस्तो कुन छोरा होला र, जसले जन्मदिने आमाको मृत्युमा राम्रो मानोस्। सुखको अनुभूति गरोस्। गर्ने कुरा पनि भएन। त्यसैमाथि अघिल्लो दिन कोभिड पोजेटिभको रिपोर्ट आएपछि गाउँभरि उनका कुरा काटिन थालेका छन्।
‘फलानो घरका दुबै जोइपोइलाई कोरोना भएछ। त्यतातिर नजा है बाबू।’
एक जना माथिल्लो घरका छिमेकीले आफ्ना छोरालाई भन्दै थिए।
‘अब तल धारातिर पनि नझर। बरु खोलाबाट दुई पाइला बढी हिँडेर पानी ल्याए हुन्छ। त्यो घरतिर कोही गयो भने त्यो व्यक्तिले यो घरमा खुट्टा नटेक्ला,’ एक जना भूपू सैनिकजस्ता देखिने घर मालिकले परिवारमा निर्देशन दिँदै थिए।
बुढीको लास आँगनमा राखेर छलफलमा जुटेका पञ्च भलादमीका तर्क-वितर्क टुङ्गिने कुनै छाँट देखिएन। ‘खोला नै मेरो हो’ जस्तो गरी पारितिरका मानिसहरू जाइलागिरहेका थिए। खेत त वारिका मान्छेको पारि, पारिका मान्छेको वारि पनि थियो। बीचमा आँधी, वारिपारि गाउँ भएपछि यस्तो हुने नै भयो।
भद्रभलादमीको पञ्चायतमा पनि शक्ति हुने सत्ताका तालुकधारहरूकै बोलवाला हुने नै भयो। गरीब र निरीह परिवारको पिर-व्यथालाई लिएर कसैले जोखिम मोल्ने कुरा पनि भएन। जनप्रतिनिधिले धर्म निभाए। छलफल गर्ने तर कसैलाई सकभर नचिढाउने सन्त नीतिबाट समाधान निकाल्ने उनीहरूको योजना बनेको देखियो। यो स्वाभाविक पनि थियो। उनीहरूलाई भन्नु केही थिएन।
पञ्चायतका प्रमुखले सकभर ‘साप पनि मरोस् लठ्ठी पनि नभाँचियोस्’ भन्ने उपायबाट समाधान निकाल्ने प्रयास गरिरहे। तर बुझ्नेले कुरो नबुझेपछि कसले के नै गर्न सक्छ र? कोरोना सन्त्रासले मान्छे पागल भइरहेका थिए। मान्छेभित्र मानवता होइन, राक्षसीपन निक्लिरहेको थियो। ती युगौं बाँच्ने कालमाथिका अजीवका धर्तीपुत्र हामी नै हौं जस्तो गरी प्रस्तुत भइरहेका थिए। शव ल्याउन नदिने एक मात्र उद्देश्यमा तिनीहरू भूत झैं एकोहोरिएका थिए। कसैले सम्झाएर सम्झिने स्थिति पनि थिएन। पञ्चायत प्रमुखले गरेको इमानदार प्रयास भयभित र आक्रोसित मनस्थितिका अगाडि भुत्ते भइरहेको थियो।
अब एक मात्र उपाय थियो, राज्य लगाएर ठेगान लगाउने। पुलिस, सेना लगाएर भीडलाई नियन्त्रणमा लिने र शव दाहसंस्कार तोकिएकै घाटमा गर्ने। तर यो उपायतिर जाँदा पनि झनै भिडभाड र घम्साघम्सी भएर सङ्क्रमण झन् बढ्ने र त्यो दीर्घकालीन रुपमा झनै घातक हुन सक्थ्यो। बुद्धिमान अध्यक्षले यो उपायतिर जानु पनि ठीक मानेनन्। ‘त्यसो भए अब एउटा उपाय त निकाल्नु पर्यो नि,’ एक भद्रले भने।
‘साँझ पर्न थालिसक्यो। बुढीको शव अलपत्र पर्ने भयो। अब त केही उपाय गर्नैपर्छ,’ अरु केही मानिसले पनि भने।
स्वास्थ्य मापदण्डसहितको भिडबाट अर्को मान्छेले भन्यो, ‘बुढीको आत्माले सराप्ने भयो। केही त गर न ठिटा हो। यो त बर्बाद हुने भयो।’
त्यसपछि एउटा नेताजस्तो देखिने मानिसले भन्यो, ‘ल म दिन्छु बुढीलाई जग्गा। अब जलाउने स्थिति भएन। त्यही तल डोजर ल्याउँ र खाल्डो खनौं।’ ‘हुन्छ हुन्छ’ भनेर सबैले हो मा हो मिलाए।
यसपछि डोजरले एउटा मानिस अट्ने ठीकैको खाल्डो खन्यो। खाल्डो खनिसकेपछि दाउरा ल्याएर फर्केको ट्याक्टरको ड्राइभरलाई बोलाउने कुरा भयो। भर्खरैसम्म यतै भएको ड्राइभर अहिले हरायो। यताउती खोजियो कतै छैन। उसले भेउ पाइसक्यो होला। अब बुढी बोक्नुपर्छ भन्ने ठान्यो र कुलेलाम ठोक्यो। फोन उठेन। अब के गर्ने त भन्ने हुँदाहुँदै घरनजिकै जहाँ हुन्छ त्यहीँ गाड्ने भन्नेतिर सबै लागे। आखिर यही निर्णय भयो।
अनि घरभन्दा थोरै तल खोल्साजस्तोमा खाल्डो खनियो र पवित्र देउघाटमा जल्ने इच्छा भएकी वृद्धालाई घरकै आँगन अगाडि गाडिनु पर्यो। उनलाई नियतिले नराम्रोसँग ठग्यो नै समाज र परिवेशले पनि उनको देवघाट वा आँधीघाटमा जल्ने अन्तिम इच्छा पूरा हुन दिएन। दुष्ट मानवहरूले वृद्ध आमाको मृत शवमाथि गम्भीर अपराध गरे।
सबैलाई नमज्जा भयो। छोरा, बुहारी, नातिनातिना सबैले पाप देख्नुभयो। घरनजिकै आमालाई छपनीले पुरेर पुर्पुरोमा हात लगाएर कोराभित्र बसेका छोरालाई कस्तो अनुभूति भयो होला भनेर अनुमानसम्म गर्दा पनि जिउ गलेर आउँछ। उनका लागि संसार बिरानो लागिरहेको थियो। जन्म दिने आमाका कति जिउँदै हुँदाका इच्छा पूरा गर्न नसके पनि मृत्युपछि पनि सनातनी धर्म पूरा गर्न पाइएन भन्ने पिरलोले उनलाई सताइरहेको थियो। छोरा, बुहारी, नाति, नातिना सबै भन्दै थिए, ‘समाजमा मानवता हराएछ। कसैमा मानवता देखिएन। न्यूनतम् मानवीय व्यवहार पनि नभएकोमा सबै दुःखी थिए।’
यो पङ्क्तिकारलाई अघिल्लै दिन सुनेको घटनाले रातभरि निदाउनै दिएको थिएन। आमालाई घाटमा पोल्न नपाएका ती अभागीहरूलाई भेटेर सान्त्वना नदिएसम्म भित्रबाट सन्तुष्टि नै मिलिरहेको थिएन। के-के नमिलेजस्तो भइरहेको थियो। यसैले, सुरक्षित हुँदै हामी वृद्ध आमाका सन्ततीहरूलाई भेट्न समेत गयौं। यसमा पङ्क्तिकारको कुनै स्वार्थ थिएन, थियो त केवल मानवताको नाता मात्र।
भोलिपल्ट हामी जाँदा पनि उनीहरू निन्याउरो अनुहार लिएर विलौना गरिरहेका थिए। हामी जाँदा उनीहरू थलामा काम गरिरहेका थिए। त्यहाँ केही बुढाहरू मात्र देखिन्थे। हामीले उनीहरूलाई सम्झायौं। सान्त्वना दियौं।
कपडाका मास्क लगाउनुभएका बुबाहरूलाई मेडिकल मास्क लगाउनुहोस् भनेर सल्लाह दियौं। केही थान हामीसँग भएका मास्क र सेनिटाइजर दिएर छाड्यौं।
‘समस्या पर्दा हामीलाई सम्झनुहोला’ भनेर ढाडस दियौं, तर हामी केही गर्न सक्ने हैसियतका प्राणी भने थिएनौं।
वास्तवमा जे भयो, त्यो हृदयविदारक नै थियो। सबैले भन्दैथिए, ‘मानिसलाई यस्तो कसैलाई नपरोस्। छिमेकी यस्ता कसैका नहून्।’
कोही भन्दैथिए, ‘बुढी मरी भनेर नरुनू काल पल्क्यो भनेर रुनू।’
अझै रोचक कुरा त के थियो भने त्यो गाउँ भन्दामाथि जाने मूल बाटोमा काँडा लगाएर बार लगाइएको थियो ता कि त्यस घरबाट मानिसहरू माथिल्लो गाउँमा जान नपाउन्। अरुले भनेको पत्यारै लागेको थिएन, जब आफ्नै आँखाले देख्यो तब नपत्याइकन धरै थिएन।
अनि भन्न मन लाग्यो, ‘आज अरुमाथि जसरी खनिएका छौ भोलि तिमीलाई पनि यस्तै पर्दा के गर्छौ? के तिमीलाई दुःख पर्दैन? के तिमीहरू कालमाथिका हौ? कम्तीमा तिमी घाटमा जल्न नपाएकी आमाको छोरा भएर एकपटक आफूलाई नियालेर हेर त? के तिमीलाई यस्तो व्यवहार भएको भए पीडा हुँदैनथ्यो?’
यसै त महामारी छ, झन् मानिसले खडा गर्ने महामारीहरूले सङ्कटमाथि सङ्कट थपेर समाजमा समस्या निम्ताउने काम गर्नु राम्रो हो र? यस्तो बेलामा ‘मैले के सहयोग गर्न सक्छु’ भनेर सोच्नुपर्ने होइन र? भोलि कसैले घाट नदिने, कसैले औषधी नदिने, कसैले उपचार गर्न नमान्ने, कसैले एम्बुलेन्समा बोक्न नमान्ने हो भने स्थिति के होला? कसरी बचाउन सकिएला धर्तीका करोडौं मानिसलाई?
यी मानिसहरूले झैं गर्ने हो भने त संसार कसरी चल्ला त यो कोरोना घडीमा? अनि एउटाले अर्काको मृत्यु हेरिरहने हो भने बाँचेर पो के नै अर्थ भयो र? बाँच्नु सास फेर्नु मात्रै हो भने त कुरा एउटा हो, नत्र आफू बलियो हुँदाहुँदै आफूभन्दा कमजोर र निर्बलियालाई केही पनि सहायता गर्न नसक्ने जीवनको के नै मूल्य भयो र? यस्तै अनेकौं अनुत्तरित प्रश्नहरूले मेरो मथिङ्गल केही दिन यता निरन्तर बिथोलिरहेका छन्। सायदः आजसम्म यी प्रश्नहरूको यथोचित उत्तर कतैबाट पाउन सकेको छैन।