रेशम चेपाङलाई पढ्न जान मन छ। दुई दिने करेसाखेती तालिम उनले खुब जागर लगाएर पढे। पढेका कुराले कापीका पाना भरे। तर स्कुल नजिक छैन। नजिक भएको स्कुलमा ३ कक्षासम्म मात्र पढाइ हुन्छ।
‘३-४ घण्टा लगाएर भोको पेट स्कुल जान पर्छ। ६-७ घण्टा त आउजाउमै जान्छ। तै पनि २-४ वर्ष देउरालीटारको स्कुल पनि गा’थ्यो मिस, पछि हम्मे-हम्मे पर्यो अनि घरमै काम सघाएर बसेको। तर अझै कति पढ्न मन लागिराख्छ मिस।’
चेपाङ समुदायमा सबैको आ-आफ्नै समस्या छ।
‘सर, मेरो आँखाको उपचार हुन्छ? आँखै देख्दैन म त! बुहारीको फुर्सद नभएर मै आयो तालिम लिन। तपाईंहरू सित औषधि छ भने दिनुस् न सर।’
चिनीमाया चेपाङको भने छुट्टै पीर छ। आँखामा जालो लागेको छ। राम्रोसँग आँखा देख्दिनन् उनी। बुढेसकालमा दुखेका आँखाले मन पनि एकदमै दुखाएको छ। तालिमभन्दा उनको ध्यान आँखातिर बढी छ।
यसपालि करेसाखेती तालिम दिन चितवनको भण्डाराबाट करिब ३ घण्टा माथिको चेउदिंग, कान्दा, स्यामरांग र सार्लिंग जाने अवसर जुर्यो। चार जनाको समूह बाँडिएर जाने भयौं। अनि लाग्यौ चेउदिंगतर्फ। योभन्दा पहिला करिब एक वर्ष अघि ताङ्गराङ्गमा बास बसेर वासवांग, हर्राविसौना, गुंडी र कालीटार पुगेका थियौं। त्यहाँ पुग्दा अचम्म लाग्यो।
सुदूरपश्चिमका थुप्रै विकट पहाडको दु:ख देखेकै भए पनि सर्व-सुविधा सम्पन्न सुगम चितवनको यो दुर्गम पाटो कल्पना पनि नगरेको विषय थियो। पुगेपछि लाग्यो यहाँ त शताब्दीले पनि केवल अङ्कमात्र परिवर्तन गर्न भ्याएछ। मान्छे त उही एक शताब्दी नै पर।
यहाँका मानिस अझै चप्पल लगाउँदैनन्। हाम्रा हजुरआमाहरूले आफ्ना आमाहरूको पालोका कथाका केही धमिलो यादहरू यहाँ आइपुग्दा छर्लंगै भयो। उही बुलाकी लगाउने आमाहरू। घाँस-दाउरामै रमाउने बुवाहरू। १७ वर्ष पुग्दा नपुग्दै ३-४ वटा छोराछोरीका आमा बनेका बहिनीहरू। अनि गाडी देख्न बितिक्कै अचम्म मानेर कुद्ने एक हुल बच्चाहरू।
पूर्वी चितवनको सुविधासम्पन्न सेरोफेरोमा हुर्के-बढेकी मलाई चितवन निकै विकसित र प्रगतिशील लाग्नु कुनै अस्वभाविक कुरा होइन। तर यो माटोमा टेकेपछि लाग्यो, मैले देखेको सहर त हुनेखानेको मात्र रहेछ। हुँदाखानेको चितवन त हामीलाई उजाड र कहालीलाग्दो लाग्यो। यहाँ भोट माग्न उम्मेदवार त पुग्न भ्याएछन् तर स्वास्थ्य चौकी पुग्न अझै भ्याएनछ। स्कुल पुग्न भ्याएनछ।
यहाँको स्कुलमा कहिलेकसो हुने तालिम पढ्न आइपुग्छन् नानीका आमाबुवाहरू। तर नानीहरू पढ्दैनन्। कहिले पढ्नु ? कसरी पढ्नु? अनि कति बेलासम्म ३ कक्षामात्र बारम्बार पढिरहनु। बरु घर व्यवहार पढ्छन्। घाँस-दाउरा पढ्छन् कलिला मुनाहरू।
यहाँ अनेक समस्या छन्। खानेपानीको समस्या, सिँचाइको समस्या, बिउबिजनको समस्या, इत्यादि। विभिन्न समस्याले घेरिँदा-घेरिँदै पनि, अनेक कठिनाइका बाबजुत पनि हामीले कतै बाझो देखेनौं।
कृषि प्रविधि र ज्ञानको कमी त देख्यौं तर परिश्रमी अनि जाँगरिला हातहरूको कमी देखिएन। सबै जना काम गर्नैमा व्यस्त अनि मस्त! भकारी रित्तै होस् तर मन रित्तो थिएन। आशाको अनेकौ किरणहरू सलबलाइरहेको आँखा अनि हँसिलो मुहार लिएर छताछुल्ल सत्कार पस्किन्छन् यहाँका मान्छेहरू।
तालिम लिन आएकी एउटा दिदी सुन्निएका खुट्टा समाउँदै अमिलो मुख लगाइराखिन्। पछि थाहा भयो। सर्पले टोकेको रहेछ।
खुट्टा सुनिन थाल्यो। तर कता जाने ? एक घण्टा ओरालो झरेर बल्ल मोटर बाटो आइपुग्छ। कि त ३-४ घण्टा गाडीको बाटो भण्डारा झर्न पर्यो, कि त मलेखु पुग्नु पर्यो। त्यो पनि जतिबेला पनि गाडी कहाँ पाइनु? बरू तालिम लिनै जान मुनासिब देखिन् दिदीले। कमसेकम बिरलै मुखमा पर्ने मासुभात खान पाइन्छ। बच्चालाई खुवाउन पाइन्छ।
यो सबै देखिरहँदा हामी अवाक् भयौं। आफैंलाई आफू निरिह लाग्यो। बिहान टोकेको सर्पको अहिलेसम्म उपचार छैन। धन्न विषालु सर्प परेनछ। परेको भए ? आखिर के नै हुन्थ्यो र ? धेरै भए एउटा समाचारसम्म आउथ्यो कि ! त्यो पनि समाचार लेख्ने मान्छे पुगेछन् भने। संसार नै कोभिड-१९ को यो विषम परिस्थितिमा पनि लाज पचाएर जनता मरेको टुलुटुलु हेर्ने सरकारसँग अरू के नै आश गर्न सकिन्छ र ?
न स्कुल, न अस्पताल, न बाटो, न बाटोमा कुद्ने मोटर। बस कुदिरहन्छन् चप्पल बिनाको पैंतालाहरू।
बिजुलीको कुरा त परै जाओस्, मोबाइलको नेटवर्कसम्म टिप्दैन। नाम मात्रको नगरपालिका। नाम मात्रको चितवन।
बाटोमा जाँदै गर्दा गाडी चलाउने भाइले ठट्टा गरे।
ऊ त्याँ देख्नुभाछ नि... त्यो रोड पुगेको ठाउँ! त्यो गाउँपालिका हो। हाम्रो नगरपालिका भएर रहेछ क्यारे अहिलेसम्म रोड नपुगेको।
ठट्टा गरेरै भए पनि मनको बह पोखे। हामी सुनी मात्र रह्यौं।
पढाइ-लेखाइ छैन। आफ्नो नाम भन्न पनि आधी घण्टा लजाउने यहाँको समुदायमा आफ्नो समस्या बलियो आवाजले राख्न सक्ने मान्छे कमै छन्। एसएलसी पास गरेकाहरू औंलामा गन्न मिल्ने छन्।
भएकाहरू आर्थिक विपन्नताले थिल्थिलिएर बसेका छन्।
धेरै खाडी पुगिसके। यो ठाउँ हेर्दा लाग्छ आफ्नै सन्तानलाई पनि सौतेनी व्यवहार गरेर छुट्टै छुट्टाइदिए जस्तो! देख्दा-देख्दै र बुझ्दा-बुझ्दै पनि एक अभिन्न पाटोलाई किनारा लगाइदिएजस्तो।
एक हप्ताको लोथर बसाइमा कृषिका कुरा सिकाइयो र त्योभन्दा धेरै जीवनका भोगाइ सिकियो। तालिम अवधिभर, कोही तीन घन्टाको बाटो हिँडेर आउनुभयो, कोही दूधे बालक च्यापेरै आउनुभयो। कोही भने ‘बेलुकालाई खाने कुरा छैन। भण्डारादेखि आधि बाटोसम्म बुडाले मोकैको पिठो ल्याउँछ, आधि बाटोसम्म म जान पर्छ मिस, आज अलि छिटो पढम् है’ भन्दै पनि आउनुभयो।
तुषारो पर्ने भएकाले खेती राम्रो हुँदैन। गरेको खेतीले छ महिनामात्र खान पुग्छ। यति अभावमा पनि यति उत्सुकता र हार्दिकता देखेर हामी नतमस्तक भयौं।
उपचार नपाएर आफ्नाहरूका ज्यान आँखै अगाडि मरेर गए पनि ती आँखाका सपना र तिनलाई पूरा गर्ने आश अझै पनि मरेका छैनन्। दिनभरिको थकाइ मार्न पिएको डबकाका रक्सीहरू- जब रगतमा नाच्न थाल्छन्-उसैगरी नाच्छन् चेपाङका अनेकन सपनाहरू !
दिनभरिको तालिम, खेतबारीको क्रियाकलाप, बेला-बेलाको हाँसोठट्टा र छुट्टिने बेलाको नाचगान गर्दा-गर्दै सात दिन बितेको पनि पत्तै भएन। अनेक समस्या आइलागोस् तर यहाँका मान्छे गाउन छोड्दैनन्।
जेसुकै भए पनि बेफिक्री नाच्न कोही चेपाङसँग सिकोस्। जे छ त्यसमै चित्त बुझाएर हाँस्न चेपाङसँग सिकोस्। जे-जस्तो भए पनि हामी आशा गरौं कि कुनै दिन चेपाङ दाजुभाइ, दिदीबहिनीका सपना पनि बिपना बनून्।
शिक्षाले बाटो बिराएरै भए पनि यो ठाउँ टेकोस्। यस्ता कुना-कन्दाराहरूमा पनि सरकार छ भन्ने आभास गर्न पाइयोस्।
चेपाङ समुदायको चटक्कै माया नमारियोस् र फेरि पनि अर्को चेपाङले उपचार नपाएर अकालमै ज्यान गुमाउन नपरोस्।