‘अहिलेको जमानामा पनि जन्तर ल्याएकी रै छ, मलाई त हेर्न मन पनि लागेको छैन। त्यस्तो धुमधामले बिहे गरेर भित्र्याएकी बुहारी चित्तै बुझेन भन्या। माइती कामै नलाग्ने रहेछन् कि क्या हो ?’
मभन्दा पछाडिको सिटबाट एक जना महिलाले आफ्नो बुहारीको बारेमा सार्वजनिक ठाउँमा भनेका यी वाक्य मेरा कानमा ठोक्किए। ‘अरूलाई के के ल्याएकी रहेछ,’ सँगै बसको सिटमा बसेकी उनकी साथीले थप जिज्ञासा राख्दै सोधिन्।
‘आमालाई माइली तिलहरी, बाबालाई औंठी, मलाई जन्तर अनि, नानुलाई सानो टप। टप चाहिँ सारै राम्रो छ। यो बिहेमा राम्रो भनेको त्यही टप मात्रै होला।’ संवाद दुई जना महिलाबीचको हो।
७ वैशाख २०७८ मा म कोरोना भाइरसविरूद्धको दोस्रो डोज खोप लगाउन सिभिल अस्पताल बानेश्वर गएर सार्वजनिक बसमा फर्कंदै थिएँ।
मभन्दा पछाडिको सिटमा बसेका मेरा आमा समानका दुई जनाले भर्खर बिहे गरेर भित्राएकी बुहारीले ल्याएको दाइजोमा गरेको संवादले भने मलाई नरमाइलो लाग्यो।
संवाद सुनेपछि पछाडि फर्केर हेरें। अनुहार त्यति राम्रो देखिएन। दुवैले मास्क लगाएका थिए।
कुरा त उनीहरूबीचको थियो तर चासो भने मलाई भयो। उनीहरूबीचको संवादले धेरै प्रश्न जन्माइदियो।
सुन्ने बित्तिकै धेरै कुरा भन्न मन लागेको थियो तर अन्जान मान्छेलाई के भनूँ आफैंलाई सम्हाले।
लौनचौरमा एकैछिन जाम भयो, फेरि सुरू भयो उनीहरूको कुराकानी, ‘आज हेरेको सारी जम्मा ५५ सयमा आउने रैछ, मलाई त्यसले ल्याइदिएको सारी त यति राम्रो पनि छैन। पहिलो पटक घर आएकी मान्छे जाबो त्यस्तो सारी के ल्याएको होला, साथैमा रहेकी उनकी साथीले थपिन् त्यसैमा हो मा हो गर्दै ‘कस्तो छ र ? मलाई त अहिले नै हेर्न मन लाग्यो, मेरो बुहारीले पनि के गतिलो ल्याएकी थिई र! कहिले देखाइसिन्छ ? उनीहरूबीचको नाता के थियो त्यो त अनुमान लगाउन सकिनँ तर कुरा सुन्दा लाग्थ्यो उनीहरू ‘उच्च’ घरानाकै हुन्।
उनले फेरि जवाफ फर्काइन्, ‘ह्या ...के हेर्नु र त्यस्तो जाबो, राम्रो भए पो देखाउनु। त्यै नि उनीहरू नभएको बेलामा आइस्योन’।
कुरा सुनेर सजिलै अनुमान लगाएँ उनीहरू नयाँ दुलहीले ल्याएको दाइजोको गर्दै थिए।
दुई जनाबीचको अनेकौ टीकाटिप्पणीले गाडीमा भएका सबैको ध्यान तानेको थियो। अरूलाई केही भयो भएन त मैले जान्न सकिनँ तर मलाई भने टाउको दुख्न थाल्यो, मसँग विकल्प पनि केही थिएन। एकैछिनमा ओर्लने ठाउँ आयो। म झरें तर मनमा अघिकै कुरा रूमलिएको थियो। अनि सोच्न बाध्य भएँ।
एउटा छोरीले आफू जन्मेको घर छोडेर अरू कसैको घरमा आजिवन बिताउन सक्छु भनेर गएको हुन्छे। आफ्ना जन्म दिने बाबाआमा आफु हुर्केको घर, आफ्ना सबै कुरा छोडेर एक्लै पराइ घर सम्हाल्छु भनेर जाँदा पनि उल्टै त्यो नारीभन्दा दाइजो ठूलो ? आफू पनि त्यही दिन पार गरेर आएको कुरा किन बुझ्दैनौं हामी ? के अरू कसैको छोरी बुहारी बनेर आउँदैमा सारा सम्पत्ति नै बोकेर ल्याउनु पर्ने हो र ? के त्यो नारीले पढेको योग्यता सम्पत्ति होइन ? के उसको शरीर श्रम त्यो नयाँ घरको सम्पत्ति होइन ? उसले बाबाको घर छोड्नुपर्छ त्यो त्याग नयाँ घरको लागि सम्पत्ति होइन र ?
यस्ता प्रश्न त धेरै छन् तर उत्तर कसले दिने ?
हिजोआज जति नै बुझ्ने जति नै पढेका गनिए पनि दाइजोको मामिलामा भने मौन रहेको देखिन्छ।
बाहिर दाइजो प्रथाको घोर विरोध गर्नेले पनि दाइजो नभएर बिहे नगरेको उदाहरण धेरै देखेको छु मैले।
एउटा छोरीले जन्मदेखि उसको लागि गरेको लगानी आखिर लैजाने त कर्म घरमा नै हो नि, त्यसमाथि पनि दाइजो खोज्ने हाम्रो सोच कति संकिर्ण छ ? आफैंले आफैंलाई प्रश्न गरौं त ?
एउटा छोरीलाई जन्मेदेखि बिहे गर्ने उमेरसम्म पुर्याउनको लागि उसको जन्मघरले कति लगानी गरेको हुन्छ ? कति बाधा व्यवधान पार गरेर त्यो अवस्थासम्म पुर्याएको हुन्छ ? एउटा छोरीले आफ्नो जन्मघर छोड्दाको पीडा कति हुन्छ ? त्यो छोरी जन्माउने आमाबाबालाई मात्रै थाहा होला। त्यसैमाथि सम्पत्ति ल्याई, ल्याएको सामान यस्तो, उस्तो भनेर टीकाटिप्पणी गर्न आवश्यक छ र ?
नेपाली समाजमा कायम रहेको दाइजो प्रथाले महिलाहरूमाथि गम्भीर हिंसा भइरहेको छ।
नेपालको तराईमा यस्ता घटना धेरै भएको पाइन्छ। दाइजो कम ल्याएकै बहानामा कति नारीले ज्युँदै जल्नु परेको छ भने कतिले आत्मदह गर्नुपर्ने बाध्यता बनेको छ।
दाइजोकै निउँमा अझै पनि कति बाबुआमाका काख रित्तो भएको छ भने कति अझै बेपत्ता बनेका छन्।
मलाई थाहा भए अनुसार नेपालको कानून प्रणालीमा पनि दाइजोको अवधारणालाई मान्यता दिइएको पाइन्छ।
मुलुकी ऐन स्त्री अंशधनको महलको ४ नं. मा स्वास्नी मानिसलाई माइती मावलीपट्टिका नातेदार इष्टमित्रले दिएको चलअचल र त्यसबाट बढेबढाएको सम्पत्ति दाइजो ठहर्छ भन्ने व्यवस्था गरिएको छ।
त्यस्तै, सोही महलको ५ नं.मा स्वास्नी मानिसले आफ्नो दाइजो पेवा आफूखुश गर्न पाउँछ भन्ने व्यवस्था गरिएको छ।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ को दफा ३ मा विवाह हुँदा तिलक लिनदिन नहुने कुरा उल्लेख छ भने दफा ४ ले विवाहमा कुनै नगदी र वा जिन्सी लिन नहुने व्यवस्था गरेको छ। तर सोही दफा ५ ले दाइजो नियन्त्रणको व्यवस्था गरे पनि दफा ५(२) मा आफ्नो कूल परम्पराअनुसार राजीखुशीले बढीमा दश हजार रूपैयाँसम्म दाइजो दिन हुन्छ भन्ने व्यवस्था गरेको छ। यो व्यवस्थाले दाइजोलाई मान्यता दिएको देखिएको छ।
नेपाली समाजमा दाइजो, तिलक तथा दहेजलगायतका शब्दहरू दाइजोकै पर्यायवाचीका रूपमा प्रयोग भएका छन्।
दाइजो प्रथाले नेपाली समाजमा महिलाउपर दैनिक गम्भीर हिंसाका घटनाहरू भइरहेको तथ्य विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारबाट पुष्टि भएको छ।
यसैगरी एक्शन-एड नेपालको सहयोगमा कन्र्सोटियम फर वुमेन राइट्स र राष्ट्रिय महिला अधिकार मञ्चले संयुक्त रूपमा दाइजोविरूद्ध गरेको अध्ययनले दाइजोको कारणबाट महिलाहरू उपर गम्भीर हिंसा भएको तथ्यगत रूपमा पुष्टि गरेको छ।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ को दफा ५९२० को उपरोक्त व्यवस्था संरचनागत हिंसाको एउटा रूप भएको तथ्यमाथि उल्लिखित घटना र अध्ययनले देखाएको छ।
कुल परम्पराअनुसार दश हजारसम्म दाइजो दिन हुन्छ भन्ने व्यवस्था नेपालको अन्तरिम संविधान, २०६३ को धारा २०(३) सँग बाझिएको छ। यसबाट महिलाहरूलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, २० र २१ प्रदत्त मौलिक हकको समेत अपहरण भएको छ।
कानुनमा जे जस्तो व्यवस्था भए पनि आखिर लागू गर्न सक्ने कमै छन्। सबैलाई अरूको सम्पत्तिमा किन यति धेरै लोभ लाग्छ थाहा छैन। छोरी नहुनेलाई त थाहा नहोला म मान्छु तर आफ्नो पनि छोरी अरू कसैको बुहारी बन्ने छ, त्यो अवस्थामा अरूको छोरी आफ्नी बुहारी बनेर आउँदा उसले के के त्यागेर आएकी छ भन्ने कुरा किन बुझ्न सक्दैनौं हामी ?
आफूले बुहारीलाई गरेको अनि भनेको कुरा आफ्नै छोरीलाई पर्दा के सहन सक्छौं हामी ? पक्कै पनि सक्दैनौं। त्यसैले अरूको छोरीमाथि दोष खोतल्न लाग्ने भन्दा पनि कसरी गुण धेरै बढाउन सकिन्छ भनेर लाग्नुपर्ने देखिन्छ। अरूको सम्पत्ति होइन आफूले आफ्नो बनाउने मान्छेको योग्यता हेर्नुपर्छ जस्तो लाग्छ। यसो भन्दैगर्दा ममाथि अर्को आरोप पनि लाग्न सक्ला, कि बुहारीले पनि त्यो व्यवहार गर्न सक्नुपर्दैन? भन्ने।
आफ्नो जन्म घर त छोडेर अरू कसैको घरलाई आफ्नो भनेर जान्छौं भने त्यो घरलाई पनि आफ्नै घर बनाउन सक्नुपर्छ।
आफ्ना जन्म दिने बाबा आमाको स्थानामा अब कर्म दिने बाबाआमालाई राख्न सक्नुपर्छ। ती नै बाबाआमाले जन्माएको छोरा आफ्नो हुने तर जन्माउने बाबाआमा पराए बनाउने चलन पनि धेरै देखिन्छन् त्यो पक्कै पनि ठिक होइन।
सम्बन्ध मजबुद बनाउने वा टुक्र्याउँदै जाने भन्ने कुरा आफ्नै हातमा हुन्छ त्यसैले दुबै पक्षले आ-आफ्नो ठाउँमा जिम्मेवारी राम्रोसँग समाल्न सके पनि घरमा दरार पैदा नहोला।
अनि अरूको छोरीलाई पनि आफ्नै छोरी मान्ने र अरूको बाबाआमालाई पनि आफ्नै बाबाआमा मान्न सक्ने हिम्मत राख्ने हो भने घर पक्कै पनि घर जस्तै बन्ने छ।