महामारीको समय छ। यस्तोमा सक्रंमित हुनु संकटमा पर्नु हो।
यस्तै सकंटग्रस्त अवस्थाको किनारमा बसेर लेख्ने जमर्को गर्दैछु तर लेख्न मन छैन। आफैं भित्रको उकुसमुकुसको दबाब कम गर्न पनि मन नलागेको समयमा कोसिस गर्दैछु।
एक हिसाबले बिनाउद्धेश्यको लेखाइ जस्तै लाग्दैछ। केही उदासी र निरासा मिसिएको लेखाइ। हुन त निराशाभन्दा आक्रोश हुनुपर्ने हो लेखाइमा। तर किन हो त्यो सामर्थ्य पनि जुटाउन सकिराखेको छैन। त्यसो त थाहा छैन कति हरफ वा अनुच्छेद पछि गल्छु र त्यसै छोडिदिन्छु जसरी अरु धेरै बाचा गरेर लेख्न थालेका लेख छोडिएका थिए, छोडिएका छन्। अधुरै।
आरटी–पिसिआर पोजेटिभ भएको दुई हप्ता कट्दैछ। अनौठो थकान महसुस हुन्छ अहिले पनि। फूर्ति छैन पटक्कै। उदासउदास छु। मानिसहरू भन्छन् यस्तो बेलामा सकारात्मक सोच्नुपर्छ। तर मानसिक र शारीरिक दुवै रूपमा पूरै सञ्चो नभएको अवस्था मै छु। त्यसै त्यसै उकुसमुकुस महसुस भएको छ र मनमा बेचैनी।
बिहान निन्द्रबाट ब्युँझिन पनि नपाई बत्तासिएर खबर आयो भाइ मुकुन्द (ठूलावुवाका छोरा) राति एक बजे बिते रे।
कस्तो अशुभ सुरूआत हो यो दिनको। परिवारको कोही गुमाउनु, त्यसमा पनि आफूभन्दा कम उमेरकालाई गुमाउनु कम्ता पीडादायी क्षण हुन्न।
उसलाई सामान्य स्वास्थ्यमै असहजता महसुस भएको थियो रे। नियमित परामर्शका लागि जाने गरेको चिकित्सकको परीक्षणपछि उनै चिकित्सकले अन्य केही समस्या त छैन तर एक पटक पिसिआर गर्नुस् भने। परीक्षण्मा कोरोना पोजेटिभ देखियो। उनै चिकित्सकको सल्लाह थियो गाह्रो भाको छैन भने अक्सिमिटर किन्ने र घरमा नै नियमित अक्सिजन लेभल जाँच्ने, घट्न थाल्यो भने अस्पताल जाने।
सोही सल्लाह अनुरूप नियमित अक्सिजन लेभलको जाँच गर्दथे। अक्सिजनको लेभल त घटेन तर असहज महसुस भएपछि अस्पताल जाने निर्णय गरियो।
कोरोना सक्रंमण भएको छ, सरकारी अस्पताल क्षमताभन्दा बढी चापमा छ भर्ना पाउने सम्भावना नै थिएन। एक निजी अस्पतालमा भर्ना गरियो, त्यो पनि बहुत कसरत गरेर।
स्वभाविक हिसाबले अस्पतालले आफ्नो नियमित प्रक्रिया सुरू गर्यो। जस्तो कि, क्रमश: गतिलै रकम डिपोजिट लिएर मात्र बिरामी भर्ना, अक्सिजन, आइसियू, ९ दिन भेन्टिलेटरमा र अन्त्यमा मृत्युको प्रमाणपत्र।
कोरोनाबाट मृत्युवरण गर्नेहरू धेरैको कथा यस्तै होला जस्तो लाग्छ।
परिवारका मुख्य अभिभावक असामयिक गुमाउनु पक्कै पनि अपूरणीय र सबभन्दा बढी चोट परेको क्षण हुँदै हो, त्यसमाथि पनि अस्पतालले असुल्ने रकम अर्थात् उसले गर्ने चार्ज थप पीडा दिने खालको रहेछ।
म व्यक्तिगतरूपमा चकित परें कि सामान्य जस्तो लाग्ने अस्पताल, कुनै मेजर सर्जरी आदि पनि होइन, तर दैनिक चार्ज झण्डै पौने एक लाख बराबर।
आफूले बजारबाट किनेर दिएको रेम्डिसिभर लगायत औषधिको मूल्यको के कुरा। पीडामाथि पीडा थप्ने अनेक कारण छन्। कसले तोक्छ अस्पतालले प्रदान गर्ने यावत सेवा सुविधाको मूल्य? प्रष्ट लुट भन्न सकिन्न र यसलाई?
साँझसम्म तपाईंको बिरामीलाई राम्रो हुँदैछ भनेर जानकारी दिने डाक्टरहरू भोलि बिहान हस्पिटलका मालिकको भेषमा जवाफ दिन्छन्, ‘हामीले त कोसिस गरेकै थियौं, तर तपाईंको बिरामीले नै कोपरेट नगरेपछि हाम्रो पनि केही लागेन’। छक्क पर्नु छ। बन्द कोठाभित्र जहाँ बिरामीको आफन्तलाई नजिकसम्म जान दिइँदैन, त्यसमाथि भेन्टिलेटरमा राखिएको बिरामीले मध्यरातमा कसरी, कस्तो कोपरेट गर्नु पर्थ्यो ताकि उनीहरूले बिरामीलाई अनाहकमा मर्नबाट बचाउन सक्थे। कसलाई सोध्ने? कहाँ सोध्ने? परिवारजन निरिह भएर सुन्नबाहेक केही गर्न सक्दैनन्। आफ्नो आँसुको भेलमा बग्नु मानौं उनीहरूको नियति हो।
यस महामारीमा पनि आफ्नो ज्यान र सुविधालाई जोखिममा राखेर पिपिईभित्र बन्दक बनेर सेवा दिइरहेका छन् स्वास्थ्यकर्मीहरू। त्यो पेशाप्रतिको इमान्दारिता त हुँदै हो व्यक्तिगत निष्ठा र सेवाभाव पनि हो। ती सम्पूर्ण स्वास्थ्यकर्मीप्रति श्रद्धाभाव र अनुग्रहित त छँदैछौं। तर त्यो मात्र पर्याप्त नहुँदो रहेछ।
तिनै असल मानिसहरूको कर्मशिलता र मानवीय भावलाई वस्तुकरण गरेर निजी अस्पतालहरूले नाफा कमाउने धन्दा चलाइरहेकै छन्। स्वास्थ्य यतिबेला सेवाबाट व्यापारमा परिणत भएको छ। शायद सर्वाधिक नाफामूलक व्यवसाय।
नागरिकको आधारभूत स्वास्थ्यको सुनिश्चित हुनु र स्वस्थ्य जीवन यापन गर्न पाउनु मुलुकको संविधानले सुनिश्चित गरेको मौलिक अधिकार हो।
मौलिक अधिकारको संरक्षण र सुनिश्चितता प्रदान गर्नु राज्यको दायित्व हो। अर्थात् तत्कालीन सरकारले यो नागरिक अधिकारको सुनिश्चित गर्नुपर्छ भन्ने ठानिन्छ। यसर्थ स्वस्थ भएर बाँच्न पाउने अधिकार राजनीतिक मुद्दा हो, सुशासनको मुद्दा हो। तर महामारीको यो भूमरीमा हाम्रो सरकार, सरकार सञ्चालनका कर्ताहरू के गरिरहेका छन् भनि रहनु पर्ने विषय रहेन।
यदि शासकमा विवेक भैदिएको भए, मुलुकमा सुशासन भैदिएको भए हामीले अहिले जुन तहको महामारी र पीडा भोगिरहेका छौं त्यो पक्कै पर्ने थिएन।
तसर्थ महामारीको यो तह सुशासन र सही राजनीतिको अभावको समस्या हो, अर्थात् महामारीको यो तह सिर्जित हो। यस महामारीको आर्थिक र सामाजिक पाटो पनि उत्तिकै प्रष्ट छन्।
राज्य कति जिम्मेवार छ र सरकारमा कति भर पर्न सकिन्छ भन्ने कुरा जान्न कुनै पनि अस्पतालको वरण्डा र पेटीहरूमा समेत ज्यानको याचना गरिरहेका बिरामीहरू र उनका परिवारहरूलाई हेरे पनि पुग्छ। शासकहरूसँग जिम्मेवारीबोध भन्दा बढी ओठे जवाफ तयार छ, थप केही अपेक्षा गरिहाल्न सक्ने अवस्था छैन।
***
उपत्यका बाहिर थियौं। स्वास्थ्यमा केही समस्या आयो, कोभिड-१९ कै हुनसक्ने जस्ता केही लक्षण देखिए।
आफू संक्रमितको सम्पर्कसम्म पुगिसकेको हुन सक्ने अनुमान गर्न गाह्रो थिएन हामीलाई। हतारमा घर फर्कियौं।
घर पुगेपछि आधा रोग त त्यत्तिकै निको हुन्छ भन्ने उक्ति सम्झेर एकदिन बाटो हेर्यौं। तर बढी कुर्न सकिने स्थिति छैन भन्ने लागेपछि पिसिआर टेस्ट गर्यौं। त्यहि साँझ रिजल्ट आयोः म र शोभा पोजेटिभ, स्वीकारको नेगेटिभ। अर्थात् हामी दम्पत्ति संक्रमित तर छोरा सुरक्षित।
खासमा छोरा हामीसँग थिएन यात्रामा, तर हामी घर फर्केपछि हामीले सम्भावनाको आधारमा आफूलाई अलग्गै राख्ने (आइसोलेसन) प्रयास त गरेका थियौं, तै पनि कतै त्रुटि पो भयो कि भनेर उसको पनि पिसिआर टेस्ट गराएका थियौं। धन्य ऊ सुरक्षित रहेछ।
हामीले लक्षणका आधारमा पूर्वानुमान गरिसकेकै थियौं कि हामीलाई संक्रमण भएको हुन सक्छ। तसर्थ हाम्रो लागि त्यो रिजल्ट स्वभाविक थियो। तर पनि जब पक्का भयो मनस्थिति अस्वभाविक हुने रहेछ।
शोभालाई खास स्वास्थ्य समस्या वा त्यस्ता केही लक्षण देखिएको थिएन। जे भए पनि भै त सक्यो। अब अलिक हतास मनस्थितिका साथ आफ्नै व्यवस्थापनमा लाग्नु पर्ने भयो।
एकै भान्छाका तीनमध्ये दुई संक्रमित, सम्हाल्नु पर्ने जिम्मा छोराको। ऊ हतास भएन।
‘एक हप्ताको लागि मेरो अनलाइन कक्षा बिदा छ, म सम्हाल्छु। आत्तिन पर्दैन’ टिनएजको नेटो भर्खरै काटेको छोराको यो जिम्मेवारीबोधपूर्ण विश्वासले एकैपटक खुसी र द्रविभूत बनायो। त्यसो त मेरा दुई भाइ पनि सँगै नै छन्। बहिनी नजिकै छिन्। आपतमा सहयोग गर्ने छिमेकी छन्। उनीहरूको भरथेग पर्याप्त थियो दैनिक व्यवस्थापनको लागि।
छोरा स्वीकार र भाइबुहारी गीताले अस्पतालको वार्डमा रहेका बिरामीलाई स्याहार गर्ने नर्सहरूले जस्तै सहयोग गरे।
एक हिसाबले भन्ने हो भने स्याहार नै गरे।
अक्सिजनको लेभल कम भएन, ज्वरो कम भयो। स्वास्थ्यमा केही समस्या त थियो नै तर निन्द्रा र रूचि हराएन। एक हिसाबले दम्पती नै संक्रमित हुनु हाम्रो लागि सहज भयो, यस अर्थमा कि एउटै कोठामा बस्न पायौं। कोठाको दुई कुनामा हामी छौं र बीचमा दुवैलाई पायक पर्ने गरी बसेको टेलिभिजन छ। दुई हप्तासम्म त समाचार यदाकदा मात्र हेरियो, समाचारले तनाव थप्छ मात्र भन्ने निष्कर्ष थियो हाम्रो। खासमा हामीले नेटफ्लिक्सको भरपुर उपयोग गर्यौं।
साथीभाइको सल्लाह सुझावले थप ऊर्जा मिल्यो।
लकडाउनकै बाबजुद पनि बढ्दो सक्रंमितको संख्या र राजनीतिक अस्तव्यस्तता, दैनिक बढ्दो मृत्यु हुनेको संख्या, अस्पतालमा बेहाल, अक्सिजन नपाएर मान्छेहरू मरेका समाचारबाट विमुख थिएनौं हामी।
आफूसँगैका स्कुलका सहपाठी कोरोनाको कारण मृत्यु भएको समवेदना सामाजिक सञ्जालमा आउन थाले।
साथीभाइहरूले फोन गरेर चिनेजानेका, सरसंगतमा रहेकाहरू कोभिडकै कारण मरिरहेका सूचना दिन थाले। मन कमजोर हुन्थ्यो। म नचाहेर पनि आतिन्थें कतै हामी दुईमध्ये कसैको स्थिति खस्कन पुग्यो भने? स्वास्थ्य अवस्था जटिल हुन थाल्यो भने कस्तो आपत आइलाग्ला ? अस्पताल जानुपर्ने अवस्था आयो भने के गर्ने होला? जब जब यस्तो कल्पना गरिन्थ्यो टाउको भनन्न हुन्थ्यो र वरिपरि सन्नाटा छाउँथ्यो, अन्धकार हुन्थ्यो। हातगोडा फतक्कै गल्थे र भावशून्य अवस्थामा पुगिन्थ्यो।
हामी बारम्बार कुरा गर्थ्यौ कस्तो बेहाल होला यदि सामान्य मजदूरी गरेर ज्यान पाल्नेहरूलाई यस्तो संक्रमण भयो भने? एक वा दुई कोठामा डेरा गरेर बस्ने निम्न आय भएको परिवारमा यस्तो विपत्ति पर्योे भने? आफन्त र सहयोगी मान्छेहरू नजिक भैदिएनन् भने?
अस्पतालमा पुगेर ज्यान बचाउने याचना गरिरहेका बिरामी र उनका परिवार बेसहारा भएको दृष्यले मनमा भक्कानो उठ्थ्यो। स्वास्थ्यकर्मीहरू नै निरिह देखिन्थे। यस्ता कल्पना गरेर खोई किन हो हामी दुई विचलित हुन्थ्यौं। मन भारी हुन्थ्यो।
यस्तो समयमा पनि सरकार, प्रधानमन्त्री, मन्त्रीहरू, दलका नेताहरू के गरिरहेका थिए भन्ने सुनेर, देखेर मनमा थप छटपटी हुन्थ्यो। बेचैनी बढ्थ्यो। अरूबाट अलग्गिएर बसेका शारीरिक अस्वस्थाताले थलिएका दुई निरिह प्राणी चुपचाप हुन्थ्यौं। दृष्यहरू सुखद पटक्कै थिएनन्, छैनन्। के यो दुस्वप्न हाम्रो निजी मात्र थियो र?
बल्ल अलिक साहस बटुलेर सामान्य जीवनमा फर्कने सुरसार गर्दै थियौं, हाम्रो आँट गर्ल्याम्म ढल्यो भाइको मृत्युको खबरले।
हामी एउटै माहोलमा सक्रंमित भयौं शायद। एक पारिवारिक जमघट अहिलेसम्म हामीले अनुमान गरेको कारण हुन सक्थ्यो जहाँ हामी सँगै थियौं। अनुमान हो।
अन्यत्रबाट सक्रंमित भएको पनि हुन सक्छ। तर सक्रंमित भएको अवधि उस्तै थियो। मन खंग्रङ भयो। हातखुट्टा फतक्कै गले। अत्यन्त दुःखद खबर।
एउटा कहालीलाग्दो दुस्वप्न, ‘मै पनि त्यो ठाउँमा हुन सक्थें’। कस्तो सम्झँदा पनि अत्यास लाग्दो।
शंकर दाजुले फोन गरेका थिए, भाइ अब हामी सातबाट छ मा घट्यौं। अर्थात् हामी कमजोर भयौं। हामी दुई भाइका सात भाइ छोरा थियौं। उनले थपे भाइको ज्यान ख्यालख्यालमा गयो। जे भने पनि बज्रपात परिगयो परिवारमा। यी हाम्रा निजी दुःख हुन्। परिवारले झेल्दै छ घोर पीडाका साथ।
तथापि यसबीच तपाईंलाई हाम्रा निजी दुःख सुनाउनको कारण एउटा कुरा तपाईंलाई पनि भन्नु छ,
ख्याल गर्नुस्, ख्याल ख्याल नगर्नुस्।
सानो ख्याल ख्याल वा हेलचेक्र्याइँले ज्यानै पनि जान सक्छ। भरपर्दो स्वास्थ्य सेवा उपलब्ध छैनन। याद गर्नुस्, अक्सिजन नपाएर मर्न पर्ने देशमा हुनुहुन्छ तपाईं।