बाटोमा गाडीको लामै लस्कर थियो हेर्दा दशैंभन्दा कम थिएन। छतमा भाँडाकुँडादेखि बिस्तारासम्म देखिन्थे। कोहि हातमा झोला बोकेका, कोहि काखमा बच्चा च्यापी गाडी चढ्न दौडिरहेका देखिन्थे। झट्ट हेर्दा यस्तो लाग्थ्यो कि, मानिसहरू यात्रा होइन बसाइँसराइ गरिरहेका छन्।
फोन बज्यो, ‘नानी अब लकडाउन हुने रे सबै घर आइरहेका छन् तिमी पनि बिदा मिलाएर आऊ,’ आमाले फोन गर्नुभएको थियो। मैले मिल्दैन आमा सजग र सुरक्षित हुने हो जहाँ बस्दा नि फरक पर्दैन भन्दै फोन राखेँ।
सन्तानको पीर कसलाई लाग्दैन होला र! फेरि यसपालिको यो ताँती कुनै उत्सव, चाडपर्व आदिको लागि नभई ज्यान जोगाउन गाउँ घर फर्किनेको थियो। मलाई पनि फर्किने मन नभएको कहाँ हो र?
कोरोनाको दोस्रो लहर, पहिलो लहरको तुलनामा हानिकारक छ। पहिलो लहरलाई पराजित गरेका हामीमा आत्मविश्वास बढी भयो वा बेप्रवाही भयौं, दोस्रो लहरमा त्यति सजगता देखिएन।
छिमेकी देश भारतमा अक्सिजन र सामान्य बेड नपाएर छट्पटीमै हजारौं मानिसको अकालमा मृत्यु भई अन्तिम संस्कारको लागि मसानघाटमा समेत ठाउँ नपाएको समाचार विभिन्न सञ्चारमाध्यमले प्रसारण गरिरहँदा हाम्रो देशमा स्वास्थ्य सुरक्षाको पूर्व तयारी गर्नुपर्नेमा सत्ताको लुछाचुडी निरन्तर चलिरह्यो।
पक्ष र विपक्षको जुधाईँमा जनताले अकालमै जीवन गुमाउनुपरेको छ। जनताले सामान्य बेडसमेत नपाइ आफन्त गुमाएर शोकाकुल भइरहेका बेला नेताहरू भने भव्य रिसोर्टमा विभिन्न परिकारका स्वादहरू लिइरहेका खबर बाहिरिए।
शक्ति प्रदर्शनका लागि सयौं बसहरू नि:शुल्क सञ्चालन गर्ने राजनीतिक दल र तिनका कार्यकर्ता अहिले गुमनाम जस्तै छन्। बिरामीलाई आपतकालीन अवस्थामा एम्बुलेन्स नपाएर ठेलागाडामा दौडाइरहँदा उच्च पदाधिकारी भने चुनावी कार्यको लागि हेलिकप्टरमा सवार भएका फोटो तथा कार्टुन मिडियामा छ्यापछ्यापी भए। राज्य र जनताप्रतिको अभिभारा कति छिटो बिर्सेका।
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा समेत चर्को कर तथा शुल्क तिर्ने नागरिकले महामारीमा अस्पतालको सामान्य बेडसमेत नपाएका दृश्य काहालीलाग्दा छन्।
घातक रोग लागेका बिरामीले उपचार पाइरहेका छैनन्। सामान्य बिरामीले उपचार नपाएकै कारणले ज्यान गुमाइरहेका छन्। निशेधाज्ञा र बन्दाबन्दीको निर्णय गर्नुभन्दा पहिले अत्यावश्यक वस्तु तथा सेवाको सुनिश्चिततामा ध्यान दिनुपर्ने थियो।
रोगका साथसाथै भोक र अन्य कारणले मृत्यु अंगाल्नुपर्ने अवस्था आउनु अगावै गम्भीरतापूर्वक तयारी गर्नुपर्नेमा ढिलो भइसकेको छ। दैनिक सरदरमा दुई सय भन्दा बढीको मृत्यु भइरहेको अवस्थामा शव व्यवस्थापनमा पनि कठिनाइ छ। बाँच्ने आशा लिएर अस्पताल पुगेकाहरू अक्सिजनको अभावमा मृत्युवरण गरेर फर्किन्छन्।
बचाउनको लागि अन्तिम घडीसम्म रकम खर्चेर लास हात पारेका आफन्तले चर्को शुल्क र आर्थिक अभावका कारण शव जलाउनसमेत नसकेका खबरहरू विभिन्न मिडियाबाट आइरहेका छन्।
कोरोनाको दोस्रो लहरसँगै तेस्रो भेरियन्टसमेत पुष्टि भइसकेको अवस्थामा संक्रमित र मृतकको तथ्यांकमा मात्रै सिमित नभएर राज्यबाट नागरिकले स्वास्थ्य सुरक्षामा थप कदमको अपेक्षा गरिरहेका छन्। सर्जिकल माक्स र अल्कोहलयुक्त सेनिटाइजरको प्रयोग अत्यावश्यक र अनिवार्य भइरहेको बेलामा त्यसको गुणस्तर र मुल्यमा ध्यान पुर्याउनु जरूरी छ।
सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी प्रत्यक्ष रूपमा खटिएर जोखिमपूर्वक कार्य गरिरहेका छन्। स्वास्थ्यकर्मी आफू स्वयं संक्रमित हुँदाहुँदैसमेत संक्रमितको उपचारमा खटिनुपर्ने बाध्यता छ। बिरामीको उपचार गरिरहँदा आफैंले उपचार पाउने कुरामा ढुक्क हुन सकिरहेका छैनन्। भोलिका दिनमा स्वास्थ्य सामग्री र बेड त सहज होला तर स्वास्थ्यकर्मी नै नरहने अवस्था सिर्जना भयो भने के होला? आफैंमा मनोबल उच्च राख्ने आधारहरू नभएपछि बिरामीलाई मनोबल उच्च बनाउनुस् भन्नुपर्दा ओठहरू काप्ने रहेछन् ।
हामी सबै एउटै डुङ्गाका यात्री हौं, कुनै एउटा भाग जोखिममा पर्दा अर्को भागमा रहेका यात्रीले आफू सुरक्षित छु भन्ने ठानेर आनन्द लिँदा ढिलो चाडो पुरै डुङ्गा डुवानमा परि कोही पनि नरहने अवस्थ आउनसक्छ।
त्यसैले विपत्तिको बेलामा सबै मिलेर सामना गर्नुपर्दछ भन्ने भावनाका साथ आफन्त गुमाएर शोकमा निसास्सीएकाहरू समेत सहयोगका लागि खटिएका छन्। खाडीका नेपालीले गाँस कटाएर सहयोग गरेका छन्, विभिन्न संघ संस्थाहरू जोखिम मोलेरै भए पनि सहयोगका लागि एकजुट भएका छन्। स्वास्थ्यकर्मीहरू ४-६ महिनाको शिशुलाई घरमा छाडेर भोक प्यास नभनी रात दिन खटिएकै छन्।
सरकार, नागरिकले विपत्तिको समयमा अरूबेला भन्दा बढि भूमिका चाहिरहेका हुन्छन्। यस्तो बेलामा राज्यले अभिभावकीय भूमिका खेल्नुपर्छ। राज्यका कोषहरूमा रकम फेरि जम्मा गरौंला, विकास निर्माणका काममा सँगै हातेमालो गरौंला तर अहिले जिउँदा इतिहास र अनुभवीहरू, जोस जाँगर र उर्जाका स्रोतहरू, कलिला मुना र भोलिका आधारहरूलाइ जोगाउन रक्षात्मक भूमिका खेलौं।
उपलब्ध स्रोतसाधनको पूर्ण सदुपयोग गरौं, सम्भावित विकल्पहरूको तिब्र खोजि गरौं, भएगरेका कामहरूलाई उपलब्धिको रूपमा ब्याख्या गरेर संवेदनशील समय व्यतीत नगरौं, सम्बन्धित निकायहरू बढी जिम्मेवारीपूर्वक सक्रिय बनौं, आफूबाट हुनसक्ने सहयोगलाई कोही कसैले आनाकानी नगरौं, महामारीलाई परास्त पारौं।