वैशाख २४, २०७८
‘पाटन अस्पतालमा कोही चिन्नु भएको छ? त्यहाँ नि बेड छैन रे। कोही छ भने मलाई नम्बर पठाई हाल्नुस् है। त्यहाँ अस्पतालको गेट अगाडि कुरेर बसेका छन्। अक्सिजन ८७ तिर झरिसक्यो, भर्खर २७ वर्षको केटो हो बिचरा!’, बुवा कसैसँग फोनमा गुहार्दै हुनुहुन्थ्यो। म पनि आफ्नो बिहानको पिउँदै गरेको चिया बोकेर बैठक कोठामा बुवाको कुरा सुन्न गएँ। ‘कौशीला, तिमीसँग वडा अध्यक्षको फोन नम्बर होला नि, मलाई देऊ त छिटो। कतै मिलाइदिन्थे कि?’ बुवा आमासँग सोध्दै हुनुहुन्थ्यो।
के हुँदै छ भनेर म एकछिन अकमक्क परेँ। ‘के भयो बुवा?’, मैले प्रश्न गरेँ। ‘सन्दर्भको अक्सिजन लेवल ८७ तिर झरिसक्यो रे। दाइ यहाँ आत्तिएर मलाई अक्सिजन भएको बेड मिलाउन भन्दै हुनुहुन्छ। कतै पनि खाली छैन भन्या,’ बुवाले मलाई नहेरी फोनमा डाइल गर्दै जवाफ दिनुभयो। ‘११३३ मा कल गरेर हेर्नुहोस् न, स्वास्थ्य मन्त्रालयले अस्पतालहरुको जानकारी दिन बनाएको हट्लाइन नम्बर हो।’, केही दिन अघि एउटा साथिले फेसबुकमा गरेको पोस्ट सम्झेर मैले बुवासँग भनेँ। ‘ल कल गरेर सोध त’, बुवाले भन्नुभयो। फोन गर्दा पहिलो पटक लाइन बिजी थियो तर फेरि कल गर्दा एउटी महिलाले उठाउनु भयो। ‘मेरो ठूलोबुवाको छोरालाई कोभिड–१९ भएर अक्सिजन लेवल ८७ मुनि पुगिसकेको छ, कुन अस्पतालमा अक्सिजन भएको बेड खाली……’, मैले कुरा पूरा गर्न नपाई सोझैं, ‘अहिले कतै बेड खाली छैन नाम टिपाउनुस\ पछि खाली भयो भने खबर गर्छौं’, भनेर फोन राख्नुभयो।
सोधपुछ गर्दा एउटा आधिकारिक ठाउँबाट समेत यस्तो उत्तर आउँछ भने अरुमा के स्थिति होला सोचेर अचम्म परेँ। एकछिनमा ल्याण्डलाइन टेलिफोनमा ठूलोबुवाको फोन आयो, ‘प्रेक्षा, म यता बाइकमा आफैं अस्पताल खोज्दै हिँडेको थिएँ। यहाँ अगाडि एक प्राइभेट अस्पतालमा भर्खर बेड खाली भएको रहेछ, यहीँ भर्ना गर्यौं। बुवालाई भन्दिएस् है, नानी।’ ‘दर्शन ठूलोबुवा, हवस्।’, मैले तेत्ती मात्र उत्तर दिएँ।
वैशाख २५, २०७८
‘सन्दर्भलाई खोकी लागेको छ, ज्वरो पनि आइरहेको छ। कोभिड परीक्षण गर्ने त होला नि है अब?’, ठूलोबुवाले बुवासँग यसो सोध्नुभएको पनि एक साता नाघिसकेको रहेछ। सन्दर्भ दादाको रिपोर्ट पोजिटिभ आएपछि चिकित्सकको सल्लाह अनुसार केही औषधि खाएर होम आइसोलेसनमा नै बसिरहनु भएको थियो।
अब लकडाउनमा गर्नु पनि के! तर हिजो अचानक अक्सिजन स्याचुरेसन लेवल ९० प्रतिशत भन्दा तल घट्न थालेको रहेछ। बुवा र म, दादाको स्वास्थ्यको अलि अगाडि देखि नै राम्ररी निगरानी गरेर भर्ना गर्नुपर्नेबारे आ-आफ्नो प्रतिक्रियाहरु दिँदै थियौं। हुन त म एक इन्जिनियर पृष्टभूमिको विद्यार्थी र बुवा पनि क्लिनिकल क्षेत्रका जानकार भने हुनुहुन्न, एक वकिल मान्छे, तर पनि पढेका लेखेहरू र सामाजिक सञ्जालका पोस्टका भरमा हामी कोभिडबारे छलफल गर्दै थियौँ, सायद अधूरो जानकारी सहित।
त्यसैबीच ठूलोबुवाको फोन आयो, ‘अहिले बाबुलाई अलि ठिक छ, कान्छा। अक्सिजन ९८ मा पुगेको छ तर सिलिन्डरबाट नदिने हो भने फेरि घटेर जान्छ।’ ‘बिस्तारै सुधार होला, दाई। अनि अहिले तपाईँलाई अस्पतालमा कुनै गाह्रो त भएको छैन नि कि तपाईं र म पालो पालै राति कुर्ने गरौँ?’, बुवाले सोध्नुभयो। ‘भयो कान्छा, पर्दैन। सबैलाई जोखिम हुन्छ। एक जनाले मात्र गर्दा ठिक हुन्छ। तेरी भाउजूले खाना पकाएर राख्दिन्छे, म मोटरसाइकलमा बिहान एकपटक खुरर्र घर जान्छु, नुहाउँछु अनि बिहान र दिउँसोका लागि खाना लिएर आउँछु। फेरि बेलुका एकपटक घर जान्छु र बेलुकाको खाना लिएर अस्पताल फर्किन्छु। यो जाडोमा दिनमा दुईपटक नुहाउन चाहीँ निक्कै झ्याउँ!’, ठूलोबुवाले हाँस्दै भन्नुभयो। यस्तो कठिन परिस्थितिमा पनि दुई जना दाजुभाइ ठट्टा गर्दै हाँस्नु भएको देखेर सन्तुष्ट भएँ। सन्दर्भ दादालाई ‘बाइलेटरल निमोनिया’ भएको रहेछ। सधैं ठूलोबुवाबाट लुकी–लुकी कौशीमा गएर धुम्रपान गर्नु हुन्थ्यो सायद त्यसले गर्दा पनि दादाको फोक्सोमा बढी असर भएको होला सोचेर बसेँ तर बुवालाई भनिनँ। हामी दाजु बहिनीबीचको गोप्य कुरा जो थियो।
वैशाख २६, २०७८
आज बिहान समिक्षा दिदीलाई भाइबरमा कल गरेँ हौसला दिन। आफ्नो भाइप्रति दिदी झन् कति चिन्तित हुनुहुन्थ्यो होला। विवाह पछि दिदी विराटनगरमा नै बस्नुहुन्थ्यो। परिवारसँग भेट नभएको पनि १-२ वर्ष भएको रहेछ अझ यस्तो बेला आफ्नो भाइलाई हेर्न पनि नपाउनु हुँदा मन कत्ति आत्तिएको होला दिदीको। ‘ओहो! आज त ८८ को मृत्यु भएछ कोरोनाले!’, आमाले मोबाइलमा हेर्दै हामीलाई सुनाउनु हुँदै थियो। हामीले त्यसमा केहि प्रतिक्रिया दिएनौं। यी आँकडाहरू त आजभोलि सामान्य लाग्न थालिसके।
आमाको कुरालाई नजरअन्दाज गरी झ्यालको काँचबाट बाहिर झरी परेको हेर्दै टोलाएँ। एकछिनमा झरीमा भिजेको एउटा भंगेरा हाम्रो बालकोनीमा आएर आफ्ना प्वाँखहरू फर्फराउँदै थियो। ‘आज दिनभर पानी परेको परै छ। ठूलोबुवालाई ओहोरदोहोर गर्न कत्ति गाह्रो भैरहेको होला है,’, भनेर बुवालाई भनेँ।
बुवाले त्यस लगत्तै ठूलोबुवालाई फोन गर्नुभयो, ‘दाइ, पानी परेको छ भोलि नि यस्तै मौसम होला, बरू आज यहाँ घर आएर गाडी लिएर जानु होला र आफ्नो बाइक केही दिन यतै छोड\दिनुहोला।’ ठूलोबुवासँग गाडी नभए पनि गाडी चलाउने लाइसेन्स भने थियो । ‘नानी, तेरो बुवाले सधैं तँलाई क्याम्पसमा पुर्याउन भ्याउँदिन भन्छ। अब तेरो ठूलोबुवाले कार किन्दै छ, त्यसपछि मेरी छोरीलाई म नै पुर्याइदिन्छु’, ठूलोबुवाले दुई वर्ष अघि मलाई भन्नुभएको यो कुरा आज झल्झली याद आयो।
एउटा मध्यम वर्गीयको स्तरबाट उच्च मध्यम वर्गीयमा पुग्ने प्रतिश्पर्दाको लहरले ठूलोबुवालाई पनि छुटाएको भने थिएन। उहाँले किस्ताबन्दीमा नै भएपनि कार किन्न लागिसक्नु भएको थियो तर भाग्यको करामत! ठूलीआमालाई त्यसै साल ‘लिम्फोमा’ क्यान्सरको निदान भयो र पैसा खोलाझैँ बगाउनु पर्यो। सुरूमा त ठूलीआमालाई भारतको नयाँ दिल्लीमा केमोथेरापी गर्न लग्नु हुन्थ्यो तर बिस्तारै बैंकको खाता रित्तिदै गएपछि र आफ्नो हैसियतले नभ्याउने भएपछि यतै नेपालमा उपचार गराउन थाल्नुभयो। आखिर एक सेवा निवृत्त सुब्बासँग कति नै जमापूँजि थियो होला र!
वैशाख २७, २०७८
‘भाउजू, हजुरलाई कस्तो छ? एक्लै घरमा व्यवस्थापन गर्न समस्या त भएको छैन नि?’, बुवाले ढिलो नै भए पनि ठूलीआमासँग फोनमा कुराकानी गर्दै हुनुहुन्थ्यो। ‘सबै ठिक छ, बाबु। घरमा कोही नभएर होला खाना रुचेको नै छैन। चिन्ताले होला शरीर पनि थकित भएको महसुस हुन्छ’, ठूलीआमाले उत्तर दिनुभयो। ‘चिन्ता नलिनुस, भाउजू। बाबुको सुधार हुँदैछ। दाइ खाना लिन घर आउनुहुँदा टाढा नै बस्नुहोला मास्क लगाएर। आफू पनि जोगिनुपर्छ। अहिले त तल भाँडामा बस्नेहरुले पनि छोडिसकेका रहेछन्, दाइलाई तलकै ट्वाइलेट मात्र प्रयोग गर्न भन्नु होला।’
बुवाले सुझाब दिँदै हुनुहुन्थ्यो,‘तिनीहरूले कोठाको भाँडा नतिरेको ६ महिना भैसकेको थियो। पटक-पटकको लकडाउनले गर्दा व्यापार डुबेको रहेछ त्यसैले हामीले अब कोठा खाली गर्न भन्दियौं, बाबु। अबदेखि त कोही पनि नराख्ने, कोरोना सर्ने डर मात्र!’
सन्दर्भ दादालाई त यसै पनि कोरोना सरिहाल्यो, मैले मनमनै सोचेँ। ‘सामान्य ज्वरो र खोकी त मलाई पनि लागेको छ तर मौसमी फ्लू होला। अक्सिजन लेवल त मेरो एकदम ठिक छ।’, ठूलीआमा निर्धक्क भएर जवाफ दिँदै हुनुहुन्थ्यो, ‘हुनसक्छ भाउजू, तर आफ्नो स्वास्थ्यप्रति हेलचेक्राइ नगर्नुहोला। टेन्सन नलिनुस्, केहि परे फोन गर्नु होला। अहिलेलाई फोन राखे है,’ भनेर बुवाले फोन काट्नुभयो।
त्यसपछि ठूलोबुवालाई फोन लगाउनु भयो, ‘दाइ, अहिले बाबुलाई कस्तो छ? पैसा अपुग जस्तो भयो भने भन्नुहोला।’ ‘अहिलेलाई चाहिन्नँ, कान्छा। पछि आवश्यक पर्यो भने भन्छु। अहिलेसम्म ४७ हजार त खर्च भैसक्यो, कति महँगो रहेछ। औषधि मात्र दिनको ८ हजार पर्ने रहेछ। अहिले त अस्पतालमा पनि अक्सिजन सिलिन्डर अब आफैं ल्याउनुपर्छ पो भन्दै छन्। कहाँबाट ल्याउने होला खोई?’, ठूलोबुवाले खोक्दै भन्नुभयो। ‘के हो दाइ, हजुरलाई पनि खोकी लागेको जस्तो छ त?’, बुवाले सोध्नुभयो।
त्यही वरिपरि मोबाइलको लाउड स्पिकरमा सुनेर बसिरहेका हामी सबै आत्तियौं। ठूलोबुवालाई उच्च रक्तचाप र चिनी रोग दुवै छ त्यसैले जोखिम वर्गमा पनि पर्नुहुन्छ। अझ त्यसमाथि अस्पतालमा कोभिड बिरामी कुर्नु परिरहेको छ। बुवालाई कुर्न पठाउँ भने नि उहाँलाई पनि यी दुवै रोगहरु छन्, सायद वंशाणुगत नै होला। सबैले पहिला आ–आफ्नो परिवारको बारेमा सोच्ने नै भयौं यस्तो बेला।
वैशाख २८, २०७८
‘ह्याप्पी मदर्स डे’ भन्दै बिहान उठ्ने बित्तिकै मैले आफ्नी आमालाई मातातिर्थ औंशीको शुभकामना दिएँ। सन्दर्भ दादाले यसपाली त आफ्नो आमाको मुख हेर्न पनि पाउनु भएन। दादाले मातातिर्थ औंशीका दिन फेसबुकमा कति गहकिला भनाइहरू लेख्नु हुन्थ्यो। ‘मेरा सबै कथाहरूको पछाडि मेरी आमाको कथा हुन्छ किनकि मेरो पहिलो कथाको सुरुवात नै मेरी आमाको कोखबाट भएको थियो।’ यस्तो भन्ने उहाँको पोहोर सालको पोस्ट मलाई अझैं पनि याद छ।
‘२४ घण्टामा ९४८३ जना संक्रमित र २२५ जनाको मृत्यु। यो त अहिले सम्मकै बढी हो’, आमाले मोबाइलमा समाचार हेरेर हामीलाई बिहान बिहानै तथ्यांक सुनाउँदै हुनुहुन्थ्यो। मेरी आमा दिनमा कम्तिमा १० पटक यस्ता कोभिड सम्बन्धि समाचारहरू सुनाइरहनु हुन्छ। ‘यस्ता समाचार धेरै सुन्ने नगर्नुस्, आमा। दिनमा एक पटक हेरे त पुगिहाल्यो नि,’, मैले दिक्क मानेर भनेँ। त्यत्तिकैमा ल्याण्डलाइनमा ठूलोबुवाको फोन आयो, ‘प्रेक्षा, बुवालाई तुरुन्तै फोन दे त, नानी। मोबाइलमा गरेको उठाएन।’
बुवा लक्डाउन सुरु भएदेखि योगा गर्न थाल्नु भएको छ, त्यही गर्दै हुनुहुन्थ्यो। मैले बुवालाई बोलाएँ र हातमा फोन थमाइदिएँ। ‘कान्छा, तेरी भाउजूको त अक्सिजन लेवल अचानक ८० प्रतिशत पो देखाउँछ त। भर्खर घर आएको खाना लिन, ज्वरो पनि आएको रहेछ। तुरून्तै बेडको बारेमा बुझ त। बाबुलाई राखेको अस्पतालमा पनि बेड खाली रहेनछ। भोलि बाबुलाई डिस्चार्ज गर्ने कुरा थियो त्यही बेड दिनुहोस् भनेको नि अरु पालोमा कुरिरहेका छन् मिल्दैन भने,’ ठूलोबुवा स्याँ-स्याँ गरेर आत्तिदै बोल्नु हुँदै थियो। ‘एकछिन दाइ! नआत्तिनुस्, म खोजिहाल्छु,’ भनेर बुवाले ठूलोबुवालाई आश्वासन त दिनुभयो तर आफैं झन् आत्तिँदै केही नम्बरहरुमा कल गर्न थाल्नुभयो।
मैले पनि आफ्ना स्वास्थ्य क्षेत्रमा संलग्न साथीलाई फोन गर्न थालेँ। सबै ठाउँबाट छैन मात्र जवाफ आउँथे। अनगिन्ती प्रयास र अत्यधिक समयको खेरपछि एक ठाउँबाट टेकु लैजान भन्ने सल्लाह आयो। त्यहीँ खबर गर्न बुवाले ठूलोबुवालाई फोन गर्न लाग्नु नै भएको थियो कि उताबाट ठूलोबुवाकै फोन आयो। ‘कान्छा, कान्छा......... पवित्रा रहिनन्,’ त्यसपछि मैले ठूलोबुवाको ‘सुक-सुक’ आवाज मात्र सुनेँ र आफ्नो बुवाको निस्तब्धता। पहिलो पटक मलाई त्यो मौनता पनि कोलाहलपूर्ण लाग्यो। सायद मेरी आमाले भोलिदेखि कहिल्यै कोभिडको तथ्यांक सुनाउनु हुँदैन होला किनकि त्यो आँकडामा अब एक अंक ठूलीआमा पनि हुनुहुनेछ।