मानौँ हामी कोही अप्रेशन थिएटरमा छौँ र हाम्रा सर्जनले १७ औँ शताब्दी तिरको पुरानो पद्धति अपनाएर अप्रेशन गर्दै छन्। तर यस अवस्थामा हामी आफ्नो सर्जरी गर्दा सर्जनले उनका शिक्षकले सिकाएको दशकौँ पुरानो पद्धति अपनाउन् भनेर सोच्न कोही चाहदैनौँ।
हामी त हाम्रो अप्रेशन सबैभन्दा नयाँ प्रयोगशालाबाट प्रमाणित भएको तथ्यमा आधारित, कम जोखिमपूर्ण, सफल, सरलभन्दा सरल, अथवा धेरै सुरक्षित विधिबाट होस् भन्ने चाहान्छौँ।
हो, यही कुराको आवश्यकताले नै स्कोलर्ली टिचिङको अवधारणा विकास भएको हो। स्कोलर्ली टिचिङ भन्नाले सफल रूपमा प्रमाणित भएका नयाँ शिक्षण विधि र पद्धति प्रयोग भएको खोजमा आधारित शिक्षण भन्ने बुझिन्छ।
यसमा शिक्षक/विद्यार्थी दुवै कक्षामा आउनुभन्दा पहिले राम्रो तयारी गरेर आउँछन्। अझ सामान्य भाषामाभन्दा शिक्षकले विद्यार्थीलाई कुनै पनि पाठ पढाउनु अगावै त्यस पाठको बारेमा खोज (रिसर्च) गर्न प्रेरित गर्छन् र आफू पनि गर्छन्।
यो खोज भनेको शैक्षिक सामग्री जस्तै खान एकेडेमी, टेड एड, टेड टक्स, सन्दर्भ सामग्री खोज, इन्टरनेट, युट्युबमा पाइने सामाग्रीहरु, जर्नल, पाठ्यपुस्तक, पुस्तकालय खोज, आदि जे पनि खुला सामग्री खोजी गर्नु हो।
यसले दैनिक पठनपाठनलाई वास्तवमा खोजमा आधारित र व्यवहारिक बनाउँछ। विद्यार्थीलाई पढाएर सिकाउने नभई गर्न लगाएर, वा गराएर सिकाउनुपर्छ भन्ने अवधारणा राख्छ।
अब कुनै शिक्षक/शिक्षिकाले मैले पढाएको ३० वर्ष भयो मलाई कक्षा जान किताब चाहिँदैन, सबैकुरा आउँछ भन्ने सोचाइ राख्छ भने त्यो गलत हो।
हो, किताब साधन हो साध्य होइन। किताबको आवश्यकता त्यतिखेर पर्दैन, जतिखेर शिक्षक आज म के पढाउँछु,, कति पढाउँछु, कुन-कुन शैक्षिक सामग्री प्रयोग गर्छु, कस्ता क्रियाकलाप गराउँछु, विद्यार्थीलाई कसरी व्यस्त राख्छु, आजको पाठको उद्देश्य अथवा सिकाइ उपलब्धि कसरी हासिल गर्छु, सिकाइ उपलब्धि हासिल भयो कि भएन भनेर कसरी मूल्यांकन गर्छु।
त्योभन्दा पनि महत्वपूर्ण कुरा मेरो शिक्षण खोजमा आधारित भयो कि भएन, विद्यार्थीलाई पनि खोजमा उत्प्रेरित गरेँ कि गरिनँ, आजको कक्षाबाट म सन्तुष्ट भएँ कि भइनँ, कहाँ कस्ता कमजोरी रहे भनी समीक्षा वा आत्ममूल्यांकन गर्छ।
आज मैले खतरा लेक्चर दिएँ, खतरा पढाएँ भनेर नाक फुलाउने, घाँटीको नसो चर्किउन्जेल घोक्रो सुकाउने तर आत्म-मूल्यांकन नगर्ने शिक्षकलाई अब शिक्षक भन्न सकिँदैन।
स्कोलर्ली टिचिङ भन्नाले प्रत्येक दिन शिक्षकले आफूलाई अलिकति लज्जा महुशुस गर्ने र विद्यार्थीमा पनि गराउने, आजको गल्तीलाई फेरि दोहोर्याउदिनँ भन्ने प्रण गर्दै नयाँ नीति अख्तियार गर्ने भन्ने बुझ्नुपर्छ।
यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने हाम्रो जीवनमा होस् वा दैनिक कक्षा सञ्चालन गर्दा होस् आफ्ना कमी कमजोरीहरूलाई आफैँ मूल्यांकन गर्ने वा अरुलाई गराउने, त्यसलाई स्वीकार्ने र आफूलाई परिवर्तन र परिमार्जन गर्दै लैजानु अतिआवश्यक छ।
स्कोलर्ली टिचिङको मेरुदण्ड नै विद्यार्थी र शिक्षक स्वयंले पनि धेरैभन्दा धेरै खोज गर्ने, प्रयोगात्मक, व्यवहारिक, समावेशी, सबैको सहभागिता र भूमिका सुनिश्चित गर्ने, प्रविधिमैत्री र संस्कारयुक्त शिक्षा हो।
क्रिटिकल रिफ्लेक्सन स्कोलर्ली टिचिङको अर्को अभिन्न अंग हो। यो एउटा प्रकृया हो। सरल भाषामा भन्नुपर्दा कुनै पनि विषयलाई चिन्ने, ज्ञान प्राप्त गर्ने तौर तरिकालाई लेखा जोखा गर्ने भनी जान्ने प्रकृया हो। विद्यार्थीको भिन्न भिन्न सिक्ने तौर तरिकाहरू हुन्छन्।
उदाहरणका लागि केही विद्यार्थीहरू ‘अडिटोरी एण्ड म्युजिकल लर्नर’ हुन्छन्। यस्ता विद्यार्थीहरू समस्याको समाधान किताब वा अक्षरमा होइन, सुन्न र उदाहरणका रूपमा व्याख्या गर्दा छिटो बुझ्छन्। उनीहरू सांगीतिक माहोल (रेडियो, टिभी बजाउँदै), सामूहिक छलफलबाट छिटो कुरा बुझ्छन्।
उनीहरूको कान तिक्ष्ण हुन्छ। श्रव्यदृष्य सामग्रीहरू चासो दिएर सुन्ने र हेर्ने गर्छन्। उनीहरू अरुसँग वा आफैँसँग बोल्न, गुनगुनाई रहन र गाउन मन पराउँछन्। यस्ता विद्यार्थीहरू कक्षामा धेरै हल्ला गर्छन्, गीत गाउँछन् भन्ने गुनासो शिक्षकबाट धेरै आउँछ। तर यहाँ समस्या विद्यार्थीहरूको होइन, शिक्षकले आफ्नो विद्यार्थी कस्तो सिकाइ हो भन्ने नबुझेर समस्या भइरहेको हो।
यदि तपाईं संगीतको शिक्षक हुनुहुन्छ भने धेरै भाग्यमानी हुनुभयो, सुनेर जान्ने विद्यार्थी सुरुबाट अन्त्यसम्म व्यस्त रहन्छ। तर अन्य विषय पढाउने शिक्षकले भिन्न विधि अपनाउनुपर्छ।
यहाँ आवाज नै मुख्य सिकाइको आधार भएकाले बोर्डमा लेखेर आफूले पढिदिने, कक्षामा विद्यार्थीलाई व्याख्या गर्न लगाउने, नोट पढ्न लगाउने, आफ्नो पाठ रेकर्ड गरेर सन्दर्भ सामग्रीको रूपमा पठाउने, अडिटोरी र म्युजिकल लर्नरलाई अरुलाई पढाउन लगाउने गर्न सकिन्छ।
सिकाइका केही प्रकारहरुः
भिजुअल र स्पेशल लर्नर
यस्ता सिकाइहरू ग्राफ, डायग्राम छिटो बुझ्छन्। उनीहरू श्रव्य सामग्री सुन्दै आफ्नो व्याख्या बनाउँछन्। उनीहरू धेरै श्रृजनात्मक हुन्छन्। रङ र आकारसंग खेल्न मनपराउँछन्। उनीहरू राम्रा निरीक्षक हुन्छन्, जो सजिलै ध्यानसँग गर्न नसक्ने, योजना र श्रव्य सामग्री बढी रुचाउँछन्।
यस्ता विद्यार्थीहरूलाई नक्सा, चार्ट, तस्बिरहरू देखाएर पढाउनु उपयुक्त हुन्छ। भूगोल, इतिहास पढाउँदा नक्सा उपयुक्त हुन्छ भने गणित पढाउँदा डायग्राम, माइन्ड म्याप, फ्लोचार्ट, कलर कोड, क्युकार्ड, चार्ट पेपर (विभिन्न रङमा) प्रयोग गर्नाले भिजुअल र स्पेशल लर्नरलाई मात्र होइन, सबैलाई फाइदा पुग्छ।
भर्बल लर्नर
यसमा लेखाइ र बोलाइ दुवै सामेल हुन्छ। यस्ता सिकाइहरु बोल्दै पढ्न र लेख्न मनपराउँछन्। उनीहरू शब्दजाल बुन्न, कविता लेख्न, शब्दसँग खेल्न सिपालु हुन्छन्। उनीहरू किताबका किरा, राम्रा कथा वाचक र वौद्धिक हुन्छन्।
यस्ता सिकाइहरू पत्रकारिता, लेखन, प्रशासन, कानुन, राजनीतिमा रुची राख्छन्। उनीहरू नोट लेख्न, कुनै विधालाई राम्रोसँग व्याख्या गर्न, प्रस्तुति गर्न सक्छन्। उनीहरूलाई यस्तै काममा कक्षामा सहभागी गराउनु पर्छ।
लोजिकल र म्याथमेटिकल लर्नर
यस्ता सिकाइहरू वस्तुलाई ठिक क्रममा मिलाउन, संख्याहरूसँग खेल्न मन पराउँछन्। त्यसैले उनीहरू प्रोग्रामिङ, लेखा, विज्ञान, खोज, संख्यासँग सम्बन्धित पेशामा राम्रो गर्न सक्छन्। यस्ता सिकाइहरू शिक्षकले तार्किक ढंगबाट व्याख्या, विश्लेशण गरुन् भन्ने चाहन्छन्।
गणित शिक्षकका लागि यस्ता विद्यार्थी प्रिय हुन्छन् किनकि उनीहरू कक्षामा ध्यान मग्न भएर पढ्छन्। अन्य विषयको हकमा यस्ता विद्यार्थीहरूसँग विशेष नीति अख्तियार गर्नुपर्छ। इतिहास, भूगोल, साहित्य, संगीत, कला पढाउँदा वर्गीकरणमा जोड दिनुपर्छ। जसले उनीहरूको ध्यान खिच्छ।
फिजिकल वा किनस्थेटिक लर्नर
यस्ता सिकाइहरू धेरैभन्दा धेरै भौतिक सामग्रीको प्रयोग गरेर पढाउँदा चाख लिन्छन्। यिनीहरूको विशेषता भनेको हात धेरै फोहोर गर्न मन पराउँछन्। यिनीहरूलाई शरीरको उर्जा बाहिर निकालिरहनु पर्छ।
जसका लागि टेबल ठटाउने, हात गोडा चलाइरहने, नजिकै रहेका साथीभाइसंग चलिरहने, विभिन्न हाउभाउ गरिरहने, कक्षा बाहिर गइरहने गर्छन्। यिनीहरूलाई व्यस्त राख्न शारीरिक क्रियाकलामपका माध्यमबाट पढाउनुपर्छ। अन्य विद्यार्थी पनि यसमा खुसी हुन्छन्।
यस्ता सिकाइहरू लेख्न पढ्न खासै रुची राख्दैनन्। उनीहरू आकस्मिक सेवा, खेलकुद, मनोरञ्जन जस्ता पेशामा आकर्षित हुन्छन्। यस्ता सिकाइहरूलाई विभिन्न शारीरिक क्रियाकलाप गराएर, बीच बीचमा ब्रक दिएर, रोल प्ले गर्न लगाएर, प्रप्स र मोडलको प्रयोग गर्दा छिटो कुरा बुझ्छन्।
उनीहरूलाई बेला बेलामा ठाउँ परिवर्तन गरिरहनुपर्छ। गाली गर्ने र पिट्ने गर्नु हुँदैन।
सोसियल इन्टरपर्सनल लर्नर
यिनीहरू सामूहिक रूपमा समूह बनाएर सिक्न मन पराउँछन्। उनीहरू समूहको लिडर बन्छन्। उनीहरू बहिरमुखी स्वभावका, राम्रो वाक कला भएका तर अत्यन्तै संवेदनशील र सहानुभूति चाहिने खालका हुन्छन्। यिनीहरू सबै खालका सिकाइमा फिट हुन्छन्। उनीहरूलाई सामूहिक काममा, प्रस्तुतिमा लगाउनुपर्छ। समूहमा गरेका उपलब्धि एक अर्कासँग साटासाट गर्न मन पराउँछन्।
सोलिटरी र इन्टरपर्सनल लर्नर
यस्ता सिकाइहरू समूहमा नभएर एक्लै काम गर्ने, आत्मनिर्भर र व्यक्तिवादी हुन्छन्। उनीहरू आफ्ना कुरा गोप्य राख्न सक्छन्। उनीहरू अनुसन्धान, प्रोग्रामिङ, कोडिङ जस्ता पेशाप्रति आकर्षित हुन्छन्।
अन्तिम बेन्चमा एक्लै बस्न खोज्ने स्वभावका हुन्छन्। यस्ता विद्यार्थीहरूलाई शिक्षकले अन्यलाई भन्दा विशेष समय दिनुपर्छ। उनीहरू नजिक धेरै जानुपर्छ। चासो दिइरहनुपर्छ।
माथि उल्लेख भए अनुरुपका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै नीति बनाउन सम्भव नहुन सक्छ। यदि कक्षामा धेरै विद्यार्थी छन् भने। अतः एउटा कक्षा सार्वभौम राष्ट्र जस्तै हो।
त्यहाँ भिन्न भिन्न विद्यार्थीहरू, उनीहरूका सिकाइ गर्ने तौर तरिकाहरू, सोचाइ, व्यवहारहरू, बुझाइहरू हुन्छन् भन्ने मान्यतालाई आत्मसात गर्दै र यस्तो विविधतालाई सम्मान गर्दै मिक्स अप्रोच अपनाउँदा अत्यन्तै प्रभावकारी हुन्छ।
विद्यार्थीहरू फरक प्रकृतिका हुन्छन् भन्ने बुझ्नु अत्यन्तै महत्वपूर्ण कुरा हो, बाँकी आफै गतिमा चल्छ।
घटना र प्रकृतिको गहन अध्ययन गर्ने, हाम्रा विश्वास, भावना, क्रियाकलापलाई गहिरिएर बुझ्ने, प्रतिप्रश्न गर्ने प्रकृया हो क्रिटिकल रिफ्लेक्सन। यो एउटा शिक्षकले आफूलाई सधैँ तराजुमा राख्ने प्रक्रिया हो। आफ्नो शिक्षण प्रक्रिया सही छ या गलत भनी खोज गरिरहने प्रक्रिया हो।
स्कलरशीप अफ टिचिङ लर्निङ ( एसओटिएल)
शिक्षण सिकाइलाई मान्यता प्राप्त विधिबाट गर्नु गराउनु, शिक्षण सिकाइका आधार, आचरण र मान्यतालाई सही रूपमा बुझ्दै शिक्षण सिकाइलाई बढावा दिने बाटो अवलम्बन गरी त्यसलाई आम मानिसकहाँ पुर्याउने, प्रतिक्रिया लिने र एउटा प्रभावकारी शिक्षण गर्ने माध्यम, विधिको स्थापना गर्नु नै एसओटिएल हो।
दैनिक पठनपाठन गर्न आवश्यक सामग्री, सूचनाको व्यवस्थित संकलन गर्नु, पढाउने पाठमा दत्तचित्त भएर लाग्नु, योजना बनाउनु, उद्देश्यमा स्पष्ट हुनु, समयबाट निर्धारित हुनु, विशुद्ध सूचना मात्र प्रवाह गर्नु एसओटिएल हो। एसओटिएल व्यवस्थित सिकाइको मुख्य आधार हो। सही सूचना प्रवाह गर्नाले शिक्षक र विद्यार्थीबीच विश्वसनीय वातावरण पैदा हुन्छ।
एसओटिएल त्यतिखेर पूरा हुन्छ जतिखेर एउटा शिक्षक खोजकर्ता हुन्छ। आफूले खोजबाट प्राप्त गरेको सूचनालाई सेमिनार, कितााब, लेख रचना, इन्टरनेट सामग्री जस्तै युट्युब ब्लग, पोर्डकास्टिङ, गुगल सामग्री, डकुमेन्ट्री आदिका रूपमा प्रकाशित गरेपछि एसओटिएल पूरा हुन्छ।
यसो गर्नाले एउटा शिक्षक वौद्धिक जमातको सदस्य बन्छ। उसले धेरै मेहनत गरेर प्राप्त गरेको उपलब्धि अरुले सहजै प्राप्त गर्न सक्छन्। त्यति मात्र नभएर वौद्धिक जमातले त्यसलाई समालोचना, आलोचना, अन्यका सिर्जनासँग तुलना गर्दै सुधार गर्ने मौका प्रदान गर्दछन्।
एउटा शिक्षक, प्राध्यापक वा विज्ञले आफ्ना उपलब्धिहरूलाई प्रकाशित नगर्ने हो भने त्यो आफैँसंग हराएर जान्छ। समग्र शैक्षिक जमात त्यसबाट लाभान्वित हुने अवसरबाट बञ्चित हुन्छ।
हम्रो शैक्षिक प्रणालीमा भएको टड्कारो आवश्यकता नै एसओटिएल हो। उदाहरणका लागि एउटा शिक्षक प्राध्यापक आफ्नो दैनिकी टार्न धेरै वटा शैक्षिक संस्था धाउनु पर्ने बाध्यता छ। उनीहरूको पारिश्रमिक यति न्यून छ कि प्राइभेट शैक्षिक संस्था नधाई सुखै छैन।
यसैको परिणाम हाम्रा प्राध्यापकहरू खोज अनुसन्धान, लेखन, अध्ययनमा लाग्न सकेका छैनन्। विकसित देशका प्राध्यापकहरूसँग त्यहाँका राष्ट्र प्रमुखहरू बोल्न डराउँछन्,आदर गर्छन्। किनकि त्यहाँका वौद्धिक जमातहरू कुनै पनि बेला जनलहर पैदा गरेर राष्ट्र प्रमुखलाई नै धरमर पार्ने क्षमता राख्छन्।
आम जनताले उनीहरुप्रति धेरै नै सम्मान भाव प्रकट गर्छन् किनकि उनीहरू जनता, समाज, राष्ट्रप्रति धेरै बफादार हुन्छन्। जनहित, राष्ट्रहितका विषयमा नियमित लेख रचना, छलफल, वहस चलाउँछन् र राजनीतिलाई झक्झक्याइरहन्छन्।
विकसित देशहरूमा शिक्षण पेशा पारिश्रमिक र सम्मानका हिसाबले अत्यन्तै आकर्षक पेशा मानिन्छ,। त्यसैले त त्यहाँ एसओटिएल सम्भव भएको हो। त्यहाँका प्राध्यापकहरू नियमित रूपमा लेख लेख्छन्, पुस्तक प्रकाशित गर्छन्।
थिंक ट्यांकको भूमिका निर्वाह गर्छन्। राष्ट्र प्रमुखहरू विदेश भ्रमण गर्दा, अन्तर्देशीय सन्धी सम्झौता गर्दा अनिवार्य रूपमा प्राध्यापकहरूसँग सल्लाह सुझाब लिन्छन् किनकि उनीहरूले यस्ता विषयमा विज्ञता हासिल गर्न आफ्नो जीवन नै समर्पण गरेका हुन्छन्।
हामीकहाँ ठिक उल्टो छ। हाम्रा विश्व विद्यालयहरू पार्टीले चलाउँछन्। यहाँ डिन नियुक्तिदेखि प्राध्यापक नियुक्तिसम्म पार्टीबाटै हुन्छ, भागबण्डा गरिन्छ। नतिजा विश्वविद्यालयका प्राध्यापकहरू प्राइभेट स्कुल कलेज चलाउँछन्।
विश्वविद्यालयहरू दिनानुदिन कमजोर बन्दैछन्। हामीकहाँ एसओटिएलको भावना विपरीत कामहरू भइरहेका छन्। दोष नीति निर्माण तह, राज्य संयन्त्र र राजनीतिकै हो।