नेपालको राजनीतिमा जेठ महिना शुक्रबारको रात अलि बढी नै चर्चित छ। संयोग भनौँ या नियत, पात्र फेरिए तर महिना र बार उहीँ रहे। गत जेठ ७ गते शुक्रबारको मध्य राति राजनीतिक उथलपुथल सुरु भयो, संसद विघटन। संसद विघटन नेपालको सन्दर्भमा पहिलो घटना भने होइन।
विगत २०४६ पछिको राजनीतिलाई हेर्ने हो भने विस २०५१ साल असार २६ मा गिरिजाप्रसाद कोइराला, २०५२ साल भदौ १२ मा मनमोहन अधिकारी, २०५४ साल पुस ४२ मा सूर्यबहादुर थापा, २०५५ को अन्त्यमा गिरिजाप्रसाद कोइराला, २०५९ साल जेठ ८ मा शेरबहादुर देउवा, २०७७ साल पुस ५ मा केपी शर्मा ओली र २०७८ जेठ ७ मा फेरि ओलीले नै संसद विघटन गरेको पाइन्छ।
संसद विघटन पश्चात यतिखेर एउटा बहस खुब चर्चामा रहेको देखिन्छ। प्रतिगमन र अग्रगमन। यो समयमा आफ्नो वर्गीय पक्षधरता र दृष्टिकोण राख्नु स्वभाविक नै हुन्छ।
आजसम्मको संसद विघटनलाई नियाल्दा पार्टी भित्रको अन्तर कलहलाई हल गर्न नसकेर संसदको घाँटी निमोठेको प्रष्ट हुन्छ।
यसरी पार्टी भित्रको झगडाले संसद विघटन गर्ने कदम अग्रगामी हुन सक्दैन, भने अर्कोतिर संसद पुर्नंस्थापना गर्ने बाटो पनि अग्रगामी होइन।
पटक/पटक असफल भएको व्यवस्थामा जतिसुकै समृद्धि, विकास, न्याय समानताका कुरा वा जति चुनाब गरेपनि, जति संसद विघटन गरेपनि घुमिफिरी रुम्जाटार भने झैँ जनताको समस्या ज्यूँका त्यूँ रहन्छ्न्।
यही व्यवस्थामा रहेर खोजिएका विकल्प फगत जनताका आँखा छारो हाल्ने शिवाय केही होइनन्। यो व्यवस्थामा हुने जतिपनि कार्यहरु छन् ती कार्य मुभिर दलालहरुका मात्रै हुन्।
सत्ताको तर मार्न नपाएर संसदीय व्यवस्थाको आइसियूमा छट्पटिएका नेताको रोदन क्रन्दन, स्याल हुँइयाँ हेर्दा आश्चर्य लाग्दो छ।
साँच्चै आफू जनताको पक्षमा भएको भान पार्न, संविधानको रक्षक कहलिन, आन्दोलनको हिमायती बनिरहन लगाएको मुखुण्डो उदांगो भइसकेको छ।
यस्तो मुखुण्डो लगाएर जनतालाई झुक्याउने कुरा नेताका लागि सामान्य भइसकेको छ। नेताको कुरा सुन्दा यस्तो लाग्छ कि, योभन्दा अगाडि असंबैधानिक काम केही भएको थिएन, प्रतिगामी काम केही भएकै थिएन।
के संसद विघटन मात्र त्यस्तो हो त? त्यस्तो हुनै सक्दैन। संसदीय व्यवस्थाका मतियारले राष्ट्र, जनता र संविधानका खिलापमा थुप्रै काण्ड, फन्डा र हर्कत गरेका छ्न्। अहिले त फन्डाको भागबण्डा नमिलेपछि रचिएको प्रपञ्च, नौटन्की र नाटक मात्रै हो।
संसदीय व्यवस्थामा देखिएको संकट, अन्योलता र समस्यालाई केही व्यक्तिको समस्या हो भनेर जुन बहस चल्दै छ, यो सीमित नेताहरुको मनोगत कुरा मात्र हो।
नेपाली जनताले खड्गप्रसाद शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल वा माधबकुमार नेपाल जो प्रधानमन्त्री भएपनि तात्विक रुपमा के फरक पाए? यो त नयाँ भाडोमा हालेको पुरानै रक्सी हो, भन्नेकुरा छर्लङ्ग छ।
अहिले देखिएको प्रवृत्ति सत्तामा रहँदा पूर्व प्रधानमन्त्रीहरु पनि देखिन्थ्यो। अनेकन फन्डाहरु थिए। काण्डहरु थिए। भ्रष्टाचारहरु थिए। यी सबै संसदीय व्यवस्थाका प्रमुख विशेषता हुन्। त्यसैले अब गरिने चुनाव वा संसद पुर्नंस्थापना दुवै प्रतिगामी बाटो हो। कासी जाने कुतिकै बाटो हो।
यतिखेर चर्चामा रहेको अर्कौ विषय हो, अग्रगमन। नेपालमा धेरै बिक्री हुने शब्दमा अग्रगमन पनि पर्दछ। संसदीय राजनीतिक दलले आफूलाई अग्रगमनकारी भन्न रुचाउछन्। तर व्यवहारिक रुपमा कट्टर प्रतिगामी हुन्।
संसदीय व्यवस्थामा एउटा सजिलो के छ भने अग्रगामी चेतन देखाउन आफूले केही मेहनत गर्नु पर्दैन, फगत अर्कौलाई प्रतिगामी देखाइदिए पुग्छ। वास्तविक अग्रगमनको मार्का प्राप्त गर्न त्याग, तपस्या, बलिदान, विचार,सिद्धान्त र कार्यदिशा अग्रगामी हुनुपर्छ।
वर्तमान प्रस्थितिको भन्दा राम्रो र व्यवस्थित हुनुपर्छ। बोलीले होइन, व्यवहारले पुष्टि गर्ने हुनुपर्छ।
अग्रगामी शक्तिलाई सत्ताको चस्माले हेर्ने हो भने उग्रवामपन्थी, जंगली, आतंककारी पनि देख्ला, तर जनताको चस्माले जनसेवक, देशभक्ति, परिवर्तनकारी, शान्तिका दूतका रुपमा हेरिन्छ।
अग्रगामीको स्वाङ पारेर सत्तामा पुग्ने र सबैभन्दा बढी दक्षिणपन्थी र घोर प्रतिगामी बन्ने छ्द्मवेशीहरु संसद विघटनका पक्षमा विपक्षमा देखिए पनि ती सबै एउटै बारीका मुला हुन्।
अर्कौ कुरा अग्रगामी शक्ति को हो त? कसरी चिन्ने? भेद कसरी छुट्याउने? भने प्रतिगमन र अग्रगमन दुवै एउटै बिन्दुबाट सुरु हुन्छ्न्। दुवैको बाटो जटिल हुन्छ।
सजिलो त यथास्थितिमा रहन हुन्छ। प्रतिगमन पुरानो र असफल विधिसँग जोडिन्छ भने अग्रगमन नयाँ र वैज्ञानिक विधिसँग जोडिन्छ।
आजको युग सुहाउँदो वैज्ञानिक व्यवस्थाका लागि जुन शक्ति संघर्षरत छ, त्यो नै आजको अग्रगामी शक्ति हो।
पुरानो, असफल र त्रुटिपूर्ण व्यवस्थाको विकल्पको रुपमा रहेर काम गर्ने शक्ति नै क्रान्तिकारी शक्ति हो। क्रान्तिकारी शक्ति नै अग्रगमनको पहलकर्ता र पक्षधरता हो।
देशको प्रमुख समस्यको रुपमा रहेको संसदीय व्यवस्थाको अन्त्य गर्न छाडेर व्यक्तिको समस्यालाई औंल्याउँदै यही व्यवस्थामा समृद्धि खोज्नु दिसामा डुबेर अत्तरको बास्ना खोज्नु जस्तै हो।
एकले अर्कोलाई धारे हात लगाएर गाली गर्नुभन्दा समाजवाद निर्माणमा लागौँ। समाजवादी विचार प्रवाह गरौँ।
अन्तमाः विचार, सिद्धान्त, कार्यदिशा र व्यवस्था राम्रो भएन भने आफूसँग भएका उपलब्धिहरु गुम्दै जान्छ, हेक्का सबैमा हुन जरुरी छ। गुम्ने क्रम जारी छ। अझै के के गुम्ने हुन्?
बेलैमा सचेत बनौँ। व्यवस्था राम्रो नहुँदा एउटै घरका दाजुभाइ विपी र मातृका, सिपी र राधाकृष्ण, शशांक र प्रकाश समेत मिल्न नसकेको इतिहास साक्षी छँदै छ।
त्यसैले एक पटक संकल्प गरौँ, सबै मिल्ने व्यवस्था ल्याउँ। सबैको व्यवस्था ल्याउँ। वैज्ञानिक समाजवादी व्यवस्था ल्याउँ।