बंगलादेशमा इन्टर्नशीपको क्रममा ३-४ महिनादेखि हस्पिटल अनि क्लिनिक गर्दै मेरा दिन गइरहेका छन्। म एउटा प्रतिनिधि पात्र मात्रै हुँ, म जस्ता सयौं नेपाली डाक्टर र विद्यार्थीहरू अहिले बंगलादेशमा रहिआएका छन्।
पोहोर साल कोरोनाले लैजाला झैँ गर्यो, जसोतसो नेपाल फर्किएका थियौं। अहिले कथा झन् डरलाग्दो छ। न त देश न त विदेश, कुनै कुनाकाप्चा बाँकी राखेको छैन भाइरसले। त्यसैले जता गए नि कोरोनाकै सेरोफेरोमा हुने हुनाले धेरै नेपाली भने यसपालि यतै बसेका छौँ।
म आफैँ दाँतको डाक्टर भएकाले मुख खोल्नुहोस् भन्दै केही इन्चको दूरीबाट बिरामी हेर्नु पर्छ। यसो गरी रहँदा मेरा मास्कले मात्र त मलाई थेगेन होला। कति बिरामीहरू कोरोना ठिक भएर आए भन्छन् दाँत देखाउने बेला।
कति भने सुरक्षित हुन खोप लगाएर मात्र आएका भन्छन्। उहाँहरुलाई देख्दा खुसी लाग्छ तर अन्तरमनमा आफू नै असुरक्षित भएको तितो अनुभव भने भइरहन्छ।
मेरो शरीरले कतै कोरोना नै पचाउन सिकेछ क्यारे जस्तो पनि लाग्छ कहिले त। अब यसो सोचेर ढुक्क भएर बस्नु पनि मूर्खता होला।
केही दिन अघिको कुरा हो, सँगै काम गर्ने बंगाली साथी कोरोना विरुद्धको खोप लगाउन भन्दै बिदामा बस्यो। फेरि एक मनले प्रश्न गर्यो, 'डाक्टर त म पनि हो, काम त हामी उस्तै नै गर्छौ तर मैले खोप किन पाइरहेको छैन?'
अनि तुरुन्तै अर्को मनले उत्तर सुनायो, 'तँ यो देशको नागरिक होइन, तेरो पालो कहिले आउँछ ठेगान छैन।' अन्तरमनको यति कुरा सुनेपछि म मन बुझाएर फेरि त्यही जोखिम भित्र झोसिएँ।
यस्तै मेरो मिल्ने साथी रूपक एमबिबिएस डाक्टर, अहिले इन्टर्नशीप गर्दै, ऊ पनि। उसको गुनासो पनि यस्तै नै छ। ऊ लगायत धेरैलाई कहिले काहीँ कोरोना युनिटमा पनि खटाउँदा रहेछन् हस्पिटलबाट।
न त उसले भ्याक्सिन नै पाएको छ न त ‘नाइँ काम गर्दिनँ’ भन्न सकेकै छ। हेर्नुस् त कति डरमर्दों। भ्याक्सिन दिने निदो न त उसको अस्पतालले नै गर्न सकेको छ न त उसले सेवा गरिरहेको देशको सरकारले नै।
'हामी त न त यताको नै भयौ न त उताको नै' भन्दै बेलाबेला सुस्केरा हाल्छ ऊ पनि फोन-कलमै। घरबाट नेपाल नै फर्क अहिले, पछि गएर इन्टर्नशीप गर्नु भनेर उसलाई बेला बखत घरकाले सम्झाउँदा रहेछन्।
नसम्झाउन् पनि कसरी! बिना खोप आफ्नो छोरा अर्काको देशमा निस्वार्थ सेवा जो गरिरहेछ। यस्ता रुपक धेरै छन् अहिले यता।
यो सबै देखिरहँदा, भोगिरहँदा मेरो एक मनले फेरि प्रश्न सोध्यो, 'के विदेशमा रहेका सबैलाई यही पिरलो हो त?'
यो पालि भने मेरो अर्को मन मौन थियो। सायद उत्तर थाहा नभएर होला। यो बुझ्नको लागि मैले अमेरिकामा बस्ने मेरो आफ्नै दाइलाई के कसो छ त्यता तिर, विदेशीलाई खोप दिएका छन् कि छैनन् भनेर सोधेँ।
खुबै खुसी हुँदै 'अँ कान्छा, मजाले दिएका छन् त खोप। यता त खोप लगाउनेलाई पुरस्कृत गर्ने, प्रोत्साहन गर्ने गर्छन्,' भन्दै निकै रमाइलो कुरा सुनाउनु भयो।
यस्तै कुरा अष्ट्रेलिया बस्ने अर्को साथीले पनि सुनायो। समयमै खोप दिएकै कारण कोरोना अहिले निकै घटेर आएको छ पनि भन्थे दुवैले। हुन त उता खोप बनाउने र किन्नेको ठूलो होडबाजी भएरै पनि सहजै पाइएको होला भन्ने मैले अड्कल बाजी गरेँ।
अन्ततः अलि ठूला र सम्पन्न राष्ट्रमा रहेका नेपालीलाई भन्ने खोप पाउन सजिलै रहेछ भने मेरो ठम्याइरह्यो।
यहीँ कुरा बुझ्न, मैले एकपल्ट नेपाली राजदूतावसमा सोधिहेर्ने निधो गरेँ। राजदूतावासले रिप्लाई गर्दै, 'हामीले यो विषय उठाएका छौँ। तर दोस्रो लहर आएसँगै बंगलादेशमा पनि संक्रमित बढेको र अहिले खोपको पनि केही अभाव देखिन्छ। बंगलादेशी नागरिकलाई दोश्रो डोज पुर्याइसकेर मात्र हाम्रो विषयमा ध्यान जाला यताको सरकारको।'
म आशा र निराशाको दोधारमा थिएँ। दूतावासले प्रयास गर्दै छ, त्यो सराहनीय छ तर धेरै ढिला भएमा भोलि हामी आफै नै संक्रमित भई आफू काम गर्ने हस्पिटलमै छट्पटाउन नपरोस्। नेपाल र नेपालीलाई परेको बेलामा बंगलादेशले नगरेको भने होइन।
केही महिना अगाडि मात्र बंगलादेशले रेम्डेसिभिर औषधि टन्नै नेपाललाई सहयोग गरेको छ। कयौँ टन युरिया मल सापटी लगेको छ नेपालले।
यो साथ सहयोग फेरि एकपल्ट चाहिएको छ, फरक यति हो योपालि हवाईजहाजमा होइन बंगलादेशमा नेपाली रहेका हरेक मेडिकल तथा अन्य सबै नेपाली रहेका कलेजहरुमा भ्याक्सिन वितरण गरिदिनुस्। हामी कृतज्ञ हुनेछौँ। हामी नेपाली जो जति यहाँ छौँ, तपाईंकै जनताहरूको सेवामा अस्पताल अस्पतालमा खटिएका छौँ।
तपाईंको नागरिकको स्वस्थ्य हामी हेर्छौं, तपाईं हाम्रो हेरिदिनुस्। यस्तो अप्ठ्यारो बेलामा तपाईंको नागरिकलाई हाम्रो सरकारले हेर्नु पर्छ अनि हाम्रालाई तपाईंहरूले। मिलेर नै कोरोना विरुद्ध जित्न सकिन्छ।
भ्याक्सिन बाहेक हामीसँग विकल्प पनि छैन। नेपालीको इम्मुनिटी कडा छ, कोरोना लाग्दैन भनेर हाम्रा देशका प्रधानमन्त्रीले बुझए झैँ तपाईंले नबुझिदिनु होला।